scheduleबिहिवार कार्तिक ६ गते, २०७७

‘पार्टी प्रवेश’ होइन, ‘पार्टी त्याग’को लहर

काठमाडौं, ८ असोज । साहित्यकार तथा अगुवा ‘गाउँले’ बलदेव अधिकारीले सामाजिक सञ्जालमार्फत् यसै साता कुनै पनि  गरे । ‘कुनै पनि दलको सदस्यता नलिने सम्बन्धमा’ शिर्षकमा उनले फेसबुकमा सार्वजनिक गरेको सूचनामा उनले आफ्नो निष्कर्ष सुनाएका छन्, ‘पार्टीको कार्यकर्ता बन्नु वर्तमान नेपालका तथाकथित नेताको दास हुनु हो ।’

उनले अगाडि लेखेका छन्, ‘यसकारण आज मिति २०७७ आश्विन ६ गते मंगलवारदेखि कुनै पनि पार्टीको सदस्य नरहने गरी स्वतन्त्र मानव भएको घोषणा गर्न पाउँदा हर्षविभोर भएको छु । अन्तर्लौकिक लोकतान्त्रिक साम्यवादमा आधारित भई सत्य र न्यायका पक्षमा सक्रिय हुने सबै जनाप्रति मेरो समर्थन रहने जानकारी गराउँदै बिदा हुन्छु ।’

अधिकारीको उक्त स्टाटसमा धेरैले सकरात्मक टिप्पणी गरेका छन् । ‘कसैको दास नबन्ने घोषणा’ गरेकोमा धेरैले उनलाई बधाई पनि दिएका छन् । कतिपयले आफूहरु धेरै अघिदेखि नै स्वतन्त्र भूमिकामा रहेको र पार्टीको कार्यकर्तारुपी कमाराकमारी बन्नबाट बचेको टिप्पणी गरेका छन् ।

उनै अधिकारीले बुधबार नेपालका नेतात्रयलाई स्वतन्त्र नागरिकको खुलापत्र लेखेका छन् । पत्रमा नेताहरुलाई ‘विवेक जन्माएर काम गरे नेपाली जनताले नेतालाई क्षमापूर्वक सम्मान गर्नेछ’ भन्ने विश्वास व्यक्त गर्दै १७ वटा कामहरु गर्न सुझाव दिएका छन् ।

अन्तिममा उनको चेतावनी छ, ‘सम्मान अथवा अपमानमध्य्ये के रोज्नुहुन्छ? जो विचार !’

‘गाउँले’ बलदेव अधिकारी

यस्तो छ गाउँले बलदेव अधिकारीको खुलापत्र-
खड्गप्रसाद ओलीज्यू, पुष्पकमल दाहालज्यू तथा शेरबहादुर देउवाज्यू !
तपाईंहरूले राजनीतिमा लागेको दिनको विवेक जन्माएर निम्न लिखित काम गर्न सक्नुभयो भने नेपाली जनताले क्षमापूर्वक सम्मान गर्नेछ भन्ने मलाई विश्वास छ !
तत्काल संविधान संशोधन गरेर गरिहाल्नुपर्ने काम-
१. पंचायतकालदेखि वर्तमानसम्मका सबै नेता तथा सरकारी कर्मचारीले स्रोत खुलाउन नसक्ने गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने !
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त हुने व्यक्ति कम्तीमा दुईतिहाइ जनताले मन पराएको हुनुपर्ने !
३. प्रशासन संयन्त्र पूर्णत: स्वतन्त्र. निष्पक्ष, पारदर्शी र जनताप्रति उत्तरदायी हुने गरी स्थिर हुनुपर्ने !
४. स्वतन्त्र न्यायालयमा गरिएको राजनीतिक नियुक्ति बदर गरी नैतिकता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने । न्यायाधीशलगायत सबै उच्च पदस्थ व्यक्तिलाई अख्तियारले छानबिन गर्न पाउनुपर्ने !
५.मन्त्री अथवा प्रधानमन्त्री हुनका लागि आवश्यक योग्यता, अनुभव र नैतिकताको वैज्ञानिक मापदण्ड बन्नुपर्ने !
६. सांसद वा सभासद्लाई विकास-बजेट नदिई संविधान र विधानको मात्र जिम्मा दिनुपर्ने हुनाले तिनीहरूको शैक्षिक योग्यता र अनुभवको मापदण्ड तोकिनुपर्ने ।
७. चुनाव खर्चको सीमा र पारदर्शिता निर्धारण गरिनुपर्ने !
८. राजनीतिक पदको संख्या ८० प्रतिशत घटाएर २० प्रतिशतमा झार्नुपर्ने ।
९. पार्टीलाई कार्यकर्ता अर्थात् कमाराविहीन बनाउनुपर्ने ।
१०. पार्टीलाई भ्रातृ वा भगिनी संगठनविहीन गराउनुपर्ने ! वर्गीय संगठनमा सम्बन्धित वर्गकै अराजनीतिक नेतृत्व हुनुपर्ने !
११. प्राज्ञिक निकायको नेतृत्व राजनीतिक नभएर विशुद्ध प्राज्ञिक हुनुपर्ने ।
१२. परराष्ट्रविद्हरूको बीचमा गरिने व्यापक छलफलबाट निस्कने ठोस र वस्तुपरक निष्कर्षका आधारमा सर्वसम्मत परराष्ट्रनीति बनाउनुपर्ने ।
१३. प्रधानमन्त्री. मन्त्री, सांसद आदिले कार्यालय-समयभरि कार्यालयमै बस्नुपर्ने !
१४. शिक्षा र स्वास्थ्य क्षेत्र सरकारी वा निजी नभई सम्बन्धित समुदायको सहकारितामा संचालन हुनुपर्ने ।
१५. सरकारी कर्मचारीको संख्या ३० प्रतिशत मात्र राखेर सुविधा दोब्बर दिई उत्तरदायी बनाउनुपर्ने !
१६. कृषि, पर्यटन तथा विविध औद्योगिक एवं यातायात क्षेत्र पारदर्शी र व्यावहारिक प्रतिस्पर्धाबाट छानिने निजी क्षेत्रलाई जिम्मा लगाउनुपर्ने ।
१७. भ्रष्टाचार उन्मूलनका लागि यथासम्भव विधि र प्रविधिको उपयोग गर्नुपर्ने ।
सम्मान अथवा अपमानमध्य्ये के रोज्नुहुन्छ? जो विचार !

एक स्वतन्त्र र सार्वभौम नागरिक :

बलदेव पिएचडी

त्यसो त, यसअघि नै पोखराका केही बौद्धिक नेतृत्वहरुले दल त्याग सम्बन्धि खुल्ला नागरिक आह्वान गरिसकेका छन् । साउन २९ गते सार्वजनिक बौद्धिक मञ्चका संयोजक दामोदर त्रिपाठीको नेतृत्वमा एक सार्वजनिक सूचना जारी गर्दै दल त्यागको आह्वान गरिएको हो ।

मञ्चले गरेको खुल्ला नागरिक आह्वानमा दल त्याग किन र कसरी भन्दै ८ बुँदै तर्कहरु अगाडि सारिएको छ ।

राजनीतिक दलहरुको लोकतन्त्र प्राप्तिको आन्दोलनमा जिउ-ज्यान दिएर सघाउँदै आएका नागरिक र दलका नेता कार्यकर्ताहरु अहिले दलहरुसँग रुष्ट छन् ।
बौद्धिक मञ्चले ‘सहभागितात्मक विधि र प्रक्रियाबाट चालु–राज्य अभ्यासलाई अतिक्रमण गरौं’ भन्दै अपिल गर्दै आएको छ ।

नेपालमा तीव्र दलीयकरणको कारण राजनीतिक सिन्डिकेट सिर्जना भएको र यसैको आधारमा दलहरुमा मनपरीतन्त्र मौलाएको अभियन्ताहरुको तर्क छ । यही अवस्था जारी रहे र नागरिकबाट स्वतन्त्र हस्तक्षेप हुन नसके आन्दोलनबाट प्राप्त उपलब्धि नै धरापमा पर्न सक्ने अभियन्ताहरुको निष्कर्ष छ ।

देशलाई चरम दलीयकरणबाट राजनीतिकरणतर्फ मोड्नुपर्ने भन्दै कतिपय सार्वजनिक बौद्धिकहरुले पनि आवाज उठाउँदै आएका छन् ।

दल त्याग सम्बन्धि खुल्ला नागरिक आह्वान- २०७७ 
सबै सचेत नेपाली नागरिकहरु,
आज तपाइहरु समक्ष हामी एक विशेष अनुरोध गर्न गइरहेका छौं । निश्चय पनि यो अनुरोध एक सामान्य अवस्थामा गरिएको अपेक्षा वा आग्रह मात्र होइन । यो समकालिन नेपाली इतिहास र समाजले हाम्रो आफ्नै स्वतन्त्रताको पक्षमा, हाम्रो स्वाभिमानको पक्षमा, र समग्र प्रगति र रुपान्तरणको पक्षमा एक विशिष्ट जिम्मेवारीको रुपमा समेत हामीले यसलाई लिएका छौं । सबैलाई हाम्रो अनुरोध के हो भने, तपाई हामी सबैले आजका मितिसम्म विभिन्न राजनीतिक दलहरुसँग स्थापित गरेको सम्बन्ध र आबद्धतालाई विर्सजन गर्न तथा तिनीहरुसँग सम्बन्धित संस्था, समूह वा मोर्चाहरुसँग को आफ्नो राजनीतिक र सांगठनिक सम्बन्धहरुबाट आफूलाई अलग राख्दै एक स्वतन्त्र र स्वाभिमान नेपाली नागरिकको रुपमा आफ्नो प्राथमिक राजनीतिक स्थान र पहिचानलाई कायम गर्न स्वयंलाई तत्पर गरौं । हामी यसलाई फेरी दोहोर्‍याउन चाहन्छौं- तपाई हामी सबैले आजका मितिसम्म विभिन्न राजनीतिक दलहरुसँग स्थापित गरेको सम्बन्ध र आबद्धतालाई विर्सजन गर्न तथा तिनीहरुसँग सम्बन्धित संस्था, समूह वा मोर्चाहरुसँगको आफ्नो राजनीतिक र सांगठनिक सम्बन्धहरुबाट आफूलाई अलग राख्दै एक स्वतन्त्र र स्वाभिमान नेपाली नागरिकको रुपमा आफ्नो प्राथमिक राजनीतिक स्थान र पहिचानलाई कायम गर्न स्वयंलाई तत्पर गरौं ।
दल त्याग किन र कसरी ?
दामोदर त्रिपाठी
दामोदर त्रिपाठी

१. राजनीतिक दलको सदस्य वा त्यसमा आवद्धताका नाममा सार्वभौम नागरिकलाई अनेक प्रलोभनहरुमा पार्ने, दलीय आवद्धताभन्दा बाहिरका नागरिकहरुलाई राज्यका सामान्य सेवा सुविधा पुर्‍याउन समेत विभिन्न तवरका अवरोधहरु खडा गरिने गरेकोले ।

२. दलहरुले आफ्ना सिद्धान्त, नारा, घोषणा पत्र र प्रतिबद्धताहरुलाई केवल चुनावी औजारहरुको रुपमा मात्र प्रयोग गर्ने र सत्ता प्राप्त भए पश्चात त्यस तवरका घोषणा र प्रतिवद्धता अनुरुप कार्य गर्न दलका प्रतिनिधिहरु तत्पर नहुने भएकोले । 
३. हाल चलिरहेको कारोना महामारी लगाएत देशमा हुने यस प्रकारका प्रकृतिक विपत्ति, दुर्घटना एवं हत्या हिंसका घटनामा समेत राहात तथा उद्धार सँग सबन्धित, अपराध अनुसन्धान तथा तहकिकात कार्यमा र दोषीलाई दण्ड र पिडितलाई न्याय दिने सम्बन्धमा समेत अनावश्यक राजनीतिक चासो, अवरोध र हस्तक्षेप ब्यापक मात्रामा बढेकोले ।  
४. दलिय विभाजनका आधारमा समाजमा मानिसहरुलाई परस्पर विरोधी पक्षहरुको रुपमा खडा गर्ने, उनीहरु बीचमा द्धन्द भड्काउने र समाजिक असुरक्षा र सामाजिक अपराधलाई समेत प्रोत्साहन गर्ने र दलिय आवद्धताका आधारमा अक्षम्य अपराध, भ्रष्टाचार, र अनियमिततामा संलग्न ब्यक्तिलाई समेत उन्मुक्ति दिने प्रवृति राज्य का माथिल्लो देखि तल्लो तहसम्म ब्यापक तवरले हावी भएकोले ।  
५. राजनीतिक दलहरु भन्दा भिन्न स्वतन्त्र नागरिकहरुको बलियो र खुल्ला एकताका माध्ययमबाट दशकौंको संघर्ष र ठूलो बलिदानबाट प्राप्त नेपालको लोकतान्त्रिक एवं गणतान्त्रिक शासन प्रणालिलाई जनताको पक्षमा विकास गर्न आम जनताको बीचबाट एक नयाँ र समान राजनीतिक स्थानको निर्माण गर्दै समता मूलक समाज निर्माणका पक्षमा राजनीतिक साझेदारहरु, सरकार र संसद माथी बलियो दवाव श्रृजना गर्न आवश्यक भएकोले ।
६. तपाई जहाँ हुनुहुन्छ, त्यही ठाउँबाट, तपाइले आफ्नो जीविकाका लागि वा आफ्नो आत्मिक उन्नयनका  लागि जे जस्तो पेशा वा कामलाई आवलम्बन गरिरहनु भएको त्यसलाई कायम राख्दै, तपाईको वरिपरी आफ्नो सामाजिक सम्बन्ध जे जस्तो अवस्थामा छ त्यसलाई त्यहि अवस्थामा राखेर, तपाई आवद्ध हुनु भएको दल, राजनीतिक संगठन वा मोर्चालाई आजैका मितिदेखि त्याग गर्नुहोस् र त्यसलाई लिखित वा मौखिक रुपमा दृढतापूर्वक सार्वजनिक गर्नुहोस् । 
७. सम्भव भएसम्म आफ्नो सो घोषणालाई तपाई सार्वजनिक सञ्चार माध्ययमबाट पनि प्रसारण गर्ने ब्यवस्था मिलाउनु होस । यदि तपाइको यो घोषणामा हाम्रो सहयोगको अपेक्षा गर्नुहुन्छ भने हामीसँग फोन, इमेल वा सामाजिक सञ्जालका माध्ययमबाट पनि जोडिन सक्नुहुने छ । हामी तपाइको चाहना अनुसार तपाईको  घोषणालाई सामाजिकीकरण गर्न मद्दत गर्ने छौं । 
८. हामीले यो प्रक्रियालाई अझै ब्यवस्थित बनाउने उद्देश्यले दल त्याग सम्बन्धि एक अनलाईन फारमको पनि विकास गरेका छौं । तपाई सो फारम मार्फत पनि दल त्यागको घोषणा गर्न सक्नुहुने छ । (दल त्याग सम्बन्धि अनलाईन फारमका लागि लिंक) 
(दल त्यागसँगै एक आम स्वतन्त्र र स्वाभिमान नेपाली को नयाँ पहिचानलाई आत्मसात गर्न र नागरिक स्वतन्त्रता अभियानलाई सफल बनाउन सहभागि हुनु भएकोमा हामी तपाइलाई बधाई दिन चाहन्छौं ।)
धन्यवाद !
मितिः २०७७ साल श्रावण २९ गते, बिहीवार ।  

सार्वजनिक बौद्धिक मञ्च, नेपाल को तर्फबाट

(दामोदर त्रिपाठी)
संयोजक

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay