scheduleआइतवार कार्तिक ९ गते, २०७७

त्यो विहारी शासन र यो ओलीराज

रुद्रप्रसाद भट्ट

सन् १९९० देखि १९९७ सम्म भारतको विहारमा मुख्यमन्त्री थिए लालु यादव । ‘जबतक रहेगे समोसे पे आलु, तब तक रहेंगे विहारमें लालु’ अर्थात् जबसम्म समोसामा आलु रहिरहन्छ तबसम्म विहारमा लालु यादवको शासन रहिरहन्छ भन्‍ने उखानै थियो ।

राष्‍ट्रिय जनता दलका नेता लालु यादव मात्रै होइन उनकी श्रीमती राबडी देवी समेत विहारको मुख्यमन्त्री बनेकी थिईन् । लेखपढ गर्न नजान्‍ने लालु र औंठाछाप समेत ढंगले लगाउन नसक्ने राबडी देवीले विहारमा शासन गरिरहँदा सबैभन्दा बढी भ्रष्टाचार र गुण्डागर्दी मौलाएको थियो । महिला मुख्यमन्त्री हुँदा राज्यमा महिलाहरुमाथि बलात्कारका उल्लेख्य घटनाहरु बढेका थिए । जनता उनको साथमा भए पनि उनीहरुले जनताको कुरा कहिल्यै सुनेनन् । श्रीमान–श्रीमती दुवैको शासनमा सत्ताको हालीमुहाली राबडी देवीका भाइहरु अर्थात् लालुका सालो साधु यादव र सुभाष यादवले चलाए ।

विहारमा भएका ९० प्रतिशत भ्रष्टाचार, गुण्डागर्दी, चेलीबेटी बलात्कार, हत्या र तोडफोडमा लालुका सालोहरुको नाम जोडिन्थ्यो । यादवकी माईली छोरीको विवाह गराउने समयमा उनका सालो साधु यादव र सुभाष यादवले विहारमा चन्दा र उपहार काण्ड नै मच्चाए, जतिबेला लालु पत्नी राबडीदेवी मुख्यमन्त्री थिईन । जनताको पैसामा आफुले रजाईं गर्ने मात्रै होईन उनले पार्टी कार्यकर्ता र सालोहरुको योजनामा पुरै विहारका सामान्य नागरिकदेखि ठुला व्यापारीसम्मलाई धम्की दिएर पैसा लिन्थे ।

छोरीको विवाहमा लालुले जन्तीलाई स्वागत गर्न मात्रै व्यापारीको शोरुमबाट १ सय ५० लक्जरी गाडी, ठूला फर्निचर पसलबाट लाखौं पर्ने सोफासेट र गिफ्ट पसलबाट महङ्गो सजावटका सामान धम्की दिएर सित्तैमा ल्याएको आरोप छ । विवाहमा जन्ती राख्‍न स्टार होटल बुकिङ र होटल जाने बाटो एकै रातमा पिच गरेर उनले राज्यको करोडौं रुपैयाँ रित्याए र आफ्नो सत्ता उन्मादको पराकाष्ट प्रदर्शन गरे ।

१९९७ मा पशुदाना खरिदको नाममा भएको एउटा भ्रष्टाचार काण्डमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले गरेको छानविनपछि लालुले ३७ करोड ६० लाख भ्रष्टाचार गरेको तथ्य फेला पार्‍यो । अनुसन्धान बढ्दै जाँदा लालु र उनको टिमले पटक–पटक गरेको भ्रष्टाचार ९ अर्ब ५० करोड रुपैंया देखियो । सिआईबीले मुद्दा दायर गरेपछि उनी मुख्यमन्त्रीबाट हट्नुपर्‍यो । लालु हटेपनि उनकी पत्नी राबडीदेवी लाई मुख्यमन्त्री बनाइयो । विहारमा राबडी देवीलाई औंठाछाप मुख्यमन्त्री भन्‍ने गरिन्थ्यो ।

भ्रष्टाचार काण्डमा मुछिएका लालुलाई दण्ड र जरिवानासहित ५ वर्ष जेल र १० वर्ष राजनीतिक पार्टीमा आवद्धता वा चुनाव लड्नबाट वञ्‍चित गरियो । १९९६ जनवरी २७ मा पशुदाना सम्बन्धी घोटालामा ३७ करोड ६० लाख भारु सरकारी ढुकुटीबाट अपचलन गरेको आरोपमा ११ मार्च १९९६ मा पटना उच्च न्यायलयमा सिआईबीले मुद्दा दायर गरेपछि लालुले ३० जुलाई १९९७ मा आत्मसमर्पण गरेका थिए ।

पशुपंक्षी चारा घोटालालाई विहारको सबैभन्दा ठूलो भ्रष्टाचार मानेको छ । त्यसपछि अनुसन्धानले ९ अर्ब ५० करोड रुपैंया सरकारी ढुकुटीबाट फर्जी कागजपत्र तयार गरी निकालिएको तथ्य समेत बाहिर ल्याएको थियो । यसमा मुख्यमन्त्री यादव र पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रसहित उनको पार्टीका अन्य नेता, कार्यकर्ता र कर्मचारी समेत संलग्‍न भएको तथ्य खुल्दै गयो ।

अहिले हाम्रो देशमा पनि कम्युनिष्टको नाममा जनता ठग्‍ने केही क्रान्तिकारीहरु भ्रष्टाचार, कमिसन, ठेक्का र विभिन्‍न काण्डमा मुछिएका छन् । सत्ता र शक्तिको आडमा तिनको बोली धम्कीपूर्ण छ र व्यवहार तुच्छ र घटिया लाग्दछ । दुर्भाग्य नै भन्नुपर्दछ की हाम्रोमा भ्रष्ट, माफिया र तस्करको संरक्षण स्वयं राज्य सञ्चालन गर्ने शासकले नै गरेका छन् । निष्पक्ष र तथ्यसहितको छानबिन निकाय नै छैन र भएकोलाई पनि पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाईएको छ । लालु राजको विहारकै राजनीतिसँग मिल्दोजुल्दो राजनीति अहिले हामीले भोग्दै छौं ।

गुण्डागर्दी, भ्रष्ट र दलाल संरक्षण गर्ने सत्ताले अहिले जनतालाई तर्साउने गरी केही सत्ताबाट पालिएका साँढेलाई छाडा छोडेको छ । आफ्नो निकटमा रहेका व्यक्तिको आलोचना वा खराब चरित्रका बारेमा जनताको प्रतिक्रिया नै सुन्‍न नचाहने कम्युनिष्ट सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफ्नो मात्रै होईन आफु निकटका गोकुल बास्कोटा, महेश बस्‍नेत, सुर्य थापा, विष्णु रिमालका आलोचकलाई पनि दुश्मन नै देख्‍ने गरेका छन् ।

रुद्रप्रसाद भट्ट

जनता वा आफ्नै पार्टीका कार्यकर्ता भएपनि आफ्नो शासनको विरोध गर्नेलाई ओलीले देख्‍न चाहँदैनन् भन्‍ने उदाहरण डा.गोविन्द केसी नै काफी छन् । सडकमा विरोध गर्ने सामाजिक अभियन्ता माथिको बर्बर दमन अनि राम्रो काम गरेर जनताबाट स्याबासी पाएका कुलमान घिसिङजस्ता व्यक्तिमाथि उनको सचिवालयमा बसेर राज्यको सम्पतिमा दोहन मच्चाउने चम्चेहरुको बोलीबाट नै स्पष्ट हुन्छ । पार्टीले नै ओलीविरुद्ध निर्णय लिन लाग्दा माइतीघरमा उनका आसेपासेले प्रदर्शन गर्न पाउने तर कुलमान र गोविन्द केसीका पक्षमा प्रदर्शन गर्न नपाइने ? यस्तो असहिष्णु राजनीति लालु नेतृत्वको विहारी राजनीतिको नयाँ संस्करण जस्तो लाग्छ ।

विहारको राजनीति अहिले फेरिएको छ । तर, हामी त्यही पुरानै रोगबाट अभिशप्त हुनु परेको छ ।

महाराज निर्वस्त्र नाङ्गो हिँड्न थालेपनि ‘साह्रै सुहायो महाराज’ भनेर दण्डवत नगर्ने हो भने वर्तमान कम्युनिष्ट सरकारको नेतृत्वकर्ता ओली राजमा कसैको पनि राजनीतिक भविष्य सहज देखिँदैन । समाजमा बदनाम भएका र भ्रष्टाचार, कमिसन वा कुनै न कुनै काण्डमा मुछिएका कार्यकर्ता हुन् वा नेता ओलीले संरक्षण गरेकै हुन्छन् ।

त्यो विहारको राजनीतिसँग मिल्दोजुल्दो राजनीति यहाँ पनि देखिन थालेको छ । जनता तर्साएर कर उठाउने, रासायनिक मल, स्वास्थ्य सामग्री जस्तो संवेदनशील विषयमा पनि भ्रष्टाचार र कमिसनको खेल हुने, कोरोना कहरका बीच भोकमरीले जनता मर्न बाध्य भैरहँदा पनि राज्यको ढुकुटी रित्तो बनाएर छाड्ने यसका अशुभ संकेत हुनसक्छ ।

यसर्थ, विहारमा आलु राखेको समोसा बिक्री भैरहँदा लालुको राजनीति कुहिएर झरेजस्तै नेपालमा कम्युनिष्ट सत्तालाई जोगाई राख्‍ने वा ओलीराजसँगै बदनाम गराउँदै ईतिश्रीमा पुर्‍याउने ? हावादारी गफ दिएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्‍ने झुठो सपना देखाउने ओली सत्ताको बागडोर अझै उनकै आसेपासे, हुक्के, बैठकेलाई नै दिने हो भने गणतन्त्रको भविष्य समेत अन्धकारमा पुग्‍ने निश्चित छ । गणतन्त्रको लागि जनताले रगत बगाईरहँदा बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्‍ने ओलीलाई गणतन्त्रको जिम्मा दिनुले नै अहिले जनतालाई ‘पाखे’ भन्‍ने ब्वाँसाहरु बाघको छालामा रजाईं गरिरहेका छन् ।

अब गणतन्त्रका असली हकदार जनताले ७० करोड भ्रष्टाचारको तथ्य खोजौं । ओम्‍नी, यति ग्रुपसँगको सम्झौता खोजौं । बालुवाटार जग्गा प्रकरण, वाईडबडी, मेलम्ची ठेक्का, औषधि खरिदलगायत कोरोनाको नाममा भएका अरबौं खर्च, बालुवाटारको चियानास्ता खर्चको दुरुस्त हिसाब खोजौं र ब्वाँसा लखेटेर गणतन्त्र र राष्ट्रिय स्वाभिमान जोगाउन अग्रसर बनौंं ।

यसका लागि जनयुद्ध, मधेस आन्दोलन, जनजाती आन्दोलन, आदिवासी थारु आन्दोलनलगायत सबै परिवर्तनका लडाईंका योगदान दिने शक्तिहरु एकजुट हुन ढिला नगरौं ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay