scheduleमगलवार कार्तिक ४ गते, २०७७

देश छोड्नेको लर्कोले देख्नेको मन रुवाउँछ तर, शासकहरूको मन किन रुवाउँदैन ?

सम्पादकीय

बसाइँ हिड्नेको ताँतीले बस्नेको मन रुवाउँछ

लाखौंको लागि उजाड छ यो देश मुठ्ठिभरलाई स्वर्ग छ

छोराछोरीको आँशु देख्दा छाती पोलेर आउँदछ

साहुका ऋण सम्झिँदा मनमा डँडेलो लाग्दछ

हालत जुन छ स्वदेशमा, त्यही छ हालत विदेशमा

कति छन् यहाँ मागेर हिंड्ने कति छन् यहाँ मस्तीमा

कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरु कुनै समय यो गीत बडो जोशले गाउँथे । जनगायक जेबी टुहुरेको स्वरले लोकप्रिय बनाएको यो गीतका रचनाकार सायद झलनाथ खनाल हुन् । यस्ता थुप्रै ‘जनवादी गीत’ हरु २०३६–२०४६ को बीचमा चर्चित थिए ।

ती गीतले सर्वसाधारणका दुःख, पीडा र वेदनाको चित्रण गर्थे । ३० को दशकपछिको नेपालमा बसाईं सर्नु मुख्य सामाजिक प्रवृत्तिमध्ये एक थियो । पहाडबाट झोडाको आश गर्दै मानिस मधेश झर्थे । जागिरको खोजमा गाउँबाट शहर पस्थे ।

मधेश र शहरले थेग्न, रोक्न नसकेकाहरु मुग्लान पस्थे । कोइलाखात र कालपानीको पहाड जान्थे । भारतका विभिन्न शहरमा दरवान, कुल्ली, कान्छा र बहादुर बन्थे । बेलायत र भारतको सेनामा औपचारिक लाहुरे हुनेहरुको कथा भिन्नै थियो । त्यसबाहेक पनि ‘कलकत्ते बुढाहरु’, ‘बर्मेली’ र ‘असमीया’हरु टोलटोलमा हुन्थे । मेघालयका जङ्गलमा काठ काट्ने आरावालहरुको भिन्नै कथाव्यथा थियो ।

यसको दोष ‘राजतन्त्रतात्मक निर्दलीय पञ्चायती व्यवस्था’को अर्थ-राजनीतिलाई दिइन्थ्यो । ३० दशक बितेछ– पञ्चायतको अन्त्य भएको । १२ वर्ष बितेछ, राजतन्त्रको अन्त्य भएको । करिब आधा दर्जन कम्युनिष्ट प्रधानमन्त्री पाइसके छ देशले । दुई तिहाई नजिकको बलियो कम्युनिष्ट सरकार चलेको अढाई वर्ष बितेछ ।

तर गीतले चित्रण गरेको अवस्थामा कुनै परिवर्तन छैन । आज करिब ४० लाख भन्दा बढी मानिस विदेशमा छन् । तिनै मानिसले पठाएको रेमिटेन्सले यो देश चलेको छ । जिडिपीमा करिब २८ प्रतिशतको योगदान विप्रेषणको छ भनिन्छ । तर जब तिनै मान्छे महामारीमा स्वदेश फर्किन चाहन्थे- २ महिना भन्दा बढी समय कम्युनिष्ट सरकारले कुनै वास्ता गरेन ।

चैत्र ११ मा लकडाउन शुरुवात भयो । भारतबाट स्वदेश फर्किएकाहरु सीमानासीमाना मै अलपत्र परे । कयौं लुकेर, भागेर चोरबाट देश छिरे । त्यस्ता मानिसको यथाशिघ्र उद्धार गर्न सर्वत्र माग भयो । सरकारले भन्यो–‘लकडाउन इज लकडाउन’ । भारत बाहेकको देशबाट फर्किन हवाइसेवा थिएन । मानिसले दुतावास र सरकारसँग हारगुहार गरे । सरकारले भन्यो- ‘सबैलाई एकैचोटी ल्याएर देशलाई सोत्तर बनाउन सकिँदैन ।’

विदेशमा रहेका जनता र कोरोना प्रतिरोध रणनीतिबारे सरकारको बुझाई आज फर्किएर हेर्दा भ्रम र अहंकारबाहेक अर्थोक केही पनि पुष्टि भएन । दुई महिना बढी मानिस अलपत्र परेपछि सरकारले सीमाबाट पस्न दियो । चार्टर जहाजबाट केही उद्धार गर्‍यो । सरकारली तथ्यांक थियो- आषाढसम्ममा भारतबाट २ लाख बढी र अन्य देशबाट २० हज्जार बढी मानिस स्वदेश आए ।

तर, कोरोना संक्रमण कहिँकतै रोकिएन । पहिलो चरणमा करिब ४ महिना र त्यसपछिको निषेधाज्ञालाई समेत जोड्दा नेपाल संसारमै लामो लकडाउन हुने देशमध्ये पर्दछ । चीनले ४ महिनाको लकडाउनको कोरोना नियन्त्रणमा लिएको थियो । अन्य कतिपय देशले मुश्किलले करिब २ महिनासम्मको लकडाउन गरे । नेपालमा करिब ६ महिनाको लकडाउन भयो । तर परिणाम केही पनि आएन ।

नेपाल आज विश्वकै तीव्र संक्रमण दर भएका देशमध्ये एक बनेको छ । तर यहाँ चर्चा गर्न खोजिएको भयावहताको पाटो भने अर्कै छ । त्यो भारत फर्किनेहरुको ताँती ।

पछिल्लो तथ्यांकहरु अनुसार श्रावण र भाद्रको दुई महिनामा करिब ५ लाख नेपाली भारत फर्किएका छन् । उनीहरुलाई थाहा छ कि भारत उच्च जोखिममा भएको देश हो । पछिल्ला दुई महिना यता भारत सबै संसारकै सबैभन्दा धेरै कोरोना संक्रमण दर भएको देश बनेको छ । त्यहाँ प्रतिदिन ९५ हजारसम्म मानिस संक्रमित भएको तथ्यांक छ ।

यो थाहा हुँदैहुँदै पनि सीमानामा देश छोडनेहरुको लर्को लागेको छ । त्यो पनि दशैंतिहार चाडपर्वको मुखमा । दशैंतिहार नेपालीहरु घरफर्किने समय हो । दशैं आउन एक महिना बाँकी हुँदा संसारकै सबैभन्दा बढी संक्रमण दर भएको मुलुकमा ताँतीका ताँती मानिस जाँदैछन् ।

के नेपालको अर्थतन्त्र कोरोना महामारीको बीचमा, दशैंतिहारजस्ता मुख्य चाडपर्वको मुखमा दुई महिना पनि मानिसलाई आश्वश्त पार्न नसक्ने गरी टाट पल्टिएको हो ? यदि हो भने यसको दोषी को हो ? कुन अर्थ–राजनीतिले यस्तो स्थिति आयो ? यसको कसैले उत्तर दिनु पर्छ कि पर्दैन ? नैतिक जिम्मेवारी लिनु पर्दछ कि पर्दैन ?

यसमा कुनै सन्देह छैन कि ती मानिस मुग्लान कुनै आर्थिक भविष्य देखेर फर्किएका होइनन् । रोगभन्दा भोक ठूलो समस्या भएर अगाडि आएपछि जे पर्ला, मरे पनि मरिएला भनेर फर्किएका हुन् । छोरोछोरीको आँशु पुछ्ने र साहुको ऋण चुकाउने अरु उपाय सकिएपछि मुग्लानिएका हुन् ।

उनीहरुलाई थाहा छ कि स्वदेशको जे हाल छ, विदेशको हालत पनि त्यही हो । महामारीबीच आफ्नो देशले खुल्ला हृदयले माया गरेन, विदेशले माया नगर्ला, मानवीय व्यवहार नगर्ला भनेर चित्त दुखाउनु पर्ने ठाउँ रहेन । ती मानिस जसको मूल्य वा हैसियत आफ्नै देशमा ३ महिना थेगिने छैन, उनीहरुलाई परदेशले कति महत्व देला ?

जनवादी गीत गाएर जनताको संवेदनासँग खेलेकाहरुको समूह आज सत्तामा छ । नयाँ नेपालको सपना बेच्नेहरु आज सर्वशक्तिमान छन् । तर कसैले बताइरहेको छैन कि देश छोड्नेहरुको लर्कोको जिम्मेवार को हो ? हिजो बसाइँ हिड्नेहरुको ताँती देख्दा जुन मानिसलाई देश ‘मुठ्ठीभरको लागि स्वर्ग लाग्थ्यो’ आज देश छोड्नेहरुको लर्को देख्दा ती मानिसलाई यो देश कस्तो लाग्ला, कसको लाग्ला ?

के अझै देश ‘ लाखौंका लागि उजाड र मुठ्ठीभरका लागि स्वर्ग’ छैन र ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay