scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

कोरोना कहरका बीच विहारमा विधानसभाः कन्हैयाको के हुन्छ ?

नयाँ दिल्ली, १० असोज । भारतको निर्वाचन आयोगले विहार विधानसभा निर्वाचन ३ चरणमा हुने समय तालिका सार्वजनिक गरेको छ । अक्टोबर २८, नोबम्बर ३ र ७ तारिख मतदान हुने छ भने मतगणना नोभेम्बर ७ मा हुनेछ । निर्वाचन आयोगको यो घोषणासँगै कोरोना महाव्याधीको कारण निर्वाचन केही समय पर सार्नु पर्ने बहसको अन्त्य भएको छ ।

विहार नेपालसँग सीमाना जोडिने भारतको उत्तरी प्रदेश हो । नेपालको प्रदेश १, २ र ५ सँग विहारको सिमाना जोडिन्छ । निर्वाचन आयोगले चुनाव नरोक्ने निर्णय गरेसँगै त्यहाँ राजनीतिक सरगर्मी बढेको छ । कोरोना संक्रमणका सन्दर्भमा नेपालले आफ्नो सतर्कता बढाउनुपर्ने छ ।

विश्वका ७० बढी देशले यस बीचमा कोरोना महाव्याधीलाई कारण मान्दै निर्वाचन स्थगन गरेका छन् । तर दक्षिण कोरिया, सिङ्गापुर, मंगोलिया, श्रीलंका आदि देशमा यही बीचमा निर्वाचन सम्पन्न भएको छ । आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचन स्थगन गरिएन ।

विहारको विधानसभा २४३ सदस्यीय छ । विहारमा ‘सुशासन बाबु’ को छवि बनाएका जनता दल युनाइटेडका नेता नितिश कुमार विगत दुई कार्यकालदेखि निरन्तर सत्तामा छन् । सन् २०१५ को विधानसभा निर्वाचनमा उनले भाजपा विरुद्ध महागठबन्धन बनाएका थिए । तर कार्यकाल पूरा नहुँदै लालु यादब नेतृत्वको राष्ट्रिय जनता दलसँगको गठबन्धन भङ्ग गरी भाजपासँग मिलेर सरकार चलाएका थिए ।

विहारमा नितिश कुमारको उदय हुनुअघि लालु यादब र रावडीदेबीको सरकार थियो । उनीहरुको सरकारलाई ‘जंगलराज’को रुपमा चर्चा गरिन्थ्यो । सत्तामा आएसँगै नितिशले गुण्डागर्दी नियन्त्रणबाट आफ्नो छवि निर्माण गरेका थिए । नितिशको कार्यकालमा विहारको आर्थिक उन्नति विगतको तुलनामा राम्रो भएको तथ्यांकहरु सार्वजनिक हुने गरेका छन् ।

यसपटक पनि सत्तारुढ पार्टीहरुले नितिश कुमारलाई नै भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । सत्तारुढ गठबन्धनमा भाजपा र जनता दल युनाइटेडका अतिरिक्त केही साना दलहरु छन् । भाजपाका प्रदेश नेता सुशिलकुमार मोदी नितिश सरकारमा उपमुख्यमन्त्री थिए ।

राष्ट्रिय जनता दल, राष्ट्रिय कांग्रेस, भाकपा मार्क्सवादी, भाकपा, भाकपा ( माले, लिवरेशन ) विहारका मुख्य विपक्षी दलहरु हुन् । विपक्षी दलहरु बीच पनि गठबन्धन हुने सम्भावना छ । त्यसका अतिरिक्त राम विलास पासवान नेतृत्वको लोकशक्ति पार्टी र पूर्वमुख्यमन्त्री जितनराम माझी नेतृत्वका साना दलहरु छन् । यी दलहरु दुई मध्ये कुनै एक गठबन्धनमा सामेल हुनेछन् ।

कुनै पनि विपक्षी दलले भावी मुख्यमन्त्रीको उम्मेद्वार प्रस्तावित गर्न सकेका छैनन् । यसले नितिश कुमार र सत्तारुढ गठबन्धनलाई नै फाइदा पुग्ने ठानिएको छ ।

राष्ट्रिय जनता दलका नेता लालु यादव भष्टाचारको मुद्दामा जेल जीवन बिताइरहेको कारणले पनि नितिश कुमारलाई चुनौति दिने हाराहारीको नेता नभएको विश्लेषण गरिंदैछ । लालुका छोरी तेजस्वी यादव विपक्षी नेताहरुमध्ये सबैभन्दा शक्तिशाली र लोकप्रिय मानिन्छन । विपक्षी गठबन्धन सत्तामा आएमा तेजस्वी यादव मुख्यमन्त्री हुन् सक्ने बताइन्छ ।

विगत केही वर्ष यता राष्ट्रिय चर्चामा रहेका विद्यार्थी नेता कन्हैया कुमार विहारकै हुन् । विपक्षी दलहरुले कन्हैयाको लोकप्रियतालाई भजाउन प्रयत्न गर्नेछन् । उनी यसपटकको विधानसभा निर्वाचनमा विपक्षी दलहरुको स्टार प्रचारक हुने बताइन्छ ।

कतिपयले कन्हैया कुमारलाई नै भावी मुख्यमन्त्रीको उम्मेद्वार बनाउनु पर्ने तर्क गरे पनि त्यो सम्भावना क्षीण छ । कन्हैया कुमारको पार्टी भाकपा विहारमा निक्कै कमजोर छ ।

विहार राजनीतिमा लालु र नितिश कुनै समयका साथी थिए । उनीहरु दुवै जेपी आन्दोलनमा संलग्न हुँदै विद्यार्थी क्षेत्रबाट राजनीतिमा उदाएका थिए । उनीहरु बीचको प्रेम–घृणाको खेलले विहार राजनीतिमा अनेक मोडहरु आएका छन् ।

२०१४ को लोकसभा निर्वाचनदेखि भाजपा विहार राजनीतिमा निक्कै शक्तिशाली भएको छ । तर २०१५ को विधानसभा निर्वाचनमा सबै विपक्षीहरु एक भएपछि भाजपाले एकल बहुमत ल्याउने सम्भावनाको रथ रोकिएको थियो । त्यही घटनाक्रम नदोहोरियोस भनेर भाजपा नितिश कुमारलाई अघि सार्न बाध्य छ । अन्यथा प्रदेशसभा जनता दल युनाइटेडभन्दा भाजपा ठूलो दलका रुपमा आउने निश्चित जस्तो देखिएको छ ।

विहारमा अहिलेसम्म भाजपा नेतृत्वको सरकार बनेको छैन । भाजपा रणनीतिकारहरुका अनुसार यो नितिशका लागि अन्तिम अवसर हो । अर्को चुनावदेखि भाजपा आफ्नै नेतृत्वमा चुनाव लड्ने रणनीतिमा हुनेछ ।

भाजपाको तर्फबाट विहार चुनाबको कमाण्ड केन्द्रीय गृहमन्त्री अमित शाह आफैले लिने बताईएको छ ।

विपक्षी दलहरुलाई सरकार विरोधी भावनाको सहजता भए पनि समग्रमा सत्तारुढ गठबन्धन नै हावी हुन् सक्ने स्थिति बन्दै गएको विश्लेषकहरुको ठहर पाइन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay