scheduleआइतवार कार्तिक ९ गते, २०७७

डाँफेकी आमा

राममणि खतिवडा
Rammani Khatiwada
राममणि खतिवडा

अघिल्लो याम मेरी आमालाई उत्ति निन्द्रा परेन
रातभरको ऐठन अनि दिनभरको सुर्ता
मनमा अनेक तर्कना खेली रहे
सुनौलो बिहानी छिचोल्न एक सासले कुरी बसिन्
कैयौं कहालीलाग्दा रातहरु
सकसको कुनै सीमा हुन्न उनीलाई, जब-जब अपसकुनको संकेत दिन्छ
शीरको शिउररूपी एन्टेनाले ।

उनी बृद्ध छिन्, अलिक सिथिल देखिन्छिन्, प्वाँखको रंग थोरै फिक्का
अनि मुखको टुँडो केहि बोधिएको छ,
एक हैन, कोटी-कोटी बहुरङ्गी बचेरालाई चारो जुटाउने,
आँधीबेहरीबाट जोगाउने, बाजको झम्टाईबाट बचाउने चिन्ताले
दिन-दिन कमजोर हुँदैछ उनको काया
तर, तर निश्चल छिन्, निडर छिन् र स्वाभिमानी छिन् उनी ।

बचेरालाई डुलाउँदै कहिले पुग्थिन् लिपुलेक-कालापानी त कहिले लाप्चा-लिमी
हिमाली काख अनि लेक टाकुरी डुली हिंड्ने उनको वर्षौंदेखिको दिनचर्या जो थियो
तर उनी गम्छिन्, फेरिएछ- परिस्थिति, बदलिएछ जमाना
आफैं डुल्ने, सुन्दर प्वाँख फिँजाएर घुमीघुमी नाँच्ने पाटन/पटङ्गिनीमा आज ‘बाज’ले धावा बोलेको छ,
काशीको पिण्ड चाखेको बाज अलि अघिदेखि नै उनको गुँड भत्काएर
आफ्नो झ्यास थुपार्न व्यस्त छ ।

सहेकै थिईन्, फर्की जाला कुनै दिन ऋतुको परिवर्तनसँगै, हावाको बहावसँगै
तर, तर त्यो दिन कहिल्यै आएन
मेरी आमा बिछट्टै निराश छिन्… उनीलाई लाग्दै छ बचेराहरुलाई
अब त्यो भू-स्वर्गमा कहिल्यै डुलाउन पाउने छैनन् सायद !?

अनेकन दुःस्वप्नले व्याकुल उनको मानसपटल त्यतिखेर नराम्ररी झस्कीयो,
जब अकस्मात कुत्तितिरबाट वायु-वेगमा आएको अर्को अझै भयानक- हिंस्रक
ड्रागनले उनीको सात्तो-पुत्लो उडाई दियो

हिजोआज उनी निक्कै हतास छिन् …
युगौंको मेहनतबाट आफ्नै टुँडोले बनाएको गुँडमा बचेरा कसरी जोगाउने,
तीनलाई हुर्काउने, गुँड जोगाउने आदि अनेकौं सुर्ताको गहिरो चिन्तामा छिन् उनी
अर्थात् डाँफेकी आमा ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay