scheduleआइतवार कार्तिक ९ गते, २०७७

कश्मिरीलाई बरु ‘चिनियाँ शासन’ स्वीकार्य छ तर ‘धारा ३७० विनाको भारतीय’ हुन स्वीकार्य छैन

फारुख अब्दुल्ला, पूर्वमुख्यमन्त्री- कश्मिर

गत वर्षको अगष्ट ५ मा धारा ३७० को खारेजीपछि यदि इमान्दार भएर भन्ने हो भने कश्मिरमा कसैलाई ‘भारतीय हुने’ मन छैन । म आफै छक्क पर्छु । कसैलाई विश्वास लाग्दैन भने मानिससँग भेटेर कुरा गरे हुन्छ । उनीहरु प्रष्ट भन्छन् । कश्मिरी नागरिक अब आफूलाई भारतीय सम्झिँदैनन् । अझ कठोर कुरा उनीहरु भारतीय हुन पनि चाहँदैनन् ।

किन यस्तो भयो त ? किनकी कश्मिरीहरुमा अब भारतप्रतिको विश्वास बाँकी रहेन । भारतमा एउटा मात्र मुस्लिम बहुसंख्या भएको प्रदेश थियो । त्यो पनि उनीहरुले सहन गर्न सकेनन् । उनीहरुले कश्मिरलाई सधैं पाकिस्तान देखे । हामीलाई पारीको मान्छे ठाने, आफ्नो मान्छे ठानेनन् । यी मानिस उतातिर भए हुन्थ्यो, पाकिस्तानतिर गइदिए हुन्थ्यो भन्ने धारणा देखियो ।

हो, हाम्रो धर्म उतैतिर मिल्छ । हाम्रा नदीनालाहरु उतैतिर बग्दछन् । तर हामीले भारतलाई विश्वास गरेका थियौं । तर यो प्रष्ट पारौं हामीले गान्धीको भारतलाई विश्वास गरेका थियौं, मोदीको भारतलाई हैन । गान्धीको भारतमा सबै मानिस बराबर अधिकारको भागिदार हुन्छ भनिएको थियो । अब त्यो रहेन । त्यो गयो । त्यो सकियो । त्यो भावनाकै अब अन्त्य भयो ।

यहाँ सबै कुरा समाप्त भएको छ । यसको फाइदा चीनलाई हुन सक्दछ । कश्मिरी जनता न भारतलाई विश्वास गर्न सक्दछन् न पाकिस्तानलाई । म बुझ्छु कि म जे भन्दैछु, यो कति गम्भीर कुरा हो । तर भन्छु किनकी म इमान्दार भएर भन्दैछु । जुन राज्यको इमान्दारितामा निरन्तर आशंका गरिन्छ, जुन प्रदेशको विकासमा निरन्तर अवरोध गरिन्छ, त्यो सधैं कसरी सहेर बस्न सक्दछ ?

यहाँ स्वतन्त्रताको कुरा गरिन्छ । के हो स्वतन्त्रता ? कहाँ छ त्यो ? कसबाट आशा गर्ने स्वतन्त्रता ? यहाँ मानिसका सपनाको रातारात हत्या भएको छ । सन्तानको भविष्यको कुनै निश्चितता छैन । केही मान्छे भन्छन्– कश्मिरीहरु यतिधेरै निराश छन् भने भाजपा सरकारको विरुद्ध किन विरोध प्रदर्शन भइरहेको छैन ? यो हास्यास्पद प्रश्न हो ।

यहाँ गल्लीगल्लीमा सेनाको टुकडी राखिएको छ । फोन लाइन काटिएको छ । इन्टरनेट सम्पर्क समाप्त गरिएको छ । मान्छे घरबाट निस्कदा आँगनमै मारिने अवस्था छ, यस्तो बेला कसरी प्रदर्शन हुन सक्दछ ? केन्द्रले यो अवस्था हटाएर हेरोस् त ? धारा १४४ हटाओस् त ? आर्मी हटाओस् त ? त्यसपछि सबै मानिस सडकमा हुनेछन् ।

नरेन्द्र मोदी र अमित शाहप्रति कश्मिरीको मोहभङ्ग भइसकेको छ । घृणा शब्द प्रयोग गर्नु राम्रो नहोला, तर कश्मिरीले अब उनीहरुलाई विश्वास गर्दैनन् ।

गत वर्ष अगष्ट ५ को घटनाभन्दा ७२ घण्टा अघि मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर सोधेको थिएँ । कश्मिरमा जसरी सैन्य तैनाथी बढाइदैछ, यो कस्का लागि हो ? किन हो ? उनले मसँग भनेका थिए– हामीलाई त्यस्तै खबरहरु छन् । पाकिस्तान वा चीनतिरबाट कुनै हमला हुन सक्दछ । उनले एक शब्द चुहाएनन् कि उनी धारा ३७० खारेज गर्दैछन् । त्यो बैठक बढो खुशीयालीपूर्ण भएको थियो ।

मोदीले यो बुझेनन् कि हामी भारत सरकारका दास वा नोकर हैनौं । हामी सार्वभौम काश्मिरी जनता हौं । हामी निश्चित सिद्धान्तको पक्षमा हुन्छौं, निश्चित सिद्धान्तमा अडान राख्छौं र सिद्धान्त अनुसार चल्दछौं । एक मुस्लिम बहुल प्रदेशका रुपमा भारतले कश्मिरलाई विश्वास गर्दैन भने हामीले भारतलाई विश्वास गर्नु पर्छ भन्ने छैन ।

हो, कुनै बेला म नै ‘भारत माताकी जय’ भन्थेँ । मैले सधै राष्ट्रको बचाउ गरेँ । चाहे अष्ट्रेलियामा होस्, वा जेनेभामा वा संयुक्त राष्ट्र संघमा । तर अब हाम्रो विश्वास र बुझाईले काम गरेन । उनीहरुले हामीलाई धोका दिए । हामीलाई यो भूमिको गद्दार बनाउन खोजे । तर हामी गद्दार हैनौं, तिनीहरु गद्दार हुन् । यी गद्दारहरुले यो भूमिप्रतिको प्रेम गुमाए ।

तर मैले आत्मविश्वास गुमाएको छैन । यो लडाई म अझै लड्छु । कुरानले मलाई यो उत्साह दिन्छ कि यो लडाई लड्नै पर्छ । मोदीको बारेमा म केही भन्न चाहन्नँ । मेरो हृदयमा उनीप्रति खेदको भावना छ । तर उनलाई के सजाय दिने हो त्यो भगवानले दिनेछन् ।

आज हेर्नुस्, देशको के हालत छ ? चिनियाँ सेना मार्च गरिरहेको छ । प्रधानमन्त्री मोदी भन्छन्– एक इञ्च जमिन चीनले छिनेको छैन । रक्षामन्त्री भन्छन्– चिनियाँ सेनाको बम, मिसाइल र गाडीहरु भारतीय भूमिमा छन् । उनी रुस र अमेरिकासंग सहयोग माग्दै हिड्दैछन् ? यही हो राष्ट्रको अडान ?

कुरो बढो प्रष्ट होस्– यो कुनै शक्तिको लडाई हैन । यो यस भूमि र जनताको आत्मसम्मानको लडाईं हो । कश्मिरी जनताको आत्मसम्मान र गरिमाबाहेक यो लडाईको अरु कुनै उद्देश्य छैन । उनीहरु चाहन्छन् कि यो राज्यको जनसांख्यिक परिवर्तन गर्न सकियोस् । मुस्लिमलाई अल्पसंख्यामा पार्न सकियोस् । देशमा एउटा मुश्लिम बहुल प्रदेश हुँदा कस्को के ब्रिग्रिएको थियो ?

भाजपाईहरु आज नारा लगाउँछन्– ‘गोली मारो सालेको’ । के यिनीहरुलाई यस्तो भन्ने अधिकार छ ? यस्तो नाराले कश्मिरी जनताको मनमा कस्तो भावना आउँछ होला ? जिन्नाले शेख अब्दुल्लालाई बारम्बार पाकिस्तानतिर आउन भनेका थिए । शेखले मान्नु भएन ।

उहाँले भन्नु भो– ‘हामी त्यहाँ जान्छौं, जहाँ सबै मानिस बराबर हुन् भन्ने सिद्धान्तलाई स्वीकार गरिन्छ ।’ शेख अब्दुल्लाले प्रष्ट भन्न भएको थियो– ‘हामी मिसिएका हैनौं, बराबर भएका हौं, हाम्रो भूमिको भिन्न पहिचान रहन्छ ।’

यदि यो भावना भारतले कायम राख्दैन भने भारतको सबै सेना ल्याएर कश्मिरमा किन नराखियोस् कुनै न कुनै दिन विष्फोटन हुन्छ, हुन्छ ।

कश्मिरबारे बाँकी भारतलाई गुमराह गरिएको छ । उनीहरुलाई भनिएको छ कि त्यहाँ २/३ वटा शासक परिवार छन् । उनीहरुको राजनीतिक स्वार्थको लागि त्यो प्रदेश बनेजस्तो भएको छ । यहाँ सबै बर्बाद छ ।

के यो सत्य हो ? के कश्मिरको विकास बिहार र गुजरातभन्दा पछाडि छ ? तथ्यांकले त्यो देखाओस् । कश्मिरका पार्टीहरु सधैं झगडा गर्छन् भन्ने हैन । आज यहाँका सबै पार्टी एक छन् । सबैको एउटै कुरा हो– धारा ३७० संविधानमा पुनस्थार्पित होस् । कश्मिर केन्द्रशासित प्रदेश हैन, हुन सक्दैन ।

उनीहरु हामीलाई पाकिस्तानी ठान्छन्, गद्दार ठान्छन्, देशघाती ठान्दछन् । तर यो नबिर्सिउन कि करिब २०० वर्षको अंग्रेज शासनमा पनि कश्मिरीहरु लडेका थिए । नेहरुसँग पनि कश्मिरीहरु लडे । हामी यिनीहरुसँग पनि लड्छौं । बन्दुकले हैन, बमले हैन, गान्धवादी तरिकाले नै लड्छौं । म मेरो जीवनको अन्तिम साससम्म यो लडाई लड्छु ।

(द वायरमा करण थापरसगको कुराकानीबाट सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay