scheduleआइतवार कार्तिक ९ गते, २०७७

पर्यटन क्षेत्रको पुनर्जीवनः बहस र छलफल यहाँबाट सुरु गरौं

नारायणप्रसाद पोख्रेल

पर्यटन शब्द नेपाल र नेपालीका लागि चिरपरिचित शब्द भयकाले यसको अन्तर्वस्तुतिर नगई नेपालले विगत ५० वर्षदेखि अँगाल्दै आएका पर्यटकीय परिभाषा र उत्पादनका बिषयहरूमा चर्चा गर्ने जमर्को गरेको छु ।

नेपाल एउटा विश्वकै अद्वितीय, अति सुन्दर प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण मुलुक हो । यदि यो भूभाग जापान, कोरियाजस्ता अति मेहनती, इमान्दार श्रृजनशील मुलुकको अधिनस्त हुन्थ्यो भने यो भूभागलाई एकचोटि हेर्नको लागि पनि हजारौं डलर पूर्वभुक्तानी गरेर वर्षौं कुरेर मात्र एकचोटि भ्रमण गर्न पाइने अवस्था हुन्थ्यो होला । तर हामीमा हिरालाई चिन्न सक्ने क्षमता नहुँदा हामी यो हिरालाई दिन प्रतिदिन कुरुप बनाउन मै तल्लिन छौं ।

करिब ३० वर्ष अगाडि युएनमा कार्यरत जापानीज नागरिकलाई अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा गराउने अवसर प्राप्त भएको थियो । निज जापानीज नागरिकले त्यतिबेलासम्म करिब ६० मुलुकको भ्रमण गरिसकेको अनुभव रहेछ । उहासँगको १५ दिनको पदयात्रा मेरो लागि एउटा अविस्मरणीय क्षण बन्यो । उहाँको विचारबाट प्रभावित भएर देशको पर्यटन विकास अभियानमा युवा अवस्थाको १० वर्ष व्यतित गर्न पनि पुगे । देशमा आन्तरिक द्वन्द्व बढेसँगै उक्त अभियानलाई अगाडि बढाउन र गति दिन सकिएन ।

र्तमानमा पर्यटकीय परिभाषा र उत्पादन

सबैभन्दा पहिले पर्यटनको उत्पादन कसरी हुन्छ र उत्पादनमा प्रत्यक्ष र परोक्षरुपमा प्रभाव पार्ने बिषयमा चर्चा गरौं । अन्य उद्योग व्यवसायमा जस्तै पर्यटन उद्योग व्यवसायमा पनि कथा लेखन र त्यसको प्रस्तुतिले ठूलो महत्व राख्दछ । नेपालले विगत लामो समयदेखि अँगाल्दै आएका पर्यटकीय परिभाषामध्ये सगरमाथाको देश, विश्वकै उत्कृष्ट पदयात्रामार्गहरू, खुल्ला संग्राहलय, एसियाको स्वीट्जरल्याण्ड, प्राकृतिक र सांस्कृतिक धरोहर, अति शिष्ट र आतिथ्य नेपाली सेवा आदि हुन् । उल्लेखित कथा र परिभाषालाई नेपालमा आउने पर्यटकहरूले अझ उत्कृष्ट कथाको रुपमा प्रस्तुति गरिदिएको कारणले र सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरको सफल आरोहण गरेपछि नेपाल विश्व पर्यटन बजारमा चिनिन र नेपालमा पर्यटन विकास सम्भव भएको होभन्दा अत्युक्ति नहोला ।

जबसम्म मानिसलाई अन्तरआत्मादेखि नै कुनै खास देश र स्थानका बारेमा लेखिएका वर्णनहरूले आकर्षित पार्न या कुनै नजिकका इष्टमित्र साथीभाइ आदिबाट उक्त देश अथवा स्थान किन महत्वपूर्ण र घुम्न उपयुक्त छ भन्ने बारेमा जानकारी हुन सक्दैन । उक्त देश या क्षेत्रमा पर्यटन विकास सम्भव हुँदैन । नेपालमा पर्यटनको वृद्धि र विकासको कारकमाथि उल्लेखित परिभाषा र सोहीबमोजिमका उत्कृष्ट कथाहरू नै हुन भन्न सकिन्छ । हो, समयको गतिसँगै पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड र बिशेष गरी निजि क्षेत्रबाट पनि माथि उल्लेखित परिभाषा र कथाहरूलाई विभिन्न माध्यमबाट विश्वका विभिन्न मुलुकहरूमा प्रचारप्रसारबाट थप गति दिने काम हुँदै आएको छ । पर्यटन सेवा उत्पादनका हिसाबले हिमाल, प्राकृतिक सुन्दरता, संस्कृति, धर्मबाहेक हामीले कुनै खाश ठोस उपलब्धि हासिल गरिसकेको अवस्था छैन ।

नारायण प्रसाद पोखरेल

बदलिँदो समयसँगै नयाँ परिभाषाको आवश्यकता

विगत ५० वर्षमा हामी नेपालीको रहनसहन भेषभुषा, संस्कृति परम्परा आदिमा धेरै नै परिवर्तन भैसकेको अवस्था छ । पर्यटकहरू जुन उद्देश्य, नेपाली संस्कृति र भेषभुषा, शिष्टता र आतिथ्यको लागि लालायित भएर नेपाल आउन चाहान्थेँ । आज त्यो अवस्था रहेन । हाम्रोकाठमाण्डौ भ्यालि आज खुल्ला सङ्ग्राहलयको रुपमा देख्न पाइन्नँ । हाम्रा विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गलगायत धेरै पदमार्गहरू डोजरे विकासका कारण ध्वस्त प्रायः भैसकेका छन् । हामीसँग अद्वितीय शिष्टता र आतिथ्य पनि छैन । हामीसँग पर्यटकका लागि आकर्षकीय उत्पादनका रुपमा विश्व प्रसिद्ध हिमश्रृङ्खलाहरू बाहेक अन्य उत्पादनहरूको प्रभाव र आकर्षण दिनप्रतिदिन घट्दो अवस्थामा छ भन्दा अत्युक्ति नहोला । अब यो अवस्थाबाट पर्यटन विकासलाई पुनर्ताजगिसहित गति दिन हाम्रो परम्परागत पर्यटनको अवधारणालाई पुनः परिभाषित गरी अगाडि बढ्न सकेको अवस्थामा मात्र हामीले पर्यटन विकासमा एउटा लामो र गतिलो छलाङ मार्न सकिने छ ।

पर्यटन विकासमा एउटा गतिलो छलाङ कसरी मार्न सकिएला ?

प्रथमतः हामीले हामीसँग भएका र उत्पादन गर्न सकिने पर्यटकीय उत्पादनहरूको खोजी गरेर एउटा खाका तयार पारी ती उत्पादित र उत्पादन हुन सक्ने पर्यटकीय सेवाहरूको विवरण तयार पार्नु जरुरी छ । विश्वमा अहिले सामुद्रिक होलिडेपछि दोस्रो सबैभन्दा बढी मन पराइएको क्षेत्र भनेको प्राकृतिक र सांस्कृतिक सुन्दरता हो । नेपाल विश्व पर्यटन बजारमा चिनिएको र नाम कमाउन सफल क्षेत्र पनि यहि हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई जोगाउन, विकास र सम्वर्द्धन गर्न सकिएमा मात्र हामीले दिगो पर्यटन विकासको अवधारणालाई मुर्तरुप दिन सम्भव हुनेछ ।

 

पर्यटन–सपनाको व्यापार

पर्यटनलाई सपना बेच्ने व्यापार भनेर पनि भन्न सकिन्छ । जति सपना देखाउन र त्यसको प्रभाव बढाउन सकियो त्यति छिटो पर्यटन विकासले गति लिन थाल्नेछ । श्रीलङ्का भ्रमणको क्रममा मसला बजार घुम्दा मैले महसुस गरेँ- सपना देखाउन र त्यो सपनालाई कसरी बिक्री गर्न सकिँदो रहेछ भनेर । त्याहामात्र ८/१० वटा बेसार, जिरा, ओखर, नरिवल, तेजपत्ता, बामरी आदिका बुटाहरू थिए । गाइडले हरेक बुटाको बारेमा १० मिनेट जति वर्णन गरे । त्यहाँ मसला तेलले पर्यटकलाई निशुल्क मालिस गर्ने सुबिधा पनि रहेछ । त्यो सरकारी मसला बजारमा १५/२० जना पर्यटकका लागि मालिस गर्न कै लागि खटाइएका रहेछन् । सयौं पर्यटकहरू अर्गानिक तेल, मसलाहरू, विविध खाद्य पदार्थहरू, घरेलु कपडा तथा औजारहरू खरिद गर्नको लागि लाईनमा बसिरहेका थिए । गाइड सपना देखाउन जति सफल भए, त्यति नै बढी पर्यटकहरू सपनाका समानहरू खरिद गरिरहेका मैले महसुस गरे । मेरो विचारमा श्रीलङ्का र भुटानले पर्यटकबाट प्रशस्त फाइदा लिन र पर्यटन विकासलाई गति दिन सफल छन् जस्तो लाग्छ । पर्यटक सेवामा लाग्ने चालकको तालिम र मापदण्ड, सिटि गाइड, क्षेत्रीय गाइड र राष्ट्रिय गाइडको मापदण्ड र तालिम विधि, हरेक दुई वर्षमा पुनर्ताजगि तालिम, पर्यटर्कीय सवारी साधनको मापदण्ड आदिको उचित विधि र नियम । संस्कृति, पर्यावरण, वातावरण, सरसफाइ, बाटोघाटोको उचित मर्मत सम्हार । सरकारको हरेक तह तप्का पर्यटनमय र पर्यटन सेवामा समर्पित– साँच्चिकै पर्यटनमय–श्रीलङ्का ।

पर्यटन प्रवर्द्धन आधारविस्मरणिय भ्रमण अनुभ

बिना कुनै भ्रमण गर्ने स्थानको मिठो कल्पना र सपना भ्रमण कार्यक्रम बनेको हुँदैन । भ्रमणमा आउन चाहने व्यक्ति या समूहले भ्रमणबाट अविस्मरणीय अनुभवसहित आनन्दित महसुस प्राप्त हुने परिकल्पना गरेको हुन्छ । भ्रमण अवधिमा खाना, पानी, सवारी साधनलगायत सबै तर्फबाट सुरक्षित र आनन्दित रहँदै भ्रमण गर्ने इच्छा र चाहना रहेको हुन्छ । विमानस्थलमा उत्रेदेखि नै निजले प्राप्त गर्ने व्यवहार र सेवा, बस्ने होटल, प्रयोग गर्ने सवारी साधन, पथप्रदर्शकको सेवा, खानाको गुणस्तर र सेवा, सरसफाई, बाटो घाटोको अवस्था, भाषा, संस्कृति र भेषभुषा आदिबाट भ्रमणकर्तालाई कत्तिको सन्तुष्टि प्राप्त भयो र निजले पाप्त गर्ने सन्तुष्टिले नै पर्यटन प्रवर्द्धन र विकासको भविष्य गासिएको हुन्छ ।

हामीले पर्यटनलाई देशको अर्थतन्त्रको आधारस्तम्भ मान्ने हो र पर्यटनको विकासबाट नै नेपालको भविष्य देख्ने हो भने हामीले देशका हरेक भू-भाग, गाउँ, नगर सबैतिर वातावरण र प्रयावरणलाई जोगाउन, प्रत्येक घर आँगन, टोल, गाउँ, नगर, खोलानालाहरूको ब्यापकरुपमा सरसफाई अभियान चलाउन र सुन्दरता अभिवृद्धिको लागि उचित व्यवस्थापन समेत गर्न जरुरी हुन्छ ।

अहिलेको हाम्रो पूर्वाधारहरूलाई पनि नयाँ तवरले परिभाषित गरी होटल, गेष्ट हाउस, गाउँ पर्यटन सेवा, कृषि पर्यटन सेवा, पर्यटन सवारी साधनहरू, पथप्रदर्शक सेवा, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सि, र्‍याफटिङ एजेन्सी आदि र अन्य पर्यटन गतिविधिहरूको समेत उचित स्तर र मूल्य निर्धारण गरी अभियानको थालनी गर्नु पर्नेछ ।

भारतय पर्यटकको अनुभ

मैले एउटा भारतीय पर्यटकको समूह नेपाल भ्रमणमा आउने क्रममा विमानस्थलमा स्वागतको लागि पुगेको थिएँ । सवारी साधनमा बसिसकेपछि उनीहरूले नेपाललाई आफ्नो होलिडे गन्तब्य बनाउनको कारण बुझ्न चाहेँ । उनीहरूमध्ये दुईजना पर्यटकले १९८७ तिर नेपाल भ्रमण गरिसकेका रहेछन् । सफा सडक, विदेशी टोयोटा र मर्सिटिज बेन्चका सवारी साधनहरूले उनीहरूलाई आकर्षित गरेको रहेछ । भ्रमण सकेर स्वदेश फर्कने क्रममा उनीहरूलाई भेट्न र उनीहरूको सन्तुष्टि बुझ्न उनीहरू बसेको होटलमा नै पुगे । उनीहरूले मारुती टयाक्सी, धुले सडक, हरेक घर, सवारी साधनमा हिन्दी गाना, जताततै भारतीयको बाहुल्यता छ र भारतको कुनै गाउँ शहरजस्तै होला भनेर कहिल्यै पनि कल्पनासम्म गरेका रहेनछन् । नेपालले ३० वर्षको अवधिमा आफ्नो पहिचानलाई नै यसरी गुमाउला भनेर कहिल्यै सोचेका रहेनछन् । उनीहरूलाई कुनै पनि कोणबाट विदेश घुमेको आभाष नै नभएको कुरा उनीहरूको मुखबाट सुन्दा म अचम्भित भए । उनीहरूको भनाइमा नेपालले कुनै पनि कोणबाट उनीहरूलाई विदेश भ्रमणको आभाष दिन सकेन । उनीहरूको विदेश भ्रमणको चाहनालाई नेपालले पूरा गर्न सकेन । उनीहरूको नजरमा उनीहरूको नेपाल भ्रमण असफल नै रहयो ।

हरेक पर्यटकले नेपाल भ्रमणको लागि आउँदा एउटा सपना बाकेर आएको हुन्छ । उनीहरूको सपना पुरा हुन सकेमात्र पर्यटन विकासले गति लिने हो ।

संस्कृति, परम्परा, भेषभुषा, जाति, भाषा, र्व आदिको संरक्षण

यहाँ भारतीय पर्यटकले आफ्नो घर वरिपरिको वातावरणभन्दा फरक वातावरणको अनुभव र अनुभुति गर्न खोजिरहेको देखिन्छ । प्रायः धेरै पर्यटकले अनुभव गर्न खोज्ने पनि एउटा फरक भेषभुषा, फरक संस्कृति, फरक रीतिरिवाज र परम्पराहरू हुन् । राज्यले लोपोउन्मुख जाति जनजाति, संस्कृति, परम्परा, जाति भाषा, भेषभुषा संरक्षण र सम्वर्द्धनका लागि संस्कृति उत्थान मञ्च, जाति जनजाति उत्थान मञ्च, विभिन्न जातीय आयोगहरूका लागि जनताले तिरेको करको ठूलो धनराशी खर्च गरेको देखिन्छ । देशका दूरदराजहरूमा आज लोपोउन्मुख जाति जनजातिहरूका गीतहरू, बाजाहरू गुन्जिन पर्ने हो ? तर हामी सबैले पनि महसुस गरेको हुनुपर्छ देशका ती कुना कन्दराहरूमा समेत बिहान ६ राति १२ बजेदेखि प्रायः धेरै एफएम रेडियो र नेपाली टेलिभिजनमा समेत ठूलो ठलो स्वरमा परिवार सँगसँगै बसेर सुन्न पनि अप्ठेरो मान्नु पर्ने विदेशी गीतहरू घन्किरहेको सुनिन्छ । जन्मदेखि मरणसम्मका प्रायः सबै परम्परालाई चटक्कै छोड्दै, बिर्सिँदै विदेशी संस्कृति, चालचलन र परम्परालाई अँगाल्दै गएको देखिन्छ ।

हामीसँग संस्कृति, वातावरण, पर्यावरणलगायत सबै मन्त्रालय छन् । मन्त्रीज्यूहरू हुनुहुन्छ । तर सकारात्मक प्रयासहरूको कहिँकतै अनुभव गर्न पाइँदैन । मैले गाउँका कार्यक्रमहरूमा प्रश्न उठाउन पनि कोसिस पनि गरेँ तर सबैको उत्तर बच्चाबच्चीमा गएर अड्किएको देखियो । एउटा बच्चाले आफ्नो मातृभाषा सिक्नु अगाडि नै ‘चोलिके पिछे’ जान्न बाध्य हुन्छ । अनि दोष कसलाई दिने ?

आज हामी सबै नै सचेत नागरिकले सोच्ने र मनन गर्ने बेला आइसकेको छ । हामी कता जाँदैछौं भनेर ? हाम्रो पहिचान भनेको हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो भेषभुषा, हाम्रो भाषा, हाम्रो रहनसहन हो भनेर हामीले बुझ्नु र हाम्रा सन्ततिलाई पनि बुझाउन जरुरी भइसकेको हो कि ?

पदयात्रा र पर्वतीय पर्यटन

पर्यटकको दृष्टिकोणबाट प्राकृतिक धरोहरको रुपमा सबैभन्दा बढी सफल हुल सक्ने क्षेत्र भनेका पदयात्रा पर्यटन, पर्वतीय पर्यटन, कृषि पर्यटन र गाउँ पर्यटन सेवा नै हुन् । तर हामी विकास र आधुनिकताको नाउँमा विश्व प्रसिद्ध पदमार्गहरूलाई भत्काउँदैछौ, ध्वस्त पार्दै छौं र क्षतविक्षत पार्दैछौं । हामी पर्यटन क्षेत्रमा लागेका, पर्यटन क्षेत्रमा तिसौं वर्ष बिताएका, पर्यटन बोर्ड लगायत विभिन्न निकायहरूमा पर्यटन विज्ञका रुपमा नियुक्ति भएका र लामो समयदेखि पर्यटन विज्ञको रुपमा चिरपरिचित व्यक्तिहरूबाट नेपालको पर्यटन विकासको प्रमुख धरोहरहरूलाई जोगाउने बिषयमा आवाज उठाउनुपर्ने हो । परिवर्तनको चाहनालाई रोक्न पक्कै पनि सजिलो छैन तर उपयुक्त निकाससहित उचित समाधान निकाल्नु आवश्यक हुन्छ ।

परिवर्तित सन्दर्भमा, प्रदेश सरकार र स्थानीय सरकारसहितको सहयोगमा पूर्व मेचीदेखि पश्चिम महाकाली आधार शिविरसम्मका सबै पर्यटकीय सुविधा सम्पन्न, शान्त, सुन्दर र मनमोहक पदमार्गहरूको निर्माण, उचित व्यवस्थापनसहित अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचारप्रसार हुन सकेमा पर्वतीय र पदयात्रा पर्यटन शीर्षकमा पाँच वर्षभित्रै बार्षिक करिब २० देखि ३० लाख र १० वर्षभित्र ५० लाखसम्म पर्यटन भित्र्याउन सम्भव हुनेछ ।

धार्मिक पर्यटन

धार्मिक रुपमा नेपाललाई देवभूमि, तपोभूमि र पवित्र तीर्थस्थलको रुपमा चित्रित गरिन्छ । विश्वका करिब १३० करोड हिन्दूहरूको माझमा नेपाललाई देवादिदेव महादेव श्री पशुपतिनाथ विराजमान र मुक्तिधाम, राम जानकी धाम, स्वर्गद्वारी आदि जस्ता अति विशिष्ट धार्मिक मुलुकको रुपमा चित्रिण गरिन्छ । त्यसैगरी विश्वका करिब ६ करोड बुद्ध धर्मालम्बीहरूको लागि पनि नेपाल पवित्र तीर्थस्थल मानिन्छ ।

विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथप्रतिको आस्था र विश्वासलाई ध्यान दिई उचित व्यवस्थापनसहित प्रचारप्रसार हुन सकेमा र अन्य विश्वका हिन्दूहरूको माझमा समेत सुपरिचित मुक्तिधाम, दामोदरकुण्ड, गोसाईकुण्ड, स्वर्गद्वारी, त्रिवेणीधाम, जानकीधाम, वेदव्यास धाम आदि जस्ता तीर्थस्थलहरूको उचित संरक्षण, सडक सञ्जालको पहुँच, उचित व्यवस्थापन र उचित प्रचार प्रसार हुन सकेमा हिन्दू पर्यटकका लागि नेपाल साँच्चिकै देवभूमि र विश्वका हिन्दूहरूको आस्थाको केन्द्र बन्न सक्नेछ ।

चीनको स्वशासित क्षेत्र टिबेट पवित्र कैलाश पर्वत र मानसरोवर ताल हिन्दू, बौद्ध, जैन, सिख, बोन आदि धर्महरूको अति महत्वपूर्ण तीर्थस्थलको मुख्य प्रवेशद्वार पनि नेपाल भएकोले उक्त सबै धर्मका तीर्थयात्रीहरूलाई चीन सरकारसँग उचित समझदारी गरी नेपालमार्फत् मात्र कैलाश मानसरोवर तीर्थ यात्रा गर्न सकिने गरी व्यवस्था हुन सकेको अवस्थामा नेपालले धार्मिक पर्यटनमा ठूलै सफलता हासिल गर्न सक्नेछ ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनीलगायत तिलौराकोट, देवदह क्षेत्र र बुद्ध धर्मसँग सम्बन्धित तीर्थस्थलहरू हलेसि, नमोबुद्ध, महावीहरहरूको उचित संरक्षण, सम्वर्द्धन र प्रचारप्रसार हुन सकेमा यथेष्ट बुद्ध धर्मसम्बन्धि धार्मिक पर्यटक भित्र्याउन सकिनेछ । हामीले हिन्दू तथा बौद्ध धर्मसम्बन्धि उपरोक्त क्षेत्रहरूको उचित सम्वर्द्धन र व्यवस्थापन हुन सकेमा पाँच वर्षभित्रै वार्षिक करिब २० देखि ३० लाख र १० वर्षभित्र ५० लाखसम्म पर्यटन भित्र्याउन सम्भव हुनेछ ।

कृषि र गाँउ पर्यटन सेवा

नेपाल एउटा विश्वकै अद्वितीय, अति सुन्दर प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण मुलुक हो । कुनै पनि मुलुक या सस्थाको आफ्नो र आफुभित्र एउटा छुट्टै क्षमता अन्तरनिहित हुन्छ । जस्ले आफ्नो क्षमता र सामर्थ चिन्न सक्यो, उसले आफूलाई प्रगतितर्फ डोर्‍याउन सक्छ भने आफ्नो क्षमता बुझ्न नसक्दा प्रगतिपथमा अगाडि बढ्न सकिँदैन । हाम्रो मुलुक नेपाल करिब ६८ प्रतिशत पहाड, करिब १५ प्रतिशत हिमाल र करिब १७ प्रतिशत तराई भूभाग रहेको सुन्दर मुलुक हो ।

हामीले कुनै पनि योजना बनाउदा या आफ्नो सामर्थ्यका कुरा गर्दा पहाड र हिमाललाई भुल्यौं भने त्यो योजना कुनै पनि प्रकारबाट पूर्ण हुन सम्भव हुँदैन । त्यसैगरी पहाडलाई बेवास्ता गर्दा पर्यटन विकासले पनि गति लिन सम्भव हुँदैन ।

६८ प्रतिशत भूभागसहित गाउँ नै गाउँले भरिएको हाम्रो मुलुकको पर्यटन विकासको लागि कृषि पर्यटन र गाउँ पर्यटन सेवालाई योजनासहित गति दिन सक्ने हो भने सबै गाउँ पर्यटनमय हुन सक्ने अवस्थाको सिर्जना हुन सक्नेछ भने कृषि क्षेत्रले साँच्चिकै छलाङ मार्न सक्नेछ र कुनै पनि नेपालीले विदेशको भूमिमा पसिना बगाउन पर्ने छैन । हाम्रा श्रमजिवी हातहरूले नेपाली माटोलाई नै सिञ्चित गर्न पाउने वातावरणबाट भविष्यका कर्णधार सन्ततिलाई समेत बाबु आमाको उचितमाया ममता प्राप्त भै सभ्य, सुसंस्कृत, सुसम्पन्न समाज निर्माणमा समेत योगदान पुग्न जानेछ ।

अहिले छिमेकी मुलुक भारतलगायत विश्वका धेरै नै मुलुकहरू हामीले परम्परागत रुपमा अँगाल्दै आएको रैथाने कृषि प्रणालीलाई पर्यटन आकर्षणको केन्द्र बनाउँदै बढीभन्दा बढी पर्यटक भित्र्याउन लागि परेका छन् । कृषि पर्यटन र गाउँ पर्यटन सेवालाई उचित योजनासहित कार्यान्वयन गर्न सकेमा छोटो समयमा नै यो विधामा वार्षिक २० देखि ३० लाख पर्यटक भित्राउन सम्भव हुनेछ ।

अन्य पर्यटन

नेपाल साहसिक पर्यटनको लागि पनि एउटा उत्कृष्ट गन्तव्य बन्न सक्नेछ । बञ्जी, स्कुवा डाइभिङ, प्यारा ग्लाइडिङ, रक क्लाइमिङ लगायत धेरै प्रकारका साहसिक पर्यटकको विकास गर्न सकिन्छ । सांस्कृतिक पर्यटक, अध्यायन पर्यटक, सभा सम्मेलन पर्यटक आदि लगायत धेरै नै प्रकारका पर्यटनको विकासबाट अरु करिब बार्षिक २० देखि ३० लाख पर्यटक भित्र्याउन सकिनेछ ।

नेपालमा करिब २ करोड पर्यटक भित्र्याउन पनि सकिन्छ भन्ने हो भने धेरैबाट सम्भव नभएको र मनगढन्ते भनेर प्रतिक्रिया पनि आउन सक्छ । कुनै पनि सम्भावनाको लागि सबैभन्दा पहिला देख्ने सपना नै हो । सपनाबमोजिमको भिजन, मिसन, उचित योजना र निरन्तरको मेहनत र प्रयासबाट सपना पुरा हुने हो ।

हामीले २०२० मा २० लाख पर्यटकको सपना देखेका थियौं । २ करोडको सपना भनेको २० लाखमा दश गुणाले बढाउनु हो । विद्यमान पूर्वाधार, सेवा सुविधा, जनशक्तिलाई १० गुणाले वृद्धि गर्न सकेमा र उचित योजना अठोटसहित विद्यमान पर्यटनको परिभाषालाई पुनर्परिभाषित गरी अगाडि बढेमा सफलता पक्कै पनि टाढा छैन ।

(लेखक पर्यटन व्यवसायी हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay