scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

हिमाली संरक्षण समूहको ‘माटो, मानव र सिर्जना’ लोकार्पण

पोखरा, १२ असोज । अन्तर्राष्ट्रिय नदी दिवसको अवसरमा ‘माटो, मानव र सिर्जना’ नामक स्मारिका लोकार्पण गरिएको छ । संरक्षण समूह पोखराको उक्त स्मारित कार्यक्रमका विशेष अतिथि बरिष्ठ साहित्यकार सरुभक्तले एक भर्चुअल कार्यक्रममा आइतबार लोकार्पण गरेका हुन् ।

उक्त कृति हिमाली संरक्षण समूह र सिर्जना र असारको सहकार्यमा गत साउन २५ मा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित “सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम” मा प्रस्तुत रचनाहरुको संगालो हो ।

हिमाली संरक्षण समूहका अध्यक्ष महेश्वर पहारीको सभापतित्वमा भएको सो अनलाइन कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरुबाट प्रतिनिधिहरु सहभागी भएका थिए । गत आदिवासी दिवसको कार्यक्रममा कविता वाचन गर्ने मध्य अरुण श्रेष्ठ, मुक्ति गौतम, सुरेन उप्रेति, गोपिकृष्ण काफ्ले, ईश्वरी भट्टलगायत स्रस्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा डा. ज्योती भन्डारी, डा. बेन्कटेश शर्मा, उमा शर्मा, राजु महर्जन लगायत साहित्यकार र संरक्षणविदहरुको उपस्थिती रहेको थियो ।

रेडियो हिमालयबाट प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रमको संचालन डा. हिमलाल श्रेष्ठ तथा डा. ऋषि बस्ताकोटीले संयुक्त रुपमा गरेका थिए । “सिर्जना र असार” अभियानका धन प्रसाद तामाङले स्वागत गरेको कार्यक्रममा हिमाली संरक्षण समूहका संस्थापक अध्यक्ष डा. भरत मान श्रेष्ठले स्मारिका प्रकाशनबारे बोल्दै मानव र माटोको अन्योन्याश्रित सम्बन्धबारे प्रकाश पारेका थिए ।

प्राध्यापक एवं गीतकार डा. अच्युत शर्माले स्मारिकामा समावेश रचनाहरुको विस्तृत समीक्षा गरेका थिए । नदी र मानव सभ्यताको प्रगाढ सम्बन्धबारे प्रकाश पार्दै उनले नेपाल मात्र नभएर विश्वकै पानीको स्रोतहरुको संरक्षण गर्नुपर्ने र सबैले मिलेर जन-चेतना जगाउनुपर्ने दायित्व भएकोले यस्ता कार्यक्रम र प्रकाशनको ठूलो महत्व भएको कुरा उल्लेख गरे ।

कार्यक्रमको दोश्रो चरणमा डा. ऋषि बस्ताकोटीले स्मारिका प्रकाशनको विषयवस्तुमा केन्द्रित रहेर एक अन्तक्रिया कार्यक्रम सन्चालन गरेका थिए । सो अन्तक्रिया आफ्ना विचार राख्दै संरक्षण कविता आन्दोलनका परिकल्पनाकर तथा बरिष्ठ सहित्यकार सरुभक्तले साहित्यले प्राकृतिक संरक्षणमा अत्यन्तै सकारात्मक रुपमा जनचेतना फैलाउने भएकोले हरेक साहित्यकारले कलम चलाउनुपर्ने बताए ।

लेखनको शुरुमा आफु अल्ली बढी प्रयोगवादी धारको भए पनि पचासको दशकदेखि ग्रामीण जनताले पनि बुझ्ने भाषामा प्रकृति, संस्कृति र मानव जीवनका विविध पाटाहरु समेटेर साहित्य सिर्जना गर्न थालेको र यो क्रममा संरक्षण कविता आन्दोलन एउटा नवीन चेतसहित नयाँ साहित्यिक आन्दोलनको रुपमा विस्तारित भएको कुरा उल्लेख गर्नुभयो । साहित्यकार सरुभक्तले यस्ता कार्यक्रमहरु विश्वव्यापी आन्दोलनको रुपमा अन्य देशका साहित्यकारहरुसँग पनि सहकार्यमा गर्ने पहल भईरहेको उल्लेख गरे ।

हिमाली संरक्षण समुहका संस्थापक अध्यक्ष डा. भरतमान श्रेष्ठले वातावरण संरक्षण गर्न अनुसन्धान र जनजागरण साथसाथै अघि बढ्नुपर्ने हुनाले यस्ता कार्यक्रम र प्रकाशनहरुले महत्वपुर्ण योगदान दिन सक्ने बताए । भविष्यमा यस्ता प्रकाशनहरू अंग्रेजीमा समेत उल्था गरी अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनुपर्ने धारणा राखे ।

सिर्जना र असारका पूर्वसंयोजक एवं कवि धन प्रसाद तामाङले साहित्यले माटो र मुटुको अन्तर-सम्बन्ध झन कसिलो बनाउने हुनाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे । हिमाली संरक्षण समूहका अध्यक्ष महेश्वर पहारीले फेवातालको प्रदूषण अवस्थाको उदाहरण दिँदै वातावरण संरक्षण स्थानीय मात्र नभएर विश्वव्यापी सरोकार भएकोले अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गर्नुपर्ने बताए ।

कवि इश्वरी भट्टले साहित्यकारहरुले हरेक विधामा रचना मार्फत चेतनाको विगुल फुकी रहनुपर्ने आबस्यकता रहेको र सहकार्य गर्न तत्पर रहेको बताए । स्मारिकाको आवरण कला तयार पार्ने रवि श्रेष्ठले कला पनि अभिव्यक्तिको सशक्त माध्यम रहेको र आफुले यो आवरण चित्रमा माटो मानिस र सिर्जनाको संयोजन गर्ने प्रयास गरेको बताए ।

हिमाली संरक्षण समूह सन् १९९६ (वि.सं.२०५३) देखि पोखरा तथा वरपरको वातावरण, वन विज्ञान तथा साहित्यको क्षेत्रमा अनवरत काम गर्दै आएको नाफारहित गैरसरकारी संस्था हो । ‘सिर्जना र असार’ मानव र माटोको अन्योन्याश्रित सम्बन्धलाई सम्वर्द्धन गर्न लागिपरेको श्रष्टाहरूको साहित्यिक आन्दोलन हो । यस आन्दोलनले हिमाली संरक्षण समूहको सहकार्यमा वि.सं. २०५० को दशकमा साहित्यिक कार्यक्रम पोखरामा शुरू गरेको थियो । तत्पश्चात, हालसम्म दुई दशकको अवधिमा नेपालको विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भइसकेको छ ।

हाल डिजिटल कपी प्रकाशित गरिएको यस स्मारिकामा नेपाल, अमेरिका, क्यानडा, पोर्चुगल निवासी २७ साहित्यकारका कविता मुक्तकहरू समेटिएका छन् । अनुकुल समयमा यसलाई मुद्रण गरी वितरण गरिने कुरा प्रकाशक हिमाली संरक्षण समूहले जनाएको छ । स्मारिकाको डिजिटल कपी हिमाली संरक्षण समूहको वेब-पेज मा उपलब्ध छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay