scheduleबिहिवार कार्तिक १३ गते, २०७७

‘प्रश्रित प्रकरण’ले सृजना गर्ने गम्भीर प्रश्न

साझापोस्ट टिप्पणी

काठमाडौं, १३ असोज । केही वर्षअघि चर्चामा आएर सेलाएको प्रश्रित प्रकरण यतिखेर पुनश्चः चर्चामा छ । जीवा लामिछाने अध्यक्ष रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले लेखक सञ्जीव उप्रेतीलाई पुरस्कृत र मोदनाथ प्रश्रितलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।

उप्रेतीलाई उनको नयाँ उपन्यास ‘हंस’ का लागि ‘पद्म श्री पुरष्कार’ बाट पुरस्कृत गर्ने र मोदनाथ प्रश्रितलाई आजीवन लामो साहित्य साधना गरेबापत सम्मानित गर्ने प्रतिष्ठानको निर्णय थियो । उप्रेतीले मोदनाथ प्रश्रितसँग एउटै मञ्च ‘शेयर’ गर्न अस्वीकार गरे ।

मोदनाथ प्रश्रितले ‘चरित्रहत्या’ गरिएको भन्दै सम्मान नलिने घोषण गरे । अन्ततः प्रतिष्ठान आफ्नै निर्णय फिर्ता लिन बाध्य भयो । यो प्रकरणसँगै केही सार्वजनिक महत्वका गम्भीर प्रश्नहरु आकर्षित हुन्छन् ।

उप्रेतीको आपत्ति मोदनाथ प्रश्रित ‘महिला हिंसा’ को आरोपी हुनु हो । केही वर्ष अघि ‘धरातल’ नामको आत्मकथा लेख्दै शारदा भुसालले मोदनाथ प्रश्रितमाथि ‘आफू १४ वर्षको हुँदा यौन दुर्व्यवहार र बलात्कार’ गरेको आरोप लगाइन् । नेपाली समाज र बौद्धिकवृत्तका लागि प्रश्रितमाथि लागेको यो आरोपले कल्पना नै नगरेको स्तब्धतामा पुर्‍यायो ।

प्रश्रित समाजमा भिन्न प्रकारको योगदान र छवि भएका व्यक्ति थिए । उनका लाखौं पाठकहरु थिए । उनलाई सम्मान गर्ने र आदर्श ठान्नेहरुको ठूलो जमात देशमा थियो । वि.सं. २०२० को दशकपछि उनले नेपाली समाजको परम्परागत तथा रुढीवादी चिन्तनमाथि जबरजस्त बौद्धिक हमला गरेका थिए । उनले ‘मानव’ र ‘देवासुर संग्राम’ जस्ता महाकाव्यबाट सामन्ती चिन्तनमाथि बलियो हमला गरे । ‘गोलघरको सन्देश’ जस्तो लघुकृतिबाट क्रान्तिकारी आन्दोलनमा ऊर्जा थपे ।

प्रश्रित साहित्य पढेर वामपन्थी तथा क्रान्तिकारी आन्दोलनमा होमिनेहरुको ठूलो जमात देशमा बन्यो । उनले दर्जनौं त्यस्ता कृतिहरुले जसले परम्परागत सामन्ती मूल्यप्रणालीमाथि निर्भिक हमला गर्थे । त्यही मध्येको अर्को बेजोड कृति ‘नारी बन्धन र मुक्ति’ थियो । वामपन्थी नेतृ शान्ति मानवीलाई बहिनी मानेर पत्रात्मक शैलीमा लेखिएको यो कृतिले महिलामाथि हुने शोषण र मुक्तिको प्रश्नमा जोडदार ढङ्गले उठाउँथ्यो । यो कृतिले प्रश्रितको छवि एक आदर्श महिलावादी लेखकको बनाएको थियो ।

लेखनको दृष्टिकोणबाट मात्र हैन, राजनीतिक संघर्षका दृष्टिकोणले पनि वामपन्थी तथा कम्युनिष्ट आन्दोलनमा उनको योगदान अद्वितीय थियो । पञ्चायतकालमा उनी बारम्बार जेल परेका थिए । उनलाई गोलघरमा राखेर चरम यातना दिइएको थियो । २०४६ पछि पनि उनका समकालीन धेरै नेताहरुजस्तो उनी पदमा टाँसिएर बसेनन् । एक कार्यकाल सांसद र मन्त्री भए । त्यसपछि उनी स्वइच्छाले राजनीतिबाट निवृत भए ।

यहाँ धेरै नेताहरुमाथि यो आरोप छ, उनीहरु नमरुन्जेल पदमा टाँसिइरहन्छन् । राजनीतिमा निश्चित उमेरपछि स्वऐच्छिक अवकाशको प्रचलन हुनु पर्दछ । अरु नेताहरुको हकमा यो सैद्धान्तिक बहस मात्र रह्यो । तर प्रश्रितले व्यवहारबाटै त्यो लागू गरे । अझै एक दशक सक्रिय राजनीति गर्ने उमेर हुँदाहुँदै, पार्टीभित्र र बाहिर लोकप्रियता र स्वीकार्यताको स्थिति हुँदै हुँदै उनी सक्रिय राजनीतिबाट विदा भए । उनको यो त्यागलाई पनि सकारात्मक मानिएको थियो ।

तर, जीवनको उत्तरार्धमा आइपुग्दा उनीमाथि निक्कै गम्भीर आरोप लाग्यो । ‘नारी बन्धन र मुक्ति’ जस्तो कृति लेख्ने लेखकमाथि ‘बलात्कार’को आरोप त्यो पनि १४ वर्षीया नाबालिकामाथि यो कुनै सहज कुरा हैन । यो आरोपले प्रश्रितको ‘व्यक्तिगत चरित्रहत्या’ मात्र गर्दैन, उनका पाठक र समर्थकहरुमा गहिरो स्तब्धता समेत सृजना गर्दछ ।

मानव जीवन एक अनौठो अन्तर्विरोध र विरोधाभाषले भरिएको हुन्छ । प्रश्रितमाथि लागेको आरोपले उनका पाठक, समर्थक र शुभचिन्तकहरुलाई खिन्न बनाउनु सत्यको एउटा पाटो हो, तर आरोपको प्रकृति हेर्दा उनको पक्षमा सार्वजनिक बहस गर्न सक्ने, सकिने अवस्था हैन । प्रश्रितले एक पत्रकार सम्मेलनमार्फत् आरोपको खण्डन त गरे, तर त्यो खण्डन नै पर्याप्त हो र त्यसलाई शतप्रतिशत पत्याउन पर्छ भन्ने अवस्था देखिन्न ।

कम्तिमा त्यतिन्जेलसम्म यो घटनाबारे जनमत विवादित नै रहन्छ जबसम्म कुनै आधिकारिक निकायले निष्पक्ष छानबिन गर्दैन । अहिलेसम्म कुनै निकायले त्यो काम गरेको छैन । पहिलो कुरा त राज्य र पुलिसले नै त्यसो गर्न सक्दथ्यो । किनकी बलात्कारको घटनाको कुनै हदम्याद हुँदैन ।

मानौं कि राज्यको तर्फबाट छानबिन गर्न यो पुरानो घटना भयो, अनौपचारिक भयो तर उनको पार्टीले कुनै छानबिन कमिटी बनाएर प्रतिवेदन सार्वजनिक गर्न सक्दथ्यो । सत्यतथ्यहरुलाई जनसमक्ष राख्न सक्दथ्यो । तर पार्टीले पनि त्यो गरेन ।

शारदा भुसालले आरोप लगाएको सेरोफेरोका मानिसले त्यो काम गर्न सक्दथे । कम्तीमा शान्ता मानवीको त त्यो नैतिक दायित्व पनि हुन्थ्यो । किनकी शारदाले त्यहाँ शान्तालाई जोडेकी छिन् । अर्को पाटोबाट हेर्दा राज्यले स्वयं शारदाको मानसिक स्वास्थ्यको जाँच गर्न सक्दथ्यो । ती कुनै पनि कुरा भएनन् ।

ठीक यही र यस्तै आरोप कुनै सामान्य व्यक्तिमाथि लागेको भए सायद कुनै न कुनै प्रकारको छानबिन प्रक्रिया अगाडि बढ्थ्यो होला । प्रश्रितको योगदान र सम्मानको आफ्नै पाटो र अध्याय छ । तर कुनै गम्भीर आरोप लागेपछि ‘अग्निपरीक्षा’मा उभिनु जस्तै महापुरुष वा शक्तिशाली व्यक्तिको नैतिक दायित्व हुन्छ । छानबिनले उसलाई निर्दोष देखाएमा त्यो स्वयं व्यक्तिका लागि पनि सकारात्मक कुरा हुन्छ ।

नेपालमा यस प्रकारको पद्धति, प्रचलन र प्रक्रिया नहुनु आफैंमा दुःखद कुरा हो । यस अर्थमा सञ्जीव उप्रेतीको आपत्तिलाई अन्यथा भन्न मिल्दैन । कुनै महान व्यक्तिले कुनै कुमर्म गरेन होला भनेर अपेक्षा गर्नु एउटा कुरा हो । तर मानवीय मनोविज्ञानको पाटोबाट त्यो कुरा पत्यारिलो हुँदैन । किनकी मानव मन र मनस्थितिको जुन जैविक संरचना हुन्छ, जस्तै महान, आर्दश, क्रान्तिकारी र ठूला मानिएका मानिसहरुले पनि गलत काम गर्ने सम्भावना हुन्छ ।

जस्तो कि कयौं ठूला र क्रान्तिकारी नेताहरु सत्तामा पुगेर भ्रष्टाचारमा चुर्लम्म डुबेको पाइन्छ । कानुनी हिसाबले त्यो पुष्टि हुन्छ कि हुँदैन, त्यो भिन्नै कुरा हो तर नैतिक हिसाबले उनीहरु अवश्यक जवाफदेही हुन्छन् । जस्तो कि गोकुल बाँस्कोटाको अडियो प्रकरणपछि त्यसमा घटनामा वर्तमान प्रधानमन्त्रीको कुनै संलग्नता छैन भन्ने कुरा कसैले पत्याउँदैन । उनी कुनै दिन कानुनी कारबाहीको दायरामा आउँछन् वा आउँदैनन् त्यो भिन्नै कुरा हो ।

घटना फरक प्रकारको होला तर मोदनाथ प्रश्रितको स्थिति पनि अहिले ठीक त्यस्तै छ । उनलाई आरोप लगाउने शारदा भुसाल उनको जीवनसँग सम्बन्ध नै नभएकी बिल्कुुल अपरिचिता लाग्दिनन् । जसरी गोकुल बाँस्कोटा र प्रधानमन्त्री ओलीको सम्बन्ध कानुनी नभएपनि त्यसका अन्तर्यहरु स्वतः अनुमानित हुन्छ, प्रश्रित र शारदाको सम्बन्धमा पनि त्यो कुरा आकर्षित हुने देखिन्छ ।

तसर्थ, एक सोलोडोलो खण्डन विज्ञप्ति निकाल्दैमा प्रश्रितले नैतिक उन्मुक्ति पाउँदैनन् । उनी आफ्नो नैतिक चरित्रमा इमान्दार छन् भने आफूमाथि सार्वजनिक र आधिकारिक छानबिनको माग गर्नु पर्दछ । शारदाको आरोप झुठो सावित भए त्यसबाट प्रश्रितका धेरै पाठक, समर्थक र शुभचिन्तकले मानसिक त्रासदीबाट मुक्ति पाउने बिषय हुन्छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरण कम्तीमा छानबिनको दायरामा आयो । त्यसले एउटा निकास पायो । कानुनतः महरामाथिको आरोप पुष्टि भएन । आरोप लगाउने महिलासँगका उनका सम्बन्धका आयामहरु भने स्वतः अनुमानित भए । त्यो नैतिक बिषयमा सीमित भयो ।

सञ्जीव उप्रेती नयाँ पुस्तामा फरक, मौलिक र भिन्न गुरुत्व भएका लेखक हुन् । उप्रेती हिजोको प्रश्रितजस्तै यो समयका विद्रोही हुन् भलै कि उनको विद्रोहको आयाम फरक छ । लेखनमार्फत् गम्भीर दार्शनिक प्रश्नहरु उठाउने र नैतिक संकटहरुलाई चित्रण गर्ने उप्रेतीमा चर्चा, ख्याति, पैसा, पुरस्कार र राजनीतिक पूर्वाग्रहको खासै प्रभाव देखिन्न ।

तसर्थ, उप्रेतीको आपत्तिलाई प्रश्रितप्रतिको पूर्वाग्रहभन्दा पनि एक नैतिक संकटका रुपमा बुझ्न सकिन्छ । उप्रेतीले पुरस्कार मोह त्यागेर नयाँ आकार र आयामको सार्वजनिक बहस सृजना गरिदिएका छन् ।

यो बहस कसरी जाला भन्न सकिन्न । तर विद्यमान सामाजिक संरचना र संरचनात्मक अपराधको बिगबिगी भएको युगमा उप्रेतीले सृजना गरेको बहस अनपेक्षित भने हैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay