scheduleसोमवार कार्तिक १० गते, २०७७

के सि जिनपिङ चीनलाई अर्को उत्तर कोरिया बनाउन चाहन्छन् ?

अन्ना फिफिल्ड

पश्चिम चीन शिनजियाङ क्षेत्रको विमानस्थल । दुईजना यात्रुले मालसमान उठाउनु अघि तापक्रम नाप्न उभिएका थिए । यी पहिलो पङ्क्तिका स्वास्थ्य मापदण्ड लागूकर्ता थिए । गत महिना आन्तरिक उडानबाट हामी ३ विदेशी पत्रकार बेइजिङबाट त्यहाँ पुग्दा उनीहरुले पासपोर्ट मागेका थिए ।

उनीहरुले हामीलाई ‘साइड’ गरे । हामीले किन त्यसो गरेको भनेर सोध्यौं । उनीहरुले भने कि शिनजियाङमा गत जुलाईदेखि कोरोना भड्किएको छ । हामीले मास्क लगाउने आवश्यकताबारे जान्न जरुरी छ । हामीले मास्क लगाइरहेकै थियौं । उनीहरुले हाम्रो सूचना पाना र पत्रकार भिसाको फोटो खिचे ।

यो हाम्रो ४ दिने रिपोर्टिङ कार्यमाथिको निगरानीको शुरुवात थियो । हाम्रो रिपोर्टिङमा अवरोध पुगोस् र स्थानीयहरु हामीसँग खुलेर कुरा गर्न डराउन भनेर यो चेकिङप्वाइन्टबाटै यो काम शुरुवात गरिएको थियो । त्यहाँ केही कारहरु थिए, तिनले हाम्रो पिछा गर्दथे । हाम्रो पिछा गर्ने केही मानिस झाडीमा लुकेर फोन गरिरहेका हुन्थे ।

पब्लिक सेक्युरिटी ब्युरोको अफिसरहरु मलाई बारम्बार फोन गरिहेका थिए । हामी होटलको लबीमा पुग्दा फेरि फोन आयो । उनीहरु हामीलाई स्थानीय नियमहरुबारे, त्यसको पालनाको कडाईबारे सम्झाइरहेका थिए । त्यसका अलावा कसैसँग अन्तर्वार्ता गर्न अरु कसैको अनुमति लिनुपर्ने हुन्थ्यो । कुनै सार्वजनिक स्थल वा भवनको फोटो खिच्न चाहिँ अनुमति चाहिन्छ कि चाहिँदैन भनेर हामीले शास्त्रीय तर्क गर्नुपर्ने भयो ।

यो हाम्रो १० वर्षे रिपोर्टिङ अभियानको अन्तिम यात्रा थियो । हामी काशघार जाँदै थियौं । तर मलाई यो चीन हो जस्तो लागिरहेको थिएन । बरु यस अघिको उत्तर कोरियाको यात्रा जस्तो लागिरहेको थियो ।

यो विचारोत्तेजक शहर, कुनै समय रेशम मार्गको एक स्टेशन थियो, उइगुर संस्कृतिको केन्द्र थियो । आज प्याङयोङका पोटेमकिन गाउँजस्तै बनेको छ । यहाँ कतिखेर मञ्च र मञ्चनको शुरुवात र अन्त्य हुन्छ, ठहर गर्न असम्भव छ ।

म पहिलो पटक काशघार सन् २००६ मा एक पर्यटकको रुपमा किर्जिस्तानको सीमा पार गरेर आएकी थिए । मलाई सम्झना छ, त्यो बेला यो शहर उइगुरी जनताको जादुगरी स्थान थियो । उइगुरीहरु हेर्दा मध्य एसियाली जस्तो देखिन्छन्, तर अरबी लिपी लेख्छन्, तुर्किस भाषा बोल्छन् । यो शहर ताजा नेवारो र कबाबी धुम्रपानको गन्धले भरिएको, प्रत्येक आइतबार पशुबजार लाग्ने एक आकर्षक र आश्चर्यजनक शहर थियो ।

यसपटक फेरि काशघर आउनुअघि मैले त्यो यात्राका फोटोहरु हरेकी थिएँ । फोटोबीच मैले इद काश मस्जिद, त्यसका क्रियाकलापका अस्पष्ट तस्वीरहरु भेटेकी थिएँ । दारी पालेका पुरुष र बुर्का लगाएका महिला र मेरो क्यामेरा सामु मुस्कुराईरहेका बच्चाहरु । यी बच्चाहरु अहिले कस्ता भए होलान् ? कम्तीमा २० वर्ष बढीका जवान भए होलान् ? ममा यस्तो अनौठो सोच आएको थियो ।

बितेका ४ वर्षमा चिनियाँ सरकारले करिब १० लाख उइगुरलाई पुनर्शिक्षा शिविरमा उनीहरुको भाषा, संस्कृति र धर्मबारे पुनर्आकारित गरेको छ । उनीहरुले दारी पाल्न र बुर्का लगाउन छोडेका छन् । उनीहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीको समर्थक बन्न बाध्य पारिएको छ । उनीहरुको बच्चालाई परिवारबाट छुटाएर भिन्नै अनाथालयमा राख्न थालिएको छ ताकी उइगुरी संस्कृतिको प्रभाव नपरोस् ।

काशघारमा मेरो प्रथम दृष्टि यसपटक सबै सामान्यझैं लाग्यो । पुरानो शहरमा मानिस रातको बजारमा निस्कन्थे, मासु र रोटीको थुप्रो हसुर्थे । बच्चाहरु खुल्ला झ्यालको माथि हाँसिरहेका हुन्थे । बन्दी शिविरको शिकार युवाहरु हुन्थे, जसको विद्रोही भावनालाई शिथिलीकरण गर्नु अभियानको मुख्य उद्देश्य हुन्थ्यो ।

यताउती टहल्दा ममा एक प्रकारको क्रोध, उदासी र पराजयको भावना आइरहेको थियो जस्तो कि प्योङयोङ्ग पुग्दा भएको थियो । मानिसको आँखामा उदासी म प्रष्ट देख्न सक्थेँ र वातावरणमा बोझिलो हावाको अनुभूति गर्न सकिन्थ्यो ।

यसपटक मैले देखिरहेका मानिस निसन्देह पुनर्शिक्षा अभियानबाट प्रभावित थिए । तर मैले उनीहरुलाई सोध्न आवश्यक ठानिनँ । प्योङ्गयोङ्गमा जस्तै यहाँ पनि मैले सडक वा पसलमा मानिसहरुसँग खुल्ला अन्तर्वार्ता गरिनँ, जस्तो कि संसारका अरु जुनसुकै देशमा मैले त्यसो गर्ने गरेकी छु ।

यस्तो अन्तर्वार्ता गर्नु त्यहाँ मानिसलाई जोखिमको चिहानमा धकेल्नु जस्तै हो । उनीहरुले कोही विदेशीसँग कुनै अनिच्छित कुरा गरेको पाइए सजायमा कुनै कमी हुँदैन चाहे त्यो विदेशी पत्रकार नै किन नहोस् । पुनर्शिक्षा शिविरमा बसेर आएको कसैसँग कुरा गर्ने मलाई तीव्र इच्छा थियो तर त्यसको जोखिमलाई म बुझ्न सक्थेँ ।

एक पत्रकारको रुपमा त्यसो नगर्नु अभिशापजस्तो थियो । तर पनि मैले सडकमा कसैसँग कुराकानी गरिनँ । पार्क,पसल वा ट्याक्सीवालासँग प्रश्न सोधिनँ । सुरक्षा अधिकारीहरुसँग केही बहस गर्नु बाहेक अरु कुनै कुरा उधिन्नतिर लागिनँ । म जे गर्दै थिएँ, ती सबै कुरा निगरानीमा थिए ।

जब ठीक २ वर्षअघि म चीन आएकी थिएँ, मैले किम जोङ उनबारे एउटा किताब भर्खरै सकेकी थिएँ । मैले उत्तर कोरियालाई उनले डुबाउँदै गरेको देखेकी थिएँ । मैले चीनलाई यसको बिडम्बनापूर्ण छिमेकी देशको आँखाबाट हेर्न नपरोस् भनेर आफूलाई रोक्न रोजिरेहकी थिएँ ।

चीन उत्तर कोरिया हैन, मैले आफैँ भनेकी थिएँ ।

तर सन् २०१३ मा जब सि जिनपिङले चीनको शक्ति हासिल गरे, मेरो उत्तर कोरिया सम्बन्धी विचारलाई बेवास्ता गर्न सजिलोे भएको थिएन । चीनमा अझै व्यापार, वाणिज्यको जिवन्तता र गतिशीलता छ जो यसको उत्तरी सीमानाको देशमा पाउन सकिन्न । तर केही दिन यता चीनमा उत्तर कोरियाजस्तो अनुभूति हुने चिजहरु पनि बढ्दै गइरहेका छन् ।

अन्ना फिफिल्ड

उत्तर कोरियाका किमहरुले सोभियत नेता जोसेफ स्टालिन र चीनका संस्थापक कम्युनिष्ट नेता माओ त्से तुङबाट गुटगत राजनीतिमा व्यक्तित्व पुजाको महत्बबारे सिकेका थिए, तर चीनमा सिले एक दशकमा व्यक्तिगत आरधानाको नदेखिने दौड शुरु गरे ।

यो वर्ष मात्र मैले माओको गाउँ चाङसाका युवाहरुसँग कुरा गरेकी छु, जो साँचो हृदयले कम्युनिष्ट पार्टीको प्रसंशा गर्दछन् । मैले बेइजिङका बुढाहरुसँग पनि कुरा गरेकी छु जो कोरोना रेस्पोन्सका लागि सि जिङ पिङप्रति राहतको अनुभूति गर्दछन् । तिनीहरुका भावना प्रमाणिक लाग्दछन् । तर यो भावना बढ्दो छ वा घट्दो त्यो भन्न भने निक्कै गाह्रो छ ।

शिनजियाङमा मात्र हैन, चीनभरि नै सर्वसाधारणसँग विदेशी पत्रकारको हैसियतले खुल्ला कुराकानी गर्न सजिलो छैन । आलोचनात्मक होस् वा अरु नै तरिकाको जनता कुरा गर्नै डराउँछन् । विद्यार्थी हुन वा प्राध्यापक, सुपरमार्केटका कामदार हुन वा ट्याक्सी ड्राइभर, गृहणी, अभिभावक वा गाडी चालक धेरैले यो वर्ष मसँग कुराकानी गर्न मानेनन् ।

अहिले पनि म जब कुनै बोल्न हिम्मत गर्ने व्यक्ति भेट्छु उसको इमान्दारिता र साहसप्रति आभारी हुन्छु । तर सँगसँगै मेरो मनमा एक प्रकारको भय उत्पन्न हुन्छ, कतै मसँग कुराकानी गरेकै कारण त्यो मानिस समातिने त हैन ? यहाँ बोल्ने मानिसले धेरै प्रकारको दुष्परिणाम सामना गर्नु पर्दछ, त्यो वर्षौंवर्ष जेलमा थुनिनुपर्ने पनि हुन सक्दछ ।

चीनमा नागरिकहरु बोल्न डराउनुको कारण त्यस्ता घटनाको सामना गर्ने कुनै न्यायिक प्रक्रिया वा न्यायिक साहाराको अभाव हुनु हो । उत्तर कोरियाले जस्तै चीनले पनि कुनै अन्तर्राष्ट्रिय विवादमा पत्रकारहरुलाई बन्दी बनाउँने सम्भावना बढेर गएको छ । विशेषतः अमेरिकासँगको विवादमा ।

गत महिना जब म बेइजिङबाट बिदाई हुने योजना बनाउँदै थिएँ, मेरा सम्पर्क विन्दूहरु ह्वाटच्याटमा स्क्रोल गर्दै थिएँ, त्यतिखेर मलाई त्यसको हद थाहा भयो । ती मध्ये धेरै निलम्बित भइसकेका थिए । त्यसमा मेरो सहयोेगी गेरी शि पनि थिए । अरु धेरै अमेरिकी पत्रकार थिए । अमेरिकी सरकारले पत्रकारसँग बदला लिन चिनलाई धेरै अर्थमा सजिलो बनाइदिएको छ ।

भर्खरैको कुरा हो–अष्ट्रेलियन पत्रकार चेङ लि जो चीनको राजकीय अंग्रजी प्रसारण च्यानलमा काम गर्थिन्, उनलाई पक्राउ गरिएछ, उनी दुई साना बच्चाकी एक्ली आमा थिइन् । अष्ट्रेलियासंगको कुटनीतिक झगडापछि चीनले थप दुई पत्रकारलाई देशबाट निष्कासन गर्‍यो । यस्ता घटनाको मात्रा निरन्तर बढिरहेको छ ।

अब यो प्रष्ट भएको छ कि चीनले विदेशी संवाददाता आफ्नो देशमा हुनुको मूल्य बुझ्न थालेको छ । उसले यिनीहरुलाई यहाँ मानवअधिकार उल्लंघनका घटना छैनन् र लगानीकर्ताको लागि राम्रो गन्तव्य हो भन्ने रिपोर्टिङ लेखिदिने फाइदाको कुरा मात्र ठानिरहेको थियो ।

यो महिना मैले गरुङ्गो मन बनाउँदै चीन छोडेँ । अष्ट्रेलियाली पत्रकारहरुसँग भएको पछिल्लो घटनापछि मैले न्युजीलैण्डमै नयाँ अवसरको खोजी गने निर्णय गरिसकेकी थिएँ । मैले निकट भविष्यमा चीनको स्थिति स्वतन्त्र र सजिलो हुने कुनै सम्भावना देखिनँ । नत चिनियाँ जनताका लागि, नत विदेशी पत्रकारका लागि ।

चीन छोड्नु अघि एकजना चिनारु बुढा चिनियाँले मलाई ठट्यौलो पारामा भनेका थिए–‘ हामी ठान्थ्यौं कि उत्तर कोरिया हाम्रो विगत हो, तर अहिले लाग्दैछ कि यो त हाम्रो भविष्य रहेछ ।’

(न्युजील्याण्डकी लेखिका द वासिङग्टन पोष्ट बेइजिङ ब्युरोको पूर्व प्रमुख हुन् । उनको यो आलेख द वासिङगटन पोष्टबाट संक्षेपीकरणसहितको भावानुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay