आइपिएल क्रिकेट: हैदराबादविरुद्ध टस जितेर दिल्ली बलिङमा, सन्दीप आज पनि बेन्चमा
काठमाडौं, १३ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत मङ्गलबार एघारौं खेलमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने समेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेपछि हैदराबाद ब्याटिङमा उत्रिएको छ ।
यद्यपि पहिलो र दोस्रो खेलमा मौका नपाएका सन्दीप तेस्रो खेलमा पनि बेन्चमा नै रहेका छन् । पहिलो र दोस्रो दुवै खेल जितेको दिल्लीले एक परिवर्तन गरेको छ, जसमा आवेश खानको स्थानमा इशान्त शर्मालाई मौका दिइएको छ ।
हालसम्म खेलेका दुवै खेलमा पराजित हैदराबादले पनि मोहम्मद नाबीको स्थानमा न्युजिल्यान्डका कप्तान केन विलियमसनलाई खेलाएको छ ।
दिल्लीले रोमाञ्चक खेलमा पञ्जाबलाई सुपर ओभरमा हराएको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो । हैदराबाद भने बैंगलोर र कोलकातासँग पराजित भएको थियो ।