scheduleबुधवार आश्विन १३ गते, २०७८

राजनीतिक विकृति विसंगतिविरुद्ध सचेत युवाहरुले अभियान चलाउनुपर्छः नेता स्याङ्तान

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष सोनाम सिंह स्याङ्तान (विजय)ले अहिलेको राजनीतिक विकृति विसंगतिविरुद्ध युवाहरु निराश हुनुभन्दा यसलाई रुपान्तरण गर्ने अभियान चलाउनुपर्ने बताएका छन् ।

समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय युवा विभागद्वारा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका विषयक विचारविमर्श कार्यक्रममा बोल्नै नेता स्याङ्तानले उक्त विचार व्यक्त गरेका हुन् । उनले नयाँ पुस्ताले संघर्ष गरेर नेतृत्व लिनुपर्ने र विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए । राजनीतिक आन्दोलनमा नजोडिई नेतृत्व क्षमता विकास नहुनेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज दाहालले नेपाली राजनीतिक इतिहासका हरेक संघर्षमा मजदुरहरुले प्रमुख भूमिका खेलेको स्मरण गरे । उनले त्यही राजनीतिक दलहरुमा सत्तामा पुगेपछि मजदूरलाई बिर्सने गरेको गुनासो गरे ।

‘अब युवाहरु जुरमुराउने समय आएको छ, नयाँ युग अनुकूलको नेतृत्व गर्दै नयाँ ढंगको मजदुर आन्दोलनको विकास गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दावा लामा, वाग्मती प्रदेशका सदस्य ठाकुर पोखरेल, समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय महासचिव केशवराज अधिकारी लगायतका केन्द्रीय समितिका टिमको उपस्थिति रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय