scheduleशनिवार मंसिर २० गते, २०७७

यस्तो काँग्रेसले कस्तो विकल्प देला ?

साझापोस्ट टिप्पणी

काठमाडौं, १५ असोज । संसदीय लोकतन्त्रको सामान्य नियम हो– जब सत्तापक्ष गैरजिम्मेवार, असंवेदनशील, अनुत्तरदायी, कमजोर, असफल र अलोकप्रिय हुन्छ, प्रमुख प्रतिपक्षी दलले त्यो ‘स्पेश’ लिनुपर्दछ र नागरिकमा नयाँ आशा, सपना र जागरण सृजना गर्न सक्नुपर्दछ ।

नागरिकमा यो विश्वास हुनुपर्दछ कि सत्तापक्ष फेल भयो त के भो, त्यो भन्दा राम्रो विपक्ष छ । विपक्ष आउँछ र देशलाई सम्हालेर अगाडि बढ्दछ ।

सत्तारुढ दल नेकपाको असंवेदनशीलता, असफलता र अलोकप्रियता यो टिप्पणीको पाटो हैन । त्यो स्वतःसिद्ध छ । त्यसका एक दुई उदाहरण हैन, सयौं कारणहरु छन् । तिनको बग्रेल्ती चर्चा भइसकेका छन् । भइरहेकै छ ।

मूलतः कोभिड–१९ प्रतिरोधको गलत रणनीतिको कारण तीव्रदरमा फैलिरहेको संक्रमणले सृजना गरेको स्वास्थ्य तथा मानवीय संकट, आर्थिक वृद्धिदर ऋणात्मक र कुल ग्राहस्थ उत्पादन संकुचन हुने गरी चरम आर्थिक दुरावस्था, पदीय र गुटीय होडका लागि निम्नकोटीको राजनीतिक खिचातानी, संसदीय पद्धतिप्रतिको कमजोर निष्ठा, आफ्नो वा अर्काको दल विभाजनका लागि गरिएका निकृष्ट प्रयत्नहरु, एकपछि अर्को भ्रष्टाचार, संवैधानिक निकायहरुले गुमाएको तटस्थ तथा निष्पक्ष भूमिका, कुटनीतिक गतिशीलता र सन्तुलनको अन्त्य, नैतिक उत्तरदायित्वहिनता र चौतर्फी अराजकता नेकपा सरकारको असफलताका जिउँदोजाग्दो परिणाम हुन् ।

संसदीय लोकतन्त्रमा सत्तापक्ष यसभन्दा बढी असफल र अलोकप्रिय हुने ठाउँ हुँदैन । तर, प्रश्न उठ्छ के प्रमुख प्रतिपक्ष दलले यस्तो बेला आफनो भूमिका ठीक ढंगले गर्न सकेको छ ? प्रमुख प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेसको भूमिका यस्तो बेला के हुनु पर्दथ्यो र केही भइरहेको छ भनेर तुलनात्मक अध्ययन गर्ने हो भने त्यसबाट निस्कने परिणाम कम निराशाजनक छैन ।

कोभिड–१९ को बीचमा कांग्रेसले ठूला सभा, जुलुस, धर्ना र जनपरिचालन गर्नु पर्दथ्यो भन्ने हैन । त्यस प्रकारको काम संविधानतः वैधानिक प्रतिपक्षका लागि कुनै ठूलो पराक्रम हुने छैन । प्रदर्शन, सभा, जुलुस वा हड्ताल गरेपनि, नगरेपनि कांग्रेसको संगठन र जनमतको दायरा स्वतः अनुमानित छ । कांग्रेसले प्रतिपक्षीय भूमिका निर्वाह गर्नु भनेको सत्तापक्षका विचार, एजेण्डा, दृष्टिकोण र कार्यशैलीमाथि वैकल्पिक प्रस्तावहरु सृजना गर्नु हो ।

कोरोना रेस्पोन्सबारे नेकपाले कहाँकहाँनेर गल्ती गर्‍यो, कांग्रेसको वैकल्पिक बुझाई, विश्लेषण र प्रस्ताव थियो ? हो ? वा छ ?

चरम स्वास्थ्य, आर्थिक, मानवीय संकटको हल कसरी गर्ने ? त्यसका लागि कस्तो आर्थिक नीति तथा स्टिमुलस प्याकेज जरुरी छ ?

यस्तो विषम परिस्थितिमा पनि नेकपा संसदीय प्रक्रियालाई बेवास्ता गर्ने र दलहरु तोडफोड गर्न उद्यत हुने जुन क्रियाकलाप गरिरहेको छ, त्यसले दीर्घकालीन लोकतान्त्रिक पद्धति र संस्कृतिलाई के कसरी हानी गर्दछ र त्यसको प्रभावकारी भण्डाफोर र आलोचना कसरी गर्ने ?

संवैधानिक निकायहरु बिशेषतः न्यायलय र अख्तियारले गुमाएको निष्पक्षता र तटस्थ भूमिकाको कारण उत्पन्न समस्याको हल के हो ? कसरी गर्ने ?
पछिल्लो विश्व परिस्थिति र देशले गुमाएको कुटनीतिक सन्तुलनको समस्यालाई कसरी ठीक बाटोमा फिर्ता गर्न सकिएला ? कांग्रेसका चासो, चिन्ता र सरोकार यी बिषयहरुमा हुनु पर्ने हो ।

तर कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैली हेर्दा लाग्दछ– उनी प्रधानमन्त्रीको ओलीको सोच र कार्यशैलीका फोटोकपी मात्र हुन् । कांग्रेस अहिले विश्वविद्यालयका उपकुलपति, अख्तियारको आयुक्त र अन्य विभिन्न राजनीतिक नियुक्तिमा भागबन्डा खोजिरहेको छ । त्यस्ता ससाना पदहरु पाउँदा मख्ख र दंग मात्र हैन ओलीप्रति कृतज्ञ समेत देखिन्छ ।

ठूला भ्रष्टाचारका घटनाबारे मिडिया, नागरिक समाज र अन्य साना दलहरुले जुनस्तरको दबाब सृजना गरेका छन्, त्यसको तुलनामा कांग्रेसको भूमिका नगन्य देखिन्छ ।

यहाँसम्म कि ओली सरकारले एकलौटी र अवाञ्छित तरिकाले संसद अधिवेशन स्थगन गर्दा समेत कांग्रेसले कुनै नैतिक, कानुनी र राजनीतिक दबाब बनाउन सकेन ।

यथाकदा हुने सर्वदलीय बैठकमा दुईचार मिनेटको सुझाव दिनु बाहेक सत्तापक्षले प्रमुख प्रतिपक्षको हैसियतलाई बुझेको र व्यवहार गरेको पाइन्न । तथापि कांग्रेस मौन छ । यस्तो लाग्दछ कि कांग्रेस नेकपा र उसको सरकारको सोच र कार्यशैलीसँग भित्रभित्रै खुशी छ । सत्तापक्ष र प्रतिपक्षको बीच कुनै अघोषित साँठगाँठ छ । देशमा जेजति बेथिति र भ्रष्टाचार छ, त्यो सत्तापक्ष र प्रमुख प्रतिपक्षको मिलोमतोमा त भइरहेको छैन भनेर आशंका गर्न सकिने ठाउँ पर्याप्त छ ।

कांग्रेसको ध्यान जनसरोकारका मुद्दामा समेत मुखरित छैन । यसबीचमा भएका हत्या, हिंसा, बलात्कार र दलित समुदायमाथिका अत्याचारको ग्राफ अस्वभाविक छ । गृहमन्त्री ‘अमेरिकामा पनि जातीय भेदभाव छ’ ‘बलात्कार चिन्ताजनक छैन’ जस्ता गैरजिम्मेवार उत्तर दिइरहेका छन् । गृहमन्त्रीका यस्ता उत्तरप्रति समेत कांग्रेस आक्रमक हुन सकेको देखिन्न ।

राष्ट्रिय महत्वका यी दायित्व पुरा गर्न एक असाधारण राजनीतिक पहलकदमी लिनुको साटो कांग्रेस आफैभित्रको झगडा र रगडाले आक्रान्त छ । निकट भविष्यमा आयोजना गर्नु पर्ने महाधिवेशनलाई प्रभावित गर्न पार्टी सभापति देउवा विभाग गठनजस्ता असान्दर्भिक कार्य गरिरहेका छन् । यो एक प्रकारको ‘नरम धाँधली’ हो भनेर बुझ्न कसैलाई गाह्रो छैन ।

देउवा महाधिवेशन अघि जनसरोकार र राष्ट्रिय महत्वका सवालमा प्रवेश गर्ने मनस्थितिमा देखिन्नन् । ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वस्त र अभ्यस्त हुँदै आगामी महाधिवेशन कब्जा गर्ने, पुनश्चः सभापित निर्वाचित हुने र कथमकदाचित कांग्रेस सरकारमा जाने अवस्था आए फेरि एकपटक प्रधानमन्त्री हुने सम्भावनालाई जीवित राख्ने बाहेक देउवाको ध्यान अरु कुनै कुरामा देखिन्न ।

तर कांग्रेसभित्रको फरक मत भनिएको पौडेल पक्षको क्रियाकलाप पनि संस्थापन पक्षको भन्दा गतिलो छैन । त्यहाँ एक दर्जन बढी सभापितको स्वघोषित उम्मेद्वार छन् । पौडेलका अतिरिक्त शशांक, शेखर, प्रकाशमान सिंह, गगन, सिटौला, महत आदि आफू सभापति हुनपाउनु पर्ने दाबी गर्दै हिंडेका छन् । उनीहरुबीच बलियो संवाद, एकता र विश्वास देखिन्न ।

यतिधेरै उम्मेद्वार फरकफरक उठेर आफ्नो खेमामा निर्विकल्पझैं देखिएका देउवालाई पराजित गर्न सक्ने कुनै गुन्जाइस रहँदैन । प्रकारान्तले कुनै एकतामा आउनु नै छ भने आआफ्ना महत्वाकांक्षाको पोको जताततै फुकाउदै हिँडेर कुनै उपलब्धि हुने हैन । त्यसको साटो कुनै खास मानक, मापदण्ड र औचित्यमा आधारित एकीकृत प्रयास गर्नु पर्ने अवस्थामा उनीहरु पुग्नु पर्ने हो, त्यो हुन सकिरहेको छैन ।

अझ दुखद कुरा छ के छ भने कांग्रेसभित्रको फरक मत भनिएका व्यक्ति-व्यक्तित्वमा देशका जल्दाबल्दा समस्याबारे कुनै फरक सोच, प्रस्तावना, योजना र कल्पनाशीलता देखिन्न । गगन थापाले व्यक्तिगत तबरले जारी गर्ने एकाध वक्तव्यमा नै कांग्रेसको कल्पनाशीलता सीमित भएको छ । कुनै समय नरहरि आचार्य, प्रदीप गिरी र गगन कुमार थापाले कांग्रेसभित्र मौलिक र जबरजस्त वैचारिक हस्ताक्षेप गरेका थिए । कांग्रेसलाई गणतन्त्र, संघीयता र संविधानसभासम्म लैजान उनीहरुको ठूलो र साहसिक योगदान रह्यो ।

आज कांग्रेसमा त्यतिको वैचारिक समूह समेत छैन ।

संस्थापन इतर खेमा रहेको वैचारिक अस्पष्टता कांग्रेसको अर्को ठूलो समस्या हो । त्यहाँ संवैधानिक राजतन्त्र र हिन्दू राज्यको कुन्ठा बोकेर बसेका महामन्त्री शशांक कोइरालादेखि गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा सहासिक अभियान गरेका गगन थापासम्म छन् । पार्टी महाअधिवेशनसम्म उनीहरुको एकता र सहकार्य वैचारिक पनि हुन्छ कि प्राविधिक मात्र भन्ने प्रश्न बाँकी नै छ ।

देउवाको व्यक्तित्व ओलीको प्रतिछायाजस्तो र कांग्रेसको छवी ‘भाइ नेकपा’ को जस्तो हुँदै जानु कांग्रेसकै लागि पनि सुखद कुरा होइन नै, देशकै लोकतान्त्रिक भविष्यका लागि पनि अहितकर हो ।

प्रश्न निक्कै गम्भीर छ– यस्तो कांग्रेसले देशलाई कस्तो विकल्प देला ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay