scheduleबिहिवार मंसिर ११ गते, २०७७

कमरेड प्रचण्डलाई प्रश्‍न: तपाईं मुलधारमा कि दोधारमा ?

रुद्रप्रसाद भट्ट

विश्वका केहि बुद्धिजिवीले कम्युनिष्ट पार्टीको तुलना साम्राज्यसँग पनि गरेका छन् । कम्युनिष्ट पार्टीको कार्यकारी नेतृत्व जसको हातमा हुन्छ उसको भूमिका कुनै सम्राटको भन्दा कम हुँदैन । सम्राट अकबरको साम्राज्यमा पनि वीरबललगायत नौजना व्यक्तिको दबदबा थियो । अकबरले ती नौजनालाई नवरत्नको संज्ञा दिएका थिए । सम्राटलाई राज्यको काममा सल्लाह दिनु नवरत्नको मुख्य काम हुन्थ्यो । तर, उनीहरुको सल्लाह मान्‍नु वा नमान्‍नु सम्राटको मर्जी ।

यतिबेला नेकपा हेर्डक्‍वार्टर अर्थात् सचिवालय पनि सम्राटको दरबार जस्तै हो । बालुवाटारमा रहेको उक्त हेर्डक्वाटरको सम्राट केपी ओली हुन् । नवरत्न मध्येका अर्का सम्राट प्रचण्ड र त्यसपछिका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ उपसम्राट भएपनि ओलीलाई महाराज बनाउने काम नवरत्नमध्येका ईश्वर पोख्रेल र विष्णु पौडेलले गरिरहेका छन् ।

वैचारिक राजनीतिको करिब–करिब अन्त्य भएको नेकपामा केही पात्रले राजनीतिक बहस चलाउन खोज्दा उनीहरुको राजनीतिक भविष्य समेत अन्धकार बन्‍ने खतरा छ । नवरत्नका सम्राट केपी ओलीले पार्टीको सबै निर्णय मान्छु भनेर एक महिनाअगाडि स्थायी कमिटी बैठकमा गरेको आफ्नै प्रतिवद्धतालाई कुल्चिएका छन् । ठूला, महत्वपूर्ण र नीतिगत निर्णयहरु सामूहिक गर्ने भन्‍ने कुरालाई उनले लत्याएर अगाडि बढेको कुरा ‘युवराजको राजदूत प्रकरण’ मा छताछुल्ल भैसक्यो ।

प्रधानमन्त्री समेत रहेका ओलीको एकपछि अर्को हर्कत दोहोरिँदै गएपछि उधारो कार्यकारी लिएर बसेका अर्का अध्यक्ष प्रचण्ड यतिबेला फेरि अर्धनिद्राबाट ब्युँझेको जस्तो अवस्थामा पुगेका छन् । सत्ताका लागि जे पनि गर्न तयार प्रचण्डलाई समेत सत्ताको साँचो कुनै हालतमा नदिने कसम खाएका ओलीको कार्यशैलीबाट वाक्कदिक्क भएर हुनुपर्छ प्रचण्डले फेरि पुराना दिन र सहकर्मी सम्झिन थालेको झल्को राम्रैसँग दिएका छन् ।

ओलीले जनतालाई मात्रै होईन आफुलाई समेत बेवकुफ बनाउँदै गएको निष्‍कर्षमा पुगेका प्रचण्डले बेलाबेलामा बाबुराम, वैद्य र विप्लवको कुरा निकाल्नु वा उनीहरुसँग संवाद गर्न खोज्नुले उनी पीडामा छन् भन्ने सहजै बुझ्न सकिन्छ ।

रुद्रप्रसाद भट्ट

सत्ताका लागि १४ वर्ष जेल बसेर आएका पात्र हुन् ओली । अनि १० वर्ष जनयुद्धको नेतृत्व गरेर सर्वहारा वर्गको सत्ता स्थापित गर्न तम्सिएका एक पात्र हुन् प्रचण्ड । यी दुवैले नेतृत्व गरेको नेकपा अहिले सत्तामा छ । सर्वहारा गरीबको सत्ता स्थापित गर्ने यो भन्दा ठूलो अवसर सायद नेपालका कम्युनिष्टले पाउने छैनन् । २०६२ को आन्दोलनपछि शान्तिको बाटोमा आएको तत्कालीन माओवादीको अध्यक्ष रहेका प्रचण्डले आफ्नो पार्टीलाई एक राख्‍न त सकेनन् । अन्ततः पार्टी नै एमालेमा बुझाए । त्यसैको पश्चाताप भएको हुनुपर्छ प्रचण्ड आजभोलि दाह्रा र नङ्ग्रा झिकिएका बाघजस्तै भएका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा देशैभर जनलहर ल्याएर झण्डै–झण्डै विजय यात्रा सुरु गरेको माओवादी हठात् एमालेसँग जोडिएको होईन । पार्टी नेतृत्वको कार्यशैली, सत्ता र शक्तिको उन्माद्, आफु महाराज बन्ने र कार्यकर्तालाई रैतीको व्यवहार गर्ने अनि पार्टीका ईमान्दार नेता कार्यकर्तालाई पछाडि पार्दै भ्रष्ट, दलाल र अवसरवादीलाई पार्टीमा मुख्य अवसर दिन थालेपछि प्रचण्ड एक्लिदैँ गएका हुन् । उनले आफु शक्तिमा हुँदा व्यापारिक नाफाखोरी, ठगी, जालझेल, मिसावट, सरकारी भ्रष्टचारमा खप्पिस केही पात्र र वर्गलाई संरक्षण दिएर केही नेता कार्यकर्तालाई पार्टी छाडेरै जाने अवस्थामा समेत पुर्‍याए ।

देश, जनता र पार्टीका लागि महत्वपूर्ण राजनीतिक निर्णय लिनुपर्दा सधैं दोधारमा रहने नेकपा अध्यक्ष प्रचण्डले फेरि मुलधारको कुरा उठाउन थालेका छन् । आफैं धार बिनाको मुलधारमा रहेका प्रचण्डले सायद दोधारमा परेपछि मुलधार सम्झेको हुनुपर्छ । बाबुराम, विप्लव र वैद्यलाई ‘मुलधारमा आउनुस्’ भनेर बेलाबेला बोल्ने प्रचण्डको अभिव्यक्ति यसैको उपज हुनसक्छ ।

२०५२ सालपछि टाउकोमा कात्रो बाँधेर राज्यको सम्पूर्ण रुपान्तरणसहित कम्युनिष्ट सत्ता स्थापना गर्न युद्धमा होमिएका कार्यकर्तालाई धोका दिएर एमालेसँग आफु मिल्ने र निजी स्वार्थ प्राप्त गर्ने अनिष्ट बाटो लिएका प्रचण्डमा अहिले मुलधारको कुरा गर्ने आँट कसरी आयो ?

१० वर्षे जनयुद्धको राप र ताप रहेका बेला तत्कालीन माओवादी अध्यक्ष तथा जनमुक्ति सेनाका सुप्रिमो बनेका प्रचण्डले कुन मुलधारको कुरा गर्दैछन् ?

यदि उनले आफु एमालेको मुलधारमा समाहित भैसकेकाले बाबुराम, वैद्य र विप्लवलाई पनि जनताको बहुदलीय जनवादको मुलधारमा सहभागी हुन भनेका हुन् वा जनतालाई धोका दिएर प्राप्त गरेको सत्ता र शक्तिको मुलधारमा बोलाएका हुन् त्यो उनैले जान्ने कुरा भयो ।

२०६७ मंसीरको पालुङटार बैठकमा नेता डा. बाबुराम भट्टराईले शान्ति र संविधानलाई मुलधार बनाएका थिए भने मोहन वैद्य ‘किरण’, बादल र विप्लवले जनविद्रोहलाई मुलधार बनाए तर कमरेड प्रचण्डलगायत अहिले जनताको बहुदलीय जनवाद मानेर एमालेमा भित्रिनेहरुको मुल धार केही पनि थिएन । उनीहरु सबै सत्तामा कसरी पुग्‍ने र रजाईं गर्ने भन्ने दोधारमा मात्रै थिए । त्यसको पुष्टि अहिले भएकै छ ।

माओवादी छाडेका बाबुरामले नयाँ शक्तिको बहस चलाएर देशमा आर्थिक विकास र समृद्धिलाई मुलधार बनाएर अघि बढौं भन्दा एमालेका हावादारी र गफाडी नेताको रेल, तेल र पानीजहाजको पछाडि दौडिने प्रचण्डले कुन नैतिकताको आधारमा मुलधारको कुरा गरिरहेका छन् ? बरु मोहन वैद्यले जति दुःख भएपनि अवसरवादी, प्रतिक्रियावादी, संशोधनवादी र प्रतिगमनकारी शक्तिसँग मिलेर क्रान्तिकारी धार नछाडौं भनेर मुलधार समातेकै छन् । विप्लवले पनि जनवादी क्रान्ति पुरा भएको छैन भन्दै हिजो प्रचण्डकै मुलधार समातेको दाबी गरेकै छन् । उनीहरुको मुलधारले भोलि जित्ला वा नजित्ला तर प्रचण्डको जस्तो दोधारमा छैनन् ।

यसर्थ, कमरेड प्रचण्डले भनेजस्तो मुलधार एमालेकरण वा अवसरवादबाट सम्भव हुने कुरा होइन । आफैं किनारमा बसेर दोधारमा रहेका व्यक्तिले नदी पार गराउँछ भनेर नदीमा पस्यौं भने ऊ आफु पनि डुब्छ र अरुलाई पनि डुबाईदिन सक्छ ।

त्यसैले बिना आधारको धार समातेर अगाडि बढ्ने व्यक्तिले अरुलाई मुलधार मै हो भन्नु टुकुचाले सप्तकोशीलाई मुल नदी मै हुँ भनेजस्तै हो । ढल र फोहोरले भरिएको टुकुचा खोलालाई मुल नदी मानेर महासागर पुगिदैंन । त्यो त केवल वर्षात्को भेलमा बगेको पत्कर पानी रोकिएपछि किनारमा अलपत्र पर्नु जस्तै हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay