scheduleबिहिवार मंसिर ११ गते, २०७७

अमेरिकामा ‘बहुदलीय लोकतन्त्र’का लागि ‘द्वी-दलीय प्रणाली’को अन्त्य अत्यावश्यक

लि द्रुटम्यान

यस वर्षका घटनाक्रम हामीले देखिसक्यौं– महाअभियोग, महामारी, जनअसन्तुष्टिको ज्वाला र अन्ततः सर्वोच्च अदालतको खाली सिटमा रुथ ब्याडर ग्रिन्सवर्गलाई पदपूर्ति गर्ने युद्ध, चुनाव आउनु अगाडिको यी अनिश्चित लडाईंले यो महसुस गर्न सजिलो भएको छ कि अमेरिकी लोकतन्त्र हाम्रो आँखै अगाडि धरासायी हुँदैछ ।

 यति धेरै समस्या हुँदाहुँदै पनि हाम्रा लागि केही सम्भाव्य राम्रा समाचारहरु छन् । संयुक्त राज्य अमेरिका यसअघि पनि यस्ता धेरै राजनीतिक तथा आर्थिक संकटका क्षणहरु हुँदै आएको छ । प्रत्येक संकटपछि देशको राजनीति र अर्थतन्त्रमा अत्यावश्यक रुपान्तरणहरु हुने गरेका छन् । सन् २०२० को दशक फेरि एकपटक महत्वपूर्ण राजनीतिक विकासक्रमको दशक हुने सम्भावना छ । यस्तो आशा गर्न सकिने कारणहरु छन् । अमेरिकाले अब आफ्नो दलीय प्रणालीको समीक्षा र नवीकरण दुवै गर्नुपर्ने बेला भएको छ ।

अलिक बृहत्त अर्थमा भन्ने हो भने अमेरिकी राजनीतिमा ६ प्रकारको पार्टी प्रणाली रह्यो । फरक-फरक युगमा पार्टीहरुको स्थायित्व र सन्तुलन फरक-फरक रहेको थियो । पार्टीहरुभित्रको शक्ति सन्तुलन, तिनीहरुले उठाएका सवाल र अर्थतन्त्रमा सरकारको भूमिका पनि त्यस्तै थियो ।

अमेरिकी राजनीति र अर्थतन्त्रको विशिष्ट विकासक्रमको समय अवधिलाई मोटामोटी १७९६–१८२०, १८३२–१८५६, १८६८–१८९२, १८९६–१९२८, १९३२–१९६८ र १९८० देखि अहिलेसम्म मान्न सकिन्छ । यी संक्रमणहरुले माथिदेखि तलसम्म, सम्भ्रान्तहरुको गठबन्धन र विचारधारालाई त्यतिखेरको सामाजिक संकटहरुको सान्दर्भिकतामा पुनर्गठन गरेको थियो ।

यसअघिका ५ वटा पार्टी प्रणालीका चरणहरुले २४, २४, २४, ३२ र ३६ वर्ष लिएका थिए । यो गणनामा निश्चित प्रकारको नियमितता छ । यसको आधारमा भन्न सकिन्छ कि अब अहिलेको पार्टी प्रणाली सम्भवत अन्त्य हुँदैछ ।

अमेरिकामा यसप्रकारका पार्टी प्रणालीको उत्थान र पतनको ४ वटा मुख्य आधारभूत लोकतान्त्रिक रुपान्तरण अवधि छन् । पहिलो– क्रान्तिकारी युद्धको अवधि जसले औपनिवेशिक राजतन्त्रबाट स्वशासनको युगमा रुपान्तरण गराएको थियो । दोस्रो सन् १८३० को अवधिका मुख्य सुधार मताधिकारको विस्तार र गैरमालिक वर्गका गोराहरुलाई मताधिकार प्रदान गर्नु थियो । तेस्रो त्यो प्रगतिशील युग थियो जसले महिला मताधिकार र सहभागितामुलक लोकतन्त्रतिर अभिप्रेरित गर्‍यो । चौथो, सन् १९६० को दशकका सुधार थिए, जसले कालाहरुलाई मताधिकार दिनुको साथै शासन प्रणाली उल्लेखनीय सुधार गर्‍यो ।

लि द्रुटम्यान

यो प्रवृत्तिको नियमिता अझै अमेरिकी समाजमा छ । बितेका ६० वर्षले रुपान्तरणका लागि थुप्रै अनुभव र पाठहरु दिएको छ । अमेरिकामा फेरि एकपटक तलदेखि माथि हुँदै आउने लोकतान्त्रिक रुपान्तरणको औचित्य छ ।

यस्तो हुन सक्दछ कि यो जटिल राजनीतिक प्रणालीले अर्ध–नियमितता प्रवृत्तिको रुपान्तरण गरोस् । अमेरिकाले सामना गरिरहेका स्थितिहरुले अहिलेको क्षण निक्कै अनौठो र असामान्य लाग्दछ । मुख्यतः नश्लीय र सांस्कृतिक विभिन्नताले राजनीति शक्तिलाई विभिन्न पार्टीहरुबीच अतिसय विभाजन गर्दैछ ।

 निसन्देह अतितको क्रिया भविष्यमा जस्ताको त्यस्तै प्रतिक्रिया हुने सुनिश्चित हुँदैन । र, उत्तिकै आशंकाहीन कुरा के छ भने अमेरिकी राजनीतिका विद्यमान तत्वहरुले एकअर्को रुपान्तरण र नवीकरणको सम्भावनालाई गहिरो अनिश्चितताभित्र राखेका छन् ।

 तथापि इतिहासका पाठहरुको मूल्य हुन्छ । तिनले हामीलाई यो बताउन सक्दछन् कि यो भूभागलाई कहाँ-कहाँनेर सुधार र परिमार्जन जरुरी छ कहाँ-कहाँनेर छैन । हाम्रो स्व–शासनलाई कार्यलाई के कस्ता अपडेटहरु आवश्यक छ, जसले अमेरिकाको पुरानो र चरमराउँदो प्रणालीलाई रुपान्तरण गर्न सक्दछ ।

 देशको अनौठो निर्वाचन प्रणाली– बहुसंख्याले निर्वाचित हुने पहिलो हुनेले जित्ने निर्वाचन, एक चरणको प्रतिस्पर्धा हुने राष्ट्रपतीय निर्वाचन र विजेताले सबैथोक प्राप्त गर्ने निर्वाचक मण्डल प्रणालीले गर्दा अमेरिकी राजनीतिमा सधै दुई मुख्य प्रभावशाली दलहरु राजनीतिक प्रतिस्पर्धाको संरचनाभित्र आउने गरेका छन् ।

देशको जनसांख्यिक धरातल बद्लिँदैछ । शक्तिको सापेक्षिक सन्तुलनले कोल्टे फेरेको छ । शासकीय विचारधाराहरुमा समस्या छन् र समस्या समाधानका लागि नयाँ विचारधाराहरुको आवश्यकता छ । तर मतदानको रुझान स्थीर छ । दुई पार्टी प्रणाली एक बृहत्त गठबन्धनजस्तो बनेको छ । यसले पार्टीभित्र र बाहिरका यसभन्दा फरक वा विपरित गठबन्धनहरुलाई समायोजित गर्न सकेको छैन ।

अमेरिकी राजनीतिको विद्यमान पार्टी प्रणाली सन् १९८० को वरिपरि बनेको हो । यस अवधिमा रिपब्लिकन पार्टीले धनी र निरपेक्ष बजारवादीहरु, क्रिश्चियन मूल्य प्रणाली आधारित मतदाताहरु र युद्धकारी वैदेशिक नीतिमा विश्वास गर्नेहरुलाई एकीकृत गर्‍यो । डेमोक्र्याट्सहले उदारवादी, कम आय भएका, अश्वेत र पिछडिएको वर्ग र सामाजिक मुद्दामा पैरवी गर्नेहरुलाई एक ठाउँ पार्यो । दुवै पार्टीको विचारधारा भने नवउदारवाद बन्यो ।

नवउदारवाद एक अस्पष्ट शब्द हो जसले बजार र निजीकरणलाई घरेलु नीतिको मुख्य औजार मान्दछ । सांस्कृतिक तथा नश्लीय मुद्दाहरु नवउदारवादका लागि विभाजनकारी प्रणालीका आधार बन्न पुगे । शहर र गाउँबीचको ध्रुवीकरण विभाजनको नियति बन्यो ।

यस्तो पार्टी प्रणाली अन्तिम चरण ४ वर्षअघिको सन् २०१६ को राष्ट्रपतीय निर्वाचन नै हो जसबाट डोनाल्ड ट्रम्पजस्ता पपुलिष्ट रिपब्लिकन नयाँ राष्ट्रपति निर्वाचित हुन सके । ट्रम्पसँग समाज कल्याणकारी राज्य, घरेलु उत्पादन, अन्तर्पार्टी सहमति र नीतिगत पूर्वाधारहरुप्रतिको प्रतिबद्धता छैन । यति हुँदाहुँदै पनि उनले रिपब्लिकन गाठबन्धनको वर्चश्वलाई जोगाइदिएका छन् । सम्भवत् उनले जस पाउने विन्दू यही हो कि उनी र्‍याडिकल डेकोक्र्याटसहरुलाई निरन्तर आरोपित गर्ने एकल क्षमता राख्दछन् । सम्भावित हिंसात्मक मार्क्सवादी क्रान्ति र जातीय उग्रवादीहरु विरुद्ध निरन्तर बोल्नु बाहेक ट्रम्प अरु सबै कोणबाट असफल देखिएका छन् ।

डेमोक्र्याटसहरुको भूमिका एक नीतिगत बहस हुने मञ्चजस्तो मात्र छ । यसपालीको चुनावमा ट्रम्पका असफलताहरुले उनीहरुलाई आफ्ना कमजोरीहरु ढाकछोप गर्ने अवसर दिएको छ । दुवै पार्टीहरु यति मक्किएका छन् कि उनीहरु पुनर्गठनको आवश्यकता महसुस गरिरहेका छैनन् । अमेरिकी राजनीतिमा ध्रुवीकरणको मुख्य प्रश्न यसको इतिहास, सरकार सञ्चालनको नीति र विश्वप्रतिको दायित्व हुने गरेको थियो । यसपटक दुवै पार्टी एकअर्कालाई लोकतन्त्र विरोधी देखाउने प्रयत्नमा नै सीमित छन् ।

 यस्तो वैचारिक रिक्तता पुरा गर्न विगतमा एक अवसर थियो । पार्टीहरु खुकुला मञ्च र गठबन्धनजस्ता थिए । तलतलका स्थानीय समूहहरु राष्ट्रिय अंगसँग जोडिएका हुन्थे । तिनले तलबाट आएका बहस, तर्क र विचारलाई ठाउँ दिन्थे । यस्ता पार्टीका आफ्नै प्रकारको समस्या थियो तर ती बढी लचिला थिए । पुनर्बनौटको सम्भावना बोक्दथे । नयाँनयाँ विचार सजिलै स्वीकार्य हुन्थे ।

आज दुवै पार्टीहरु अति राष्ट्रियकरण भएका छन् । सबै चिजको माहौल मिडियाले बनाउँछ । प्रत्येक मुद्दा ज्वलन्त समस्याजस्तो गरिकन तुरुन्तै फैलिन्छन् । यस्तो प्रवृतिले प्रतिकोणीय तर्कहरुलाई सजिलै ओझलमा पार्दिन्छ । विगतमा झैं वैचारिक तथा नीतिगत पुनर्गठनका आधारहरु सृजना हुँदैनन् । आजका पार्टी आफैंभित्र विभाजित छन् । त्यस्तो विभाजन सम्भ्रान्त नेतृत्वको उच्च तहमा छ । उनीहरु आफैं पार्टी एकताको भावनाको विरुद्धमा हुन्छन् ।

तलैदेखि लोकतन्त्रलाई रुपान्तरण गर्न, पार्टीहरुको पुनर्गठन गर्न र त्यसका लागि निश्चित आधारहरु तय गर्न भने यस्तो बेहाल राजनीति एक अवसर हो । राजनीतिशास्त्री सेमुअल हन्टिङ्टनले आफ्नो किताब ‘अमेरिकन पोलिटिक्सः द प्रोमाइज अफ डिसहार्मोनी’ मा भने जस्तो अमेरिकी लोकतन्त्र आर्दशहरुमा उभिएको छ । ती आर्दश– समता, सहभागिता, खुल्लापन, सहिष्णुता र व्यक्तिगत तथा सामूहिक मागप्रतिको जवाफदेहिता हो । जब कार्यकारी सरकारले यी आर्दशहरु सोही बमोजिम पछ्याउन सक्दैन अमेरिकी लोकतन्त्रको परिकल्पना असन्तुष्टि र अस्वीकार्यतातिर लक्षित हुन्छ ।

 अधिकांश अमेरिकीहरुले अझै आर्दश र वास्तविकताबीचको यस्तो दूरीलाई अस्वीकार गर्दै आएका छन् । तर यो दुरी झनझन फराकिलो हुँदैछ । यो दूरीलाई पुरा गर्न केही सुधार, पुनर्गठन र नवीकरण जरुरी छ । त्यो बाटो भनेको अमेरिकी लोकतन्त्रलाई अझ बढी समावेशी र उत्तरदायी बनाउनु हो । यसका लागि केही महत्वपूर्ण संवैधानिक तथा राजनीतिक सुधार गर्नुपर्ने हुन्छ ।

 भर्खरै पेउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा १० मध्ये ६ भन्दा बढी अमेरिकी अमेरिकाको सरकारी संचरनामा केही आधारभूत र महत्वपूर्ण सुधार हुनपर्ने पक्षमा देखिएका छन् । तर त्यस्ता सुधारहरु केके हुन् ? यसको सबैभन्दा महत्वपूर्ण प्रस्थानविन्दू भनेको दुई पार्टी प्रणालीको दुर्भाग्य-चक्रलाई तोड्नु हो ।

यसबारे मेरा केही ठहरहरु छन् । अमेरिकी मतदान प्रणालीलाई बहु-सदस्य निर्वाचन क्षेत्र भएको तहगत वर्गीकरण–छनौट प्रणाली (Ranked-choice voting with multimember districts) मा परिणत गर्नुपर्दछ । यो एक प्रकारको समानुपातिक प्रणाली हो जुन आयरलैण्ड र अष्ट्रेलियामा प्रयोग गरिएको छ । यस्तो प्रणालीले एक साथ धेरै पार्टीहरुलाई अस्तित्वमा राख्न सक्दछ । द्विध्रुवीय विभाजन गत्यात्मकता (Binary partisan dynamics) को अन्त्य हुन्छ । यसले स्वार्थवन्दी, अतिवाद र विभाजनलाई निरुत्साहित गर्दछ ।

सबैभन्दा महत्वपूर्ण कुरा यो प्रणालीले नयाँहरुलाई अनुमति दिन्छ । लोकतन्त्र लचिलो र खुकुलो प्रश्नवाचक वैधानिकताको विधि भएको प्रणालीमा आकारित हुन्छ । अमेरिकी लोकतन्त्रलाई नष्ट गरिरहेको दुई पार्टी दुर्भाग्य–चक्र (DOOM LOOP) लाई तोड्न हामीले धेरै पार्टी एक साथ प्रतिस्पर्धी हुन सक्ने सजिलो बाटो खोल्नु पर्दछ । अमेरिकी लोकतन्त्रको भविष्य यसैमा आधारित हुनेछ ।

(लेखक Breaking the Two-Party Doom Loop: The Case for Multiparty Democracy in America पुस्तकका लेखक हुन् । उनको यो आलेख फोरेन पोलिसीबाट संक्षेपीकरणसहितको भावानुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay