scheduleबिहिवार मंसिर ११ गते, २०७७

तनाव व्यवस्थापनका उपायहरु

माधवराज शर्मा पोख्रेल

‘तनाव’ सबैको जनजिब्रोबाट बारम्वार निस्कने शब्द । सामान्यतः तनावलाई हामी समस्याको रुपमा लिन्छौ र दिमागसँग जोड्दछौं । चाहे घरमा होस्, चाहे स्कुल क्याम्पसमा, चाहे कार्यालयमा होस् हामीले सोचे जस्तो भएन भने वा हामीलाई कुनै समस्या पर्‍यो भने टेन्सन भयो, तनाव भयो भनी भन्दछौं ।

तनाव आधुनिक जीवनको साझा विषयवस्तु वा घटना बनिसकेको छ । तनावलाई मानव जीवनबाट पूर्ण रुपमा हटाउँछु भन्नु यथार्थता होइन तर तनावलाई कम गर्न र सन्तुलनमा राख्न भने सकिन्छ । तनावको कारण, लक्षण (Symptom), तिव्रता (Intensity) र सामना गर्ने सामर्थ्य (Coping Power) व्यक्ति, समय र परिस्थितिबीच फरक हुन सक्दछ । तनावलाई लिने र सामना गर्ने सम्बन्धमा समेत व्यक्तिहरुबीच फरक-फरक व्यवहार एवम् धारणा (Perception) हुने गर्दछ । त्यसैले तनावको व्यवस्थापन पनि सोही किसिमले गरिनु पर्दछ ।

तनाव के हो ?

तनाव अंग्रेजी शब्द stress को नेपाली रुपान्तरण हो । अंग्रेजी शब्द stress का अन्य समनार्थी शब्दहरु Tension, staraion, Anxiety आदिलाई समेत तनाव जनाउन प्रयोग गर्ने गरिन्छ । तनाव व्यक्तिको उच्च आकांक्षा र लक्ष्य प्राप्तिबीच उत्पन्न द्वन्द्वको परिणाम हो । तनाव व्यक्तिको कहिले नसकिने उच्च आकांक्षा, इच्छा र तृष्णाले सिर्जना हुन्छ । तनाव परिस्थितिको मागलाई सामना गर्न नसक्दा उत्पन्न हुने परिणाम पनि हो ।

माधवराज शर्मा पोखरेल

Palmer का अनुसार तनाव व्यक्ति द्वारा गरिएको त्यस्तो मनोवैज्ञानिक, शारीरिक र व्यवहारात्मक प्रतिकृया हो, जुनबेला व्यक्तिले राखेको माग र ती मागहरु पुरा गर्ने सवालमा व्यक्तिको योग्यताबीच सन्तुलनको अभाव (Lack of equilibrium) भएको ठान्दछ । Lazaras and Folkman ले तनावलाई बाह्य वातावरणप्रति व्यक्तिको प्रतिक्रियाको रुपमा लिँदै, तनावले व्यक्तिलाई स्वभाविक अवस्थाभन्दा भिन्न किसिमको प्रभाव पारी व्यक्तिले आफूलाई असन्तुलित र अरु बेलाको सामान्य अवस्था भन्दा फरक अवस्थाको रुपमा लिई त्यसको सहन गर्ने क्षमता गुमाउने स्थितिको रुपमा व्यक्त गरेकाछन् ।

Stephen P Robbins का अनुसार व्यक्तिको माग वा चाहना अनगिन्ति हुन्छन् । व्यक्ति आफ्ना इच्छा वा चाहनाहरु पुरा गर्न लागि रहन्छ । व्यक्तिले आफ्ना इच्छा पूर्ति गर्ने प्रयास गरिरहँदा इच्छा गरेको कुरा प्राप्त नहुने अवस्था पनि हुन सक्दछ । व्यक्तिले इच्छा गरेको कुरा प्राप्त नहुने अवस्था छ, तर त्यो पूर्ति गर्न लागेको विषय व्यक्तिका लागि महत्वपूर्ण छ भने त्यस्तो अवस्थामा तनावको सिर्जना हुन्छ । तनावलाई व्यक्तिको तनाव उत्पन्न गराउने तत्वहरु (Stressors) प्रतिको प्रतिक्रियाका रुपमा लिन सकिन्छ ।

Stressors के हुन् ?

व्यक्तिलाई तनाव उत्पन्न गराउने विभिन्न तत्वहरुलाई तनावका stressors भनिन्छ । कुनै महामारी, प्राकृतिक विपद्, स्वास्थ्यमा समस्या, आर्थिक समस्या, पारिवारिक समस्या, व्यक्तित्व अर्थात् व्यक्तिहरु बीच हुने फरकपना, कार्य प्रति असन्तुष्टि, संगठनात्मक वातावरण आदिलाई तनावको stressors को रुपमा लिन सकिन्छ ।

निश्चित तहसम्मको तनाव प्रगतिको स्रोत

सामान्यतया तनावलाई नकारात्मक रुपमा मात्र बुझिएको पाइन्छ । तर सबै प्रकारका तनावहरुले नकारात्मक असर पार्दैन । तनावमा दवाव हुन्छ । निश्चित तहसम्मको तनाव मानिसको प्रगति र सुरक्षाको स्रोत पनि हो । जुन मानिसको स्वास्थ्य र समृद्ध सामाजिक जीवनको लागि लाभदायी हुन्छ । मानव जातिको प्राचीन इतिहास हेर्दा तनावले गर्दा नै मानिसले आफूलाई बचाउन सुरक्षाका विधिहरु पत्ता लगाउँदै आएका हुन् । निश्चित तहसम्मको तनावले सिर्जनात्मक कार्य र कार्य सम्पादनमा उत्प्रेरकको रुपमा काम गर्दछन् ।

Eustress भनेको के हो ?

निश्चित तहसम्म अर्थात् तनावको सुरु तहको तनावलाई Eustress भनिन्छ । जसको अर्थ राम्रो भन्ने हुन्छ । यस अर्थमा तनावलाई कार्यक्षेत्रमा Interesting and Challenging work, Innovative and Creative work को अवसरको रुपमा पनि हेर्नुपर्ने हुन्छ । तनावनै नभएको अवस्थामा कुनै दवाव नहुने भएकोले कार्य सम्पादन पनि प्रभावकारी हुँदैन । निश्चित तह भन्दा कम तहको तनावले पनि व्यक्तिलाई प्रतिस्पर्धा गर्न डराउने, मानसिक तथा शारीरिक रुपमा अशक्तताको अवस्थाको रुपमा चित्रण गर्दछ ।

Distress/Burnout के हो ?

चाहिने भन्दा बढी तनाव भएमा त्यो नराम्रो अवस्थाको संकेत हो । तनावको लामो समय देखिको अवस्था वा प्रभावलाई Distress भनिन्छ, जुन Burnout को अवस्था हो । यो अवस्थामा व्यक्तिले तनावसँग लड्न सक्ने प्रतिरोधी क्षमता गुमाउन पुग्दछ । जसबाट व्यक्तिमा नकारात्मक असर पर्दै जान्छ र व्यक्तिलाई विभिन्न रोगहरु समेत लागि मानसिक तथा भौतिक असर पर्न सक्दछ । जसको कारण व्यक्ति डिप्रेशन र आत्म हत्यासम्मको स्थितिमा समेत पुग्न सक्दछ ।

यदि हामी उच्च तहको तनावमा बाँचिरहेका छौ भने हामीले सम्पूर्ण खुशीलाई खतरामा राखिरहेका छौं । आवश्यकताभन्दा बढी तनावले मानिसको भावनात्मक सन्तुलन (Emotional Equilibrium) र शारीरिक स्वास्थ्य (Physical Health) दुवैलाई कमजोर बनाउँछ । यसले मानिसको स्पष्ट रुपमा सोच्ने शक्ति, कामको प्रभावकारीता र आनन्दमय जीवनलाई साँघुरो बनाउँछ ।

यस सन्दर्भमा एउटा प्रसङ्ग उल्लेख गरौं । एउटा आगो बलिरहेको चुल्होमा पानी उमाल्न बसालेको भाँडोमा एउटा फट्याङ्ग्रो गएर बस्यो, त्यो फट्याङ्ग्रो भाँडा भित्र खस्यो । त्यो फट्याङ्ग्रो छिटै त्यो भाँडोबाट छुटकारा पाउन सक्यो भने त्यो बाँच्दछ । तर तातो बढ्दै जाँदा छुट्ने प्रयास गरेन र सहन् गर्न सक्ने अवस्थासम्म बसी रह्यो भने त्यो तातो बढ्दै जान्छ र त्यो तातोले उसलाई डढाउँछ । त्यस्तै मानिसले पनि समयमै तनावलाई सन्तुलनमा राख्न सकेन भने मानिसको गति पनि उपरोक्त उल्लेखित फट्याङ्ग्रोको जस्तो हुन्छ । त्यसैले तनावलाई Slow Killer को रुपमा लिन सकिन्छ ।

Technostress भनेको के हो ?

प्रविधिको कारणबाट कार्य क्षेत्रमा तनाव उत्पन्न भयो भने त्यसलाई Technostress भनिन्छ । अहिलेको युग अत्याधुनिक प्रविधिबाट छिटो छरितो कार्य सम्पादन गर्ने युग हो । नयाँ प्रविधि आयो तर त्यसलाई सञ्चालन र व्यवस्थापन गर्न सकिएन भने Technostress उत्पन्न हुन्छ ।

तनावको कारण के के हुन सक्दछन् ?

तनाव उत्पन्न गराउने सम्बन्धमा केही कारणहरु विश्वव्यापी हुन्छन् भने केही ठाउँ, समय, परिस्थिति र कार्य संस्कृति अनुसार फरक हुन्छन् । हाम्रो जस्तो अल्पविकसित मुलुकमा आधारभूत आवश्यकता अर्थात् खाना, छाना र नाना जस्ता विषय तनावको प्रमुख कारण हुन सक्दछन् भने, अति विकसित मुलुकहरुका लागि ती कारणहरु सान्दर्भिक नहुन पनि सक्दछन् । जेसुकै भएपनि तनाव उत्पन्न हुने धेरै बिषयहरु सवै ठाउँमा मिल्ने किसिमका हुन्छन् । त्यस्तै तनावका कारणहरु विभिन्न हुन सक्दछन् । तनावका कारणहरु यति मात्र हुन् भनि कुनै सीमा भित्र राख्न भने सकिदैन ।

तनावको एउटा कारण आर्थिक अवस्था हो । हाम्रो जस्तो देशमा बढी तनाव सिर्जना गर्ने मूख्य कारण आर्थिक समस्या पनि हो । तनाव राजनैतिक कारणले पनि हुने गर्दछ । जनतालाई स्वतन्त्रता, समानता जस्ता मौलिक हक र मानव अधिकार को प्रत्याभूति भएन, लैैगिक विभेद भयो, जनतालाई सहभागिता गराइएन भने त्यस्तो कानुन प्रणालीमा सामाजिक न्याय हुन सक्दैन, जसबाट द्वन्द्वको अवस्था आई तनावको सिर्जना हुन्छ ।

‘कानूनको अनभिज्ञता क्षम्य हुँदैन’ भन्ने कानूनको सर्वमान्य सिद्धान्त हो । नयाँ नीति नियम र कानूनमा परिवर्तन भएको छ तर सो बमोजिम गर्नु पर्ने विषयमा ज्ञान तथा सीप भएन भने व्यक्तिले तनावको महसुश गर्दछ । त्यस्तै प्रविधिमा आउने परिवर्तन र सो विषयमा व्यक्तिलाई ज्ञान नहुँदा व्यक्तिमा दवाव भई व्यक्तिले तनावको महशुस गर्दछ । नयाँ प्रविधि आयो तर त्यसलाई सञ्चालन वा व्यवस्थापन गर्न नसक्दा तनाव उत्पन्न हुन्छ । सांस्कृतिक रुपमा व्यक्तिमा फरक फरक मूल्य र मान्यताहरु हुने गर्दछन् । जसले गर्दा मानिसहरुमा एक आपसमा मतैक्यता नभई द्वन्द्व सिर्जना हुन सक्दछ ।

जाति, वर्ण, लिंग, धर्म, भाषा, पारिवारिक पृष्ठभूमि आदि जस्ता विविध पक्षहरुले हुने फरक फरक मूल्य, मान्यताहरुले व्यक्तिमा तनाव उत्पन्न हुन्छ । अर्को कारण हो वातावरण । प्राकृतिक एवं वातावरणीय विनास, प्रदूषण, स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थहरुको उत्पादन, भण्डारण र प्रयोग, राशायनिक भट्टीहरुको निर्माण, प्रकृतिको अत्यधिक दोहन, महामारी, विपद जस्ता विषयहरुलाई पनि तनाव सिर्जनाका कारणको रुपमा लिन सकिन्छ । अर्को कारण हो व्यक्तित्व । व्यक्तिका स्वभावको फरकपनाको कारणले पनि तनाव उत्पन्न हुन्छ । तनावको कारण मानिस आफै पनि हुन सक्दछ । भनिन्छ विश्वमा प्रायसः रोगहरु र दुःखको कारण मानिस आफै हो ।

मानिसले कुनै कुरा प्राप्त गर्न वा आफू माथि पुग्न अरु संग तुलना गरिरहेको हुन्छ । अरुले जस्तै आफूले पनि लक्ष्य प्राप्त गर्न चाहन्छ । कोही पनि आफ्नो प्रगति नभएको हेर्न वा सुन्न चाहँदैन । यदि त्यसरी प्रगति भएन भने त्यसबाट वितृष्णा (Frustration) हुन्छ । जसबाट तनावको सिर्जना हुन्छ । त्यस्तै संगठनात्मक कारणहरुमम काम वा पेशाको कारण, कामको विशेषताको कारण, काममा व्यक्तिको भूमिकाको कारण, निर्णय प्रकृयामा सहभागिता, व्यक्तिले प्राप्त गरेको जिम्मेवारी, संगठनको कार्य प्रकृति, संगठन संरचना, कार्यविभाजन, आदेशको श्रृंखला, अधिकार प्रत्यायोजन, पदसोपान, नेतृत्व शैली जस्ता विषयहरु पनि तनावको कारण हुन सक्दछन् । त्यस्तै तनाव पारिवारिक तथा सामाजिक कारणले पनि हुन सक्दछ । हाम्रो जस्तो मुलुकमा तनावको कारण पारिवारिक समस्या पनि हुन सक्दछ ।

तनावको चरण

तनावका विभिन्न चरण हुन्छन् । तनावलाई एउटा चक्र (Cycle) को रुपमा लिन सकिन्छ । पहिलो चरण भनेको तनावको संकेतको अवस्था (Alarm Stage) हो, जुन अवस्थामा मानिसको चेतना प्रणालीले सामान्य तनावको अनुभव गर्दछ । मानिसको शरीरले सुरुमा तनावमाथि ‘fight or flight response’ राख्दछ । यस चरणमा तनावलाई सहि रुपमा Deal गर्न सकियो भने यसले व्यक्तिमा सकारात्मक असर पार्न सक्दछ । दोस्रो चरण तनावको प्रतिकार (Resistance) गर्ने चरण हो ।

यस चरणमा मानिसको शरीरले तनावलाई नियन्त्रण गर्ने प्रयास गर्दै तनावसँग लडिरहेको हुन्छ । यस चरणमा मानिसको लक्ष्य तनाव माथि विजय प्राप्त गर्ने रहेको हुन्छ । यस चरणसम्म मानिसले तनावलाई प्रतिरोध गर्ने सामर्थ्य राख्दछ । तेस्रो अवस्था भनेको तनावको थकान (Exhaustion) को चरण हो । तनावका कतचभककयचक लामो समयसम्म रहिरहे, ती Stressors बारेमा समयमा सम्वोधन गर्न सकिएन भने यो चरण आउँछ । योे अवस्थामा व्यक्ति पूर्णरुपमा थकित भई तनावलाई सामना गर्न सक्ने सामर्थ्य गुमाई सकेको हुन्छ । यो अवस्थामा मानिसको प्रतिरोध क्षमता पूर्ण रुपमा ह्रास भईसकेको हुन्छ । यो चरणमा तनावले घनिभूत रुप लिई सकेको हुन्छ । यो अवस्था आउनु भनेको तनावबाट नकारात्मक असर परेको अवस्थामा पुग्नु हो ।

तनावको लक्षण

तनावको लक्षण तौल बढ्ने वा घटेने, अपच, कब्जियत, पेट दुख्ने, चिडचिडापन हुने, टाउको दुख्ने, कुनै कुरामा ध्यान दिन कठिनाई हुने, सुत्न कठिनाई हुने, निन्द्रा नलाग्ने वा बढी सुत्ने, सामाजिक रुपमा अलग बस्न चाहने, वाकवाक लाग्ने, शरीर भारी भएको महसुस गर्ने, यौन सम्बन्धी समस्या देखिने, जतिबेला पनि थकान र बिरामीको महसुस गर्ने, चक्कर लाग्ने, दाँत र गिंजामा समस्या हुने आदि तनावका लक्षणहरु हुन सक्दछन् ।

तनावको परिणाम

तनावको परिणाम सकारात्मक र नकारात्मक दुवै हुन्छ । सकारात्मक परिणामले मानिसमा नवप्रवद्र्धन एवं सृजनशीलता ल्याई मानिसको प्रगतिको सूचक बन्दै कार्य क्षेत्रमामा समेत लक्ष्य एवं उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउँदछ भने नकारात्मक असरले व्यक्तिको व्यवहारिक, मनोवैज्ञानिक र शारीरिक पक्षमा समेत नकारात्मक प्रभाव पार्छ ।

निश्चित तहभन्दा बढी र लामो समयको तनावले व्यक्तिको मानसिक र शारीरिक दुवै कुरामा नकारात्मक असर हुन्छ । तनावको कारण अनिन्द्रा, चिन्ता बढ्ने, पारिवारिक समस्या देखिने, मानसिक स्वास्थ्यमा गम्भिर असर भई डिप्रेशन र आत्म हत्या सम्म पुग्ने, धुम्रपान गर्ने, धेरै खाने, मादक पदार्थ सेवन गर्ने, अपच हुने, दुर्घटनाको अवस्था सम्म पुग्ने, मुटुको धड्कन बढ्ने, उच्च रक्तचाप एवं मुटु सम्बन्धी रोगहरु लाग्ने, मधुमेह, ग्यास्टिक, अल्सर, टाउको दुख्ने, छाला सम्बन्धी समस्या, नसाको रोग लाग्ने, संगठनको सन्दर्भमा कार्य सन्तुष्टी घट्ने, कामको प्रभावकारीता घट्ने, कमजोर कार्यसम्पादन, कम उत्पादकत्व, गलत निर्णय निर्माण, अनुपस्थिति, लामो विदा, चाँडै झर्कने आदि हुन सक्दछ । यदि तनावलाई समयमा नै व्यवस्थापन र सन्तुलनमा राख्न नसकि बढ्दै गएमा व्यक्ति मानसिक तथा शारीरिक रुपमा अशक्त भई विभिन्न रोगहरुबाट मृत्यूको संघारमा समेत पुग्न सक्दछ ।

तनाव व्यवस्थापन

तनाव उत्पन्न गराउने कारक तत्वहरु (Stressors) को पहिचान एवं विश्लेषण गरी तनावको प्रभावलाई कम गर्न, तनावलाई सन्तुलनमा राख्न र तनावको प्रभावकारी रुपमा सामना गर्न अपनाइने कार्यलार्ई तनाव व्यवस्थापन भनिन्छ । तनावलाई एउटा डोरीमाथि सकुसल हिड्ने कलाका लिन सकिन्छ । जसरी डोरीमा एउटा लठ्ठीको आधारमा सन्तुलन कायम गर्दै डोरीमा हिड्ने वा टिक्ने कार्य गरिन्छ त्यसरीनै माग र प्राप्ति बीच सन्तुलन राखी तनाव व्यवस्थापन गर्न सकिन्छ । तनाव व्यवस्थापन त्यस्तो अवस्था वा प्रतिक्रिया हो जहाँ माग लाई प्राप्ति गर्ने क्षमता प्रदर्शन गरी त्यसलाई प्राप्तगरी छाड्ने वा माग र पूर्तिलाई सन्तुलनमा राखी हिड्ने कार्यको रुपमा लिन सकिन्छ ।

सकारात्मक प्रवृतिर सोच राख्ने, कामप्रति आशावादी हुने, आफूले नियन्त्रण गर्न नसक्ने घटनालाई स्वीकार गर्ने, कुनै काम वा घटना प्रति अक्रामक नहुने, दैनिक रुपमा Meditation, Yoga, Exercise, Ecotherapy/ Naturetherapy गर्ने, आवश्यक मात्रामा आराम गर्ने र सुत्ने, तनाव कम गर्न भनी मादक पदार्थ, लागूऔषध, सूर्तिजन्य पदार्थ आदिको सेवन नगर्ने, धुम्रपान नगर्ने, तनाव उत्पन्न गराउने स्रोतहरुको पहिचान गरी तनावलाई सन्तुलनमा राख्ने, नियमित रुपमा हिड्ने, व्यायाम गर्ने लगायतका कार्यगरी आफूलाई चलायमान गराउने, साथीभाई, आफन्त लगायत अन्य व्यक्ति वा समाजसँग आफूलाई जोड्ने, सामाजिक सहयोग आदान प्रदान गर्ने, रमाइलो र आरामको लागि समय छुट्टाउने, समयको सही व्यवस्थापन गर्ने, स्वस्थ एवं सन्तुलित भोजन गरी सरल जीवन शैली अपनाउने, तनाव व्यवस्थापनको लागि Avoid, Alter, Adapt र Accept जस्ता 4A’s लाई व्यवहारमा लागू गर्ने अर्थात अनाबस्यक तनावलाई त्याग्ने (Avoid unnecessary stress), तनाव लाई त्याग्न नसक्ने परिस्थिति भएमा परिस्थिति लाई परिवर्तन गर्ने (Alter the situation), तनावका Stressors लाई आफू अनुकुल बनाउने वा अन्तरग्रहण गर्ने (Adapt to the stressor), आफूले परिवर्तन गर्न नसक्ने वस्तु, घटना वा परिस्थितिलाई स्वीकार गर्र्ने (Accept the things, If we can’t change) जस्ता कार्यहरुबाट तनावलाई सन्तुलन र व्यवस्थापन गर्न सकिन्छ ।

कोभिड-१९ र तनाव

हाल विश्वमा फैलिरहेको कोरोना कहरले गर्दा ठूलो संख्यामा मानिसहरुको मृत्यू भैसकको छ भने सक्रमण र मृत्यूको क्रम रोकिएको छैन । जसको कारण आम मानिसहरुलाई तनाव बढाई रहेको छ । मानिसहरुलाई कोरोना संक्रमण र मृत्यू हुन्छकि भन्ने चिन्ता, कोरोनाको कारण रोजगार गुम्छकि भन्ने चिन्ता, आर्थिक समस्या तथा देशमा अशान्ति हुन्छकि भन्ने चिन्ता,आफ्नो लगानीको सुरक्षाको चिन्ता, खाना, नाना र छाना जस्ता आधारभूत आवश्यकता कसरी पुरा गर्ने र सामान्य रुपमा जिविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता, बच्चा बच्चीहरुको पठन पाठन सम्बन्धी चिन्ता, उद्यम व्यवसाय चल्न नसक्दा साहुको ऋण कसरी तिर्ने, घर भाडा कसरी तिर्ने भन्ने चिन्ता आदि जस्ता विषयहरुले दवाव दिईरहेका छन् ।

यी दवावहरुलाई हामी उचित तवरले होशियारी पूर्वक सन्तुलनमा राखी निश्चित तह सम्म राख्न सकेमा यसले आगामी दिनमा कार्य सम्पादनमा उत्प्रेरकको रुपमा कामगरी नवप्रवर्द्धन र सृजनशिलताको विकास एवं कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्न गई देशको आर्थिक विकासमा समेत सहयोग पुन्न सक्दछ । यी दवाव र चुनौतीहरुलाई अवसरको रुपमा बदल्दै कोरोनाको कारण विदेशबाट फर्केका तथा देशमा रोजगार गुमाएका युवा जनशक्तिले देशमै उद्यम व्यवसाय गरी आत्मनिर्भर एवं आर्थिक रुपमा समृद्ध भई देशको आर्थिक विकासमा समेत टेवा पुग्न सक्दछ ।

देशमा बाँझो रहेको जमिन उर्वरा भूमिमा परिणत भई देशको आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान बढ्न सक्दछ । तर यो दवावलाई समयमै उचित व्यवस्थापन गर्न सकिएन भने मानिसमा शारीरिक तथा मानशिक असर पर्न गई यसले भयानक रुप लिई तनाव Burnout को रुपमा परिणत हुन सक्दछ । जसबाट मानिसहरुमा विभिन्न रोगहरु, डिप्रेशन, आत्म हत्या एवं मृत्यूको अवस्थासम्म पनि आउन सक्दछ । तसर्थ आजको आवश्यकता तनावको प्रभावकारी व्यवस्थापन हो ।

(लेखक अधिवक्ता हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay