scheduleबिहिवार कार्तिक ६ गते, २०७७

कवयित्री लुइस ग्लुकको नोबेल पुरस्कार यात्रा

एजेन्सी, २३ असोज । सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकले पाएकी छन् । स्वीडिस एकेडमीको नोबेल पुरस्कार कमिटीले बिहीबार ग्लुकलाई पुरस्कार दिने निर्णय सार्वजनिक गरेसँगै ग्लुकको चर्चा विश्व सञ्चार माध्यममा चुलिएको छ ।

ग्लुक लामो साहित्य साधना गरेकी कवयित्री तथा निबन्धकार हुन् । सन् १९४३ अप्रिल २२ मा न्युयोर्कमा जन्मिएकी ग्लुक अहिले ७७ वर्षको उमेरमा हिँड्दैछिन् । उनी नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने १६औं महिला साहित्यकार बन्न पुगेकी छन् ।

संयोगको कुरा गत वर्षको साहित्य तर्फको नोवल साहित्यपुरस्कार प्राप्त गर्ने दुई मध्ये एक पोल्याण्डकी ओल्गा टोकरजुक पनि महिला साहित्यकार थिइन् । उनले अष्ट्रियाका पिटर हान्डकेसँग यो पुरस्कार पाएकी थिइन् । सन् १९३३ मा टोनी मोसिरनपछि लुइस यो पुरस्कार पाउने पहिलो अमेरिकी महिला हुन् ।

ग्लुक हंगेरियन पिता र रुसी आमाकी सन्तान हुन् । उनका मातापिता दुवै यहुदी हुन् । उनका पिता डेनियल ग्लुकलाई नामी साहित्यकार हुने शौख थियो । तर, उनी अमेरिकामा जन्मिएका उनको परिवारको पहिलो पुस्ता थिए । साहित्यको शौख पुरा गर्न नसकेपछि डेनियल व्यापारतिर लागे । तर, उनको साहित्य अनुराग उनकी छोरी लुइस ग्लुकमा उदित भयो ।

ग्लुककी आमा बेट्रिक्स ग्लुक शिक्षित गृहिणी थिइन् । आमाबुबा दुवैले लुइसलाई सानै उमेरदेखि साहित्यतिर प्रेरित गरेका थिए । ग्लुक सानै उमेरदेखि कविता पढ्ने र लेख्ने गर्थिन् । नवकिशोरी उमेरमा आफूले लेखेका कविता प्रकाशित गर्न थालेकी थिइन् ।

गेयात्मक गुण भएका कविता लेख्नु उनको काव्य साधनाको मुख्य पाटो थियो । ग्लुक कवितालाई भाषिक दृष्टिले चिरिच्याट्ट पार्न असाध्यै मेहनत गर्छिन् । उनका एक समकालीन कवि मोर्गन टेचरले ग्लुकको कविता शिल्पबारे भनेका थिए, ‘ग्लुक यसरी कवितालाई कुँद्छिन कि उनलाई पलपल शब्दको अभाव भएजस्तो अनुभूति हुन्छ, तर उचित शब्द खोजेरै छोड्छिन्, एउटा पनि शब्द खेर फाल्दिनन् ।’

ग्लुकका कविताको मूल्य व्यक्तिगत जीवन भोगाइ, अनुभविक सत्यप्रतिका धारणा र आत्मस्वीकृतिबाट बनेको उनका समीक्षकहरुको राय पाइन्छ । वैयक्तिक अनुभवलाई सार्वजनिक यथार्थका रुपमा काव्यिक अभिव्यक्ति गर्नसक्नु ग्लुकको विशेषता मानिन्छ । व्यक्तिगत तथा पारिवारिक घटनाक्रम, असफलता र सम्बन्धविच्छेदहरुले सृजना गर्ने मानसिक आघातलाई उनले आफ्ना कवितामा बर्ता ठाउँ दिएकी छन् ।

ग्लुक सन् १९९३ मा ‘द वाइल्ड आइरिस’ का लागि पुत्लिजर पुरस्कार, सन् २०१४ मा ‘फेथफुल एण्ड भर्चुृअस नाइट’ का लागि नेशनल बुक अवार्ड र सन् २०१५ मा नेशनल ह्युमानिटी मेडलबाट सम्मानित भइसकेकी थिइन् ।

अमेरिकी कवि प्रतिष्ठानका अध्यक्ष माइकल ज्याकोबका भन्छन्, ‘ग्लुकका कविता, उनको शरीरको कार्य बान्की र बिल्कुलै फरक प्रकारको आवाजले समकालीन मानव स्थितिलाई सास रोकेर सुनौं जस्तो भाषामा स्मरणीय बनाइदिन्छ ।’

ग्लुकले येले र स्टान्फोर्ड विश्वविद्यालयमा पढाउने काम समेत गरेकी थिइन् । उनी नयाँ पुस्तालाई साहित्य र कवितातिर लाग्न प्रेरित गर्ने गर्थिन् । उनलाई ‘मेन्टर’ मान्ने थुप्रै कविहरु स्थापित भएका छन् । क्लाउडिया रेनकिने विलियम कलेजमा ग्लुकको विद्यार्थी थिइन् । उनी भन्छिन्, ‘जब म १९ वर्षकी थिएँ, मलाई सम्झना छ, ग्लुकले मलाई पूर्ण धैर्यता, समर्पण र भक्तिका साथ काव्य लेखनको भित्री आत्मसमेत सिकाउने प्रयत्न गरेकी थिइन् ।’

ग्लुकका अहिलेसम्म १४ कविता संग्रह र २ निबन्ध संग्रह प्रकाशित छन् । उनका प्रकाशकले ग्लुकले नोबेल पुरस्कार पाएको समाचार सुन्ने बित्तिकै थप एक नयाँ कविता संग्रह डिसेम्बरसम्ममा प्रकाशित गर्ने घोषणा गरेका छन् ।

नोबेल पुरस्कार पाएको समचारपछि ग्लुकलाई लसएन्जेलस टाइम्सका अन्तवार्ताकार आडम स्मिथले टेलिफोनमा सोधेका थिए, ‘नोबेल पुरस्कार पाउनुको अर्थ के हो ?’

ग्लुकले जवाफमा भनिन्, ‘आइ ह्याभ नो आइडिया ।’ उनको स्वर द्विविधाग्रस्त र हिचकिचाहटपूर्ण थियो । उनले थपेकी छिन्, ‘यो पुरस्कारको अर्थ के हो, मैले पनि बुझ्न सकिरहेकी छैन ।’

ग्लुकले अर्थ बुझ्न नसकेकोबारे पुस्कार दिने संस्था स्वीडिस एकेडमीले भने, ‘उनले सृजना गरेकोे त्रुटीहीन काव्यध्वनीले वैयक्तिक अस्तित्वलाई सार्वभौम बनाउने भएकोले यो पुुरस्कार दिइएको हो ।’

आडम स्मिथले फोन गर्दा उनी बिहानको सबेरै चिया पिउँदै थिइन् । उनले अन्तर्वार्ता दिन र रेकर्ड गर्न अनिच्छा व्यक्त गरेकी थिइन् । ‘यति बिहानै छ, चिया खाँदैछु, रेकर्ड नगर्न पाए हुन्थ्यो,’ भनेकी थिइन् । वृद्ध उमेरकी ग्लुकमा नोबेल पुरस्कारलाई लिएर कुनै अतिरिक्त उत्साह थिएन ।

अन्तर्वार्ताकार स्मिथले २ मिनेट बोल्नका लागि उनलाई राजी गराएका थिए । त्यति समयको बीचमा पनि उनले सोधेकी थिइन्, ‘२ मिनेट पुगेन ?’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay