scheduleबिहिवार कार्तिक ६ गते, २०७७

‘इतिहासका थप पृष्ठहरू’ बजारमा

काठमाडौं, २४ असोज । नेपाली इतिहास, संस्कृति एवं पुरातत्त्वका चिरपरिचित अध्येता डा. गोविन्द टण्डनको ‘इतिहासका थप पृष्ठहरू’ शीर्षकको पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको छ ।

ऐतिहासिक एवं पुरातात्त्विक स्थल, लिच्छविकालीक समाज एवं इतिहासका विविध पक्ष, मठ-मन्दिर, सम्पदा, गुठी व्यवस्था, धर्म,संस्कृति, इतिहास, सांस्कृतिक सम्पदा संरक्षण-सम्वर्द्धन लगायत केही इतिहास पुरुषबारे यसमा चर्चा गरिएको छ ।

पहिले प्रकाशित एवं अप्रकाशित गरी झण्डै सतसठ्ठी वटा विभिन्न शीर्षकका लेखहरूको सङ्ग्रह भएको यस पुस्तकमा मालीगाउँमा वि.सं. २०४९ मा पाइएको संवत् १०७ को जयवर्माको मूर्तिको विषयमा स्वदेशी विदेशी विभिन्न विद्वान्‌हरूको आ-आफ्ना धारणा रहेको सन्दर्भमा प्रचलित धारणाभन्दा फरक दृष्टिकोणले यस पुस्तकमा अध्ययन गरिएको छ ।

जयवर्माको मूर्ति अरू विद्वान्‌हरूले भने जस्तो पहिलो-दोस्रो शताब्दीको नभई यो मानदेव संवत् १०७ को हो, जुन वि.सं. ७४० को हुन्छ भनी विल्कुलै नयाँ धारणा प्रस्तुत गरिएको छ। यसले नेपालको इतिहास,संस्कृति एवं पुरातत्त्वको क्षेत्रमा अध्ययन गर्नेहरूलाई नयाँ दिशाबोध दिन सक्छ ।

शिलालेख एवं वंशावलीहरूमा कतै उल्लेख नपाइने लिच्छवि राजा अमरदेवको बारेमा पनि प्रस्तुत पुस्तकमा चर्चा पाइन्छ । इतिहासको कुनै कालखण्डको लागि एउटा इँटामा पाइएको नामै पनि कति काम लाग्ने रहेछ भन्ने कुरा “राज्ञोमरदेवस्य” अङ्कीत इँटाले देखाएकोबारे जान्न सकिन्छ । रानीपोखरीलाई आहिले मात्र होइन आजभन्दा झण्डै चार दशक अघिदेखि नै कसरी अतिक्रमण गरेर व्यापारिक ठाउँ बनाउन सकिन्छ त्यस बेला मानिसहरू लागेका थिए । त्यसो हुनु हुँदैन भनी रानीपोखरीको महत्त्वलाई उजागर गरी अठतीस वर्ष अघि लेखिएको “रानीपोखरी: यसको ऐतिहासिकता र संरक्षण”लेख अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ।

रानीपोखरीको पानीको स्रोतको रूपमा रहेको संवत् ४५ (वि.सं. ६७९) को विभु वर्माले निर्माण गरिदिएको ढुङ्गेधारा पुरेर रत्नपार्कमा भूमिगत मार्ग बनेको कुरादेखि लिएर दरबार स्कूलको उत्तरपट्टिको झङ्गथकुहिटी कसरी पुरियो, भोटाहिटी नामको ढुङ्गेधारा कसरी विलुप्त बन्यो आदि विषयमा पनि यस पुस्तकमा उल्लेख गरिएकोले इतिहास, संस्कृतिका पारखीहरूका लागि चाख लाग्दो हुन सक्छ ।

इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्तको मन्तव्यरहेको यो पुस्तकमा भनिएको छ- ‘प्रामाणिक सामाग्रीको आधारमा विश्लेषणात्मक ढङ्गले प्रकाश पार्ने शैली डा. गोविन्द टण्डनका लेख एवं पुस्तकहरूमा पाइने एक किसिमको विशेषता नै हो भने हुन्छ। यही शैलीको प्रयोग यस पुस्तकमा पनि भलिभाँति भएको छ ।’

अध्येता टन्डनको ‘ नेपालमा गुठीव्यवस्था’ पुस्तक पनि यसअघि सांग्रीला बुक्स बाट प्रकाशित छ ।’इतिहासका थप पृष्ठहरु’ पुस्तकमा ५७२ पृष्ठ रहेको छ र यसको मूल्य ९७५ राखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay