scheduleबिहिवार कार्तिक ६ गते, २०७७

आइपिएलमा ‘मध्य सिजन ट्रान्सफर’, सन्दीप अर्को टिममा जालान् ?

प्रतिक भट्ट

काठमाडौं, २६ असोज । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको मध्य भागसम्मका खेलहरु सोमबार सकिँदै छन् । सोमबार साँझ बैंगलोर र कोलकाताबीचको खेलपछि सबै टोलीले ७-७ खेल खेलिसकेका हुने छन् ।

यसैबीचमा हुने मध्य सिजन ट्रान्सफर (खेलाडी किनबेच) थप रोचक हुने देखिएको छ । गत संस्करणमा अनक्याप्ड खेलाडीहरुको मात्र ट्रान्सफर हुने नियम थियो भने यसपालि जुनसुकै खेलाडीहरु यसमा सहभागी हुने छन् ।

यद्यपि प्रतियोगितामा हालसम्म दुई वा त्योभन्दा कम खेल खेलेका खेलाडीहरु मात्र साटासाटका लागि उपलब्ध हुनेछन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि यस वर्ष दिल्ली क्यापिटल्सका तर्फबाट मौका पाएका छैनन् । उनीलगायत केही ठुला नामहरु क्रिस गेल, डेभिड मिलर, मिचेल सान्टनर, लकी फर्गुसन, क्रिस लिन, इमरान ताहिर, टम बेन्टनजस्ता खेलाडीहरु पनि बाहिर नै रहेका छन् ।

यस्तोमा अब फ्रेन्चाइज टोलीहरुले कुन खेलाडी भित्र्याउने वा कुन खेलाडी अन्य टिमलाई प्रस्ताव गर्छ भन्‍ने कुरालाई प्राथमिकताका साथ हेरिएको छ ।

सन्दीप लामिछानेलाई दिल्लीले रिलिज गर्ने सम्भावना भने कम नै रहेको छ । अनुभवी भारतीय लेग स्पिनर अमित मिश्रा चोटका कारण आइपिएलबाट बाहिरिएपछि अब टोलीमा अनुभवी लेग स्पिनर सन्दीप लामिछाने मात्र रहेका छन् । यद्यपि उनी विदेशी कोटामा पर्ने भएकाले हालसम्म राम्रो प्रदर्शन गरेका अन्य विदेशी खेलाडीहरुलाई निकाल्दा टिमको सन्तुलन बिग्रने भएका कारणले सन्दीपले मौका पाएका छैनन् ।

विकेटकिपर रिषभ पन्त चोटका कारण कम्तीमा एक हप्ता बाहिर रहने भएकाले दिल्लीले विकेटकिपरका निम्ति राम्रो खेलिरहेका हेटमायरलाई निकालेर एलेक्स केरीलाई खेलाएको छ । यसले सन्दीप टोलीमा पर्न थप कठिन हुने देखिएको छ । अब सायद तीव्र गतिका एक बलर एनरिच नोर्त्जेलाई बाहिर राखेर स्पिनर खेलाउने सोच राखेमा भने सन्दीपले मौका पाउन सक्ने छन् । त्यसकारण मध्य सिजनको ट्रान्सफरमा सन्दीप उपलब्ध हुने कमै सम्भावना छ ।

यता किङ्स इलाभेन पञ्‍जाबका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले पनि यस सिजन मौका पाएका छैनन् । अघिल्ला दुई खेल खेल्ने भनेर तय भएका उनको स्वास्थ्यमा केही समस्या देखिएपछि हाल आराममा छन् । उनले पनि फिट हुनासाथ मौका पाउने देखिएको छ । त्यसकारण उनी पनि पञ्‍जाबमै रहने सम्भावना छ ।

यी दुईबाहेक अन्य केही परिचित खेलाडीहरु जसले उत्कृष्ट हुँदाहुँदै पनि मौका पाएका छैनन्, उनीहरुमध्येका केही भने अर्को जर्सीमा देखिन सक्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay