scheduleमगलवार मंसिर १६ गते, २०७७

सर्पले डसेका बालकको उपचारार्थ रु २६ लाख सहयोग सङ्कलन

कास्की, २८ असोज । जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ ।

बालकको अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि सहयोग जुटाउने अभियान शुरु भएकामा सो रकम जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ । गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचारपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनी हाल काठमाडौँमा उपचाररत छन् ।

बिरामीको उपचारमा अर्थाभाव भएको र चिकित्सकले काठमाडौँ रेफर (सिफारिस) गरे पनि परिवारले लैजान नसकेको सम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मा पहिलोपटक असोज ४ गते प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउन शुरु भएको थियो । स्थानीयवासीले उपचारमा रकम जुटाउन ‘विशाल पौडेल बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सङ्कलन समिति गठन गरेका थिए । अभियानले मङ्गलबारदेखि रकम सङ्कलन अभियान समाप्त भएको जनाएको छ ।

समितिका संयोजक योगबहादुर क्षेत्रीले (रवि)ले रकम अभावमा परिवारले बिरामीलाई घर फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा सबै मिलेर उपचारका लागि रकम सङ्कलन गर्न सम्भव भएको बताए । उनका अनुसार समितिबाट हालसम्म परिवारलाई रु सात लाख ५४ हजार १७० बिरामीका आफन्तलाई प्रदान गरिएको र समितिको खातामा जम्मा भएको रकम पौडेलको उपचारमा खर्च गरिने छ ।

बिरामीका दाजु विजय पौडेलले पोखरा तथा काठमाडौँसम्म उपचारमा अहिलेसम्म रु १२ लाख हाराहारीमा खर्च भएको जानकारी दिँदै बिरामीले हातखुट्टा चलाउनेलगायत गतिविधि शुरु गरेकाले स्वास्थ्यमा सुधार हुँदै गएको बताए । उनले भने, ‘चिकित्सकले काठमाडौँ लैजान भनेपछि रकम अभावमा घर फिर्ता ल्याउनुपर्ने अवस्थामा सबैको साथ र सहयोगबाट अहिले भाइको राम्रो उपचार भइरहेको छ । अझै कति दिन अस्पताल बस्नुपर्छ, खर्र्च कति लाग्छ भन्ने यकिन छैन ।’

मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले रकम अभावमा बिरामीको उपचारमा समस्या भएको अवस्थामा युवाले स्तःस्फूर्तरूपमा अभियान सञ्चालन गरी रकम जुटाउने पुण्य काम गरेको बताउँदै गाउँपालिकाले आगामी दिनमा यस्ता भइपरि आउने घटनामा राहत सहयोग उपलब्ध गराउन कार्यविधि बनाउने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay