scheduleबिहिवार कार्तिक ६ गते, २०७७

कमरेडहरु ! यस्तै दुर्दशाका लागि थियो कम्युनिष्ट आन्दोलन ?

प्रतिभा पराजुली

बाल्यकाल नै कम्युनिष्ट पृष्ठभूमिमा हुर्कियो । हाम्रो संयुक्त परिवार थियो । दुर्गा अंकललाई हामी सबैले अंकल भन्थ्यौं । मेरो ‘ड्याडी’लाई सबैले ड्याडी नै भन्ने अभ्यास अहिलेसम्म पनि छ । खाना खाइसकेपछि रोलकलजस्तो हुन्थ्यो । ड्याडीले पेरु, रुस र चीनको ब्रिफिङ गर्नुहुन्थ्यो । अंकल र हाम्रोगरी हामी ९ जना सन्तानहरु मिलेर केटाकेटीमै पञ्चायतविरुद्ध नारा लगाउँथ्यौं । ‘मध्यावधि निर्वाचन धोका हो’ भन्दै नारा लगाएको अहिले पनि याद छ ।

‘राता किताब’हरुको अर्थ थाहा नपाउँदै सिरानी हालेर सुत्यौं, निदायौं र सपना देख्यौं । ड्याडीले दुई दिदीहरुको नाम नताशा र साशा राख्नुभयो । आजसम्म पनि उहाँहरुको यही परिचय छ ।

मुलुकमा जनयुद्ध सुरु भयो । बहिनी, दिदी र दाई जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभयो । हामी धेरैपटक मृत्यु नजिक पुगेर बचेका छौं । कक्षा १० मा नपुग्दै आर्मीको हिरासत र यातना व्यहोरेँ । दाई अमरदिप र म जेल पनि पर्‍यौं । तत्कालीन शाही नेपाली सेनाले यातना दिएर ड्याडीको खुट्टा भाँचिदियो । यातना त कति हो कति । आमालाई पनि मानसिक र शारीरिक यातना दियो । जनयुद्धमा मामा  गुमायौं । मामाका एक छोरा बेपत्ता हुनुहुन्छ ।

घरमा जनमुक्ति सेना र माओवादीका साथीहरु आउँदा ड्याडीले कुखुरा काट्नुहुन्थ्यो । आफू नखाएर पनि खुवाउनुपर्छ भन्नुहुन्थ्यो । क्रान्ति र परिवर्तनप्रतिको लगाव उहाँमा मृत्यूपर्यन्त थियो । आज तीमध्ये धेरै योद्धाहरु सहिद, बेपत्ता र घाइते छन् । बाँचेकाहरु के गर्दैछन् ? हामी सबैले देख्ने, भोग्ने गरिरहेकै छौं ।

ड्याडी बित्नुभएको झण्डै चार महिना बित्यो । उहाँलाई फोक्सोको क्यान्सर भएको चौथो चरणमा पुगेपछि मात्रै थाहा पायौं । हामीले बचाउन सकेनौं । किमोले शिथिल भएको शरीर कपाउँदै उहाँ विचार र आदर्शकै कुरा गर्नुहुन्थ्यो । उहाँ कमरेडहरु सम्झनुहुन्थ्यो । केही हितैषी कमरेडहरु आउनुहुन्थ्यो । भेट्नुहुन्थ्यो । हौसला दिनुहुन्थ्यो ।

प्रतिभा पराजुली

उहाँले संगत गरेका कमरेडहरु अहिले सत्तामा हुनुहुन्छ । ‘पार्टी काम र सरकार चलाउनुपर्ने व्यस्तताले’ धेरै कमरेडहरुसँग भेटघाट हुन पाएन । गरिबको व्यवस्था ल्याउन भनेर बाल्यकालदेखि संघर्ष गर्दै दुःख, कष्ट र यातना भोगेका हामीले क्यान्सर रोग लागेपछि थाहा पायौं- यो देशमा गरिबको व्यवस्था आएको रहेनछ । हाम्रो देशको स्वास्थ्य प्रणालीले गरिबको बाँच्न पाउने र स्वास्थ्य उपचार गर्न पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई कसरी दुत्कारिरहेको छ ? त्यो हामीले नजिकबाट नियाल्यौं ।

भाइ र अंकल विदेशमा हुनुहुन्छ । यही सुविधाको सदुपयोग गर्दै हामीले ड्याडीलाई सकेसम्म राम्रो उपचार गर्‍यौं । ड्याडी भन्नुहुन्थ्यो- यो देशमा हामीभन्दा पनि कमजोर मानिसहरुलाई यस्तो रोग लाग्यो भने अवस्था कस्तो होला ? यो प्रश्न अहिले हरेक घरघरमा नागरिकहरुले गर्न थालेका छन् ।

उहाँको अन्तिम श्वाससम्म म र मेरी आमा र दुर्गा अंकल सँगै रहन पायौं । आमाको काखमै उहाँले प्राणान्त गर्नुभयो । प्राणान्तअघि उहाँले केही प्रश्नहरु गर्नुहुन्थ्यो । जुन प्रश्नहरुले मलाई निरन्तर चिमोटीरहन्छन् । ‘छोरी, कमरेड भन्ने त पवित्र शब्द हो । रातो झण्डा पवित्र झण्डा हो । यसको दुरुपयोग गरियो । कस्तो पार्टी बनाइएछ ? कस्तो संस्कार बनाइएछ ? कस्ता नेताहरुलाई नेता मानिएछ ? हामी कस्ता नेता कार्यकर्ता बनेछौं ।’

मेरो बा श्रमजिवी किसानको भूमिकामा बाँच्नुभयो । अध्यापन छाडेर केही समय सक्रिय राजनीति पनि गर्नुभयो । क्यान्सरजस्तो प्राणघातक रोगले ओछ्यान पर्नुअघिसम्म गोठ-गोबर र खेत-माटोसँग जीवन्त सम्बन्ध बनाएर बाँच्नुभयो । उहाँको परिवेशमा क्षमताले भ्याएसम्म कम्युनिष्ट विचार र आन्दोलनको प्रवलीकरणका लागि योगदान दिनुभयो । आदर्शसँग सम्झौता नगर्दै कडा प्रतिपक्षको जीवन बाँच्नुभयो । पद, पैसा र प्रतिष्ठालाई प्राथमिकता कहिल्यै दिनुभएन ।

हामीले उहाँको देहान्तपछि उहाँकै इच्छाअनुसार पाँच दिनसम्म शोक पुस्तिका राख्यौं । पाँचौं दिन शोकसभा राखेर उहाँको मृत्युकर्म सक्यौं । यसरी हेर्दा उहाँ मृत्युपछि पनि आफूले बोलेका भाष्यहरु आफ्नै जीवनमा लागू गर्न प्रतिवद्ध हुनुहुन्थ्यो ।

तर, हामीले बनाएको पार्टीले पदलाई मात्रै चिन्दो रहेछ । पैसालाई मात्रै प्राथमिकता दिँदो रहेछ । प्रतिष्ठा नापेर/जाँचेर नाफाघाटा हिसाब गर्दै समय दिँदो रहेछ । कमजोरीरहित कोही हुँदैन । द्वन्द्ववादले यही भन्छ । तर, आस्था, विचार र तदनुरुपको जीवनशैली बाँच्ने प्रतिवद्धता उहाँमा अद्वितीय थियो ।

यो नितान्त व्यक्तिगत सन्दर्भ मैले किन कोट्याउने प्रसंग गरिरहेको छु भने मेरो परिवार पनि यही समाजको एउटा प्रतिनिधि परिवार हो र हाम्रो कथा साझा कथा हो । मेरो र मजस्ता हजारौं गुमनाम परिवारहरुको त्याग, तपस्या र बलिदानले नेपालमा वैश्विक प्रतिकुलताको बावजुद पनि अहिले कम्युनिष्टहरु सत्तासिन छन् । कम्युनिष्ट पार्टीबारे कुरा गर्दा ड्याडीको याद आइहाल्छ । अलि भावनात्मक भइहालिन्छ सम्हालिन गाह्रो हुनेगरी । ड्याडीबारे कुनै दिन छुट्टै आलेखमा भावनाहरु पोखौंला । यद्यपि, यो आलेखमा भने केही समसामियक राजनीतिबारे टिप्पणी गर्न मन छ । उल्लेखित पृष्ठभूमि उल्लेख गर्दै वर्तमानबारे चर्चा गर्नु सान्दर्भिक होला ।

लामो समय राजनीतिक अस्थिरताको रिङ्गटालाग्दो अस्थिरताबाट वाक्कदिक्क बनेका नेपाली मतदाताले गत निर्वाचनमा ठूला दुई शक्ति मिलेर बनेको नेकपालाई झण्डै दुई तिहाई बहुमत मत दिए । अस्थिरताबाट स्थिरतासँगै मुलुक समृद्धिको दिशामा अग्रसर हुन्छ भन्ने सपना दलहरुले नै देखाए । 

सत्तापक्ष अत्यधिक बलियो भएको बेला प्रतिपक्ष संख्यामा कमजोर हुनु अस्वभाविक होइन । राजनीतिमा सधैं संख्या मात्रै निर्णायक हुँदैन । संख्या त्यतिबेला निर्णायक हुन्छ जतिबेला राजनीतिक नैतिकता कमजोर हुन्छ । 

अहिले नेपाली राजनीति झण्डैझण्डै प्रतिपक्षविहिनताको अवस्थामा छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस एकातिर अन्तरपार्टी किचलोमा व्यस्त छ । यसबाट बचेखुचेको शक्ति सत्तापक्षसँग राजनीतिक नियुक्तिको भीख माग्न बिताइरहेको छ कांग्रेसले । सत्ता पक्षको कामकारबाहीप्रतिको जनगुनासो उत्कर्षमा पुगिरहेको बेला प्रतिपक्ष दलको नेता राजनीतिक नियुक्तिमा आफ्नो स्पेश खोज्न बालुवाटार धाइरहेको भद्दा दृश्य नेपाली जनताले दिममिग मान्दै हेरिरहनु परेको छ । 

त्यसो त, नेकपाभित्रै पनि प्रतिपक्ष त छ । कर्णाली प्रदेशमा दर्ता गरिएको अविश्वासको प्रस्तावसम्म हेर्दा नेकपाभित्रैको प्रतिपक्ष पनि राजनीतिक कोर्ष करेक्सनको लागि भन्दा आन्तरिक भागबण्डाकै लागि आवाज उठाइरहेको छ । यसरी सत्ता स्वार्थ समूहको अराजनीतिक जोडघटाउको असंयोजनीय भद्रगोल अवस्थामा मुलुक अगाडि बढिरहेको छ । 

म बाल्यकालदेखि नै द्वन्द्ववादबारे व्याख्यान सुन्दै हुर्किएकी मानिस । हामी प्रतिपक्षी चेतनालाई हुर्काउनुपर्छ भन्ने मान्यता राख्छौं । घरमा दिनभरीको कामको बेलुका कम्युनिष्ट पार्टीको बैठकजस्तै गरी समीक्षा गर्ने, आलोचना-आत्मालोचना गर्ने अभ्यासबाट हुर्किएकोले पनि मैले यी दृश्यहरुलाई फरक ढंगले बुझेकी हुनसक्छु ।

यो सन्दर्भमा परराष्ट्रविद रमेशनाथ पाण्डेको भनाई स्मरण योग्य छ । उनी भन्छन्, ‘५४ रुपैयाँमा किनेको पेट्रोल १०९ रुपैयाँमा बेचेर १५ दिनमा ६० करोड नाफा गर्ने सरकारलाई कालोबजार नियन्त्रणको नैतिक अधिकार छैन । यस्तो लुट सहने जनतालाई सुशासन माग्ने नैतिक हक पनि हुँदैन ।’ यसको सन्देश हामीभित्र आलोचनात्मक चेत मरिरहेको छ । हामी प्रश्न गर्न डराउँछौं । हामी चाकडी, चाप्लुसी र पिछलग्गु बनेर नेताहरुको निगाहमा प्रगति चाहन्छौं । निष्कर्षमा हामी स्वाभिमान गुमाएर बाँचिरहेका छौं ।

आजको राजनीतिलाई विश्लेषण गर्न र प्रश्न गर्न मेरा आफ्नै बुझाईका श्रृंखलाहरु छन् । सन् १९९० को आसपास विश्वभरि कम्युनिष्ट किल्लाहरु धमाधम ढले । अक्टोबर क्रान्तिको महागाथा, लेनिनवादको वैचारिकी र स्टालिनको निस्कन्टक शासनसँग जोडिएको सोभियत संघ धुजाधुजा भयो । विश्वमा ‘सर्वहारा वर्गको भिन्नै स्वर्ग’ स्थापित भइसकेको दाबी हावामा उड्दै गरेका बेलुन फुटेझैं फुटे ।

नेपाली जनता यी घटनाको सूचना र ज्ञानबाट बेखबर थिएनन् । तैपनि नेपाली जनताले कम्युनिष्टहरुलाई साथ दिए ।

कम्युनिष्ट किल्लाको अर्को स्वर्ग, मार्सल टिटोको महागाथासंग जोडिएको युगोस्लाभिया आधा दर्जन बढी टुक्रा मात्र भएन, त्यहाँ जातीय हिंसा र गृहयुद्धको भीषण श्रृंखला नै चल्यो । युगोस्लाभिया कै नियति चेकोस्लाभियाले भोग्यो ।

नेपाली जनता यी सूचनाबाट टाढा थिएनन् । तैपनि कम्युनिष्टहरुलाई साथ दिए ।

पूर्वी युरोपका देशहरुको कथा झनै दुर्दान्त थिए । त्रासद थिए । पोल्याण्डमा लेक वालेसाको आन्दोलन होस् वा रुमानियाँमा चाउचेस्कुलाई चोकमा ल्याएर गोली हानेको घटना, जर्मनीमा बर्लिन वालको महापतन कुनै चानचुने घटना थिएनन् ।

नेपाली जनताले यी सुने । तर सुनेको, नसुन्यै गरे । फेरि पनि नेपालका कम्युनिष्टहरुलाई साथ दिए ।

चीनको किंबदन्ती त्यतिखेर आजको जस्तो थिएन । चीन रोग, शोक र भोगले थलिएको एक अल्पविकसित राष्ट्र थियो । सांस्कृतिक क्रान्ति नेपालमा एक अर्को महागाथाका रुपमा प्रस्तुत गरिन्थ्यो । ‘सांस्कृतिक क्रान्तिकी महारानी’ चियाङ चिङ आफ्नै साम्राज्यमा जेलभित्र थिइन । पछि जेलभित्रै आत्महत्या गरिन् ।

लोकतन्त्रको माग गर्ने विद्यार्थीलाई दमन गर्न देङ सिआयो पिङले तेनमियान चोकमा एकै रातमा १० हज्जार मानिस सैन्य ट्याङ्कले कुल्चाएर मारेका थिए । चीनको राजनीतिक भविष्यलाई अनेकअनेक आशंका थिए । यी घटनाबारे हामीलाई फरक ढंगले बुझाइँदो रहेछ भनेर आज बुझ्दैछौं ।

नेपाली जनताले यी सूचनासँग पनि पहुँच बनाएका थिए । तथापि उनीहरुले यहाँका कम्युनिष्टलाई नै साथ दिए ।

सशस्त्र क्रान्तिको पछिल्लो अध्याय मानिएको पेरुको छापामार विद्रोह चरम दमनको शिकार भयो । सायद साइनिङपथ नेता गोन्जालो अझै पेरुको जेलमा छन् । नेपाली जनताको असीम माया र साथ नै हो कि प्रचण्ड वा उनका सहकर्मीहरुले आज गोन्जालोको जस्तो जीवन बिताउन परेको छैन ।

संसार अर्कै बाटो हिडिरहेको थियो । नेपाली जनता अर्कै बाटो हिडिरहेका थिए । अभ्यासगत त्रुटि र मार्क्सवादलाई लम्पट मार्क्सवादी पण्डितहरुले कब्जा गर्दा संसार साम्यवादको अन्त्येष्टि गर्दै थियो । नेपाली जनता साम्यवादको आराधाना गर्दै थिए । पक्कै, यो विरोधाभाषको कुनै अलग अर्थ थियो । कुनै फरक मूल्य र सौन्दर्य थियो । कुनै भिन्न आशा र अपेक्षा थियो ।

कमरेडहरु ! त्यो के थियो जसले नेपालको कम्युनिष्ट आन्दोलन र पार्टीलाई जनताले यो स्तरको विश्वास दिए ? बहुदलीय लोकतन्त्रमा बिरलै पाइने बलियो सरकार बनाउने मत र अवसर दिए ?

यी प्रश्नका सैद्धान्तिक उत्तर धेरै हुन सक्लान्, तर व्यवहारिक उत्तर एकदमै सरल छ– संसारमा जे भयो भयो, नेपालका कम्युनिष्टहरु त्यस्ता हुने छैनन् भन्ने आशा नागरिकमा थियो ।

जनताले आफ्नै भरथेग, आँशु, रगत, पसिना र बलिदानको मूल्यमा उठेको आस्थाको दरबारलाई व्यवहारिक सम्परीक्षण नहुँदै खण्डहर बनाउन चाहेनन् । अन्यत्र कम्युनिज्म खण्डहर भइरहेको थियो । यहाँ त्यसको महल बन्दै थियो । बन्दै गरेको महल भत्काएर जनताले आफैंले आफैंलाई उपहास गर्न चाहेनन् ।

नेपालको कम्युनिष्ट आन्दोलन र पार्टी दुईचार दर्जन शीर्ष नेताहरुको पौरख र पराक्रम हैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पाइरहेको सिंहासन उनको निजी पराक्रम हुँदै हैन । बितेका करिब ७० वर्षमा लाखौं मानिसको जीवनको मूल्य साटिएको छ त्यसमा । हज्जारौंले रगत दिएका छन् । हज्जारौंले पढाई छोडेर, जागिर छोडेर, पूर्णकालीन कार्यकर्ता भएर, दुरदराजका गाउँमा झोला बोकेर संगठन गर्दै जीवनका सम्भावनाहरु अर्पण गरेका छन् । लाखौंले लेभी र चन्दा तिरेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनको बिम्ब आफ्नो आँखामा उघार्दा जनताले चाउचेस्कु हैन, पुष्पलाल सम्झिए । होनेकर हैन, मनमोहन सम्झिए । स्टालिन हैन, मदन भण्डारी सम्झिए । गोञ्जालो हैन, प्रचण्ड–बाबुराम–मोहन वैद्यलाई सम्झिए । उनीहरुले आशा गरे, पक्कै यतिका मान्छेले केही गर्लान्, लत्तो नछोडलान् ।

तर स्थिति आज दिनप्रतिदिन फरक हुँदै गइरहेको छ । पुष्पलाल, मनमोहन र मदन भण्डारी धुमिल हुँदैछन् । बाबुराम, मोहन वैधलाई यसमा जोडिरहनु बेकार छ । माधव नेपाल र झलनाथ खनाल निरीह प्रतीत हुन्छन् ।

प्रचण्ड कताकती झल्याकझुलुक परिदृष्यमा देखिन्छन् । तर उनको नयाँ बिम्ब के हो पुरै अस्पष्ट छ । कुनै समय उनलाई मानिसले माओ भने । गोन्जालो भने । भन्नेले पोल पोट पनि भने । तर आज हेर्दा प्रचण्डको छवि न माओ, न गोन्जालो, न पोलपोट जस्तो छ । त्यस्तो नहोस् केही थिएन । प्रचण्ड, प्रचण्ड मात्र भइदिएको भए पनि हुन्थ्यो । तर प्रचण्डको छवी आज ‘ह्वाको फेङ’ को भन्दा गतिलो छैन ।

आफ्ना सबै विचारहरु परित्याग गरेको विचारक । आफ्ना सबै एजेण्डाहरु छोडेको अभियन्ता । आफ्ना सबै हतियारहरु बिसाएको योद्धा । आफ्नै सबै सम्भावनाहरु तुहाएको राजनीतिज्ञ । आफ्नै सबै अभिनयहरु तुर्‍याएको कलाकार । एक प्रकारले हेर्‍यो सबै थोक भएजस्तो अर्को प्रकारले हेर्‍यो, केही पनि नभएजस्तो ।

आज नेपालको कम्युनिष्ट आन्दोलनको एकछत्र बिम्ब खड्गप्रसाद शर्मा ओलीमा समेटिएको छ । लाग्छ– अरु कोही केही हैनन् । अरु कसैको केही हकदैया छैन । अरु कसैको केही विरासत, लगानी र योगदान छैन । आज लाग्छ– ओली जे बोल्छन्, त्यही साम्यवाद हो । ओली जे सोच्छन्– त्यही मार्क्सवाद हो । ओली जे गर्छन्– त्यही लेनिनवादी जनवादी केन्द्रियता हो ।

भाँडमा जाउँन, पुष्पलाल, मनमोहन र मदन भण्डारी । भाँडमा जाउँन झापा विद्रोह र सुखानीका सहिदहरु । भाँडमा जाओस् जनयुद्ध र योद्धाहरुको रगत ।

आजको विन्दूमा आइपुग्दा एकपटक छातीमा हात राखेर सबैले सोच्ने बेला भएको छ । कमरेडहरु ! के यही दुर्दशाका लागि थियो ७० वर्ष लामो कम्युनिष्ट आन्दोलन ? यही दुर्भाग्यका लागि थियो– त्यत्रो बलिदान ? आखिर यो कम्युनिष्ट भन्ने जात यसरी नै त पतन भएको थियो होला दुनियाँभरि । यदि राम्रो हुन्थ्यो त किन पतन हुन्थ्यो ? यदि यति छिटो पतन हुनु नै थियो– त्यो स्तरको लगानी किन गर्नु थियो ?

देश र जनताको दुर्दशाको चित्र कुन पाटोबाट चित्रण गर्ने ? कोरोना महामारीको संक्रमण, आर्थिक मन्दी, ठूल्ठूला भ्रष्टाचार, कुशासन, अन्त्यहीन राजनीतिक खिचातानी, अन्तर्पार्टी लोकतन्त्रको अन्त्य, सर्वत्र व्यप्त दलित र महिला हिंसा, भूराजनीतिक जटिलता बीच बिग्रदो कुटनीतिक सन्तुलन खै कहाँ छ चित्त बुझाउने ठाउँ ?

कमरेडहरु ! के तपाईहरुलाई यस्तै स्थिति मन परेको छ ? अझै गज्जबै लागेको छ ? यही हो त कम्युनिष्ट आन्दोलनको नियति ?

एक दिन, दुई दिन, चार दिन कतिन्जेल चल्छ यसरी ? ५ वर्षे कार्यकालको आधा समय गइसक्यो, न राजनीतिक परिमार्जन र प्रशासनिक सुधार । न सुशासन, न समृद्धि । कमरेडहरुलाई मन परेको नेपाल यही र यस्तै हो भने भन्नु केही बाँकी रहेन ।

कम्युनिष्ट आन्दोलनमा रगत, पसिना र आँसुसँगै जीवनको महत्वपूर्ण हिस्सा लगानी गरेको आधारमा मलाई प्रश्न सोध्न मन लागेको छ- यही दिन देख्नको लागि थियो करोडौं नेपालीको पसिना, लाखौं नेपालीको पसिना र आँसु र हजारौं नेपालीको रगतको बलिदानी ?

मलाई लाग्छ- अब यो प्रश्न आमरुपमा हरेक स्वाभिमानी नेपालीले सोध्नुपर्छ र सोध्नेछन् । जब यी र यस्ता प्रश्नहरु संगठित हुनेछन्, तब २४० वर्षे एकात्मक शासन प्रणालीका प्रतिनिधिको भन्दा धेरै शर्मनाक र घृणापूर्ण हुनेछ शासकीय बिदाई । किनकी कम्युनिष्ट बिग्रनु भनेको अण्डा कुहिएजस्तै हुनेरहेछ । जुन खबटाभित्र कैद हुँदा उस्तै लाग्छ, फुटेपछि भयानक दुर्गन्ध निस्कन्छ ।

जनताका लागि त यो दुर्दशा हो । कमरेडहरु ! यो दुर्दशा कतिन्जेल भोग्नु पर्ने हो ? कमरेड ओलीबाट केही सुन्नु छैन अब । जो अहिले पनि कम्युनिष्ट पार्टीको नेताको रुपमा दम्भका साथ आसन र भाषणमा कब्जा जमाइरहेका छन्, तिनीहरुसँग कहिँकतै अलिकति प्राधिकारको कुनै अंश बाँकी भए बोले हुने ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay