scheduleबिहिवार कार्तिक ६ गते, २०७७

‘ओली-पथ’मा ‘प्रचण्ड–पीडा’को पराकाष्ठा

सुदर्शन खतिवडा

काठमाडौं, २९ असोज । कर्णालीको अविश्वास प्रस्तावले सिर्जेको रन्थनाहट राम्ररी सेलाउन नपाउँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पार्टीभित्रको इतर खेमाविरुद्ध अर्को प्रहार गरेका छन् । उनले मनमौजी र एकलौटी मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । उनले थपेका सबै नयाँ मन्त्रीहरु आफ्नो खेमाबाट मात्र लिएका छन् । अर्का अध्यक्ष प्रचण्ड, शक्तिशाली भनिएका वरिष्ठ नेता माधव नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायतलाई उनले कुनै मतलब दिएका छैनन् ।

हुनतः संसदीय प्रणालीमा मन्त्रीमण्डल पुनर्गठन कुनै ठूलो कुरा हैन । त्यो प्रधानमन्त्रीको विशेषाधिकारको बिषय हो । संसारभरीकै संसदीय लोकतन्त्रमा मन्त्रीमण्डलबारे अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीमा नै हुन्छ । संसदीय लोकतन्त्रमा सरकारको स्थिरता भनेको प्रधानमन्त्रीको निरन्तरता हो । मन्त्री त प्रधानमन्त्रीको सहयोगी समूह मात्र हो । प्रधानमन्त्रीले आफ्ना सहयोगी आफूले चाहेजस्ता, आफूलाई सहयोग गर्ने नियुक्त गर्नु कुनै अनौठो वा आश्चर्यको विषय हैन ।

तर, सत्तारुढ नेकपाको अहिलेको आन्तरिक कथाव्याथा फरक थियो । शक्ति सन्तुलनका आयाम फरक थिए । प्रधानमन्त्री ओली इतर खेमाका बुझाई र अपेक्षाहरु फरक थिए । प्रधानमन्त्री ओलीले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै उनको राजीनामा समेत मागिएको थियो । पार्टी स्थायी कमिटी वा संसदीय दलको बहुमतको आधारमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसम्मका प्रयास भएका थिए ।

करिब ६ महिना लामो अन्तसंघर्षपछि कमरेडहरु भाद्र २६ गते नयाँ सहमतिमा पुगेका थिए । यो सहमति अनुसार सरसल्लाहमा मिलेर हिड्न, पार्टी र सरकार दुवै मोर्चामा सबै खेमाको सम्मानजनक सहभागिता र सत्ता साझेदारी गर्न सिद्धान्ततः राजी भएका थिए । तर सहमतिको एक महिना नबित्दै स्थिति एकपछि अर्को गर्दै उल्टो हुँदैछ । ‘मिलेर हिंड्ने’ सैद्धान्तिक सहमति व्यवहारतः कार्यान्वयन नहुने देखिएको छ ।

द्वन्द्वको अवधिमा माओवादीले आर्जन गरेको संगठन, शक्ति र जनमत ओलीको अनुकूलतामा उपयोग भयो, तर त्यसको साटो माओवादी पक्षले भने अपमान र बहिष्करण बाहेक केही पाएन ।

भाद्र २६ को सहमतिपछि इतर खेमाका नेताहरु केही आशावादी थिए । इच्छा नहुँदा नहुँदै पनि उनीहरुले ‘भैगो, मरोस्, कतै ओलीको कार्यशैलीका सुधार आइहाल्छ कि केही समय पर्खेर हेरौं न त’ भन्ने प्रकारको रणनीति अख्तियार गरेका थिए । मन्त्रीमण्डल पुनर्गठनलाई भाद्र २६ गतेको सहमति कार्यान्वयन गर्ने प्रस्थानविन्दू मानिएको थिए ।

ओली इत्तर खेमाका मुख्य नेता मानिएका प्रचण्ड झगडियाले अदालतको तारेख धाएझैं दैनिक बालुवाटार धाइरहेका थिए । हरेक दिन उनीहरुको भेट समाचार बनिरहेको थियो । ‘आज पनि ओली–दाहालबीच भेट भयो, तर कुनै सहमति बनेन’ जस्ता समचारका शीर्षकहरु थोत्रा भइसकेका थिए । तथापि कताकति मानिसहरुका आशा बाँकी थियौं । कतै कुनै चमत्कार पो भइहाल्ने हो कि ? प्रधानमन्त्रीको आधा कार्यकाल पुरा गर्नै लाग्दा प्रम ओलीको कार्यशैलीमा कुनै नयाँ मोडको आउने हो कि ?

बुधबार साँझ भएको मन्त्रीमण्डल पुनर्गठनपछि त्यो अध्याय समाप्त भएको छ । ओलीले आफ्नो कार्यशैली नफेर्ने, पार्टीभित्रको इतर खेमाले सोचेजस्तो उनीहरुलाई धेरै महत्व नदिने र भाद्र २६ गतेको सैद्धान्तिक सहमतिलाई ‘सिद्धान्त’ मै सीमित राख्ने प्रष्ट संकेत गरेका छन् ।

ओलीको यो कदमले माधव नेपाल– झलनाथ खनालजस्ता नेताहरु पनि आहत नभएका हैनन्, तर राजनीतिक रुपमा सबैभन्दा ठूलो चोट अर्का अध्यक्ष प्रचण्डमाथि परेको छ । प्रचण्ड निकटद्वारा सामाजिक सञ्जालमा लेखिएका प्रतिक्रियाहरुले प्रचण्ड पक्षको व्यथित मनलाई छताछुल्ल पारिदिएको छ । झण्डै हाराहारीको हैसियतमा एमाले–माओवादी एकता भएको र ओलीसँगको अन्तसंघर्षमा विस्तार हावी हुँदै जाने पूर्व माओवादी रणनीति असफलतको अन्तिम विन्दूतिर आइपुगेको छ ।

एमाले–माओेवादी एकता सैद्धान्तिक तथा राजनीतिक एकता थिएन, त्यो एक कुटिल प्रकृतिको विलय थियो, त्यसले ‘प्रचण्ड–पथ’लाई ओली मार्गमा सधैंका लागि समर्पित गर्दियो भन्ने विश्लेषण फेरि एकपटक सत्य सावित भएको छ ।

माओवादी केन्द्रसँगको एकताबाट ओली खेमाले असीमित राजनीतिक फाइदा प्राप्त गरेको छ । एमाले र माओवादीजस्ता दुई ठूलो कम्युनिष्ट पार्टीहरुको चुनावी गठबन्धन र एकता विना कम्युनिष्ट पार्टीले यो स्तरको बहुमत हासिल गर्न सम्भव थिएन । करिब १० बर्ष लामो सशस्त्र द्वन्द्वको अवधिमा माओवादीले आर्जन गरेको संगठन, शक्ति र जनमत ओलीको अनुकूलतामा उपयोग भयो, तर त्यसको साटो माओवादी पक्षले भने अपमान र बहिष्करण बाहेक केही पाएन ।

पार्टी एकताको कुटिल जालोभित्र ओलीले थप शक्ति हासिल मात्र गरेनन्, माओवादी आन्दोलनको इतिहास, गौरव, विचार र एजेण्डाको औचित्य पनि समाप्त गर्दिए । साथै एकपछि अर्को गर्दै नेतृत्व समूहको हुर्मत पनि लिए ।

पार्टी एकताको कुटिल जालोभित्र ओलीले थप शक्ति हासिल मात्र गरेनन्, माओवादी आन्दोलनको इतिहास, गौरव, विचार र एजेण्डाको औचित्य पनि समाप्त गर्दिए । साथै एकपछि अर्को गर्दै नेतृत्व समूहको हुर्मत पनि लिए ।

बुधबारको मन्त्रीमण्डल पुनर्गठनसम्म आइपुग्दा प्रचण्ड खेमा सर्वाधिक असजिलो मोडमा आइपुगेको छ । प्रचण्डलाई न त ओलीसँगको सहयात्राबाट फिर्ता हुन सजिलो छ, नत सँगै हिंड्न सजिलो छ । चुच्चे ढुंगाका टुक्रा पसेको जुत्ता लगाएर हिड्नु पर्ने जस्तो बाध्यतात्मक र पीडादायक अवस्थामा पूर्व माओवादी पक्ष र विशेषतः त्यसका मुख्य नेता प्रचण्ड पुगेका छन् ।

माओवादी आन्दोलन र पार्टीभित्र प्रचण्ड निक्कै चतुर नेता मानिन्थे । उनीले दशकौंदेखि डा. बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्दजस्ता हस्तीहरुलाई आफू वरिपरि घुमाउँदै आएका थिए । सम्भवत् त्यसले प्रचण्डको आत्मविश्वास बढाएको थियो । त्यतिका हस्तीहरुलाई घुमाउँदै आएको मान्छे ओलीजस्ता लुरे र कमजोर स्वास्थ्य भएको खेलाडीलाई बिस्तारै हराउन वा तह लगाउन सकिएला भन्ने आत्मविश्वासले सायद प्रचण्डले पार्टी एकता गरेका थिए ।

तर घटनाक्रमले ओलीलाई ‘लुरे’ हैन, अझ ‘धूर्त’ र प्रचण्डलाई ‘चतुर’ हैन, अझ ‘निरिह’ सावित गर्दिएको छ । ओलीसँगको राजनीतिक संघर्षमा प्रचण्डका ‘अप्सन’हरु एकपछि अर्को गर्दै सीमित हुँदै गइरहेका छन् । उनी विस्तारै असान्दर्भिक हुने घटनाक्रमतिर धकेलिँदैछन् ।

दोस्रोपटकको मृगौला प्रत्यारोपण सफल भएपछि ओलीमा नयाँ चरणको महत्वाकांक्षा जागेको छ । त्यो भनेको सबैलाई महाधिवेशनसम्म खेलाउँदै लाने र फेरि एकपटक एकल अध्यक्ष बनेर आउने चुनाव पनि आफ्नै नेतृत्वमा लड्ने हो । ओेलीको यो महत्वाकांक्षा सामु प्रचण्ड, माधव र झलनाथका अनुरोधहरु अरण्य रोदन मात्र हुन् । या त कुनै साहसिक निर्णय लिनु या त बिस्तारै असान्दर्भिक हुन राजी हुनु बाहेक उनीहरुसँग अर्को बाटो देखिन्न ।

कुनै समयका त्यति ठूलो क्रान्तिकारी नेता प्रचण्ड, आफैंमा एक शक्तिकेन्द्र बनेका प्रचण्ड आज ओली सामु किन यति निरिह भए ? यो पाटो विश्लेषण योग्य छ । हिगेलियन दर्शनमा एउटा शब्दाबली छ– ‘डिफ्रेन्सीया स्पेसिफिका’ । यसलाई विभिन्न कोण र आयामबाट व्याख्या गर्न र बुझ्न सकिन्छ । यसका मुख्य अन्तर्य हो– ‘विशिष्ट हुन फरक हुनु पर्दछ ।’

प्रचण्ड जतिखेरसम्म ओली भन्दा ‘फरक’ थिए त्यतिन्जेल उनी ‘विशिष्ट’ थिए । एक भिन्नै शक्तिकेन्द्र थिए । उनको आफ्नै दर्शन थियो– माओवाद । उनको आफ्नै सिद्धान्त थियो– प्रचण्डपथ । उनको आफ्नै संघर्षको महागाथा थियो– जनयुद्ध । उनका आफ्नै एजेण्डा थिए– प्रत्यक्ष निर्वाचित कार्यकारी, पहिचान र अधिकारमा आधारित संघीयता, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ आदिको मुक्ति । उनको आफ्नै पार्टी थियो– माओवादी केन्द्र ।

जब उनी ओलीपथमा आए, प्रचण्डसँग यी कुनै पनि चीज बाँकी रहेनन् । अर्थात् ओली र प्रचण्ड बीचको ‘डिफ्रेन्सिया’ समाप्त भयो, अब ‘स्पेसिफिका’ मात्र बाँकी रहन सम्भव थिएन । यो प्रचण्डका लागि मात्र हैन, संसारका सबै अस्तित्वको लागि लागू हुने नियम हो । ओलीका विचार, एजेण्डाको कुम्लो बोकेर ओलीपथमा लुरुलुरु हिंडिरहेका प्रचण्डलाई भगवानले पनि साथ नदिनु स्वभाविक थियो । ओलीज्मका लागि, ओलीपथका लागि स्वयम् ओली छँदैछन्, प्रचण्डलाई ओलीको स्थान र सिंहासनमा नियतिले किन स्वीकार गर्थ्यो ?

जनताको बहुदलीय जनवादको ब्याख्या प्रचण्डको मुखबाट भन्दा ओलीको मुखारबिन्दबाटै बढी मौलिक र सुन्दर सुनिन्छ । प्रचण्डले गर्ने मदन भण्डारीसँगको सङ्गत र सहकार्यको बखान ओलीका सामु सधैं फिका र कृत्रिम हुन्छ । पहिचान र अधिकारको आन्दोलनमाथि प्रचण्डले गर्ने बिषवमन ओलीको भन्दा तिख्खर हुन सम्भव छैन । फेरि किन र के कामका लागि प्रचण्ड ?डिफ्रेन्सीया’ तुरिएको प्रचण्डलाई ओलीले के कारणले ‘स्पेसिफिका’ मानिरहनु पर्ने ?

ओलीको वैचारिक तथा राजनीतिक लडाई यतिखेर बाबुराम–उपेन्द्रसँग होला । मोहन वैद्य–विप्लवसँग होला । प्रचण्डसँग अब ओलीको कुन लडाइँ बाँकी छ ? जससँग कुनै लडाई नै बाँकी छैन, ऊ प्रतिस्पर्धी नै हैन, जो प्रतिस्पर्धी नै हैन, उसलाई ओलीले बाल मतलव दिएनन् त के आश्चर्य भयो ?

संकेत त्यस्तै देखिन्छ- ओलीपथमा प्रचण्ड-यात्राको पीडा पराकाष्ठातिर आइपुगेजस्तो प्रतीत हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay