scheduleबिहिवार कार्तिक ६ गते, २०७७

बाबुरामलाई सुलीमा चढाउने मौका यही हो !

रुद्रप्रसाद भट्ट

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहुप्रतिक्षीत बूढीगण्डकी परियोजना निर्माण शुरु नहुँदै भ्रष्टाचार भएको आशंका गरे । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेरै ९ अर्ब भ्रष्टाचार गरेको उनको आरोप थियो ।

यो आरोपपछि ठूला माछा समात्‍न नसकेको आरोप लागेको अख्तियार र स्वतन्त्र छानबीन गर्ने निकायको लागि पनि गज्जबको सुराक हुनसक्थ्यो । तर, दुर्भाग्य ती निकायले अहिलेसम्म यो कुरा सुनेकै छैनन् । बरु केही बुद्धिजिवी र विश्लेषकले भट्टराईले आरोप लगाएर हुँदैन प्रमाणित नै गरिदिनुपर्छ भन्ने तर्क गर्न थालेका छन् । कहाँ भएको ? भन्दा बूढीगण्डकी आयोजनामा, कति भ्रष्टाचार भएको ? नौ अर्ब भएको र कसले गरेको ? भन्दा बहालवाला र पूर्व प्रधानमन्त्रीले गरेको । यदि नैतिकता भएका नेताहरु हुन् भने यति आरोप लगाइसकेपछि अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने हो । सम्बन्धित निकायहरुलाई थप अध्ययनका लागि यो भन्दा बढी प्रमाण के चाहिएको हो ?

भट्टराईले आरोप लगाएका मात्रै छैनन् कि राज्यको कुनै पनि स्वतन्त्र निकायले छानबीन गर्ने हो भने त्यसमा सघाउने र आरोप प्रमाणित गर्न नसके आफु दण्डीत हुन तयार रहेको अभिव्यक्ति पनि दिएका छन् । छानबीन गर्न वा मुद्दा दर्ता गर्न यो भन्दा ठूलो प्रमाण नचाहिनुपर्ने हो । अझ सर्वहाराको प्रिय कम्युनिष्ट पार्टीको सरकारमा यस्तो आरोप त स्वीकार्य नहुनुपर्ने हो । यदि फाँसी दिने कानून हुने थियो र आरोप लागेकाहरु निर्दोष हुन्थे भने आरोप लगाउनेलाई तत्काल झुण्ड्याउनुपर्ने हो ।

तर,आरोपितहरु चुँ पनि बोल्दैनन् । उनीहरुको पक्षमा कार्यकर्ता पनि बोल्न सक्तैनन् । पार्टीले पनि रुन्चे विज्ञप्ति निकालेर ‘सत्य रामाराम, भगवान कसम होईन’ भन्‍ने बाहेक लागेको आरोप पखाल्न हिम्मत गर्दैन । आखिर किन यति ठूलो आरोप सहेर बसेका छन् प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरु दाहाल अनि देउवा ? साँच्चै उनीहरु निर्दोष हुन् र झुठो आरोप लगाईएको हो भने आरोप लगाउनेका विरुद्ध कानुनी उपचार किन खोज्दैनन् ?

रुद्रप्रसाद भट्ट

यता, सत्ताधारी दलका अध्यक्षद्वयसँगै प्रमुख प्रतिपक्षी दलका नेता भएर पनि सत्ता भागबण्डामा अंशियार नै रहेका पूर्वप्रधानमन्त्री देउवा जस्ता शक्तिशाली व्यक्तिलाई ९ अर्ब भ्रटाचार गरेको प्रमाण दिन्छु भन्ने बाबुराम हराम हुन की पागल ? के उनले यस्तो गम्भीर कुरा बोल्दा राजनीतिक फण्डा मात्रै सम्झेर बोलेका हुन् वा दिमागी अवस्था नै असन्तुलन भएर चिप्लिएको हो ? यो प्रश्नको सवालजवाफ फेसबुक र ट्‍वीटरमा शुरु भएको छ । स्वघोषित विश्लेषक र केही थान बाबुराम विरोधी नागरिक समाज अहिले आरोपीलाई भन्दा पनि आरोप लगाउनेले नै प्रमाणित गरिदिनुपर्ने दलिल पेश गरिरहेका छन् ।

यी तिनै हरामी बाबुराम हुन् जसले केही महिनाअगाडि संघीय संसदको रोष्टममा उभिएर ओली, प्रचण्ड, देउवाकै अगाडि आफुलगायत सबै पूर्वप्रधानमन्त्री र उच्चपदमा पुगेका विशिष्टको सम्पत्ति छानबीन गरौं भनेका थिए । त्यतिबेला पनि बाबुरामले बोलेर केही हुन्न भनेर उनलाई खिसी गर्ने जमात ठूलै थियो । अहिले पनि केही अगुवा जो बेलाबेला बाबुरामलाई चुनाब हराऊँ भन्दै वक्तव्य निकाल्छन् र भारतीय एजेण्ट करार गर्न तम्सिन्छन् । तीनले अहिले पनि बाबुरामले बोलेर मात्रै हुन्छ आरोप प्रमाणित गर्नुपर्छ भनिरहेका छन् । तर, बाबुराम को हुन् ? जसले भ्रष्टाचार गर्नेको नाम भनिदिनुपर्ने, प्रमाणित गरिदिनुपर्ने अनि दण्ड जरिवाना पनि तोकिदिनुपर्ने हो कि ?

गणतन्त्र नेपालमा संविधान र कानूनभन्दा माथि कोही पनि छैन । संघीय सांसद र पूर्व प्रधानमन्त्री भन्ने ट्‍याग मात्रै रहेका बाबुरामले नै सबैकुरा प्रमाणित गरिदिनुपर्ने हो भने संघीय संसद, विषयगत समिति, भ्रष्टाचारीलाई कारबाही गर्ने भनेर गठन गरिएको तर राजनीतिक नियुक्तिको भागबण्डा गर्ने मुख्य ठाउँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्रको काम चाहिँ के हो त ? १० हजार घुस खानेलाई समात्न त यी निकायहरुको जरुरत पर्दैन थियो होला नी !

एउटी चेलीले ‘म बलात्कृत भए, मेरो अस्मिता लुटियो’ भनिसकेपछि पनि बलात्कारी खोजेर कारबाही प्रक्रिया अगाडि बढाउने कि कसरी बलात्कार भयो ? बलात्कृत भएको प्रमाण के छ ? पहिले प्रमाण दे अनि मात्रै बलात्कारी खोज्न जान्छु भन्ने हो ? त्यति ठूलो पदमा बस्ने व्यक्तिहरुलाई आरोप लागिसकेपछि लाज पचाएर ‘होईन क्यारे’ भनेर ङिच्च परेर बस्ने की डटेर बाबुरामको सातो लिने ? दोषी होइन भने डटेर आरोपको सामना गर्न किन नसकेको ?

२ खर्ब ७० अर्ब रुपैयाँको बूढीगण्डकी आयोजनाको मात्रै कुरा होइन । यसभन्दा अगाडि पनि बेलाबेला नेतासँगै जोडिएर अर्ब र करोडका कुरा आउने गरेकै छन् । आज अरुलाई आरोप लगाउने बाबुरामका विरुद्ध पनि त्यस्ता कुनै आरोप छन् भने खोजौं । कतै अरुको कुरा उठाएर बाबुरामले आफ्नो गल्ती ढाकछोप गर्दैछन् भने उनलाई दण्डित गर्ने उपयुक्त बेला पनि यही हुन सक्छ । राज्यको जिम्मेवार निकायले निष्पक्ष छानबीन गर्दा ओली, प्रचण्ड वा देउवा दोषी देखिएनन् भने गलत अभिव्यक्ति दिने बाबुरामलाई सुली चढाउने बेला यही होईन र ?

अहिले पनि सामाजिक सञ्जालका भित्तामा हेर्ने हो भने सबैभन्दा बढी बाबुराममाथि नै गालीको वर्षा देखिन्छ । जबकी बाबुराम कुनै कार्यकारी पदमा पनि छैनन् तर गाली खानेमा उनी एक नम्बरमै पर्दछन् । यतिधेरै गाली खाँदा पनि बाबुरामले अझै आफुलगायत पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबीन गरौं भन्न किन छाड्दैनन् ? सरकार र उसका संवैधानिक अंगहरुले गरेको काम पारदर्शी भएन, जनअपेक्षित भएन भनेर किन बारम्बार टेबुल ठोकी रहन्छन् ? उनी भ्रष्ट, नालायक र जनबिरोधी हुन् वा विदेशी दलाल हुन् भने नेपालको संसदमा उभिएर बोल्ने आँट कसरी गर्दैछन् त ? यी प्रश्नको उत्तर खोज्ने बेला भएन र ?

डा.भट्टराईले भनेजस्तै राज्यको कुनै एउटा स्वतन्त्र निकायले प्रधानमन्त्री भैसकेका केही नेताको जीवनशैली र बाबुरामको जीवनशैली दाँजेर हेरौं अनि सम्पत्तिको स्रोत पनि खोजौं । उनी मात्रै होइन उनका आफन्त र परिवारका सदस्यको समेत सम्पत्तिको हिसाब राखौं अनि अन्य पूर्व र बहालवाला प्रधानमन्त्री र उनका नातागोताको जीवनशैली र सम्पत्तिको ग्राफ पनि हेरौं ।

बाबुरामले अकूत सम्पत्ति कमाएको, कसैलाई ठेक्का मिलाईदिए बापत कमिशन लिएको, विदेशमा पैसा राखेको, आफन्तलाई मन्त्री वा लाभको पद दिलाएको, कुनै माफिया र दलाल घरमा बोलाएर करोडौं मागेको प्रमाणहरु छन् भने संकलन गरौं । यी मध्य कुनै एउटा मात्रै कारण पत्ता लाग्यो भने बाबुरामलाई जनताको अगाडी सुली चढाईदिऊँ ।

एउटा समयमा देशको प्रधानमन्त्री बनेका बाबुरामले शुरु गरेका युवा स्वरोजगार कार्यक्रम, राष्ट्रिय गौरवका आयोजना, जलस्रोत, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग र काठमाडौंलगायत धेरै ठाउँमा बाटो फराकिलो बनाउँदा कुनै लाभ लिएका थिए कि वा कुनै जाती, भाषा र धर्मका नाममा विदेशी डलर ल्याएर अपचलन गरेका छन् भने पनि खोजी गरौं । माओवादी छाडेर नयाँ शक्ति निर्माण अभियान शुरु गर्दा वा आर्थिक समृद्धि र विकासको कुरा गरी देशलाई समृद्ध बनाउने खाका सार्वजनिक गर्दा यदि बाबुरामले कुनै गल्ती गरेका छन् भने त्यही प्रमाणको आधारमा भएपनि बाबुरामलाई दण्डित गरौं ।

बूढीगण्डकी आयोजना मात्रै होइन अब पञ्‍चेश्‍वर, चमेलिया, मेलम्ची, फास्ट ट्रयाक, ओम्नी, यति, वाईडबडी, बालुवाटार ललिता निवास जग्गा प्रकरण, ७० करोड काण्ड, स्वास्थ्य सामग्री खरिद, रासायनिक मल खरीद ठेक्का, कोरोना उपचार कोष, भूकम्प पुनःनिर्माण, मेडिकल कलेज सम्बन्धन लगायत साना ठूला सबै काण्डको बारेमा छानबीन शुरु गरौं ।

सत्ताको बागडोर समालेर बसेका ओली हुन वा नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता देउवा लगायत पूर्व विशिष्ट र बहालवाला कसैको संलग्नता छ-छैन हेरौं । यदि आरोप लगाइए जस्तो कुनै पनि कुराको पुष्टि हुन सकेन भने दण्डित हुन मञ्जुर छु भन्ने बाबुरामलाई कडा भन्दा कडा कारबाही गरौं ।

तर, आरोप लागेकाहरुको हकमा कुनै सुराक भेटियो भने जनताको अगाडि नाङ्गेझार बनाउन तयार होऔं । दलको झोले भएर होइन, सभ्य नागरिक भएर सोचौं । यो वा त्यो पार्टीको भनेर भ्रष्ट र दलाललाई जोगाउने होईन ।

कसैलाई भ्रष्टहरुको चम्चा बन्दै देश थप बर्बाद बनाउन मन छ भने संसदबाटै छानबीनको माग गरिरहने, सुशासनको पक्षमा जनताको कान भरिरहने, नाम र अंक तोकेरै ठूला माछालाई भ्रष्ट करार गरिरहने यी बाबुराम अब सुलीमा चढाउन ढिला नगरौं !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay