scheduleबिहिवार कार्तिक ६ गते, २०७७

दिग्भ्रमित ‘ईश्वर’ को ‘भगवान भरोसे’ मार्गचित्र

साझापोस्ट टिप्पणी

काठमाडौं, १ कात्तिक । रक्षाबाट प्रधानमन्त्री कार्यालय तानिएका ईश्वर पोखरेलको पछिल्लो ट्वीट हेर्दा प्रष्ट बुझिन्छ– उपप्रधानमन्त्रीको भारी बोकेर प्रधानमन्त्री कार्यालमा थन्किएका ईश्वर आफैं ‘भ्रमित’ छन् । उनको ट्वीटले भन्छ- अहिले उनी ‘विकसित परिस्थिति र घटना-प्रसंगका सन्दर्भमा मानिसहरुका बुझाई, विश्लेषण र अभिव्यक्ति/टिप्पणी हेर्दै… बुझ्ने कोशिश गर्दै’ छन् ।

यो ट्वीटको भाषा र अर्थ प्रष्ट छ– प्रधानमन्त्री ओलीले उनीमाथि के कस्तो राजनीतिक प्रयोग गर्न खोजेका हुन्, उनी आफैं बुझ्न सकिरहेका छैनन् । पोखरेलको ट्वीटले ओली सरकारमा मन्त्रीहरुको हविगतलाई छर्लङ्ग गर्दछ । निश्चय नै मन्त्रीहरु संसदीय व्यवस्थाको क्याबिनेटमा प्रधानमन्त्रीका सहयोगी हुन् । कि त प्रधानमन्त्रीले भने अनुसार गर्नुपर्छ, कि त सरकार छोड्नु पर्दछ ।

तर, यसको अर्थ यो हैन कि मन्त्री प्रधानमन्त्रीको निजी ‘नोकर’ वा ‘दास’ हो । मन्त्री भनेको प्रधानमन्त्रीले चाहे जसरी खेलाउन पाइने ‘झुम्म्रोको पुतली’ होइन । व्यक्तिका रुपमा मन्त्री भएकाहरुको पनि आत्मसम्मान हुन्छ । उनीहरुलाई आफ्नो स्थिति र भूमिकाबारे बुझ्ने, थाहा पाउने वैयक्तिक अधिकार हुन्छ । प्रधानमन्त्रीले के गर्न चाहेको होे, कस्तो भूमिका खोजेको हो, के कुरामा सन्तुष्टि वा असन्तुष्टि भएको हो, कस्तो परिणामको अपेक्षा गरेको हो भन्ने बुझ्ने अधिकार हुन्छ ।

संसदीय लोकतन्त्रमा मन्त्रीमण्डललाई प्रधानमन्त्रीको क्याबिनेट भनिए पनि सहकर्मीहरुको राजनीतिक पृष्ठभूमि हुन्छ । उनीहरुको आफ्नै इतिहास, व्यक्तित्व र राजनीतिक ओज हुन्छ । त्यसले प्रधानमन्त्रीले सरसल्लाह गर्नुपर्ने अवस्था सृजना गर्दछ । भारतमा नेहरुको क्याबिनेटमा सरदार बल्लभभाई पटेल थिए । अटलबिहारी बाजपेयीको क्याबिनेटमा लालकृष्ण अडवानी थिए । मनमोहन सिंहको क्याबिनेटमा प्रणव मुखर्जी थिए । अहिले मोदीको क्याबिनेटमा राजनाथ सिंह छन् । ती प्रधानमन्त्रीका ‘नोकर’, ‘दास’ वा ‘कठपुतला’ मात्र थिएनन्, हैनन् ।

झण्डै बराबर हैसियतको अर्को कुनै नेता कुनै प्रधानमन्त्रीको क्याबिनेटमा छ भने उसप्रतिका नागरिक अपेक्षा सामान्य मन्त्रीसँगका अपेक्षा भन्दा फरक हुन्छन् । त्यस्तो नेता प्रधानमन्त्रीको सामान्य कारिन्दा सरह बस्नु हुँदैन । उसले प्रधानमन्त्रीलाई कयौं गलत काम गर्न बाट रोक्न, उचित सल्लाह दिन, पार्टीसँगको समन्वय बनाइराख्न, नीतिगत प्रश्नमा सही प्रस्थानविन्दू पहिल्याउन मद्दत गर्नु पर्दछ ।

यस्तो दायित्व पुरा गर्दा प्रधानमन्त्रीसँग अलिअलि रातोपिरो हुन सक्दछ । केही मनमुटाव हुन सक्दछ । मन्त्रीमण्डल छोड्नु पर्ने अवस्था पनि हुन सक्दछ । त्यो जोखिम त्यस्तो नेताले उठाउनु पर्दछ ।

नेहरु क्याबिनेटमा पटेल नेहरुको पछिपछि लुरुलुरु मात्र हिंड्दैनथे । बरु पटेलले के भन्छन भन्ने कुरामा नेहरु सधैं सचेत हुनु पर्दथ्यो । बाजपेयी अडबानीलाई बेवास्ता गरेर हिंड्ने कल्पनासम्म गर्दैनथे । नेपालमै पनि मनमोहन अधिकारीको क्याबिनेटमा माधव कुमार नेपालको स्थान र भूमिका त्यस्तै थियो । प्रचण्डको पहिलो क्याबिनेटमा डा. बाबुराम भट्टराईको स्थान र भूमिका त्यस्तै थियो ।

ओली सरकारका उपप्रधानमन्त्री र क्याबिनेटमा ओलीपछिको सबैभन्दा बरिष्ठ पार्टी नेताका रुपमा पोखरेलबाट त्यस्तै भूमिका अपेक्षित हुन्थ्यो । उनी पार्टीको महासचिव भइसकेका नेता हुन् । त्यो पनि दुईदुईपटक । उमेरले पनि पोखरेल ओलीभन्दा धेरै कान्छा हैनन् । पार्टीमा उनी तीसको दशकदेखि नै सँगै छन् । पोखरेल पूर्व मालेधारको संस्थापकमध्ये एक नेता हुन् ।

घटनाक्रमले के सिद्ध गर्‍यो भने ओलीले न खनाललाई राष्ट्रपति दिए न वामदेव कै मनितो राखे, न त प्रचण्डसँगको प्रधानमन्त्रीको पद आधाआधा कार्यकाल भागवण्डा गर्ने शर्तबन्दी नै पालना गरे । यसको अर्थ ओली राजनीतिक स्वार्थका लागि दिइएका वचन र आश्वासन समेत पूरा नगर्ने तहको निमर्म हृदय बनाएर अघि बढे ।

ओली सरकारमा सामेल हुनुअघि पोखरेलको चर्चा पार्टीको सम्भावित भावी नेताका रुपमा समेत गरिन्थ्यो । तर, ओली सरकारका अढाई वर्षले पोखरेलको छवि र उनको सम्भावित भूमिका प्रतिको बुझाईमा ठूलो फेरबदल आएको छ । पहिलो त पार्टी एकताको बेला नै ओलीले निर्वाचित महासचिव पोखरेललाई पाखा लगाउँदै विष्णु पौडेललाई अघि सारे । त्यही विन्दूमा प्रष्ट भइसकेको थियो कि ओली पोखरेलप्रति भित्रैदेखि विश्वस्त छैनन् ।

सरकारमा उपप्रधानमन्त्री बनाइए पनि रक्षा मन्त्रालयको जिम्मेवारी पोखरेलको कदका लागि उपयुक्त थिएन । अर्थ, गृह वा परराष्ट्रजस्ता मन्त्रालय उनका लागि अर्थपूर्ण हुन सक्थे । अहिले ओलीले पोखरेलको त्यही रक्षा मन्त्रालय पनि खोसी दिए । त्यो पनि बिना सल्लाह र सूचना ।

हुनतः पोखरेलको रक्षा मन्त्रालय सञ्चालनको शैलीलाई लिएर नेपाली सेना रुष्ट हुँदै गएको बताइन्थ्यो । यदि त्यसो हो भने पोखरेलले त्यो जिम्मेवारी छोड्नु नै उपयुक्त हुन्थ्यो । कोरोना प्रतिरोध समितिका संयोजकका रुपमा पोखरेलको भूमिका परिणामदायी भएन । स्वास्थ्य सामग्री खरिदजस्तो गैरसैनिक कार्यमा सेनाको संलग्नता पोखरेलले गर्नै नहुने काम थियो । तथापि पोखरेल अझै सम्भावनायुक्त नेता मानिन्थे । तर पछिल्लो मन्त्रीमन्डल पुनर्गठनले पोखरेल ओलीखेमाबाट बहिष्करणमा पर्न थालेको सहजै अनुमान गर्न सकिन्छ ।

ओलीको मनोविज्ञान र कार्यशैली हेर्दा पोखरेलप्रति असन्तुष्ट हुनु अस्वभाविक हैन । ओलीले त्यस्ता मान्छेलाई काखी च्यापेको देखिन्छ, जसले उनलाई कमजोर हुँदा र दुःखमा साथ दिए । आफू शक्तिशाली भएपछि आफ्नो खेमामा आएकाप्रति ओलीमा खासै गहिरो लगाव देखिन्न । मानवीय मनोविज्ञानका दृष्टिकोणले यो एक प्रकारले स्वभाविक पनि हो ।

पोखरेलको खास मौलिक गुट माधव नेपाल गुट नै हो । एमालेको आठौं महाधिवेशनमा पोखरेल झलनाथ खनाल प्यानलबाट महासचिव निर्वाचित भएको थिए । पोखरेलको साथ पाएको भए ओलीले त्यही महाधिवेशनमा अध्यक्ष जित्न सक्थे । ओली मुस्किलले सवा सय भोटले खनालसँग हारेका थिए ।

खनाल गुटबाट महासचिव जिते पनि पोखरेल विस्तारै ओली गुटतिर लहसिए । धेरै एमाले नेता कार्यकर्तालाई पोखरेलको खेमा परिवर्तन आश्चर्यजनक लागेको थियो । आठौं महाधिवेशनमा नेपाल आफै उम्मेद्वार नहुँदा उनी खनाल प्यानलमा जाने कुरा स्वभाविक हुन्थ्यो । तर नवौं महाधिवेशनमा नेपाल आफैं अध्यक्षको उम्मेद्वार भएको अवस्थामा ओली प्यानलको महासचिव हुन पोखरेलका लागि प्राकृतिक गठबन्धन थिएन ।

ओलीका लागि विरोधी खेमाको मुख्य नेतामध्ये एक चुडेर आफूसँग ल्याउनु राजनीतिक कौशलको बिषय थियो । पोखरेलको मात्र हैन, अनेक राजनीतिक चातुर्य र आश्वासनबाजी गरेर ओलीले नवौं महाधिवेशनमा वामदेव गौतम र झलनाथ खनालको समेत समर्थन हासिल गरे । वामदेवले हाक्काहाक्की ओलीलाई समर्थन गरेका थिए । झलनाथले नेपाललाई ओलीको ‘राष्ट्रपति आश्वासन’ को लोभमा माधव नेपाललाई अन्तर्घात गरेर हराएको मूल्य अहिले चुक्ता गर्दैछन् ।

घटनाक्रमले के सिद्ध गर्‍यो भने ओलीले न खनाललाई राष्ट्रपति दिए न वामदेव कै मनितो राखे, न त प्रचण्डसँगको प्रधानमन्त्रीको पद आधाआधा कार्यकाल भागवण्डा गर्ने शर्तबन्दी नै पालना गरे । यसको अर्थ ओली राजनीतिक स्वार्थका लागि दिइएका वचन र आश्वासन समेत पूरा नगर्ने तहको निमर्म हृदय बनाएर अघि बढे । नेपा, खनाल, गौतम र दहालजस्ता नेतासँग यो स्तरको विश्वासघात र धुर्त व्यवहार गर्न सक्ने ओली पोखरेलको अवसरवादी निष्ठाबाट प्रभावित नहुनु अस्वभाविक थिएन ।

आज पनि ओली विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विष्णु रिमालजस्ता आफ्ना मौलिक सहकर्मीप्रति विश्वास गर्छन् । राष्ट्रपति विद्या भण्डारीको साथ उनलाई छँदैछ, जो यहाँ चर्चा गर्न वाञ्छनीय हुँदैन । ओलीको पोखरेलसँगको सम्बन्ध नवौं महाधिवेशनदेखि नै बाहिरबाहिरको लिपापोती जस्तो मात्र थियो ।

पोखरेलका लागि यही नेर अवसर सृजना हुन्थ्यो । ओली गुटको सामान्य सहकर्मी हुनु पर्ने बाध्यात्मक स्थितिभन्दा उनी धेरै माथि थिए । उनको आफ्नै प्रकारको व्यक्तित्व, छवि र उचाई थियो । बरु ईश्वर पोखरेलले पनि साथ छोड्यो भने, ‘म झन अप्ठ्यारोमा पर्छु’ भन्ने भय पोखरेलले ओलीमा सिर्जना गर्न सक्नु पर्दथ्यो । तर उल्टो भयो ।

ओलीले उल्टै ‘अब तिम्रो काम छैन’ भन्दिए । पोखरेलले बुझ्नु नबुझ्नु आफ्नो ठाउँमा छ । तर ओलीले आफ्नो तर्फबाट सन्देश प्रष्ट गरेकै छन् । पोखरेललाई दिइएको जिम्मेवारी हिजोका दिनमा अभ्यास हुने गरेको ‘बिना विभागीय मन्त्री’ भन्दा बढी हुँदैहैन । तुरुन्तै पोखरेल नभड्किउन भन्नाका लागि उनले बर्खास्त गरेनन् । नत्र यो एक प्रकारको बर्खास्त सरह हो ।

ओली एक अर्को चरणको निर्मम शक्ति संघर्षको अवस्थामा छन् । यो संघर्ष निकट भविष्यमा अझ मुखरित हुने प्रष्ट छ । दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएपछि उनमा नयाँस्तरको महत्वाकांक्षा पलाएको छ । उनी अझै एकपटक एकल अध्यक्ष हुने मनसाय बनाइरहेका छन् । ओलीले यो मनसाय छोडेमा उनी राजनीतिक जीवनबाट निवृत्त हुनु पर्ने अवस्थामा पुग्दछन् । उनको गुट र अनुयायीहरुका लागि त्यो सह्य हुँदैन । ओली गुटमा अहिले नै उनको विरासत थाम्ने कुनै प्रष्ट उत्तराधिकार देखिएको छैन । ओली निवृत्त हुनुको अर्थ उनको गुट सधैका लागि डिसमिस हुनु हो ।

‘बिना विभागीय मन्त्री’ का रुपमा पोखरेलको राजनीतिक भूमिका र उच्चाई बढ्ने हैन, झनझन घट्ने छ । जागिर र सुविधाका लागि जस्तोसुकै पद लुरुलुरु स्वीकार गर्ने नेताका रुपमा उनको चित्रण हुन थाल्नेछ । ओली इतर खेमाले उनलाई भित्रैदेखि विश्वास गर्ने छैन । ओली खेमाले पनि प्रयोग मात्र गर्ने तर भर नपर्ने मान्छेका रुपमा लिने छ ।

पोखरेलको राजनीतिक जीवन नयाँ मोड र संकट निकट देखिन्छ । तर विचरा, उनी आफैं अन्यौलमा छन् । ईश्वर पोखरेलको अन्यौल मनोदशाले उनलाई भगवान भरोसे मार्गको यात्रामा मात्र सीमित गराउने निश्चित छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay