scheduleबिहिवार कार्तिक ६ गते, २०७७

चिनियाँ सरकारनिकट ग्लोबल टाइम्सले हुम्ला सीमा विवादबारे यस्तो लेख्यो

काठमाडौं, १ कात्तिक । पिपुल्स चाइना डेली चिनियाँ कम्युनिष्ट पार्टीको दैनिक मुखपत्र हो । ग्लोबल टाइम्स विदेशी तथा अंग्रेजी पाठकलाई दृष्टिगत गरी प्रकाशित हुने त्यसको सहप्रकाशन । नेपाली सञ्चार माध्यममा चीनले हुम्लाको सीमाक्षेत्रमा सीमा मिचेको विन्दू भनेर चर्चामा रहेको क्षेत्रबारे ग्लोबल टाइम्सको गत शुक्रबारको अनलाइन संस्करणमा रिपोर्टर बाई युन्हीको नाममा एक रिर्पोट प्रकाशित छ । ‘पिपुल्स चाइना डेली’‘ग्लोबल टाइम्स’का धारणाहरु चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको निकट हुने हुँदा चिनियाँ दृष्टिकोणलाई बुझ्न उक्त समाचार यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ-

नेपालमा केहीले आरोप लगाइरहेको चीनले नेपालको भूमि मिचेको भनिएका हुम्ला जिल्लाका घरहरु चिनियाँ भूभागभित्रै पर्दछन् । यो वास्तवमा चीनको दक्षिण-पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको बुराङ काउन्टीमा नयाँ बनाइएको अली क्षेत्रको गाउँ हो,’ बुराङ काउन्टीका अधिकारीले शुक्रबार एक विशेष अन्तर्वार्तामा ग्लोबल टाइम्सलाई बताए ।

बुराङ काउन्टी वैदेशिक सम्बन्ध कार्यालयका निर्देशक बाकीले भने कि मे महिनामा निर्माण कार्य प्रारम्भ हुँदा सैनिक तथा स्थानीय प्रशासन कर्मचारीले सर्वेक्षण गरेका थिए । नापी नक्सा कर्मचारीहरुले बनाइनुपर्ने भवनहरु चिनतिरै पर्नेगरी स्थलगत विस्तृत नापजाँच गरेका थिए । बाकीले अगाडि भने, ‘त्यो गाउँ पुरै चीनतिर पर्दछ । सीमासँग सबैभन्दा नजिकको घर नेपाल–चीन सीमादेखि एक किमी टाढा छ ।’ उनले गाउँ निर्माणको कार्य सम्पन्न हुन लागेको समेत बताए ।

नेपालमा केही मान्छेहरुले प्रश्न उठाएपछि सर्वेक्षण कर्मचारीहरुले दोस्रोपटक स्थलगत नापी गरेका छन् । यो झनै प्रष्ट भएको छ कि ती सबै घरहरु बुराङ काउन्टीमै पर्दछन् । यो गाउँ सीमा व्यापारलाई बढावा दिन बसाईएको हो । बाकीको भनाईमा नेपालको सीमा सुरक्षा बलले निर्माण प्रक्रियाका बेला कुनै विवाद गरेको थिएन ।

नेपाली विपक्षी दल (नेपाली कांग्रेस) को एक समूहले त्यस क्षेत्रको स्थलगत निरीक्षण गरी केही मिडियालाई दिएको रिपोर्ट अनुसार यी घरहरु पिलर नम्बर १२ पार गरेर नेपालतिर २ किमी भित्रसम्म पसेका छन् । जबकी यो नयाँ गाउँ पिलर नम्बर ११ र १२ को बीचमा बनाइएको छ ।

घटनालाई नजिकबाट नियालिरहेको एक स्रोतले बताए अनुसार पिलर नम्बर ११ र १२ धेरै अग्लो स्थानमा एकअर्कादेखि निक्कै टाढा छन् । यस्तो ठाउँमा पहाडको भिरालो चरित्रअनुरुपको सीमारेखाको प्रवृत्ति हुन्छ । यस्ता ठाउँमा गैरपेशागत सर्वेक्षकहरुले सजिलै गल्ती गर्ने सम्भावना हुन्छ । स्रोतका अनुसार नेपाली सर्वेक्षण टोलीले प्राविधिक गल्ती गरेको हुनु पर्दछ ।

सीमा निर्धारणपछि नेपाल र चीन सरकारले ३ पटक संयुक्त सीमा निरीक्षण गरिसकेका छन् । त्यतिखेर कुनै समस्या देखिएको थिएन । नेपाल र चीनबीच अहिलेसम्म कुनै सीमा विवाद देखिएको थिएन ।

चीन–नेपाल सीमा सम्झौता अनुसार पिलर नम्बर ११ र १२ को बीचमा सीमारेखाले माप्चु (कर्णाली) नदीलाई पछ्याउँछ । यो चिलोसा (ताकुले) पहाडको टुप्पो हुँदै उत्तरपश्चिमतिर जान्छ । कुमालाप्चे, काङपोङचेङकु, मानेपामाङको हुँदै काङगार्चेतिर जान्छ । त्यसपछि काङगुम्पेङ (कान्डुम्बु) हुँदै उत्तरतिर लाग्दछ र नालाकान्करको ६५५० मिटरमा पुग्दछ । नालाकान्करदेखि सीमारेखा सामान्यतः उत्तरपुर्वतिर लाग्दछ । मानसरोवार लेक र हुम्ला कर्णाली नदीका सहायक जलाधारहरु नालाकन्कर भन्ज्याङदेखि लाप्चे भन्ज्याङ हुँदै जान्छन् ।

नेपाली संचार माध्यमहरुको अनुसार नेपालस्थित चिनियाँ राजदूतावासले ती भू-क्षेत्र चिनतिरै पर्ने प्रष्ट गरिसकेको छ । नेपालले चाहेमा रुजु गर्न सक्ने बताइएको छ । नेपालका अधिकारीहरुले चीनले नेपालको भूमि मिचेको भन्ने कुराको खण्डन गरिसकेका छन् ।

अझै केही भारतीय मिडियाहरु यो घटनामा नेपाली सेन्टिमेन्टलाई उचाल्न खोजिरहेका छन् । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनालाई भारतपरस्त शक्तिको रुपमा प्रचार गर्दैछ ।

वास्तवमा भारतको नेपालसँग लामो सीमा विवाद छ । भारतीय सरकारले सन् २०१९ मा नयाँ नक्सा प्रकाशित गर्दा नेपालसँग विवादित क्षेत्रलाई समेत आफ्नो नक्सामा समावेश गरेको थियो । यसले दुई देशबीचको सीमा विवादलाई झनै चर्कायो । नेपालले पनि आफ्नो नयाँ नक्सा प्रकाशित गर्‍यो । त्यसमा कालापानी र अन्य क्षेत्रहरु सामेल गरियो ।

गत सेप्टेम्बरमा चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेले ग्लोबल टाइम्ससँग भनेका थिए की भारतीय मिडिया बायस हुन सक्दछन्, उनीहरुले घटनालाई गलत दिशातिर मोड्न फेक न्युज प्रकाशित गर्ने र प्रोपागण्डा गर्ने गर्दछन् । नेपाल र चीनको मित्रता र सहकार्य स्वभाविक रहेको राजदूत पाण्डेको भनाई थियो ।

राजदुतले यो पनि भनेका थिए कि चीन र नेपालका बीचका केही सीमा विवाद थिए तर दुवै देशका नेताहरुले सन् १९६० मै त्यो हल गरिसकेका हुन् । जबकी भारत र नेपालका सीमा भने सीमांकनको समस्या अझै हल भइसकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay