scheduleबिहिवार कार्तिक ६ गते, २०७७

न्युजिल्याण्डमा ज्यासिन्डाको पार्टीलाई भारी बहुमत, ‘८० वर्षपछि सबैभन्दा ठूलो विजय’

काठमाडौं, १ कात्तिक । न्युजिल्याण्डमा शनिवार भएको मतदानको प्रारम्भिक नतिजा प्राप्त भएको छ । नतिजाअनुसार प्रधानमन्त्री ज्यासिन्डा अर्डनको लेबर पार्टीले एकल बहुमत प्राप्त गर्ने निश्चित भएको छ । १२० सदस्सीय संसदमा लेबरले ६४ सीट जितेको छ । यद्यपि यसको औपचारिक घोषणा हुन भने अक्टोबर २७ सम्म पर्खिनु पर्नेछ ।

न्युजील्याण्डको ५३ औं संसदीय निर्वाचन गत सेप्टेम्बर १९ मा हुनुपर्ने थियो । तर, कोभिड–१९ को कारण केही हप्ता सारिएको थियो ।

न्युजिल्याण्डको यो चुनावलाई विश्वभरी नै उत्सुकताको साथ हेरिएको थियो । कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता पाएको भन्दै प्रधानमन्त्री ज्यासिन्डा अर्डनको विश्वभरीका सञ्चार माध्यमले व्यापक प्रसंशा गरेका थिए । ४० वर्षीया प्रधानमन्त्री अर्डन समकालीन विश्वका समकक्षीमध्ये सबैभन्दा कुशल र सफल प्रधानमन्त्रीको रुपमा प्रसंशित थिइन् ।

१२० सिट भएको न्युजिल्याण्डको संसदमा ७२ सिट पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गतको प्रत्यक्ष निर्वाचन क्षेत्रबाट र बाँकी ४८ सिट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रचलन छ । प्रधानमन्त्री अर्डनको लेवर पार्टीले गत संसदीय निर्वाचनमा ४६ सीट प्राप्त गरी दोस्रो भएको थियो । उनले लेबर, एनजेएफ र ग्रिन पार्टीको गठबन्धन सरकार चलाएकी थिइन् ।

गठबन्धन सरकारको नेतृत्व गर्ने अवसरले ज्यासिन्डालाई आफ्नो निष्ठा, लगनशिलता र कार्यक्षमता प्रस्तुत गर्ने अवसर दियो । त्यसको प्रतिफल शनिबारको निर्वाचन देखिएको छ । मतदाताले ज्यासिन्डालाई उत्साहजनक समर्थन दिएका छन् । न्युजिल्याण्डका एक राजनीतित्र विश्लेषक ब्राइस एडबर्डका अनुसार यो इतिहासमा ८० वर्ष पछाडिको सबैभन्दा ठूलो विजय हो ।

लेबर पार्टीले प्रत्यक्ष तर्फ ४३ र समानुपातिकतर्फ २१ सिट पाएको छ । ४९ प्रतिशत मत हासिल गरेको छ । प्रमुख विपक्षी दल भने २६ र ९ गरी जम्मा ३५ सिटमा समेटिएको छ भने ३६.८ प्रतिशत मत मात्र हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दल नेशनल पार्टीकी नेता जुडिथ कलिन्सले आफ्नो पार्टीको हार स्वीकार गर्दै लेवर पार्टीलाई बधाई तथा शुभकमना दिएकी छन् । न्युजिल्याण्डभरी उत्साहको व्यापक माहौल सृजना भएको छ ।

सन् २००७ देखि निरन्तर विपक्षमा रहेको लेवर पार्टीलाई ज्यासिन्डा अर्डनले आफ्नो नेतृत्व कालमा सरकारमा ल्याएकी थिइन् । उनले न्युजिल्याण्डको निक्कै पुरानो दललाई युवा नेतृत्वमार्फत् पुनर्जीवन दिएकी थिइन् । आफ्नै प्रधानमन्त्रीकालमा दललाई प्रष्ट बहुमत दिलाएकी छिन् ।

न्युजिल्याण्डमा गत फेब्रुअरीमा कोरोनाको पहिलो केस भेटिएको थियो । बितेका ९ महिनामा १८७० मात्र संक्रमित र २५ जनाको मात्र मृत्यु भएको छ । ज्यासिन्डाले १५ मार्चमा १४ दिने राष्ट्रिय आइसोलेशन घोषणा गरेकी थिइन् भने मार्च २५ बाट लकडाउन गरिएको थियो । मेमा कोरोनामुक्त देश घोषणा गरिएको थियो तर त्यसको एक हप्ताभित्रै फेरि कोरोना देखिएको थियो । न्युजिल्याण्डमा अहिले छिटफुट कोरोना संक्रमण मात्र देखिने गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay