scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

न्युजिल्याण्डमा पुरानो पार्टीलाई पुनर्जीवन दिएको ज्यासिन्डा विजयको विश्वसन्देश

साझापोस्ट टिप्पणी

काठमाडौं, २ कात्तिक । न्युजिल्याण्ड र प्रधानमन्त्री ज्यासिन्डा अर्डन फेरि एकपटक विश्व चर्चामा छन् । ज्यासिन्डा र न्युजिल्याण्ड केही वर्ष पहिलेदेखि नै निरन्तर चर्चामा रहँदै आएका छन् । तर, शनिवारको निर्वाचनले पुनश्चः चर्चा चुलिएको छ ।

समकालीन विश्वमा न्युजिल्याण्डको खासै सामरिक महत्व छैन । यो विश्व शक्ति राष्ट्र पनि हैन । न्युजिल्याण्ड दक्षिण–पश्चिमी प्रशान्त किनारमा अवस्थित ‘कमनवेल्थ’ राष्ट्र हो । कुनैबेला यो देश माओरी जातीय समुदायको राज्य थियो । अंग्रेज साम्राज्यसँगै त्यहाँ ‘बेलायती गोरा’हरु पुगे । रैथाने समुदाय बिस्तारै अल्पमतमा परे । आज पनि न्युजिल्याण्ड बेलायतकी महारानीलाई आफ्नो ‘मानार्थ राष्ट्र प्रमुख’ मान्दछ ।

क्षेत्रफलमा न्युजिल्याण्ड विश्वको ७५औं ठूलो राष्ट्र हो । प्रशान्त सागरका हजारौं ससाना टापुहरु यसका सामेल छन् । जनसंख्यामा भने १२०औं स्थानमा छ । करिब ५० लाख मात्र जनसंख्या छ । तर, मानवीय विकास सुचकाङ्कमा भने यो देश उच्च १४औं स्थानमा छ । ४० हजार डलर बढी प्रतिव्यक्ति आय छ ।

न्युजील्याण्डमा लेबर पार्टीको स्थापना सन् १९१६ मा भएको थियो । ‘कमनबेल्थ’ राष्ट्रहरुमा लेबर पार्टी एकप्रकारले बेलायती साम्राज्यकै उपहार थियो । बेलायतको लेबर आन्दोलन र लेबर पार्टीको उदयसँगै अधिकांश उपनिवेशिक देशमा पनि लेबर पार्टी बनेका थिए । न्युजिल्याण्डको लेबर पार्टी त्यो बेला बेलायती लेबर पार्टीको शाखा जस्तो थियो । देश स्वतन्त्र भएसँगै लेबर पार्टी पनि स्वतन्त्र भयो ।

संसारभरिकै लेबर पार्टीहरु सिद्धान्ततः सेन्टर– लेफ्ट पार्टीहरु हुन् । तर, यस्ता पार्टीहरु उत्तिकै प्रग्माटिष्ट हुन्छन् । न्युजिल्याण्डको लेबर पार्टीमा पनि यी दुवै चरित्र सँगसँगै थियो । सँगसँगै छ । यो न्युजिल्याण्डको सबैभन्दा पुरानो पार्टी पनि हो ।

सन् १९३० मा लेबर पार्टी पहिलोपटक न्युजिल्याण्डको सत्तामा पुगेको थियो । त्यसपछि यो पार्टीको तर्फबाट १० प्रधानमन्त्री भइसकेका छन् । सन् २००८ देखि लेबर पार्टी निरन्तर प्रतिपक्षमा थियो । यो पार्टीप्रतिको विश्वास कम हुँदै गएको थियो । यही परिदृष्यमा न्युजिल्याण्डको राजनीतिमा ज्यासिन्डा अर्डनको उदय भयो ।

सन् २००८ को निर्वाचनमा उनी पहिलोपटक समानुपातिक संसद बनेकी थिइन् । त्यतिखेर उनी २८ वर्षकी थिइन् । लेबर प्रधानमन्त्री हेलेन क्लार्कको कार्यकालमा एक अनुसन्धानकर्ताको रुपमा उनी प्रधानमन्त्रीको कार्यालय छिरेकी थिइन् । क्लार्कले उनलाई जागिरेबाट लेबर एक्टिभिष्ट बनाइन् ।

सन् २०१७ मा ज्यासिन्डाले प्रत्यक्ष निर्वाचन निर्वाचन क्षेत्रबाट जितिन्, साथै चुनौतीहीन ढंगले लेबर पार्टीको नेता बनिन् । उनले नेतृत्व हासिल गर्दा लेबर पार्टीको जम्मा १४ सीट थियो । आफ्नो नेतृत्वकालको पहिलो चुनावमै ४६ सीटमा पुर्‍याएन । सन् २०१७ को चुनावमा उनको पार्टी दोस्रो भएको थियो । तर यसले उनलाई गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर थियो । पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ३७ वर्षको थिइन ।

ज्यासिन्डा प्रधानमन्त्री भएसँगै विश्व सञ्चार माध्यमको ध्यान उनीतिर तानियो । उनी निरन्तर चर्चा र प्रसंशाको पात्र बनिन् । युवा तथा महिला नेतृत्व उनीप्रतिको आकर्षणको एउटा कारण हुनसक्छ । तर, त्यो भन्दा बढी उनको चर्चा ‘गुणस्तरीय नेतृत्व’ को कारणले हुने गर्‍यो । उनको कार्यशैलीमा मानवीय संवेदनायुक्त सोच, चुस्त व्यवस्थापकीय क्षमता, जिम्मेबार अभिव्यक्ति, सुशासन, निरन्तर आर्थिक प्रगति, विपक्षीप्रतिको सहिष्णुता, समन्वय, सहकार्य र गतिशिलता अभिव्यक्त भए ।

विश्वभरि साँघुरो राष्ट्रवाद र डेमागग कार्यशैलीको बिगबिगी रहेको बेला उनी फरक प्रकारको राजनीतिक नेतृत्व बन्न पुगिन् । करिबकरिब थला परेको देशकै पुरानो पार्टीलाई नयाँ पुस्ताबीच उनले लोकप्रिय मात्र बनाइनन्, सरकारमा पनि पुर्‍याइन र शनिवारको चुनावपछि एकल बहुमत पनि हासिल गराइन् ।

शनिवारको निर्वाचनमा लेबर पार्टीले एकल बहुमत हासिल गरेको छ । १२० सदस्सीय संसदमा लेबरले ६४ सीट जितेको छ । अझ महत्वपूर्ण कुरा ४९ प्रतिशत समानुपातिक भोट प्राप्त गरेको छ । न्युजिल्याण्डको यो चुनावलाई विश्वभरि उत्सुकताको साथ हेरिएको थियो । विश्व संचारमाध्यममा उनको जुन प्रकारको चर्चा र प्रसंशा थियो, त्यो वास्तविक हो वा कृत्रिम भन्ने जिज्ञासा थियो । स्वयम् न्युजील्याण्डका जनता र मतदाताले भने उनलाई कसरी हेरिरहेका छन् भन्ने प्रश्न थियो ।

कोभिड–१९ को वैश्विक महामारीपछि ज्यासिन्डाको लोकप्रियता झनै चुलियो । उनीले यो महाव्याधी रोक्न तत्परता मात्र देखाइन्, सफलता समेत हासिल गरिन । उनले कोभिड–१९ रेस्पोन्समा चीनका राष्ट्रपति सी जिन पिङलेझैं रणनीतिक योजना बनाइन् र त्यसको नेतृत्व आफैं गरिन् । न्युजिल्याण्ड अहिलेसम्म कोरोनाबाट अत्यन्त न्यून मानवीय क्षति भएको देशमध्ये पर्दछ ।

न्युजिल्याण्डमा गत फेब्रुअरीमा कोरोनाको पहिलो केस भेटिएको थियो । बितेका ९ महिनामा १८७० मात्र संक्रमित र २५ जनाको मात्र मृत्यु भएको छ । ज्यासिन्डाले १५ मार्चमा १४ दिने राष्ट्रिय आइसोलेशन घोषणा गरेकी थिइन् भने मार्च २५ बाट लकडाउन गरिएको थियो । मेमा कोरोनामुक्त देश घोषणा गरिएको थियो तर त्यसको एक हप्ता भित्रै फेरि कोरोना देखिएको थियो । न्युजिल्याण्डमा अहिले छिटफुट कोरोनाका केस देखिने गरेका छन् । तर मानवीय क्षति भने रोकिएको छ ।

ज्यासिन्डा र लेबर पार्टी यो सफलता विपक्षीविहीनताको अवसरबाट उपलब्ध भएको हैन । न्युजिल्याण्डमा बलियो बिपक्ष थियो । दोस्रो पार्टीको नेताका रुपमा ज्यासिन्डा गठबन्धन बनाएकी थिइन् । जुडिथ कोलिन नेतृत्वको नेशनल पार्टी संसदमा पहिलो पार्टी थियो । ज्यासिन्डाले बलियो प्रतिपक्षी दल र लोकप्रिय विपक्षी नेताको सामना गर्नु परेको थियो । शनिवारको निर्वाचनमा प्रमुख विपक्षी दल भने प्रत्यक्ष २६ र समानुपातिक ९ गरी जम्मा ३५ सीटमा समेटिएको छ भने २६.८ प्रतिशत मत मात्र हासिल गरेको छ ।

ज्यासिन्डाको दिग्विजयले न्युजिल्याण्डमा खुशीयाली र उत्साहको महौल सृजना गरेको छ । साथसाथै समकालीन विश्वलाई केही सन्देश पनि दिएको छ । सन् २०१० यताको विश्व साँघुरो राष्ट्रवाद, डेमागग कार्यशैली र लोकरिज्याँइवादको युग हो, त्यसको अरु कुनै विकल्प छैन भन्नेहरुलाई न्युजिल्याण्डको निर्वाचन परिणामले गतिलो झापड हानेको छ ।

अग्रगामी तथा प्रगतिशील सोच राख्ने सेन्टर लेफ्ट पार्टीहरुले सहिष्णुता, समावेशिता, समृद्धि र सुशासनको नेतृत्व गर्ने ताकत अझै राख्दछन् भन्ने प्रमाण न्युजिल्याण्डले समकालीन विश्वलाई दिएको छ । आसन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा समेत यसको प्रभाव पर्न सक्दछ ।

नेपालजस्ता देशले सिक्न चाहेमा न्युजिल्याण्डको नेतृत्व शैली र प्रारुपबाट धेरै कुरा सिक्न सक्दछ । नेतृत्वको मानक सधै अमेरिका, रुस, बेलायत, भारत र चीनजस्ता ठूला देशलाई बनाउन जरुरी छैन । ठूला र शक्तिशालीभन्दा असल र सफल नेतृत्व हाम्रा लागि बढी प्रेरणादायी हुन सक्दछ । यस सन्दर्भमा ज्यासिन्डाको दिग्विजय नेपालका लागि प्रेरणाको बिषय हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay