scheduleशुक्रवार मंसिर १९ गते, २०७७

कोरोना-कालमा नेपाल–भारत सीमाञ्चल क्षेत्रका गाउँहरुको अनुभव

मनोज सिंह

विहारको सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत नेपालको सीमानामा पर्दछ । दशगजामा खाँडो नदी बग्दछ । यहाँनेर यो नदीले दुई देशबीचको सिमाना निर्धारण गर्दछ ।

शनिवार दिउँसो नदीको उत्तरतिर नेपालको सशस्त्र प्रहरीका जवानहरू गस्ती गर्दै हुन्छन् । सिमानाको यतातिर एसएसबीका जवानहरू ।

नेपालतिरबाट केही मान्छे पैदल आइरहेका हुन्छन् । त्यही बेला नेपाल सशस्त्र प्रहरीका जवानले सिट्ठी बजाउँछन् । केही बेरपछि बोर्डरको यतापट्टीबाट पनि एसएसबीका जवानले सिट्ठी बजाउन थाल्छन् ।

पहिलो कुरा त यो बुझ्न सकिन्नँ कि दुवै देशका जवानले सिट्ठी किन बजाएका हुन् । फेरि एसएसबीको एक जवान सिट्ठी बजाउँदै त्यस दिशातर्फ दौडिन्छ कि जताबाट केही मानिस नेपालबाट भारततिर आइरहेका हुन्छन् ।

त्यसमा केही महिला पनि थिए । यी मानिस करिब ५०० मिटर घुमेर बाटो हिड्नुको साटो नदी तरेर आउँदै थिए ताकी केही छिटो होस् । एसएसबीको त्यो जवान उनीहरू नजिक पुगेर चेतावनी दिन्छ कि उनीहरू नदी तरेर हैन, निर्धारित बाटो हुँदै आऊन् ।

नेपाल-भारत सीमामा नेपालबाट आउने र जाने दुवैतर्फ सुरक्षाकर्मीले लगातार निगरानी र पुछताछ गरिरहेका हुन्छन् ।

नेपालतिर खँडो नदीसँग जोडिएको एउटा बाटो बन्दै छ, त्यहाँ दर्जनौं मोटरसाइकल रोकिएका हुन्छन् । यी सबै मान्छे नेपालतिर मोटरसाइकल रोकेर भारततिर बजार गर्न आएका हुन् ।

दुवै देशको सीमा बन्द भएको कारण सवारी साधनको आवतजावतमा रोक लगाइएको छ । कोरोना कालको प्रारम्भमा पैदल आवतजावत गर्न समेत रोक थियो । अहिले खुलेको डेढ महिना जति भयो ।

भारत–नेपाल सीमा कोरोनाको कारणले मार्च २४ देखि बन्द छ । नेपालले यही दिन आफ्नो देशमा लकडाउन घोषणा गरेको थियो । त्यसको भोलिपल्ट भारतमा पनि लकडाउन गरियो ।

तस्बिरः मनोज सिंह

कोरोनाको कारण भारत–नेपाल सीमा बन्द भएको ७ महिना पूरा हुन लाग्यो । नेपालको सरकारले नोभेम्बर १५ सम्मका लागि बोर्डर बन्द गर्ने अवधि बढाएको छ । नेपालसँगको बोर्डर यति लामो बन्द यसअघि कहिल्यै भएको थिएन । सीमाबन्दीको कारण दुवै देशका सीमा इलाका र गाउँका मान्छेहरूले धेरै कठिनाईहरू सामना गर्नु परिरहेको छ ।

नेपाल–भारतको सीमा संसारका अरु कुनै पनि देशका सीमाभन्दा बिल्कुलै फरक छ । दुवै देशको बोर्डरको बीचमा दश गजको एक खुल्ला चौर हुन्छ, जसलाई दशगजा भनिन्छ । यसलाई नो मेन्स ल्याण्ड पनि भनिन्छ ।

दुवै तर्फ न कुनै काँडे तारबार छ न भारी सैनिक तैनाथी । खुल्ला सीमा भएको कारण नेपालका मान्छे भारततिर र भारतका मान्छे नेपालतिर आउने-जाने गरिरहन्छन् । कतिपय नाकामा आउने जाने सवारी साधनको सीमा शुल्क लिने भारततिर सीमा शुल्क कस्टम र नेपालतिर भन्सार कार्यालयहरू छन् । यी कार्यालयबाट आवश्यक औपाचारिकता पुरा गरी आवतजावत गर्न सकिन्छ ।

नेपाली नागरिकलाई नजिकको रेलवे स्टेशनसम्म आउनजान कुनै औपचारिकता जरुरी पर्दैन । भारतीय नागरिकलाई नेपालको सीमा बजारहरूसम्म पुग्न एउटा पुर्जा काट्नु पर्दछ ।

मानिस आउन जान यी नाकाहरू मात्र हैन, विभिन्न दिहाती कच्ची सडक र पैदल मार्गहरू समेत प्रयोग गर्दछन् । सीमावर्ती भारतीय बजारहरू नेपाली नागरिकमै ज्यादा निर्भर हुन्छन् । नेपाली नागरिक दैनिक आवश्यकताका सामना किनमेल गर्न भारतीय नेपाली बजारको तुलनामा भारतीय बजार मन पराउँछन् किनकी यहाँ खाद्यान्न, लताकपडा आदि चिज नेपालको भन्दा सस्तो हुन्छ ।

त्यसैगरी भारतीय ग्राहक भने मसलाहरू, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामानहरू नेपालको बजारमा किन्न मन पराउँछन् । यी चिज नेपालमा भारतीय बजारको तुलनामा सस्तो र गुणस्तरीय हुन्छ ।

तर कोरोनाको बोर्डरबन्दीले स्थितिलाई निक्कै फरक बनाएको छ । लकडाउनका प्रारम्भिक महिनामा आवतजावत पूर्णतः बन्द रह्यो । यहासम्म की श्रमिकहरूले घर फर्किंदा समेत आफ्नो देशको सीमानाको पारिपट्टी क्वारिन्टिनमा बस्नु पर्‍यो ।

खै किन हो, केही समयपछि दुवै देशका श्रमिकहरूको आवत जावत खुल्ला गरियो । फेरि केही समयपछि बन्द गरियो । मालवाहक सवारी साधनको आवतजावतलाई भने कहिल्यै रोकिएन ।

लकडाउन समाप्त भएपछि अगष्टदेखि सीमावर्ती बजार खुलेका त छन् तर आवतजावत बन्द भएको हुँदा बिक्री नगन्य वा शून्य बराबर छ ।

कुनौलीमा साना ठूला ३५० दोकान छन् । शनिवार र मंगलबार यहाँ साप्ताहिक बजार लाग्दछ । यहाँ नेपालको सप्तरी जिल्लाको जिल्ला सदरमुकाम राजबिराजसम्मका मान्छे किनमेल गर्न आउँछन् । सीमाबन्दी भन्दा पहिला साप्ताहिक बजारमा निक्कै ठूलो भीड हुन्थ्यो । अधिकांश ग्राहक नेपालतिरबाटै आउँथे ।

कुनौलीका कपडा व्यापारी तथा व्यापार संघका अध्यक्ष राधेश्याम गुप्ताका भाइ श्याम गुप्ता भन्छन्, ‘आज शनिबारे हाटको दिन हो तर हामी सुख्खा बसेका छौं । एक दुई ग्राहक आउँछन् । पहिले पुरै बजार भरिएको हुन्थ्यो ।’

श्याम गुप्ता अगाडि भन्छन्, ‘कुनौलीमा मात्रै प्रतिदिन एक हज्जार नेपाली किनमेल गर्न आउँथे । शनिवार र मंगलवार त यो संख्या तीन गुणले बढ्थ्यो । कुनौलीको पूर्वमा कोशी नदी छ । उत्तर पूर्वमा नेपाल । हाम्रो पुरै बजार नेपालमा निर्भर हुन्छ । यदी बोर्डर धेरै दिन बन्द रह्यो भने यहाँको बजार नै समाप्त हुन्छ ।’

उनले यो पनि भने कि निरन्तरको बन्दका कारण व्यापारीले घरभाडा तिर्न सकिरहेका छैनन् । कुनौलीका १० दोकानदारले पेशा छोडेका छन् । उनीहरूको कस्मेटिक, किराना र जुत्ताचप्पलको दोकान थियो । गुप्ता भन्छन्, ‘जब ग्राहक नै आउँदैन, बिक्री नै हुँदैन, व्यापारीले कसरी कमाउँछ, के भाडा तिर्छ, के खान्छ ?’

सीमाबन्दीको सबैभन्दा ठूलो असर व्यापारीलाई परेको छ तर आम नागरिकका कठिनाई पनि कम छैनन् । सीमा इलाकामा भारतीयहरूका नातेदार नेपालतिर छन् । उनीहरू एकअर्काकोमा आउन जान पाएका छैनन् ।

कुनौली बथनाहाका बृजेश महतोकी पत्नी नेपालको सप्तरी जिल्लाकी हुन् । उनी भन्छन्, ‘नेपालको राजविराजमा राम्रो अस्पताल छ । श्रीमती बिमार थिइन् । उनलाई मोटर साइकलमा लिएर हनुमाननगर गए, त्यहाँबाट राजविराज जानु पर्‍यो । बोर्डर बन्द हुँदैनथ्यो भने कुनौलीको बाटो सिधै राजविराज जान सकिन्थ्यो ।’

महतो अगाडि भन्छन्, ‘बोर्डर बन्दीमा पनि श्रीमती दुईपटक माइत गइन् । मैले उनलाई मोटरसाइकलमा कुनौलीसम्म छोडिदिएँ । मोबाइलमा फोन गरेर उनको भाइलाई बोलाइदिएँ । पैदल सीमा पार गरेर उनी भाइको मोटर साइकलमा गइन् ।’

डागमारा पञ्चायत सिकरहट्टाका वंशीनारायाण मेहता भन्छन् कि उनका अधिकांश नातेदार नेपालतिरै छन् । यो गाउँका धेरै केटाकेटीहरूको बिहे नेपालतिर भएको छ । बारम्बार आउन जान पर्दछ । बोर्डर बन्दले गर्दा अप्ठ्यारो भएको छ तर काम परेपछि कसरी कसरी आई जाई गर्नैपर्छ । उनी भन्छन् कि कतिपयको त खेतीबारी पनि दुवैतिर छ ।

कुनौलीको मात्र हैन, विहार र उत्तर प्रदेशका धेरै सीमावर्ती क्षेत्रहरूको यस्तै स्थिति छ । नेपालबाट विहारको पश्चिम चम्पारण, पूर्वी चम्पारण, मधुबनी, सीतामाडी, सुपोलअदि जिल्लाका आधाभन्दा बढी बजार कुनौली, हनुमाननगर, रक्सौल, जयनगर, लौकही, बीरगन्ज, इनरुवा, भिट्टाभोड आदि नाकाको नजिक छन् । यी सबै क्षेत्रको स्थिति उस्तैउस्तै छ ।

उत्तरप्रदेशका महाराजगञ्ज जिल्लाका सुनौली, भगवानपुर, बरददवा, ठुठीबारी लक्ष्मीपुर, झुलनीपुर आदि गाउँबाट नेपालतिर ठूलो संख्यामा आवतजावत हुन्छ । बोर्डर बन्दपछि यी क्षेत्रहरू सुनसान जस्तो छन् ।

सीमा नाका बन्द छन् । सुरक्षाकर्मीले रोकटोक गर्दछन् । तर सर्वसाधारण विभिन्न भित्री पैदल मार्ग हुँदै आउन जान बाध्य छन् । दुवै तर्फका खुद्रा व्यापारी निरास छन् । उनीहरूलाई आफ्नो पेशा नै समाप्त हुने भय छ ।

यी व्यापारीहरूलाई आशा थियो, नेपालतिर दशैं हुँदा सीमा खोलिएला । दशैं नेपालमा धुमधामले मनाइन्थ्यो । भारतीय बजारहरूको व्यापार ह्वात्तै बढ्थ्यो । तर नेपाल सरकारले नोबम्बर १५ सम्म सीमाबन्दीको समय बढाएपछि त्यो आशा पनि सकिएको छ ।

सुनौली नेपाल–भारत नाकामध्ये सबै भन्दा ठूलो नाका हो । यहाँ बोर्डरदेखि १५ किमीसम्म मालबाहक सवारी साधनको लामो लाइन लागेको छ । ट्रकहरूलाई बोर्डर पार गर्न एक हप्तासम्म लाग्ने गरेको छ । कतिपय गाडीका कच्चा सामना बाटो मै खराब हुने गरेका छन् ।

नेपालको सीमा भेट्न ६ किमी यता नौतनवा बाइपासमा मैले अक्टुबार ८ मा ट्रक ड्राइभर आविद खान र समनदीप सिंहलाई भेटेको थिएँ । आबिद खानले भने कि उनी अक्टोबर २ को रातिदेखि यहाँ छन् । चन्दौलीबाट कोइला लिएर हिडका हुन् । थाहा छैन कहिले पालो आउँछ । उनलाई नेपालको बुटबल जानु छ । बाटोमै कोइला सुकेर बजन घट्यो भने १० हज्जारसम्मका घाटा हुन्छ । १० दिनमा एक ट्रिप पुरा हुन्थ्यो । यही तरिकाले त महिना दिनमा एक ट्रिप नहोला जस्तो छ । यही सडकमा खाना बनायो, खायो यसरी कतिन्जेल चल्ला ?

लुधियानाबाट कपडा लिएर आएका समनदीप सिंह ६ दिनदेखि जाममा फसेका छन् । आक्रोशित सिंह भन्छन्, ‘यहाँ कुनै व्यवस्था छैन । हामी काजतपत्र बनाएर पालो पर्खेर बसेका छौं । घुस दिनेहरूले दोस्रो लेनबाट खुइखुई गाडी पार गर्दैछन् ।’

सुनौलीका कपडा दोकानदार अतुल जयसवाल भन्छन् कि उनलाई दशैंमा बोर्डर खुल्ला हुने आशा थियो । तर फेरि बोर्डर बन्दी भएपछि दिनभरि खाली बस्नु बाहेक अरु कुनै काम छैन । जयसवालका अनुसार सुनौलीका ८० प्रतिशत पसल लकडाउनपछि खुलेका छन् तर बिक्री भने छैन । उनका अनुसार सुनौलीका करिब ५०० पसल सबै नेपालमा निर्भर थिए । कतिपय पसल त सधैका लागि बन्द भए ।

यहाँ केही थोक व्यापारी पनि छन् । उनीहरू लाइसेन्स बनाएर आयात निर्यातको काम गर्दछन् । सीमाबन्दीले खुद्रा व्यापारी चौपट हुँदा थोक व्यापारीले भने नेपालका व्यापारीहरूबाट अर्डर पाइरहेका छन् । भारततिर आउने खुद्रा ग्राहक नेपालतिरै रोकिएपछि त्यहाँ माग बढेको हुनु पर्दछ । सायद त्यसै ले यहाँ थोक व्यापारीलाई आउँने अर्डर बढेको हुनु पर्दछ ।

ठुठीबारीबाट नेपालको महेशपुर जाने बाटो पुरै चकमन्न छ । घोला नदीको किरानैकिरार नेपालतिरबाट थोरै मानिस आउने जाने गर्दछन् । म ती मान्छेको फोटो खिच्न खोज्छु । तर स्थानीय राधेश्याम पाण्डे मलाई रोक्न खोज्छन् । उनी भन्छन् कि यस्ता फोटो एसएसबीले देख्यो भने पैदल यात्रामा पनि कडाई गर्छ । कयौंपटक त्यस्तो भएको छ । नेपालतिरबाट आएका पैदलयात्रा घर फर्किन नदिएर सीमनामा घण्टौं एसएसबीले ठिङ्ग्याएको छ ।

पाण्डे भन्छन्, ‘अक्टोबरको पहिलो हप्ता यो गाउँका एक मान्छेको मृत्यु नेपालको नवलपरासी जिल्लामा भयो । नेपाल पुलिसले शव भारत लान अनुमति दियो तर एसएसबीले आउन दिएन । हारगुहार गर्दा पनि मानेनन् । दश जगामै लामो समय शव रह्यो, जब भीड बढ्न थाल्यो, प्रदर्शन र नाराबाजी भयो अनि मात्र आउँन दियो ।’

सीमा क्षेत्रमा प्रत्येक दिन केही न केही यस्ता घटना हुने गरेका छन् । विहार पश्चिम पञ्चारण जिल्लाको चकदहवा एसएसबी पोष्टका एक अधिकारी भन्छन–‘ नेपालबाट हामी कसैलाई आउन दिन सक्दैनौं । जब बोर्डर बन्दको आदेश छ, कसरी आउन दिने ? नेपालको सशस्त्र प्रहरीले पनि त्यही गरिरहेको छ, उताबाट जानेहरू रोक्ने गर्छ ।’

बोर्डर बन्दले सृजना गरेका समस्याबारे दुवै देशका सरकार निस्फिक्री देखिन्छन् । यस बिषयमा दुवै देशका सरकारबीच कुनै सार्थक कुराकानी भएको छैन । वंशी नारायण मेहता भन्छन्, ‘नेपालभारतका मान्छेबीच यस्तो सम्बन्ध छ कि कसैले चाहेर आवतजावत रोकिँदैन । सरकारहरूले बोर्डरमा पर्खाल नै किन नलगाउन्, मान्छेले कुनै न कुनै चोर बाटो निकालिहाल्छन् ।’

-द वायरको हिन्दी संस्करणबाट

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay