scheduleबिहिवार मंसिर १८ गते, २०७७

सुरेन्द्र पाण्डे महासचिव बन्दै, प्रचण्ड थर्काउने नेपाल फकाउने ओलीको तयारी

काठमाडौं, ५ कात्तिक । सत्ताधारी नेकपा भित्रको विवादले नयाँ मोड लिन थालेको छ । यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्ष मिलेको भन्दै १५ बुँदामा असन्तुष्टी राख्दै आएका वरिष्ठ नेता माधव नेपाल एकाएक ओलीसँग नजिकिएपछि यस्तो मोड आएको हो ।

विशेषगरी पार्टी निर्णय कार्यान्वयन, सरकार सञ्चालन र महत्वपुर्ण नियुक्तिमा ओली र प्रचण्डले कानेखुशी गरेर आफुलाई सधैं धोका दिएको भन्ने नेता नेपाल एकाएक ओलीसँग नजिक हुनु रहस्यमय छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच केहि दिनदेखी खट्पट भएको चर्चा चलिरहँदा नेता नेपाल ओली भेट्न बालुबाटार पुग्नुलाई संयोग मात्रै मान्न नसकिने एक नेता बताउँछन् । मंगलबार मात्रै ओली र नेपाल बिच झण्डै ३ घण्टा कुराकानी भएको स्रोतको दाबी छ ।

पछिल्लो मन्त्रीपरिषद हेरफेर र राजनीतिक नियुक्तिहरु मापदण्डविपरीत भएको भन्दै असन्तुष्ट रहेका नेता नेपाललाई ओलीले केही मुख्यमन्त्री र पार्टी पदाधिकारीमा नेपाल पक्षका नेताको नामै लिएर फकाएका थिए । प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा नेपाल पक्षको अष्टलक्ष्मी शाक्य वा राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिने र पार्टी महासचिव विष्णु पौडेलको ठाउँमा नेपाल पक्षकै नेता सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको भन्दै ओलीले नेपाललाई फकाएको स्रोतको भनाई छ ।

पछिल्लो मन्त्रीपरिषद हेरफेरमा अर्थमन्त्री बनेपछी पौडेललाई महासचिवबाट हटाउन ओलीलाई सजिलो भएको छ । यता एमालेको महाधिवेशनमा ६ भोटले पराजीत भएका सुरेन्द्र पाण्डेलाई महासचिव बनाउँदा सकारात्मक सन्देश जाने र प्रचण्ड पक्षले पनि बिरोध गर्न नसक्ने भन्दै ओलीले पछिल्लो सुरेन्द्र कार्ड प्रयोगमा ल्याएको पुर्व एमालेका एक नेताले बताए ।

ओलीसँग पटक–पटक भेट गरेर कानेखुसी मात्रै गर्ने तर दह्रोसँग कुरा राख्‍न नसक्ने भन्दै नेता नेपालले प्रचण्डको समेत आलोचना गर्दै आएका थिए । सोही कारण नेपाल पनि प्रचण्डसँग टाढा हुनसक्ने र पूर्वएमाले एक ठाउँमा उभिएर माओवादी पक्षलाई पाखा लगाउने रणनीतिमा ओली पुगेको बुझिएको छ । पार्टीको कर्णाली विवाद र मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आएको अविश्वास प्रस्तावबारेको छलफल पनि कसरी टुङ्गियो भन्ने धेरैलाई अन्यौल छ । कर्णाली विवादबारे दुई अध्यक्षका सचिवालयले छुट्टाछुट्टै प्रेस नोट जारी गरेका छन् ।

नेकपामा पछिल्लो समिकरणले प्रचण्ड पक्षलाई थप चुनौती थपिएको विश्लेषकहरुको दाबी छ । प्रचण्ड थर्काउने र नेपाल फकाउने अभियानमा लागेका प्रधानमन्त्री ओलीले यसमा बाजी मारे भने पूर्व एमालेको छुट्टै पार्टी बन्न सक्ने अड्कलबाजी समेत सुरु भएको छ । एकातिर पूर्वमाओवादी खेमाका केही नेता ओलीसँग निकट बन्दै जानु र अर्कोतिर ओली–प्रचण्ड सम्बन्ध चिसो अनि ओली–माधव सम्बन्ध सुमधुर हुँदै जानुले नेकपाको माटोको घैंटो कुनैपनि बेला फुट्न सक्ने स्वयं नेकपा नेताहरु बताउँछन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay