scheduleशनिवार मंसिर २० गते, २०७७

यी हुन् दोस्रो कार्यकालका लागि चुनाव हारेका अमेरिकी राष्ट्रपति, ट्रम्पको के होला ?

काठमाडौं, ५ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान हुने दिन नोभेम्बर ३ आउन अब करिब २ हप्ता मात्र बाँकी छ । अमेरिकामा मात्र हैन, विश्वभरि उत्सुकता झनझन चुलिँदै गएको छ– ट्रम्प हार्लान् वा जित्लान् ? सर्वेक्षण परिणामहरुले जो वाडनको अग्रता बढ्दै गएको वा ट्रम्पको लोकप्रियता घट्दै गइरहेको देखाउँदैछन् ।

तर, आशंकाको अर्को कोण बाँकी नै छ– सन् २०१६ को निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई अधिकांश ‘अपिनियन पोल’ ले अग्रता दिएका थिए । उनले ट्रम्पको भन्दा करिब ३ करोड बढी लोकप्रिय मत ल्याइन् । तर निर्वाचन मण्डलको बहुमत हासिल गर्न सकिनन् । कतै यसपटक पनि त्यस्तै हुने त हैन ।

ट्रम्प हार्न सक्ने दर्जनौं कारण छन् । कोरोना महाब्याधीको गलत रणनीति, नश्लवाद, आर्थिक मन्दी र बेरोजगारी मुख्य कारण हुने बताइन्छ । तर गोरो राष्ट्रवादको भावना र प्रतिस्पर्धी उम्मेद्वार जो वाइडनको कमजोर व्यक्तित्वले अन्ततः पुनश्चः ट्रम्प नै आउने सम्भावना समाप्त भएको भने छैन ।

कतिपयले अमेरिकी राष्ट्रपति निर्वाचनमा सामान्यतया दोस्रो कार्यकालका लागि हराउने प्रवृत्ति नभएको हुँदा ट्रम्पका लागि यो सम्भावना बाँकी नै रहेको तर्क गर्दछन् । अमेरिकी इतिहासमा पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि निर्वाचनमा हारेका उदाहरण नै भएको चाहिँ हैन । तर त्यस्तो संख्या तुलनात्मक रुपमा निक्कै कम छ । सन् १७७९ यताको २४१ वर्षमा १० जना बहालवाला राष्ट्रपति मात्र दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हारेका छन् ।

सबैभन्दा पछिल्लो पटक सन् १९९२ मा जर्ज डब्लु बुस बिल क्लिन्टनसँग हारेका थिए । नोभेम्बर ३ को निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भएमा उनी बितेका २८ वर्षमा दोस्रो कार्यकालका लागि चुनाव हार्ने पहिलो राष्ट्रपति हुनेछन् ।

दोस्रो कार्यकालका लागि चुनाव हार्ने पहिलो राष्ट्रपति जोहन अडम्स थिए । उनी जर्ज वासिङ्टनपछि दोस्रो राष्ट्रपति थिए । सन् १७७९ को चुनावमा आडम्स थोमस जेफरसनसँग हारेका थिए ।

जोहन क्वेन्सी आडम्स छैठौं राष्ट्रपति थिए । उनी सन् १८२५ देखि १८२९ सम्म अमेरिकाको राष्ट्रपति थिए । सन् १८२८ को निर्वाचनमा उनी एन्ड्रु ज्याक्सनसँग हारेका थिए ।

आठौं राष्ट्रपति मार्टिन भोन बुरेनको पहिलो कार्यकाल सन् १८३७ देखि १८४१ सम्म रह्यो । जब सन् १८४१ मा दोस्रो कार्यकालको लागि भएको निर्वाचन उनी विलियम हेनरी ह्यारिसनसँग पराजित भएका थिए ।

२२ औं राष्ट्रपति स्टेफन ग्रोभर क्लिभल्याण्ड सन् १८८४ को चुनाव जितेर सन् १८८८ को चुनाव हारेका थिए । तर, रमाइलो कुरा सन् १८९२ को निर्वाचन उनले फेरी जिते र २४ औं राष्ट्रपति बने । यसरी बीचको एक चुनाव हारेर फेरी अर्को चुनाव जित्ने स्टेफेन अमेरिकी इतिहासका एक मात्र व्यक्ति हुन् ।

स्टेफेनले दोस्रो कार्यकालको चुनाव बेन्जामिन ह्यारिससँग हारेका थिए । तेस्रो चुनावमा फेरि उनले बेन्जामिन हयारिसलाई पराजित गरे । ह्यारिस दोस्रो कार्यकाल चुनाव नजित्ने राष्ट्रपतिको सूचिमा दरिन पुगे ।

२७ औं राष्ट्रपति विलियम टाफ्ट पनि दोस्रो कार्यकाल चुनाव नजित्ने राष्ट्रपतिमा पर्दछन् । उनको पहिलो कार्यकाल सन् १९०९ देखि सन् १९१३ सम्म थियो । सन् १९१२ को निर्वाचनमा उनी बिल्ड्रो विल्सनसँग हारेका थिए ।

३१ औं राष्ट्रपति रोबर्ट हुभर सन् १९२८ मा राष्ट्रपति भई सन १९३२ को निर्वाचनमा फ्राङ्कलिन डि रुजबेल्टसँग हारेका थिए ।

३८ औं राष्ट्रपति जेरार्ड फार्डले सन् १९७७ को चुनावमा जिमी कार्टरसँग हारेका थिए । तर, उनी पहिलो कार्यकालका लागि निर्वाचित राष्ट्रपति थिएनन् । उनी रिचार्ड निक्सनका उपराष्ट्रपति थिए । रिचार्ड निक्सन बाटर गेट काण्डमा राजीनामा दिन बाध्य भएपछि जेरार्डले राष्ट्रपतिको पद सम्हालेका थिए ।

फोर्डलाई पराजित गरी ३९ औं राष्ट्रपति जिम्मी कार्टर पनि एक कार्यकालमै सीमित भए । सन् १९८० को चुनावमा रोनाल्ड रेगन एक जादुगरी राजनीतिज्ञमा रुपमा उदाए । उनले निक्कै भद्र, असल र लोकप्रिय भनेका जिमी कार्टरलाई दोस्रो कार्यकालका लागि पराजित गरिदिए ।

सन् १९९२ को चुनावमा बिल क्लिन्टनको उदय उत्तिकै चमत्कारिक युवा राजनीतिज्ञका रुपमा भयो, जसले जर्ज डब्लु बुस सिनियरजस्ता प्रभावशाली राष्ट्रपतिलाई ४२ वर्षको हुँदा पराजित गरिदिए । बुस अमेरिकको ४१ औं राष्ट्रपति थिए ।

बिल क्लिन्टनले दुवै कार्यकाल जितेका थिए । त्यसपछिको राष्ट्रपति जर्ज बुस जुनियर र बाराक ओबामाले पनि दुवै कार्यकाल जितेका थिए ।

दुई हप्ता बाँकी छ, हेरौं डोनाल्ड ट्रम्पको भाग्य कस्तो हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay