scheduleबुधवार मंसिर १० गते, २०७७

कर्णालीको ‘अविश्वासको प्रस्ताव’ले केन्द्रमै अविश्वास मडारियो, अन्ततः सुर्खेतमै छिनोफानो

काठमाडौं, ६ कात्तिक । मुलुकमा कोरोना संक्रमणले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र निरन्तर आन्तरिक किचलो बढिरहेको छ । दुई तिहाई बहुमत नजिक रहेको पार्टी र सरकारको ध्यान रोग नियन्त्रणतिर जानुपर्नेमा पार्टीभित्रकै विवादमा रुमल्लिएको छ । केन्द्रको विवाद केही मत्थर भइरहेकै बेला कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गर्ने पूर्व एमाले समूहको कामले विवाद पुनः ब्युतिएको छ ।

संघीय राजधानीमा एक साता लामो गृहकार्य र छलफल गर्दा पनि सहमति नजुटेपछि अन्ततः नेकपाको कर्णाली प्रदेश विवाद फेरि प्रदेश राजधानी सुर्खेतमै फर्केको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानबारे मंगलबार परस्पर विरोधी फरक–फरक प्रेस नोट जारी गरेपछि कर्णाली प्रदेशको विवाद प्रदेश राजधानी सुर्खेतमै फर्किएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तावपछि सुरु भएको कर्णाली प्रदेश सरकार विवाद मिलाउन दुई अध्यक्ष ओली र प्रचण्डले प्रदेश पार्टी नेतृत्वलाई २९ असोजमै काठमाडौं बोलाएका थिए । तर, त्यसबीच विभिन्न चरणमा छलफल भए पनि मंगलबार दुई अध्यक्ष ओली र प्रचण्डबीच समाधानको विकल्पमा विवाद देखिएपछि विवाद बोकेर प्रदेश पार्टी नेतृत्व सुर्खेतमै फर्केको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवाद प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वले समाधान गर्ने समझदारी भएको प्रेस नोट जारी गरेपछि मुख्यमन्त्री शाहीसहित वरिष्ठ नेता माधवकुमार नेपालनिकट प्रदेशका नेताहरू काठमाडौंबाट कर्णाली फर्किएका छन् । उता दुई अध्यक्षबीच चारबुँदे सहमति भएको दाबीसहित ओली पक्षले सहमति कार्यान्वयन हुनुपर्ने मुद्दा उठाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको निर्देशनअनुसार २९ असोजमा कर्णाली प्रदेशका नेताहरू काठमाडौं आएका थिए । तर काठमाडौं आएपनि विवाद भने मिल्न सकेन । प्रदेशको विवादले केन्द्रमा समेत असर पारेको छ । केन्द्रमै विवाद टुङ्गिन नसक्दा त्यसको प्रभाव प्रदेशमा अझै बढ्ने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

कर्णाली प्रदेशको विवाद सुल्झाउन दलका प्रमुख तीन नेताबीच नै फरक समीकरण देखिन थालेपछि त्यसले सरकार सञ्चालनमा समेत प्रभाव पर्ने देखिएको छ ।

नेकपाभित्र माधव नेपाल-प्रचण्ड खेमाले केपी ओलीको नेतृत्वमा यस्तो काम भएको आरोप लगाएको छ । केन्द्रतिर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपाल समूहसँग सम्बन्ध बनाउन चाहिरहेका छन् । यद्यपि, नेपाल समूहले भने ओली समूहलाई अहिले नै भर पर्न नसकिने र व्यवहार र कार्यशैली सच्याउनुपर्नेमा जोड दिँदै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay