scheduleमगलवार मंसिर १६ गते, २०७७

यस्तो छ विहारको चुनावी माहौल

रजत शर्मा

बुधबार राति ‘आजकी बात’ मा हामीले विहारको मधुबनी, खगडिया, बेतिया, आरा, पटना, बक्सर, हाजीपुर र राघोपुरजस्ता स्थानबाट आम मतदाताको मुड बताउने प्रयास गर्‍यौं । इण्डिया टिभीका रिपोर्टरहरुले यी स्थानका आम मतदातासँग कुरा गरे ।

कुराबाट प्रष्ट हुन्थ्यो कि मुख्यमन्त्री नीतिशकुमार विरुद्ध मानिसमा असन्तोष छ । यी इलाकाहरुमा एन्टी–इन्कम्बैंसी प्रष्ट अनुभूत गर्न सकिन्छ । यहाँ प्रधानमन्त्री नरेन्द्र मोदी मात्र गेम चेन्जर सावित हुन सक्दछन्, जो शुक्रबारदेखि चुनाव प्रचारको मैदानमा उत्रिनेवाला छन् ।

राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनलाई सामना गर्ने क्षमता नितिश कुमारले गुमाएजस्तो देखिन्छ । अब प्रधानमन्त्री मोदीले नै त्यो काम गर्नुपर्ने हुन्छ ।

विहार विधानसभा निर्वाचनमा भाजपाका ठूल्ठूला हस्तीहरुले चुनावी मोर्चा सम्हालेका छन् । भाजपा अध्यक्ष जयप्रकाश नड्ढा, उत्तरप्रदेश मुख्यमन्त्री योगी आदित्य नाथ, रक्षामन्त्री राजनाथ सिंह प्रचारमा उत्रिसकेका छन् । यिनीहरुले मतदाताको रुझान पक्कै नापेको हुनु पर्दछ कि मतदाता यस पाली बदलाब चाहिरहेका छन् ।

भाजपाको नेताहरुले पनि यो बुझिसकेका छन् कि नितिशकुमारको १५ वर्षे शासनकालप्रति अब मानिस सन्तुष्ट छैनन् । नितिश कुमारले विहारमा १५ वर्षसम्म शासन गरे । पहिले भाजपाको गठबन्धनबाट, फेरि राष्ट्रिय जनता दलसँगको महागठबन्धनबाट । फेरि उनी महागठबन्धनबाट पनि निस्किए र फेरी भाजपा नेतृत्वको एनडिए गठबन्धनमा सामेल भए ।

यहाँनेर प्रश्न उठ्छ कि मानिस मुख्यमन्त्रीसँग किन असन्तुष्ट छन् ? इन्डिया टिभीका रिपोटर्सहरुसँग मानिसले गरेको कुरा सुन्दा लाग्छ कि उनीहरु विहारको चुनावी तस्बिरबारे स्पष्ट छन् । चुनाव लड्ने लडाउने दुवै खाले नेताहरुले मान्छेको मनको कुरा बुझिसकेका छन् । भाजपा नेताहरुले अब नितिशको १५ वर्षे शासनले जन्माएको जनअसन्तुष्टिबारे बुझ्न बाँकी रहेजस्तो लाग्दैन ।

रजत शर्मा

कोरोनाकालको गलत व्यवस्थापन होस् वा बाढीको समयमा सरकारको अनुपस्थिति, मान्छेले यी कुरा बिर्सन सकेका छैनन् । तेजस्वी यादब हुन वा चिराग पासवान वा उपेन्द्र कुशवाह उनीहरुलाई राम्रो थाहा छ कि बिहारी मतदातामा प्रधानमन्त्री मोदीको व्यक्तित्वको अमिट छाप अझै छ तर नितिश कुमारप्रति मान्छे असन्तुष्ट छन् ।

टिभी रिपोर्टरसँगको कुराकानीमा कुनै पनि मतदाताले प्रधानमन्त्री मोदीविरुद्ध कुरा निकाल्न चाहेनन् । उनीहरुको मुडले प्रष्ट भन्थ्यो यसपाली नितिश कुमारलाई भोट दिने मन त थिएन तर मोदीजीले उनैलाई समर्थन गरेपछि हामी बाध्य भयौं । कसैले पनि नितिश कुमारको समर्थनमा बोल्न चाहेन ।

अर्कोतिर राष्ट्रिय जनता दलका नेता तथा मुख्यमन्त्रीका विपक्षी दाबेदार तेजस्वी यादवले पनि जनताको मुड बुझिरहेका छन् । यही कारणले होला, उनी आफ्ना भाषणमा केवल नितिश कुमारलाई नै निशाना बनाउँछन् । उनी बारम्बार नितिश कुमारका कामको चर्चा र आलोचना गर्दछन्, प्रधानमन्त्री मोदीको नाम समेत लिदैनन् । उनलाई थाहा छ कि आम विहारी मतदातामा अझै प्रधानमन्त्री मोदीप्रति गहिरो लगाव छ ।

चिराग पासवान त साफ–साफ भन्ने गर्दछन् कि उनी मोदीका प्रसंशक हुन्, तर यो पटक नितिश कुमारलाई कुनै पनि मूल्यमा फेरि सत्तामा आउन दिनु हुँदैन । भाजपाका हस्तीहरु चाहे योगी आदित्यनाथ हुन् वा जेपी नड्ढा, राजनाथ सिंह हुन् वा रविशंकर प्रसाद सबै मोदीको नाममा भोट मागिरहेका छन् । उनीहरु आफ्नो भाषणमा बिर्सेर पनि नितिश कुमारको नाम उल्लेख गर्दैनन् ।

अब मोदी आफै प्रचारमा उत्रिनेछन् । शुक्रबार मात्र मोदीका ३ र्‍याली हुनेछन् । विहार चुनावको सन्दर्भमा मोदीले कुल १२ चुनावी सभामा भाग लिने छन् । एनडिए उम्मेद्वारहरुलाई आशा छ कि मोदीका र्यालीहरु गेम चेन्जर हुन सक्दछन् । मोदीले मतादातालाई यो याद दिलाउन सक्दछन् कि एन्टी–इन्कम्बैंसीको नाममा गलत निर्णय लिनु राम्रो हुँदैन । उनले राष्ट्रिय जनता दलको त्यस अघिको १५ वर्षे कुशासन मतदातालाई याद गराउने छन् ।

अहिले स्थिति यस्तो छ कि नितिश कुमारलाई आफैप्रति भरोसा छैन । एन्टी–इन्कम्बैंसीको भयले उनी आफै कमजोर अनुभूति गर्दैछन् । उनी आफू र आफ्ना कामको भन्दा धेरै प्रचार मोदीको व्यक्तित्वकै गरिरहेका छन् ।

अर्कोतिर लालु यादव भ्रष्टाचारको मुद्दामा सजाय काटिरहेका छन् । उनी अढाई वर्षदेखि जेलमा छन् । यस्तो बेला राष्ट्रिय जनता दलको चुनावी प्रचारको सम्पूर्ण भार तेजस्वी यादवमाथि छ । तेजस्वीले ९ कक्षासम्म मात्र पढेका छन् । उनी क्रिकेटका खेलाडी थिए । उनले सत्तामा आए भने १० लाख युवाहरुलाई रोजगारी दिने आश्वासन दिइरहेका छन् । उनले युवा मतदातामा उत्साह पैदा गर्न व्यापक प्रयास गरिरहेका छन् ।

चुनाव प्रचारमा तेजस्वीको मेहनत जबरजस्त छ । ती मान्छे जो तेजस्वीलाई राजनीतिको बच्चा सोचिरहेका थिए, उनको मेहनत, उनका र्यालीमा जम्मा भइरहेका मान्छेको भीड र जनतासामु प्रस्तुत हुने तरिका देखेर हैरान छन् । बुधबार मात्र तेजस्वीले १२ बटा र्‍याली भ्याए ।

एक दिनमा १२ बटा र्‍याली, यो कुनै चानचुने कुरा हैन । तेजस्वी लामो भाषण गर्दैनन् । उनी रैथाने बिहारी ठेठीमा कुरा गर्दछन् । तेजस्वी आफ्ना भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम समेत लिदैनन् । नत अरु कुनै भाजपा हस्तीको नै चर्चा गर्दछन् । उनी केवल नितिश कुमारमाथि केन्द्रित हुन्छन् । केवल विहारको मात्र कुरा गर्दछन् ।

राष्ट्रिय जनता दल, कांग्रेस, वाम दलहरु र अन्य साना दलहरुलाई मिलाएर बनाइएको महागठबन्धनको कर्णधारका रुपमा तेजस्वी अगाडि आएका छन् । युवा मतदाताबीच तेजस्वीको चर्चा व्यापक हुँदै गएको छ । तर प्रभाव कस्तो पर्दछ, त्यसका लागि नोभेम्बर १० को चुनावी नतिजासम्म पर्खिनुपर्ने हुन्छ ।

(शर्मा वरिष्ठ भारतीय पत्रकार हुन् । यो आलेख उनको निजी ब्लगबाट भावानुवाद गरी प्रकाशन गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay