scheduleबिहिवार मंसिर १८ गते, २०७७

चेन्‍नईमाथि सहज जीत निकाल्दै मुम्बई आइपिएलको शीर्षस्थानमा

चेन्‍नई प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, ८ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा मुम्बई इन्डियन्सले सहज जीत हात पारेको छ । प्रतियोगितामा सातौं जीत दर्ता क्रममा उसले चेन्‍नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्‍यो ।

चेन्‍नईले दिएको ११५ रनको सामान्य लक्ष्य मुम्बईले १२.२ ओभरमा कुनै विकेट नगुमाई भेटाएको हो । मुम्बईका इशान किशन ६८ र क्विन्टन डिकक ४६ रनमा अविजित रहे ।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले खराब सुरुवात गरेको थियो । टोलीले ३ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो भने ३० रन बनाउँदा थप ३ जना गुमाएको थियो । यद्यपि त्यसपछि आएका बाँयाहाते अलराउन्डर साम करानले उत्कृष्ट पारी खेल्दै टोलीको इनिङ उकासे ।

चेन्‍नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रनको सामान्य योगफल तयार गर्‍यो । २०औं ओभरको अन्तिम बलमा बोल्ड हुनुपूर्व करानले ५२ रन जोडे । उनीबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । कप्तान महेन्द्रसिंह धोनीले १६ रन बनाए । अन्त्यतिर इमरान ताहिर पनि १३ रनमा अविजित रहे । मुम्बईका ट्रेन्ट बोल्टले ४ जसप्रीत बुमराह र राहुल चहरले २-२ तथा नेथन कुल्टरनाइलले १ विकेट हात पारे ।

आइपिएल इतिहासमा चेन्‍नई कुनैपनि टिमसँग १० विकेटले पराजित भएको यो पहिलोपटक हो । मुम्बईका नियमित कप्तान रोहित शर्मा चोटका कारण आराममा रहेकाले यस खेलमा कप्तानको जिम्मेवारी कायरन पोलार्डलाई दिइएको थियो ।

जीतसँगै ११ खेलबाट १४ अंक जोडेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित चेन्‍नई ६ अंकसहित पुछारमा रहेको छ ।

यो हारसँगै चेन्‍नईको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । लिग चरणमा उसले खेल्न बाँकी ३ खेल अब प्रतिष्ठाको लागि मात्र हुनेछ । आइपिएल इतिहासमा चेन्‍नई प्लेअफमा छनौट नभएको यो पहिलोपटक हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay