scheduleसोमवार मंसिर १५ गते, २०७७

चेन्‍नई पहिलोपटक आइपिएलको प्लेअफमा छनौट हुन असफल, यस्तो छ आजसम्मको यात्रा

काठमाडौं, ८ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा प्लेअफका खेलहरु नजिकिदैँ छन् । प्लेअफ भनेपछि धेरै दर्शकहरुको मनमा आउने पहिलो नाम हुन्छ चेन्‍नई सुपर किङ्स । हुन पनि हो २०१९ सम्म खेलेका सबै सिजनहरुमा चेन्‍नई प्लेअफमा पुगेको छ त्यो पनि शानदार शैलीमा ।

सुरुवातदेखि नै स्टार खेलाडी महेन्द्रसिंह धोनीको कप्तानीमा रही तीनपटकको विजेता टिम समेत रहेको चेन्‍नई सुपर किङ्सलाई यसपटक भने प्लेअफमा खेलेको देख्‍न पाइने छैन । यस सिजनमा चेन्‍नई खराब लयमा देखिएको छ । खेलेका ११ खेलमध्ये ३ मा मात्र जीत निकाल्न सकेको चेन्‍नई अंकतालिकाको पुछारमा रहेको छ । अब खेल्न बाँकी ३ खेल चेन्‍नईको लागि केवल प्रतिष्ठाको लडाइँ हुनेछ वा आफुलाई अंकतालिकामा केही माथि भएपनि पुर्‍याउनु हुनेछ ।

आइपिएलका १३ वर्षमा दुई संस्करण प्रतिबन्धका कारण सहभागिता नजनाएको चेन्‍नई ११ वटा संस्करणमा भने प्लेअफमा पुगेकै छ । आजसम्मको चेन्‍नई सुपर किङ्सको यात्रा कस्तो छ त ? आउनोस् चर्चा गरौं ।

आइपिएल २००८

सन् २००८ मा आइपिएलको पहिलो संस्करण आयोजना भएको थियो । यस सिजनमा महेन्द्रसिंह धोनीलगायत अन्य स्टार खेलाडीहरुलाई चेन्‍नईले किनेको थियो र धोनीलाई नै कप्तानको जिम्मेवारी दिइएको थियो । यस सिजन १४ खेलमध्ये ८ मा जीत हात पार्दै चेन्‍नई अंकतालिकाको तेस्रो स्थानमा रहेको थियो । त्यसपछि सेमिफाइनलमा किङ्स इलाभेन पञ्‍जाबलाई हराएको चेन्‍नई फाइनलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।

आइपिएल २००९

समूह चरणका १४ खेलबाट १७ अंकसहित सेमिफाइनलमा स्थान बनाएको चेन्‍नई सेमिफानलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित हुँदै फाइनल पुग्‍नबाट वञ्‍चित भएको थियो ।

आइपिएल २०१०

समूह चरणमा ७ खेल जित्दै १४ अंकसहित चेन्‍नई तेस्रो स्थानमा रहेर सेमिफाइनलका लागि छनौट भएको थियो । सेमिफाइनलमा डेक्कन चार्जर्सलाई ३८ रनले हराउँदै चेन्‍नई फाइनलमा पुग्‍यो । फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराउँदै चेन्‍नईले पहिलोपटक आइपिएलको उपाधि जितेको थियो ।

आइपिएल २०११

यस संस्करणको आइपिएलमा दुई नयाँ टोली थपिएका थिए । १० टोली सम्मिलित समूह चरणमा दोस्रो स्थानमा रहँदै चेन्‍नई नकआउटका लागि छनौट भएको थियो । क्‍वालिफाइङ फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै चेन्‍नई फाइनलमा प्रवेश गर्‍यो । फाइनलमा पुन: बैंगलोरलाई नै हराउँदै चेन्‍नईले लगातार दोस्रोपटक उपाधि जित्‍न सफल भयो ।

आइपिएल २०१२

सन् १०१२ को आइपिएलमा चेन्‍नई मुस्किलले प्लेअफका लागि छनौट भएको थियो । इलिमिनेटरमा मुम्बई इन्डियन्सलाई हराएको चेन्‍नईले क्‍वालिफाइङ फाइनलमा दिल्लीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलमा भने कोलकातासँग पराजित हुँदै चेन्‍नईले उपाधिको ह्‍याट्रिक गर्ने मौका गुमायो ।

आइपिएल २०१३

समूह चरणका १६मध्ये ११ खेल जित्दै चेन्‍नई तालिकाको शीर्षस्थानमा रहँदै प्लेअफका लागि छनौट भयो । पहिलो क्‍वालिफायरमा मुम्बईलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको चेन्‍नईले पुन मुम्बई नै प्रतिद्वन्द्वीका रुपमा पायो । यसपटक भने मुम्बईले बाजी मार्‍यो र चेन्‍नई एकपटक पुन: फाइनलमा पराजित हुन पुग्यो ।

आइपिएल २०१४

सन् २०१४ को आइपिएलमा तेस्रो स्थानमा रहेर प्लेअफका लागि छनौट भएको चेन्‍नईले इलिमिनेटरमा मुम्बई इन्डियन्सलाई हराउँदै दोस्रो क्‍वालिफायरमा पुग्‍यो जसमा किङ्स इलाभेन पञ्जाबसँग २४ रनले पराजित हुँदै फाइनल पुग्‍नबाट वञ्‍चित भयो ।

आइपिएल २०१५

सन् २०१५ को आइपिएलमा चेन्‍नई शीर्षस्थानमा रहेर प्लेअफका लागि छनौट भयो । फाइनलमा मुम्बई इन्डियन्ससँग पराजित हुँदै चेन्‍नई उपाधि जित्‍नबाट वञ्‍चित भयो ।

आइपिएल २०१६ र २०१७

सन् २०१६ र १७ को आइपिएलमा चेन्‍नई सुपर किङ्स र राजस्थान रोयल्स म्याच फिक्सिङ प्रकरणका कारण प्रतिबन्धमा परेका थिए । सोहीकारण चेन्‍नई र राजस्थानको स्थानमा राइजिङ पुणे र गुजरात लायन्स खेलेका थिए । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुणे २०१६ मा तालिकाको सातौं स्थानमा रहेको थियो भने २०१७ मा फाइनलमा मुम्बईसँग १ रनले पराजित भएको थियो ।

आइपिएल २०१८

प्रतिबन्ध फुकुवा भएपछिको पहिलो सिजन चेन्‍नई सुपर किङ्स अंकतालिकाको दोस्रो स्थानमा रहेर प्लेअफका लागि छनौट भयो । त्यसपछि पहिलो क्‍वालिफायर र फाइनल दुवै खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्‍नईले तेस्रोपटक आइपिएलको उपाधि जित्यो ।

आइपिएल २०१९

यस संस्करणमा चेन्‍नई प्लेअफमा पुग्‍ने पहिलो टोली रहेको थियो । कीर्तिमानी आठौंपटक फाइनलमा पुगेको चेन्‍नई मुम्बईसँग १ रनले पराजित हुँदै उपाधि जित्‍नबाट वञ्‍चित रह्‍यो ।

सन् २०२० मा भने चेन्‍नईको प्रदर्शन सोचेअनुरुप हुन नसक्दा ३ खेल खेल्नुअगावै प्रतियोगिताबाट बाहिरिएको छ । यस संस्करणको पहिलो खेलमा मुम्बईलाई हराएर चेन्‍नईले आफ्नो दावेदारी प्रस्तुत गरेको थियो तर त्यसपछिका खेलहरुमा किङ्स इलाभेन पञ्‍जाब र सनराइजर्स हैदराबादलाई मात्र हराउन सक्यो ।

जस्तो कि हिन्दीमा भनाइ छ ‘हम तो डुबे सनम् साथमे आपको भि ले डुबेङ्‍गे’, यसरी नै अब बाँकी ३ खेलमा चेन्‍नईले प्लेअफ दौडमा रहेका टोलीहरुलाई हराएको खण्डमा प्लेअफ दौड थप रोमाञ्‍चक हुन भने अवश्य सक्ने छ । विशेषगरी चौथो स्थानको टोलीको टुंगो लाग्‍न बाँकी रहेको छ । दिल्ली, मुम्बई र बैंगलोर प्लेअफका लागि छनौट हुने लगभग निश्‍चित भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay