scheduleशुक्रवार मंसिर १२ गते, २०७७

परदेशीको चिट्ठी- कोरोनाबाट बच्दै दशैं मनाऔं, आफ्नो सुरक्षा आफैं गरौं

रुद्र दाहाल

आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदी बहिनीहरु,
सादर प्रणाम।

विगतका वर्षहरु झैं यस वर्ष पनि चाडवाड धमाधम आएका छन् । मनमा उमङ्ग र हौसला आउनु स्वाभाविक हो । तर विगत झैं अहिले सबैमा उत्साह, जाँगर र हौसला नभई मानिसहरुमा एक किसिमको डर, त्रास र निरस भाव देखिन्छ । यो हुनु स्वभाविक पनि हो किन भने कोरोना महामारीबाट संसारभर लाखौं मानिसहरुले ज्यान गुमाउनु परेको पीडा तपाईं हाम्रो सामु छर्लङ्ग छ ।

यो विपदको घडीमा चाडपर्व मनाउने रमाइलो गर्ने भन्दा पनि आफु र आफ्नो परिवारलगायत कसरी अरुलाई यो महामारीबाट बचाउने भनी सोच्नु पहिलो प्राथमिकता हो । चाडपर्वहरु त फेरि पनि आउँछन्, ज्यान रहे चाडबाड फेरि मनाउँला । आउँदा वर्षहरुमा सँगै बसेर रमाइलो गरौंला । नेपालमा मात्र हैन यस वर्ष संसारैभरी धेरै चाडबाड र कार्यक्रमहरु स्थगित गरिएका र धेरै पर्वहरु आफ्नो परिवारमा मात्र सीमित गरेर मनाईएका छन् । ज्यानभन्दा ठूलो अरु केहि हुँदैन ।

कोरोनाबाट संसार विछट्टै थलिएको छ, जुनकुरा सबैमा जाहेरै छ । यसले धनी, गरिब, विकसित, अविकसित सबै देशहरुमा धेरै मानिसहरुलाई आक्रान्त पारेको छ ।

फरक यति हो कि धनी र विकसित देशहरुले आफ्ना नागरिकहरुलाई यसबाट बचाउन अधिक प्रयास गरेका छन् र देशको सम्पूर्ण स्रोत र साधन यसका लागि खर्च गरेका छ । रातारात अस्पताल निर्माण गरेका छन् भने बिरामीको उपचारका लागि आवश्यक पर्ने सामान तुरुन्त तयार गरेका छन् । तर हाम्रो देशमा भने न त अस्पताल बने न त सरकारले कुनै तयारी नै गरेको छ । हुँदा हुँदा त सुन्दै छु अब त कोरोनाको उपचार खर्च समेत बिरामी आफैंले व्यहोर्नु पर्ने रे ! खोई देशमा सरकारको उपस्थिति ?

तसर्थ यसको व्यवस्था आफैंले नै गर्नुपर्ने हुँदा सजगता अपनाई आफ्नो र आफन्त अनि त्यसपछि अरुको बचावटको लागि ध्यान दिनु होला । यो भाइरस नियन्त्रण गर्ने मुख्य जिम्मा तपाईं हाम्रै हातमा छ । सामान्य उपायहरुबाट नै यसबाट बच्न सकिन्छ । अहिलेको अवस्थामा यो महामारी त्यहाँ चरम गतिमा फैलिरहेको र मौजुदा स्वास्थ्य अवस्थाले धान्न सक्ने अवस्था देखिँदैन् । यस्तो अवस्थामा यसबाट बच्नु नै उत्तम उपाय हो जुन सम्भव पनि छ । यसैले रोग लागि सकेपछि यसको उपचार गर्नुभन्दा यसको बाटो छेक्नु नै राम्रो होइन र ? दशैंका कारण मानिसहरु कोरोना फैलाउने माध्यम नबनून् । दशैं मान्ने र रमाइलो गर्ने निहुँमा कसैको ज्यान खतरामा नपरोस् ! माता दुर्गा भवानीले यो महामारीबाट सबैलाई बचाऊन्, यही छ सबैलाई यस वर्षको विजया दशमीको शुभकामना !

यहाँनिर ध्यान दिनु पर्ने कुरो केहो भने दशैंमा हामी ठूलाबडा मान्यजनहरुबाट टिका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्ने हो जहाँ की कोरोनाले हालसम्म संसारभरी बुढाबुढी मानिसहरुलाई बढी मात्रामा निशाना बनाएको छ । तसर्थ, हाम्रा मान्यजनहरुलाई यस रोगबाट जोगाउन समेत हामीले यस वर्षको दशैंलाई थाँती राख्ने वा अवस्था हेरी आफ्नो परिवारमा मात्र सीमित गर्ने तर्फ सोच्नु नै बुद्धिमानी देखिन्छ ।

रुद्र दाहाल

यो महामारीबाट बच्न सामाजिक दूरी टाढा राख्नुपर्ने, खोक्दा र हाछ्युँ गर्दा नाक मुख छोप्नुपर्ने, भिडभाडमा जान नहुने, सरसफाइमा बिशेष ध्यान दिनुपर्ने र आफ्नो आत्मबल दरिलो बनाउनु पर्ने हुन्छ । कोरोना भाइरस रोगभन्दा यसको मनोविज्ञान बढी जटिल बनेको देखिन्छ । ‘वनको बाघले खानु भन्दा पनि मनको बाघले खाए झैं’ अहिले मानिसहरु जे भएनि कोरोना भाइरस रोग लाग्यो कि भनेर त्राहीत्राही भएका देखिन्छन् । यसले स्वास्थ्य क्षेत्र मात्र नभई शिक्षा, उद्योग धन्दा, बन्द व्यापारलगायत सम्पूर्ण क्षेत्रहरुमा नराम्रो असर परेको छ । रोग शुरु भएको करिब एक वर्ष भैसक्दा पनि अझैसम्म खोपको टुङ्गो लाग्न सकेको छैन ।

आजको दिनसम्म यहाँ हामीहरु सबै सकुशल छौं । कोरोना भाइरस हामी बसेको शहरमा पनि छ्यापछयाप्ती फैलिसकेको छ तर पनि हालसम्म हामीहरु सुरक्षित छौं । यहाँ सरकार नागरिकप्रति अति जिम्मेवार छ र नागरिकहरु चेतनशील छन् । हाम्रो बारेमा यहाँहरुले चिन्ता लिनु पर्दैन । यहाँको स्वास्थ्य सेवा धेरै राम्रो छ र सरकार र व्यक्ति दुवैले बराबर जिम्मेवारी लिएकाले स्थिति नियन्त्रणमा छ । अस्पतालमा यथेस्ट शैयाको व्यवस्था छ भने सरकारले जनताका लागि भए भरको स्रोत र साधनको व्यवस्था मिलाएको छ ।

यस रोगबाट बच्न र रोग लागी हालेमा यसको व्यवस्थापनको लागि निम्न कुराहरु गर्न भने नभुल्नुहोला-
१. यदि परिवारमा कसैलाई रुघाखोकी लाग्ने, हाच्छिउँ आउने, ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षणहरु देखिएमा तुरुन्त आइसोलेशनमा बस्नु होला । आइशोलेसनमा बस्दा सकेसम्म छुट्टै शौचालयको प्रयोग, डिस्पोजेबल सामानहरुको प्रयोग गर्नु राम्रो मानिन्छ ।
२. माथि उल्लेखित लक्षणहरु मनिटर गर्ने र बढ्दै गएमा नजिकको स्वास्थ्य केन्द्रमा गई स्वाब टेस्ट गराई हाल्नु पर्छ ।
३. घरिघरि साबुन पानीले हात धुने, यदि साबुन पानी उपलब्ध नभएमा स्यानीटाइजरको प्रयोग गर्ने, सरसफाइमा बिशेष ध्यान पुर्‍याउनु होला ।
४. घरिघरि नाक, आँखा र मुख हातले छुनु हुँदैन । छोएमा फेरि हात साबुन पानीले धुने गर्नुपर्छ ।
५. यदि संक्रमण भैहालेमा नडराई अन्य संक्रमणमा जस्तै यस्मा पनि प्रशस्त झोलिलो पदार्थ पिउने, पोषिला खानेकुराहरु खाने र पूर्णरुपमा आराम गर्नु होला ।
६. संक्रमणको समयमा मानिसहरुमा मनोवैज्ञानिक असर पर्ने हुनाले नकारात्मक समाचारहरु सम्प्रेषण नगर्ने, संयमितता अपनाउने, फिल्म हेर्ने, गीत, भजन किर्तन सुन्ने र परिवारलाई समय दिने, आफन्त र साथी भाइहरुसँग विद्युतीय माध्यमबाट कुराकानी गरेर समय बिताउनु होला ।
७. समयको सहि सदुपयोगका लागि व्यायाम गर्ने, पुस्तक पढ्ने, आफ्ना अधुरा रहेका परियोजनाहरुमा समय लगाई पुरा गर्नु बुद्धिमानी हो ।
८. धुम्रपानका अम्मलीहरुको श्वासप्रश्वासमा समस्या हुने र यो भाइरसले पनि मुख्य रुपमा श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा धुम्रपान र मद्यपानबाट टाढा रहनु बुद्धिमानी मानिन्छ ।
९. विपदका बेला एकअर्काको सहयोग अति आवश्यक पर्दछ । तसर्थ आवश्यकता अनुसार इष्टमित्र, साथीभाइ, छिमेकी सबैलाई सकेको सहयोग गर्नु होला ।
माथि उल्लेखित उपायहरु सबैले मनन गरी अपनाएको खण्डमा यो विश्वव्यापी महामारीलाई केहि हदसम्म नियन्त्रणमा लिन सहयोग पुग्ने देखिन्छ । साथै यस वर्षका चाड पर्वहरु दशैं, तिहार, छठ आदि पनि सकेसम्म परिवारमा मात्र सीमित गरी मनाउनु हुन सबैमा म परदेशीको तर्फबाट हार्दिक अनुरोध छ । लौ त आजलाई यतिमै बिदा हौं । बाँकी अर्को पत्रमा ।

उही परदेशी कान्छो
क्यानडाबाट

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay