scheduleबुधवार मंसिर १० गते, २०७७

परराष्ट्रमन्त्री ज्ञवालीलाई रवीन्द्र मिश्रको ८ प्रश्न

काठमाडौँ, ९ कात्तिक । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई लिएर ८ प्रश्न सोधेका छन् ।

सरकारले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्रीको रुपमा आएको स्पष्टीकरण दिइरहँदा मिश्रले सरकारले ढाकछोपको गरिरहेको आरोप लगाएका छन् ।

संयोजक मिश्रले गोयलको भ्रमण हाइप्रोफाइल हो भने पहिल्यै किन जानकारी नगराइएको भनेर परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रश्न गरेका छन् । ‘युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्ण रूपमा हेपेको हो कि होइन ?,’ मिश्रको प्रश्न छ ।

उनले भारतले ‘नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?’ भनेर प्रश्न गरेका छन् ।

यस्ता छन् मिश्रले परराष्ट्रमन्त्रीलाई सोधेका ८ प्रश्न :
१. भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन् भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन्?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले “हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन” किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन्?

ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो। तर विडम्बनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay