scheduleसोमवार मंसिर १५ गते, २०७७

थाइ प्रदर्शनको मागः राजा नसुध्रिए राजतन्त्रको अन्त्य हुनुपर्छ

काठमाडौं, ९ कात्तिक । अक्टोबर १४ मा थाइल्याण्डको राजधानी बैंककमा ठूलो जनप्रर्दशन भयो । बैंकक प्रदर्शनले विश्व सञ्चारमाध्यमहरुको ध्यान खिच्यो । तर, यो प्रर्दशन राजधानी बैंककमा मात्र हैन, देशका सबै साना ठूला शहरमा भएको थियो ।

कोरोना महामारीको बीचमा यति ठूला राजनीतिक प्रर्दशन किन भए ? यसको थुप्रै कारण छन् । थाई राजनीतिक संकटलाई बुझ्न यसको राजनीतिक इतिहासलाई बुझ्नु पर्दछ ।

थाइल्याण्ड राजतन्त्रात्मक मुलक हो । राजा भूमिबल अदुल्यादेशले यहाँ लामो शासन गरे । अहिले उनका छोरा प्रभात बजिरालङ्गकर्न राजा छन् । राजा र संसदको बीचमा त्यहाँ बारम्बार संघर्ष हुने गरेको थियो । बितेका ९० वर्षमा थाइल्याण्डमा १४ वटा सैनिक कु भएका छन् ।

सैनिक कुको मुख्य आधार शाही सेना हुने गरेको छ । जनताबाट निर्वाचित संसदसँग कुनै समस्या हुने बित्तिकै थाई शाही सेनाले राजनीतिमा हस्तक्षेप गर्दछ । सेना संसद विघठन गर्ने, प्रधानमन्त्री फेर्ने वा नयाँ निर्वाचन गराउने र आफू अनुकूलको व्यक्तिलाई सत्तामा पुर्‍याउने प्रयास गर्दै आएको छ ।

ठीक यस्तै सैनिक कु पछिल्लो पटक सन् २०१४ मा भएको थियो । सन् २०११ को निर्वाचनमा फेउ थाइ पार्टीले भारी विजय हासिल गरेको थियो । यिङ्गलक सिनावात्रा प्रधानमन्त्री भएकी थिइन् । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी हुन् । थाक्सिन भ्रष्टाचारमा मुछिएपछि यिङ्गलक सिनावात्राले पार्टीको नेतृत्व गरेकी थिइन् ।

तर थाई सेनाका जर्नेल प्रयुथ चान–ओ–चाको नेतृत्वमा सन् २०१४ को मे २२ मा सैनिक कु भयो । संसद विघठन भयो । सेना र सेनाद्वारा मनोनितहरुको एक भिन्नै परिषद गठन गरियो । सोही परिषदको बहुमतले सेना प्रमुख प्रधानमन्त्री नियुक्त भए । सन् २०१७ मा सेनाले नयाँ संविधान जारी गर्‍यो । यो देशको २०औं संविधान थियो । यो संविधानमा म्यानमारको जस्तै सेना र निर्वाचित प्रतिनिधिको संयुक्त परिषदको कल्पना गरिएको थियो ।

राजा र सेनाको निरंकुशताविरुद्ध लड्न पुराना पार्टीहरु असमर्थ थिए । सन् २०१८ को मार्चमा युवा र विद्यार्थीहरुले नयाँ पार्टी फ्युचर फरवार्ड पार्टी गठन गरे । यो पार्टीले लोकतन्त्र र गणतन्त्रको पैरवी गर्न थाल्यो । सन् २०१९ को चुनावमा यो पार्टीले आश्चर्यजनक विजय हासिल गर्‍यो । कुल ८१ सीट हासिल गरी संसदको तेस्रो ठूलो पार्टी बन्न पुग्यो ।

तर यो पार्टीको विचार, माग र क्रियाकलाप गैरसंवैधानिक भएको भन्दै गत फेब्रुअरीमा संवैधानिक अदालतले पार्टी विघटन गरिदियो । त्यसपछि विपक्षी दलहरु अनौपचारिक तबरले संगठित हुन थाले । कोरोना महाव्याधीलाई निहुँ बनाएर सरकारले मार्च २६ मा आपतकाल घोषणा गर्‍यो । विरोधी आवाजहरु दबेर बसे ।

आपतकाल बीच जुलाई १८ तारिखमा युवा विद्यार्थीले विरोध संगठित गर्ने प्रयत्न गरे । तर सरकारले आपतकालीन व्यवस्था अनुरुप दमन गर्‍यो । त्यही असन्तुष्टि अक्टोबर १४ को प्रदर्शनमा बिष्फोट भएको हो ।

थाइ राजनीतिका जानकार तथा विश्लेषकहरुका अनुसार अहिले विपक्षीहरुको तारो प्रधानमन्त्री तथा पूर्व जर्नेल प्रयुथ चन ओचा मात्र छैनन्, सँगसँगै राजा प्रभात बजिरालङ्गकर्न पनि छन् । विपक्षीहरुले मुख्य १० बटा माग सार्वजनिक गरेका छन् । त्यसमध्ये मुख्य– प्रधानमन्त्री ओचाको राजीनामा, संवैधानिक सुधार, राजतन्त्रको सीमितिकरण र लोकतन्त्रको पुनर्वहाली छन् ।

भूमिबल अदुल्यादेश लोकप्रिय राजा थिए । तर उनका छोरा बजिरालङकर्नले सत्ता सम्हाले यता थाइल्याण्डमा राजतन्त्रको व्यापक विरोध हुन थालेको छ । बजिरालङ्गकर्नले शाही खर्चमा व्यापक बृद्धि गराएका छन् । बार्षिक २९ करोड अमेरिकी डलर उनले राज्यकोषबाट निजी खर्च लिने गर्दछन् । उनी अधिकांश युरोपतिर बस्दछन् ।

युवाकालमा उनी जर्मनीमा पढ्ने गर्दथे । त्यहाँ उनका थुप्रै साथी र गर्लफ्रेडहरु रहेको बताइन्छ । उनी जुवा, मदिरा र अवैधानिक यौन सम्बन्धको शौखिन रहेको थाइ जनतालाई मन परेको छैन । राजा बजिरालङकर्नको निजी शौख पुरा गर्न राज्यकोषबाट ठुलो रकम खर्च हुने गरेको छ । यो कारणले थाई युवा विद्यार्थीहरुमा राजतन्त्रविरोधी भावना तीव्र भएको छ । जनप्रदर्शनहरुमा राजा कि सुध्रिउँ हैन भने राजतन्त्रकै अन्त्य हुनेछ जस्ता नारा लाग्ने गरेका छन् ।

सन् २०१४ को शाही कु पछि पुरानो लोकतान्त्रिक पार्टीका नेत तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा । यिङलक सिनावात्राको प्रभाव घटेको छ । दुवै माथि सैनिक सरकारले भ्रष्टाचारको मुद्धा लगाएको छ । उनीहरु बेलायतमा निर्वासित जीवन बिताइरहेका छन् ।

फ्युचर फरवार्ड पार्टीलाई संवैधानिक अदालतले खारेज गर्दिए पनि यसको अभियान जारी छ । यस पार्टीमार्फत् नयाँ विपक्षी नेताको जन्म भएको छ– थानाथोर्न जर्गुनगुकित । उनकै नेतृत्वमा यी आन्दोलनहरु भइरहेका छन् । तर, यी प्रदर्शनहरुले तुरुन्तै नयाँ परिणाम दिने आशा भने गरिएको छैन । पुराना लोकतान्त्रिक पार्टीहरुले राजतन्त्रका अन्त्यको माग उठाएका थिएनन् । नयाँ पार्टी र युवा विद्यार्थीले गणतन्त्रको बिषय समेत उठाएको हुँदा थाइल्याण्डको राजनीतिक संघर्ष लामो हुने ठानिएको छ ।

राजा बजिरालङ्गकर्नलाई पश्चिमा सञ्चारमाध्यमहरुले संसारकै सबैभन्दा धनी र विलासी राजा भन्ने गरेका छन् । उनी प्रधानमन्त्री प्रयुथ चान ओ चामार्फत् थाई सत्तामा बलियो पकड बनाइरहन चाहन्छन् । सन् २०१९ को निर्वाचनमा पुर्व सैनिक जर्नेल प्रयुथको नेतृत्वमा राजावादीहरु भिन्नै पार्टी बनाएर चुनाव लडेका थिए । मनोनित सैन्य सदस्यहरुको समर्थनमा उनीहरु अहिले सरकार चलाइरहेका छन् ।

अक्टोबर १४ को प्रदर्शनपछि प्रधानमन्त्री चान ओ चाले आपतकालको अन्त्य भएको घोषणा गरेका छन् । साथै राजनीतिक सुधार हुँदै जाने हुँदा धैर्यता गर्न समेत जनतालाई आग्रह गरेका छन् । राजा बजिरालङकर्नले भने ‘सामान्य घटना’ भनेका छन् ।

एक थाई राजनीतिक विश्लेषकका अनुसार हालैका दिनका प्रदर्शनहरु थाई राजतन्त्र र लोकतन्त्रबीचको संघर्ष पेचिलो हुँदै गएको संकेत हो । थाइल्याण्डको राजनीतिक भविष्य र समयसीमाबारे अहिले नै केही अनुमान गर्न नसकिने उनले बताए । तर आगामी दिनमा गणतन्त्रको माग झनझन बढ्दै जाने सम्भावना रहेको समेत औल्याए ।

(द फाइनान्सियल रिभ्युमा प्रकाशित रिपोर्टमा आधारित)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay