scheduleसोमवार मंसिर १५ गते, २०७७

पैगम्बरको जन्मदिनमा सार्वजनिक बिदा

जनकपुर, १४ कात्तिक । प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन परेकाले प्रदेश २ सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४ सय ९५ औं जन्मोत्सव आज मनाइँदै छ ।

मुख्यमन्त्री लालबाबु राउनले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको शुभकामना दिएका छन् । शुभकामना वक्तव्यमा सार्वजनिक बिदाबारे उल्लेख गरिएको छ ।

‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५ सय ७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो ।

उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

मुस्लिम अगुवाहरुले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त संघर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन । 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay