scheduleसोमवार मंसिर १५ गते, २०७७

किन आउँछ नेतालाई ताली, गाली र श्रद्धाञ्जली ?

रुद्रप्रसाद भट्ट

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफु र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराए । उनको पोष्टमा लगातार कमेन्टहरु आउन थाले । त्यस्तैमा एउटा यस्तो कमेन्ट आयो– ‘महामारीको बेला पार्टी प्रवेश गराउने भन्दै लखर–लखर मधेस झरेपछि यस्तै हो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा कोरोना पोजेटिभ भएको जानकारी दिए लगत्तै आएका कमेन्ट हेर्ने हो भने स्वास्थ्यलाभको कामनाभन्दा बढी तुच्छ, अश्लील र भद्दा गाली गरिएको देख्‍न सकिन्छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईलाई कोरोना पोजेटिभ भएको खबर अनलाईनहरुमा प्रकाशित भएपछि आएका धेरैजसो कमेन्ट सुन्‍नै नसकिने र मानवीय संवेदना भन्दा बाहिर गएर गरिएको देखिन्छ । त्यसमध्ये एउटा कमेन्टमा भनिएको छ, ‘यिनीहरुलाई कोरोना लागेकै छैन, यो त भ्रष्टाचार गर्नको लागि भ्रम फैलाइएको मात्रै हो । यिनीहरुको उपचारको नाममा देशले अर्बौं रुपैयाँ गुमाउने छ ।’

काँग्रेस युवा नेता गगन थापालाई कोरोना संक्रमण भन्‍ने समाचारमा आएको कमेन्टमा पनि उस्तै गाली देख्‍न सकिन्छ । उनको पोष्टमा आएको एउटा कमेन्टमा भनिएको छ, ‘तिमी स्वास्थ्यमन्त्री हुँदा के गर्‍यौ र अहिले कोरोना लागेपनि भत्ता पचाएकै छौ, कोरोनाको पीडा पैसा नभएर तातो घाममा रिपोर्ट लिन ३ दिन लाईन बस्नेलाई पो थाहा हुन्छ त तिमीजस्तो पैसा धेरै भएर घरको आईसोलेसन बस्नेलाई के थाहा ।’

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमणपश्चात् गरिएको कमेन्टमा स्वास्थ्यलाभको कामनासँगै ‘ठीकै भएछ’ भन्ने छ । नेताहरुप्रति कार्यकर्ता र सर्वसाधारणले सामाजिक सञ्जालमा गरेका आक्रोशपूर्ण यी केही प्रतिनिधिमुलक कमेन्ट मात्रै हुन् । धेरै नेताका फेसबुक र ट्‍वीटर पोष्टदेखि अनलाईनमा आएका समाचारको कमेन्टमा स्वास्थ्यलाभ भन्नेदेखि केहि कमेन्टमा ठीकै भयो र केहीमा ‘मृत्यु’ नै होस् भन्ने कामना समेत गरिएका छन् । यो आक्रोश वा विरोध मात्रै भन्दा पनि सामाजिक सञ्जालमा बढ्दै गएको विकृति नै हो ।

पूर्वप्रधानमन्त्रीदेखि हालका मन्त्री, सांसद, पार्टीका नेताको स्वास्थमाथि नागरिक स्तरबाट केही यस्ता कमेन्टहरु पनि आएका छन् जुन सुन्न, बोल्न र लेख्‍न सकिने अवस्था छैन । आखिर सबैजसो राजनीतिक पार्टीका नेताहरु किन यति धेरै आलोचित र अपमानित हुँदैछन् ? जनताको सेवा गर्न राजनीति गरेको हुँ भन्ने नेतालाई बिरामी अवस्थामा पनि स्वास्थ्यलाभ भन्न नसक्ने र यसरी गाली गर्नुपर्ने अवस्था कसरी आयो ? यो ठट्टा र मजाक मात्रै होईन गम्भीर भएर सोच्ने अवस्था देखिएको छ ।

हिजो कुनै समय नेताले लगाएको टोपी, घडी र सर्ट पाईण्टको नक्कल गरेर दुरुस्तै लगाउने कार्यकर्ता आज तिनै नेतालाई गाली गर्न किन तम्सिएका छन् ? कालो टोपी चिरेर लगाउँदा काँग्रेस हुँ भन्नै नपर्ने ठ्याक्कै चिनिने, मदन भण्डारी र पुष्पलालको ब्याज लगाउँदा ओरिजिनल एमाले हुने अनि माओ र चे ग्वेभाराको फोटो र तारा अंकित टिसर्ट लगाउँदा सक्कली माओवादी हुने, राजाको फोटो भएको ब्याज लगाउँदा राप्रपा हुँ भनेर गर्व गर्ने कार्यकर्ता आज तिनै नेतालाई किन जिउँदै ‘श्रद्धाञ्जली’ दिईरहेका छन् ?

प्रधानमन्त्री वा उनका सल्लाहकारले भनेजस्तो गाली गर्नेहरु सरकारविरोधी, पार्टी विरोधी वा एक पाखे हुन् भनिए पनि सबै दलका सबैजसो नेताको विरुद्ध यसरी आक्रोश बढ्नु सुखद हुँदै होईन । देश र जनता, अनी पार्टी र कार्यकर्ताको बीचमा दरार आउनु भनेको अनिष्टको संकेत पनि हुन सक्छ ।

हामीले सामान्य रुपमा लिए पनि दल र नेताका विरुद्ध घृणा र आक्रोश बढ्दै जानु भनेको समग्र देशको उँधोगति लाग्नु हो । के सामाजिक सञ्जालमा गाली गरिए जस्तै नेताहरु घृणाका लायक नै हुन् त ? वा हाम्रा नेता कामै नलाग्ने भएका हुन् त ? हिजो आफैंले काँधमा बोकेर जिन्दावाद भन्दै हिँडेका नेतालाई आज मुर्दावाद भन्नुपर्ने अवस्था नेताकै कार्यशैलीले निम्त्याएको त होईन ? यो गंभीर प्रश्नको चित्तबुझ्दो जवाफ खोज्नु आजको आवश्यकता हुनसक्छ ।

नेता र नेतृत्वले समयमै जनआक्रोशलाई सम्बोधन गरेर आफ्नो कार्यशैली नसच्याउने हो भने जनता जागेको बेला ठूलो राजनीतिक दुर्घटना हुन सक्छ । त्यसैले सबै राजनीतिक दलका नेताले आफ्नो जीवनशैली कसरी फेरिँदै गएको हो र जनताको जीवनशैली किन फेरिएन ? भन्ने प्रश्नको जवाफ दिनु आवश्यक छ ।

रुद्रप्रसाद भट्ट

जसरी पहिरो र बाढीको जोखिम भएको ठाउँमा कुनैपनि बेला ठुलो जनधनको क्षति हुनसक्छ भनेर सचेत गराउँदा गराउँदै पनि अटेर गरेर बस्नेलाई पहिरोले पुरिने वा बाढीले बगाउने जस्तै अवस्था आउन सक्छ । ठीक त्यसैगरी जनता र कार्यकर्ताको आक्रोशलाई उखान टुक्काले मात्रै सम्बोधन गरिरहने हो भने कुनैदिन यस्तो पनि आउन सक्छ कि जिउँदोमै श्रद्धाञ्जली दिएकाले मरेपछि त्यही ‘श्रद्धाञ्जली’ शब्द पनि खर्च नगर्न सक्छन् ।

दुनियाँमा त्यस्ता शासक पनि थिए जसको मृत्युपछि जनताले लास माथि थुकेर घृणा र आक्रोश पोखेका थिए । आशा गरौं, हाम्रा नेता हाम्रै सम्पत्ति हुन् । यिनलाई सच्याएर अगाडी बढाउनु पनि हाम्रै कर्तव्य हुन सक्छ । क्षणिक आवेश र भावनामा बगेर नेतामाथि भद्दा गाली नगरौं ।

नभुलौं, अहिले हामीले गाली गरेका नेताहरु हाम्रै मतले त्यहाँ पुगेका हुन् । उनीहरुको राम्रो नराम्रो प्रवृत्ति र आचरणको मतदाताले पनि जिम्मा लिनुपर्छ । किनकी अहिले धेरै गाली खाने नेताहरु केवल एउटा निर्वाचन जितेर आएका होइनन्, युवा अवस्थादेखि निरन्तर चुनाव लड्दै हार्दै-जित्दै आइरहेका छन् । नेता मन पर्दैन, चुनावबाट सञ्याउँ । आलोचनात्मक चेत राखौं ।

कार्यकर्ता र नागरिक सही भएको देशमा नेता बिग्रन सक्दैनौं । पाउँदैनन् । बिग्रिए पनि टिक्दैनन् । किन टिकिरहेका छन् त यहाँ ? एकपटक नागरिकले पनि ऐना हेरौं ।

आफुले जिताइरहेको नेता बिग्रेको वा भ्रष्ट हुँदै गएको लाग्यो भने निर्वाचनमा नेता र मत बदलौं तर, सामाजिक सञ्जालमा जिउँदै श्रद्धाञ्जली दिने मुर्खता नगरौं । नीति सहि रोजौं, नेतृत्व असल खोजौं ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay