scheduleमगलवार मंसिर १६ गते, २०७७

जाडो बढ्न थाल्यो, जाडोमा कोराना घट्ला कि बढ्ला ?

काठमाडौं, १४ कात्तिक । गत वर्ष चीनको बुहानमा कोरोना भाइरस डिसेम्बर महिनामा देखिएको थियो । त्यो जाडोको मौसम थियो । जाडो मौसम र कोभिड–१९ बीच कुनै सह-सम्बन्ध छ कि छैन ? यो प्रश्नमाथि विशेषज्ञहरुले विभिन्न कोणबाट तर्क गरेका थिए ।

फेब्रुअरी र मार्चसम्म पुग्दा युरोपेली मुलुकहरुमा कोरोना असाध्यै छिटो फैलियो । इटाली, स्पेन, बेलायत र फ्रान्समा व्यापक मानवीय क्षति भयो । ती चिसो धेरै हुने देश थिए । इरानलाई छोडेर मध्य एशिया र दक्षिण एशियामा कोरोना छिटफुट मात्र देखिएको थियो ।

गर्मी मुलुक र मौसममा कोभिड–१९ धेरै क्षति नगर्ने विश्लेषण भए । यस्ता विश्लेषणले एक प्रकारको आशा सृजना गरेको थियो । तर व्यवहारमा यो विश्लेषण पुष्टि भएन ।

अप्रिल यता कोरोना भाइरस संसारका सबैजसो देशमा पुगिसकेको छ । अझ ब्राजिल, मेक्सिको, अर्जेन्टिना, कोलम्बिया, पेरु, भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिकाजस्ता नयाँ हटस्पट बने । यी देशमा कोरोना गर्मी मौसममै फैलियो ।

कोरोना बल्र्डोमिटरले २१८ देश, स्वायक्त प्रदेश वा भूभागमा कोरोना पुगेको देखाउँछ । ती मध्ये २३ बटामा १०० जनाभन्दा कम संक्रमित देखिन्छन । यी मध्ये ९२ देश, प्रदेश र भूभागमा १०० जनाभन्दा कम मानवीय क्षति भएको छ । २५ वटामा कुनै मानवीय क्षति भएको छैन ।

जिब्राल्टर, इरिटिया, भुटान, मंगोलिया, कम्बोडिया, मकाओ, फिजी, डोमिनिका, लाओस्, भ्याक्टिन सिटी जस्ता देशहरुमा कुनै मानवीय क्षति भएको छैन ।

कस्ता देश र भूभाग बढी प्रभावित छन्, कस्ता देशहरुले कोरोना नियन्त्रणमा सफलता हासिल गरेका हुन भन्ने निष्कर्ष निकाल्न सकिएको छैन ।

तथापि बढी संवेदनशील र शासकीय प्रबन्धन क्षमता भएका देशहरु सफल भएका हुन कि जस्तो देखिन्छ ।

अहिलेसम्म कोरोना नियन्त्रणमा उल्लखनीय सफलता पाएको भन्दै ताइवान, न्युजील्याण्ड, सिंगापुर, भुटान, श्रीलंका, लाओस्, भियतनाम, मंगोलिया, दक्षिण कोरिया, ब्रनाई, थाइल्याण्ड, चीन आदि देशको प्रसंशा हुने गरेको छ, तर यी सबै परिणाम संयोगिक हुन वा मानवीय प्रयत्नको प्रतिफल ? उत्तर सजिलो छैन ।

कोरोनाको पहिलो लहर अरु देशझैं बढेको तर त्यसपछि नियन्त्रणजस्तो देखिएको ताइवान, चीन, सिंगापुर, लाओस्, भियतनाम, मंगोलिया, न्युजील्याण्ड, दक्षिण कोरिया आदि देशले मानवीय प्रयत्नद्वारा नै सफलता पाएका हुन भन्ने ठानिन्छ ।

बर्कले अर्थ नामक एक जलवायु परिवर्तन सम्बन्धी अध्ययन गर्ने संस्थाले बताए अनुसार कोराना भाइरस गर्मीमा संक्रमित नहुने हैन, तर जाडोमा यसको संक्रमण दर र मानवीय क्षति झन बढी हुने सम्भावना हुन्छ ।

चर्को घाम र खुल्ला दिनहरुले स्वभाविक रुपमा मानिसको आवतजावतलाई कम बनाउँछ । गर्मीमा मानिस एकअर्कासंग दुरी राख्न मन पराउँछन् भने जाडो मौसममा एकअर्कासँग नजिक हुने वा टाँसिएर, खाँदिएर बस्ने व्यवहार बढी हुने गर्दछ ।

बर्कलेका अनुसार अमेरिकामा कोरोनाको पहिलो लहर चिसो मौसम भएका राज्यहरुबाट फैलिएको थियो । बर्कलेको विश्लेषण अनुसार विश्वको समग्र संक्रमण र मानवीय क्षतिलाई चिसो र गर्मी भूभागको आधारमा वर्गीकरण गर्दा गर्मीमा भन्दा चिसो भूभागमा क्षतिको अनुपात २० अंकले बढी छ ।

गर्मी देश र भूभागमा ४० प्रतिशतको कोरोना प्रकोप छ भने जाडो देश र भूभागमा ६० प्रतिशतको कोरोना प्रकोप छ । यसले के देखाउँछ भने कोभिड–१९ गर्मी मौसममा भन्दा जाडो मौसममा झन धेरै क्षति गर्ने संभावना हुन्छ ।

जाडोको मौसममा ‘कोल्ड फ्लु’ पनि बढ्ने हुँदा ‘कोल्ड डाइरिया’ र ‘निमोनिया’ धेरै हुन्छ नै । त्यस्ता बिमारीमा कोभिड–१९ संक्रमण भएमा मृत्युदर बढ्ने हुन्छ । अहिलेसम्मका अध्ययन र विश्लेषण अनुसार गर्मी मौसममा भन्दा जाडो मौसममा कोरोनको संक्रमण तीव्र हुने मानिएको छ ।

बर्कले अर्थका अनुसार कोरोना संक्रमण दुई वटा रेन्जमा भइरहेको छ । पहिलो रेन्जका देश र भूभागमा ४–१०% संक्रमण बृद्धि भने दोस्रो प्रकारका देशमा १०–३०% सम्म संक्रमण वृद्धि छ । पहिलो लहरमा यसको आधार मौसम वा भौगोलिक सम्पर्कभन्दा हवाई यात्राको सघनता थियो ।

मंगोलिया, ताइवान, सिंगापुर, हङकङ, लाओसजस्ता चीनसँग नजिक रहेका क्षेत्रमा खासै संक्रमण नफैलिनु तर युरोप र अमेरिकाजस्ता टाढाका देशहरुमा फैलिनुको कारण बाक्लो हबाई यात्रा थियो । कोभिड–१९ सँग सम्बन्धित अन्य होसियारी र मापदण्ड लागु नभएको अवस्थामा गर्मी मौसम आफैमा अनुकल नहुने तर होसियारी र मापदण्ड अपनाएको खण्डमा जाडो मौसम र मुलुकमा पनि संक्रमण दर न्युन गर्न सकिन्छ ।

गत मार्च २६ मा नेपालमा कोरोना लकडाउन शुरुवात गरिए पनि त्यो बिल्कुलै प्रारम्भिक चरण थियो । कडालकडाउनको करिब २ महिना अर्ली लकडाउनको स्थिति थियो । आषाढदेखि नेपालमा संक्रमण तीव्र हुन थालेको अनुमान गरिन्छ । त्यसमा पनि भाद्र २ गते संक्रमण केही दिनको अपवाद छोडेर निरन्तर बढ्दो छ ।

कोरोनाको चरित्र बुझ्दै गएपछि धेरैले पिसिआर टेष्टमा अनिच्छा देखाउन थालेका छन् । सरकारले टेष्ट र आइसोलेसन सुविधा दिन नसक्ने र अस्पताल गए पनि कुनै प्रमाणिक उपचार नहुने हुँदा नेपालमा टेष्ट गराउनु र नगराउनुको भिन्नता समाप्त भएको छ ।

औपचारिक पुष्टि नभए पनि कोरोना संक्रमितको संख्या साँढे दुई लाखभन्दा बढी भइसकेको हुन पर्दछ । यद्यपि औपचारिक तथ्यांकमा अहिलेसम्म करिब १ लाख ६० हजार देखिएको छ । स्वास्थ्य मन्त्रालय र सैनिक मुख्यालयको तथ्यांकमा देखिएको भिन्नतालाई आधार मान्दा वास्तविकतामा १००० बढीको मृत्यु भइसकेको हुनुपर्दछ, जबकी स्वास्थ्य मन्त्रालयको तथ्यांकले अहिलेसम्म मृतकको संख्या एक हजारभन्दा कम नै देखाइरहेको छ ।

विश्व अनुपातसंग तुलना गर्दा निश्चय नै नेपालको मृत्यु दर न्युन हो । कोभिड–१९ को प्रारम्भिक दिनमा विश्व औसत २२% थियो भने अहिले ३% मा झरेको छ । नेपालको भने अझै १% भन्दा मुनी छ । तर यसको कुनै वस्तुगत कारण छ वा संयोगिक हो ? कसैले बताउँन सकेको छैन ।

नेपालको संक्रमण दर भने विश्वकै तीव्र संक्रमित देशको हाराहारी छ । जनसंख्या अनुपातमा नेपाल विश्वको ४८ औं ठूलो मुलुक हो भने संक्रमणको सुचीमा ३४ औं स्थानमा छ । यसले के प्रष्ट गर्दछ भने नेपालको संक्रमण दर निक्कै तीव्र छ । आसन्न जाडोको मौसममा हेलचेक्राइ भयो भने विश्वका धेरै बेहाल देशको स्थितिमा नेपाल पुग्न सक्दछ ।

तीव्र संक्रमणले स्वास्थ्य सेवा सुविधाको अवसरलाई कमजोर बनाउँछ । त्यस्तो वेला मृत्युदर ह्वात्तै बढ्न सक्दछ । सरकारले विपन्न परिवारलाई अझै कोरोना उपचार सुविधा दिइरहेको बताइए पनि व्यवहारिक सत्य त्यस्तो छैन । अहिले नै नेपालमा करिब ४० हजार सक्रिय संक्रमित हुन थालेका छन् । वार्ड र भेन्टिलेटर दुर्लभ हुँदै गएका छन् । त्यसमाथि अस्पतालहरुले लिने चर्को शुल्कको कारण मानिस अस्पताल जान छोडेका छन् ।

फ्रान्स लगायतका युरोपेली देशहरुले दोस्रो लहरको सम्भावना औल्याउँदै पुनश्चः लकडाउन गर्न थालेका छन् । जाडो मौसम र दोस्रो लहरसँगै आए नेपालको स्थिति के हुने हो ? गम्भीर विश्लेषण र तयारी भएको पाइन्न ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay