scheduleमगलवार मंसिर १६ गते, २०७७

समृद्धिको आधार: स्थानीय आर्थिक विकास-३

ऋषिराम पाण्डे

स्थानीय आर्थिक विकासको मोडलका सम्बन्धमा यसभन्दा अगाडि दुईवटा लेखहरू प्रकाशित भइसकेका छन् । जेठ २, २०७७ अर्थात् १५ मे, २०२० मा साझापोष्टमा प्रकाशित पहिलो लेखमा स्थानीय आर्थिक विकासको मोडलको प्रादुर्भावका बारेमा उल्लेख गरिएको थियो । परनिर्भरताको सिद्धान्तले व्याख्या गरेका अवधारणगत कुराहरू कसरी नेपालजस्ता मुलुकहरूमा लागू हुन्छन र त्यसबाट मुक्ति पाउन कसरी आर्थिक विकासको मोडलले योगदान गर्न सक्दछ भन्ने बारेमा त्यस लेखमा व्याख्या गरिएको थियो । त्यसैको निरन्तरतास्वरुप आश्विन ९, २०७७ अर्थात् २५ सेप्टेम्वर, २०२० मा साझापोस्टमै प्रकाशित दोस्रो लेखमा स्थानीय आर्थिक विकासको मोडलको सैद्धान्तिक पक्षका बारेमा व्याख्या गरी उक्त मोडल कसरी नेपालको विशेषगरी ग्रामिण क्षेत्रको समृद्धिको आधार बन्न सक्दछ भन्नेबारे चर्चा गरिएको थियो ।

उपर्‍युक्त दुई लेखको निरन्तरतास्वरुप यस लेखमा स्थानीय आर्थिक विकासको मोडललाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा चर्चा गरिएको छ । यस लेखको मुख्य उद्देश्य स्थानीय तहहरूलाई आर्थिक समृद्धिका खातिर कार्यान्वयन गरिने आर्थिक क्रियाकलाप कार्यान्वयनको व्यवहारिक खाका प्रस्ताव गर्नु हो । त्यसैले यो आलेखमा चार्ट, टेबल, ग्राफ आदिको प्रयोग गरिएको छ । यसले पाठक र विशेषतः आर्थिक विकासको क्षेत्रमा काम गर्ने सहजकर्ताहरूलाई स्थानीय आर्थिक विकास कार्यक्रम कार्यान्वयनमा योगदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय आर्थिक विकासको मोडललाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको चर्चा गर्नुभन्दा पहिला केही आधारभूत कुराहरूको उत्तर खोज्नुपर्ने हुन्छ । संसारको कुनै ठाउँहरूमा किन आर्थिक विकास सम्भव भएको छ र अन्य ठाउँमा किन हुन सकेन ? संसारको कुनै भागमा कसरी आर्थिक समृद्धि सम्भव भयो र अन्य भागमा के कारणले हुन सकेन ? मानिसहरूलाई आफुले चाहे अनुसारको जीवन जिउनलाई के ले रोकेको छ ? विश्वव्यापीकरणका कारण सिर्जित अवसरहरूलाई किन सबै राष्ट्रहरूले समान हिसाबले उपयोग गर्न सकेनन् ? विकेन्द्रीकरणको अभ्यासले सिर्जना गरेका अवसरलाई किन व्यवहारमा रुपान्तरण गर्न सकिएन ? स्थानीय सरकारहरूले व्यक्ति र परिवारको जीवन र जीविकोपार्जनलाई कसरी सहजीकरण गर्न सक्दछन् ? आर्थिक विकासको मोडलले यी र यस्तै प्र्श्नहरूको जवाफ खोज्दछ ।

स्थानीय आर्थिक विकासको मोडलले आर्थिक समृद्धि, गरिबी न्यूनीकरण र समावेशी विकासमा योगदान गर्ने लक्ष्य राख्दछ । सरकार, नीजि क्षेत्र र सहकारी संस्थाहरूको परिचालन गरी उत्पादन र उत्पादकत्वमा वृद्धि, स्थानीय उद्यमशिलताको प्रवर्द्धन, मूल्य श्रृंखलाको विकास, संस्थागत विकास र हरित व्यावसायको प्रवर्द्धनजस्ता कार्यक्रममार्फत् स्थानीय समृद्धि खोज्ने काम गर्दछ । यी सबै कार्यका लागि वित्तिय पहुँचमा विस्तार र अन्य पूर्वाधार निर्माण पूर्वशर्त हुन् । तलको ग्राफले स्थानीय आर्थिक विकास कार्यक्रमको रणनैतिक अवधारणा प्रस्तुत गर्दछ ।

स्थानीय आर्थिक विकासलाई तीन तहमा हेरिनु सान्दर्भिक हुन्छ । कार्यक्रमको समग्र लक्ष्य आर्थिक समृद्धि, गरिबी न्यूनीकरण र समावेशी विकास हो । उद्यमशिलताको प्रवर्द्धन र नीजि क्षेत्रको विकासको रणनीतिको अवलम्वन गर्दै उत्पादन र उत्पादकत्वको वृद्धि जस्ता कार्यक्रमले लक्ष्य प्राप्तिका खातिर योगदान गर्नु पर्दछ । प्रश्न उठ्छ, स्थानीय आर्थिक विकासको रणनीतिको कार्यान्वयन कसरी गर्ने ? यो आलेखको मुख्य केन्द्र यही नै हो ।

इको प्लान इन्टरनेशनलले स्थानीय आर्थिक विकासको मोडलको कार्यान्वयनका लागि दशवटा चरण प्रस्ताव गरेको छ । उक्त अवधारणात्मक खाकालाई यहाँ प्रस्तुत गरिएको छ ।

 

उल्लेखित चार्ट अनुसार आर्थिक विकासको मोडलको कार्यान्वयनको प्रारम्भिक कार्य कुनै पनि ठाउँको आर्थिक क्रियाकलापको वर्तमान अवस्थाको लेखाजोखाबाट सुरु हुन्छ । हामी अहिले कहाँ छौं अर्थात् आर्थिक विकासका क्रियाकलाप कार्यान्वयनको वर्तमान अवस्था के छ सोको विश्लेषणबाट कार्य आरम्भ गर्नुपर्दछ । यसका लागि स्थानीय तहहरूले आर्थिक विकासको मोडलमा आधारित कार्यक्रम अगाडी बढाउने निर्णय गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने र आर्थिक विकासको आधारभूत तथ्यांक संकलन गर्ने काम गर्नु पर्दछ । यो चरण ज्यादै महत्वपूर्ण किन पनि हुन्छ भने प्रारम्भिक अवस्थासँगको तुलनाका आधारमा नै प्रगतिको मापन गरिने हो ।

वस्तुस्थितिको लेखाजोखा एवम् आधारभूत तथ्याङ्क संकलनपश्चात् हामी कहाँ पुग्न चाहन्छौं ? सोको मार्गचित्र निर्क्यौल गर्नुपर्दछ । दीर्घकालीन लक्ष्य र निर्दिष्ट उद्देश्यको निर्क्यौल गर्ने काम चौथो र पाँचौं चरणमा गरिनुपर्ने कार्य हुन् । स्पष्ट गन्तव्यले नै प्रगतिका लागि मार्गदर्शन गर्ने हो ।

गन्तव्यको निर्धारणपश्चात् सो गन्तव्यमा कसरी पुग्न सकिन्छ सोको रणनीति तय गरिनु पर्दछ । लक्ष्य र उद्देश्य हासिल गर्नका लागि आवश्यक रणनीतिको तर्जुमा, कार्यान्वयन कार्ययोजनाको निर्माण र रणनीतिको कार्यान्वयन गन्तव्यमा पुग्नका लागि गरिनुपर्ने कार्यहरू हुन् ।

आर्थिक विकासको रणनीतिक योजना कार्यान्वयनले नतिजाको सिर्जना गर्दछ । पूर्वनिर्धारित गन्तव्यमा पुगियो वा पुग्न सकिएन भन्ने कुराको निर्क्यौल गर्ने काम कार्यक्रम कार्यान्वयनपश्चात् गर्नुपर्दछ । अर्थात् नवौं चरणको काम भनेको आर्थिक विकास कार्यक्रमको अनुगमन तथा मूल्यांकन र दशौं चरण मुल्यांकनबाट प्राप्त पृष्ठपोषणका आधारमा आवश्यक सुधार र समायोजन हो । यस खाकाको अर्को प्रस्तावना के हो भने स्थानीय आर्थिक विकासको रणनीति तर्जुमा, कार्यान्वयन र अनुगमन मूल्यांकनका सबै चरणमा सरोकारवालाको सहभागिता र नवप्रवर्तनको खोजी गर्नु हो ।

इको प्लानको उपर्‍युक्त खाकालाई समेत मध्यनजर गरी स्थानीय आर्थिक विकासको मोडल कार्यान्वयनका लागि निम्न प्रक्रिया प्रस्ताव गरिएको छ ।

चरण–१: आर्थिक क्रियाकलापको वर्तमान अवस्थाको विश्लेषण

स्थानीय तहहरूले आर्थिक समृद्धिको यात्रा तय गर्ने निर्क्यौल गरेपछि चरणबद्धरुपमा आफ्ना पाइलाहरू अगाडि बढाउनु पर्दछ । यात्राको पहिलो खुट्किलो आर्थिक क्रियाकलापको वर्तमान अवस्थाको विश्लेषण हो । यस चरणमा कुनै निश्चित भूगोलमा केन्द्रित रही आर्थिक क्रियाकलापहरूका सवल र कमजोर पक्ष, अवसर र भावी चुनौतिहरूको विश्लेषण गर्नुपर्दछ । हाल कार्यान्वयनमा रहेका आर्थिक क्रियाकलापहरूको प्रतिष्पर्धी क्षमता र तुलनात्मक लाभको विश्लेषण आवश्यक छ । यसै चरणमा आर्थिक क्रियाकलापहरूको विस्तृत तथ्यांक संकलन र तीनको प्रशोधन गर्नुपर्दछ जसले गर्दा निश्चित समयको अन्तरालमा तीनै तथ्यांकका आधारमा प्रगतिको मापन गर्न सकियोस् ।

चरण–२: सम्भावित आर्थिक क्रियाकलापको पहिचान

वर्तमानमा कार्यान्वयनमा रहेका आर्थिक क्रियाकलाको विश्लेषणपश्चात् सम्भावित थप आर्थिक क्रियाकलापको पहिचान गर्नुपर्दछ । निर्वाहमुखी आर्थिक क्रियाकलापको व्यावसायिकरणको सम्भावना र उपयोगमा आउन नसकेका आर्थिक क्रियाकलापको खोज यस चरणमा गरिनुपर्ने कार्य हुन् । सम्भावित आर्थिक क्रियाकलापको पहिचान गर्दा आर्थिकरुपमा सम्भाव्य, प्राविधिकरुपमा उपयुक्त, सामाजिक रुपमा स्वीकार्य, भौगोलिक र प्राकृतिकरुपमा सुहाउँदो, आवश्यक जनशक्तिको उपलब्धता, सरकारी नीति अनुकुल, कच्चा पदार्थको उपलब्धता, पुर्वाधारको व्यवस्था आदि कुराहरूको विचार गर्नुपर्दछ । आर्थिक क्रियाकलापको वर्तमान अवस्थाको विश्लेषण र सम्भावित आर्थिक क्रियाकलापको पहिचानका लागि तलको खाका प्रस्ताव गरिएको छ ।

आर्थिक क्रियाकलापको वर्तमान अवस्थाको विश्लेषण र सम्भावित आर्थिक क्रियाकलापको पहिचान गर्दा देहायका विषयवस्तुहरूमा ध्यान दिन जरुरी छ ।

 

चरण–३: मुख्य आर्थिक क्रियाकलापको प्राथमिकीकरण

पहिचान गरिएका सम्भावित आर्थिक क्रियाकलाप सबै एकैपटक कार्यान्वयन गर्न सम्भव नहुन सक्दछ । त्यसकारण तीनको कार्यान्वयनका लागि प्राथमिकीकरण गर्नुपर्दछ । यस्ता आर्थिक क्रियाकलापको प्राथमिकीकरण गर्दा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको दिर्घकालीन सोंच र आवधिक योजना, मध्यकालीन खर्च संरचना र तीनले निर्दिष्ट गरेका गन्तव्यहरू, स्थानीय तहका आर्थिक नीति, आर्थिक सम्भाव्यता र सम्भावित आर्थिक क्रियाकलापको पहिचान गर्दा निर्धारण गरिएका आधारहरूलाई विचार गर्नुपर्दछ । मुख्य आर्थिक क्रियाकलापको प्राथमिकिकरण गर्दा निम्न खाकाको प्रयोग गर्न सकिन्छ ।

 

चरण–४: स्थानीय आर्थिक विकास योजना निर्माण

स्थानीय आर्थिक विकास कार्यक्रम कार्यान्वयनको चौथो चरणमा प्राथमिकता प्राप्त आर्थिक क्रियाकलापहरूको विस्तृत कार्यान्वयन योजना निर्माण गर्नुपर्दछ । यस्तो योजना निर्माण गर्दा दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, अपेक्षित उपलब्धि, कार्यान्ययन कार्यतालिका, कार्यान्वयन विधि, सरोकारवालाको पहिचान र भूमिकाको निर्क्यौल आदि प्रष्ट रुपमा किटान गर्नुपर्दछ ।

स्थानीय आर्थिक विकास योजना (आर्थिक वर्ष २०७७/२०७८-२०७९/२०८०) (नमूनाका लागि)

स्थानीय आर्थिक विकास योजना निर्माणको अवधिमा योजना कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोत र लगानीको आंकलन गर्नु पर्दछ । निम्न टेबलको प्रयोग गरी लगानी विवरण र आर्थिक स्रोतको आंकलन गर्न सकिन्छ ।

स्थानीय आर्थिक विकास योजनाको लगानी विवरण (आर्थिक वर्ष २०७७/२०७८–२०७९/२०८०) (नमूनाका लागि)

चरण–५: स्थानीय आर्थिक विकास योजनाको कार्यान्वयन

योजना कार्यान्वयनको चरणमा अपेक्षित उपलब्धि वा प्रतिफल, निर्दिष्ट उद्देश्य, कार्यान्वयन कार्ययोजना आदिलाई मध्यनजर गर्न जरुरी हुन्छ । उद्यमशिलता सम्बन्धि तालिम, कार्यान्वयनको फलोअप, कार्यस्थलको सहयोग, अनुगमन आदि कार्यान्वयन चरणमा गरिनुपर्ने कार्यहरू हुन् । स्थानीय आर्थिक विकास योजना कार्यान्वयनका लागि निर्दिष्ट कार्ययोजना निर्माण गर्नुपर्दछ । त्यस्तो कार्ययोजनाको खाका निम्नअनुसार हुन सक्दछ ।

स्थानीय आर्थिक विकास योजना कार्यान्वयन कार्ययोजना (नमूनाका लागि)

चरण–६: स्थानीय आर्थिक विकास योजना कार्यान्वयनको समीक्षा

स्थानीय आर्थिक विकास कार्यक्रम कार्यान्वयनको अन्तिम चरण भनेको कार्यक्रमको वार्षिक मूल्यांकन, समीक्षा, र आगामी वर्षका लागि आवश्यक संशोधन हो । वर्षभरीमा के राम्रो भयो, के सुधार गर्नुपर्ने पक्ष हो, ती कुराहरूको निर्क्यौल गरिनुपर्दछ । यस्तो समीक्षाको लागि सबै सरोकारवालाहरूलाई आमन्त्रण गर्नु उपयुक्त हुन्छ ।

स्थानीय आर्थिक विकासको कार्यक्रम कार्यान्वयनका लागि सबै किसिमका जीविकोपार्जनका स्रोतहरूको परिचालन गरिनुपर्दछ । मानविय पूँजीको विकास र परिचालन, प्राकृतिक, आर्थिक, भौतिक र सामाजिक पूँजीको एकीकृतरुपमा गरिने परिचालनबाट समृद्धिका पाइलाहरू कोरिनुपर्दछ । जीविकोपार्जनका लागि परिचालन गरिने पाँच किसिमका स्रोतहरूको स्थानीय आर्थिक विकासको मोडलमा प्रयोग गर्न उपयुक्त हुन्छ । जीविकोपार्जनका स्रोतहरूलाई तलको चार्टमा उल्लेख गरिएको छ ।

 

जीविकोपार्जनको स्रोत/सम्पत्ति

विकासको साध्य मानवीय समृद्धि नै हो । विभिन्न साधनको प्रयोग गरी साध्य प्राप्तिको यात्रा तय गरिनु पर्दछ । स्थानीय समुदायको संलग्नतामा स्थानीय स्रोतको अधिकतम उपयोग गरी रोजगारीको सिर्जना र महिला एवम् पुरुष दुवैको जीवस्तरमा गुणात्मक सुधार ल्याउने रणनीतिको रुपमा अंगीकार गरिएको यो अवधारणा केवल आर्थिक वृद्धिमा मात्र सीमित छैन । यो त न्यायपूर्ण समाज निर्माणको आधार हो । सबैका लागि सम्मानित काम, सबैका लागि सम्मानित जीविकोपार्जन, सबैका लागि सम्मानित जीवन, सबै व्यक्तिहरूले आफुले छनौट गरेको जीवन बाँच्न पाउने अवस्थाको सिर्जनाका लागि अगाडि सारीएको यो अवधारणा परनिर्भरताको अन्त्य र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार बन्नु पर्दछ । यसको अवलम्वन गरी स्थानीय तहहरूले समृद्धिको जग बसाल्न जरुरी छ । यो नै आजको आवश्यकता र प्राथमिकता पनि हो ।

(मादी गाउँपालिका वडा नं १२, लिपेयानी, कास्कीका पाण्डे विगत २० वर्षदेखि स्थानीय सुशासन, संस्थागत विकास, गरिबी निवारण, स्थानीय विकास आदि क्षेत्रमा कार्यरत रहेका छन् । आलेखमा व्यक्ति विषयहरु लेखकका निजी विचार हुन्)

प्रतिक्रियाका लागिः pandeyrishiram71@gmail.com

फोन: 9841772665

यो पनि-

कोरोनाको पाठः स्थानीय आर्थिक विकास

कोरोनाको पाठः स्थानीय आर्थिक विकास-१

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay