scheduleबुधवार मंसिर १७ गते, २०७७

विश्वरूप मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण

काठमाडाैं, १४ कात्तिक । पशुपति क्षेत्र विकास कोषले विश्वरूप मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण गरिने बताएको छ ।

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागले ड्रइङ डिजाइन स्वीकृत दिएसँगै विभागसँगको समन्वयमा मन्दिरको पुरानै शैलीमा निर्माण गरिने कोषले बताएको हो ।

मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि अहिले ७१ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएपनि बहुवर्षीय योजनाअन्तर्गत पुनर्निर्माण गरिने भएकाले कम्तीमा १ अर्ब रुपैया लाग्ने अनुमान गरिएको भन्दै लागत पूर्वानुमानको पुनःसमीक्षा भइरहेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

विश्वरुप मन्दिर पशुपति क्षेत्रकै सबै भन्दा ठूलो सम्पदा भएकाले र सम्पदाप्रेमीको पनि चाँसोको विषय भएकाले सम्पदामैत्री ठेकेदार छनौट गरेर काम अघि बढाइने उनको भनाई छ । मन्दिर क्षेत्रको पुनःनिर्माण आगामी ५ वर्षभित्र सक्ने लक्ष्य कोषले लिएको छ । मन्दिरको ऐतिहासिक, पुरातात्विक र शास्त्रीय मुल्य मान्यताका आधारहरुमा टेकेर पूनर्निर्माणका लागि कोषले रेखदेख गरेर काम अघि बढाउने पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।

विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन ।

हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहासमा उल्लेख छ । विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay