scheduleसोमवारमाघ १२ गते, २०७७

मोक्षभूमिः सनातन संघर्षको सामयिक पुनर्लेख

डम्बर खतिवडा

लेखक, विश्लेषक तथा साझा पार्टीका नेता मित्र केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ हात पर्दा एकक्षण एकहोरो हेरिरहेँ । कुनै अतिरिक्त मोह वा भावुकता पैदा भएजस्तो भयो मनमा । थाहा छ– लेखक र पाठकबीच कुनै अतिरिक्त स्नेह हुनुहुँदैन, लेखनको गुणस्तरबाहेक । अझ समीक्षकको आँखामा त झनै हुनुहुँदैन ।

तर, मोक्षभूमि हात पर्दा मैले त्यो सीमारेखा ननाघिरहन सकिनँ । केशवजीले राम्रो फिक्सन लेख्न सक्दछन् भन्ने विश्वास मलाई धेरै अगाडिदेखि थियो । तथापि राजनीतिक तथा सामाजिक मुद्दाहरुमाथि बौद्धिक लेखनमै उनी सीमित हुँदै आएका थिए । उनको राजनीतिक लेखनमा एक किसिमको भावुकता हुन्छ । भावनाप्रधान शब्दावली, वाक्य, वाक्यांशको विन्यास हुन्छ । एक फरक प्रकारको मौलिक सुगन्ध र साहित्यिक ‘एप्रोच’ हुन्छ । त्यसले फिक्सन लेखकको क्षमतालाई द्योतन गर्दथ्यो ।

३२ वर्ष पुगेछ मैले उनलाई चिनेको । प्रारम्भिक लेखनकालदेखि अहिलेसम्म उनको लेखन यात्राका सबै चरणको पाठक हुँ म । मलाई लाग्छ– मोक्षभूमिमा अझै उनी पूर्ण क्षमताका पोखिएका छैनन् । यदि एक समर्पित लेखक हुने हो भने उनले अझै धेरै राम्रो लेख्ने क्षमता राख्दछन् । हामी धेरै मानिसको जस्तो उनको पनि जीवन धेरै कामहरुमा बाँडिएको छ । त्यो व्यस्तता र भीडभाडबीच ‘मोक्षभूमि’ को जन्म आफैंमा महत्वपूर्ण छ ।

पछिल्लो केही वर्षदेखि हामी आआफ्नो बाटोमा थियौं । भेट पहिले-पहिलेको तुलनामा निक्कै पातलो भएको थियो । सहकार्यका कडीहरु कम भएका थिए । तथापि सद्भाव र प्रेम उही पुरानै थियो । मलाई थाहा थियो कि उनी कुनै गतिलो फिक्सन लेख्दैछन् । तर त्यसको कथा, प्लट वा परिवेशबारे कुनै कुरा चुहाएका थिएनन् । पढेपछि लाग्यो- उनले मैले सोचेभन्दा विल्कुल फरक परिवेशको कथा खोजेछन् ।

उपन्यास पढ्नुलाई पाप वा अपराधजस्तो ठानिने युगको मान्छे हो हाम्रो पुस्ता । हाम्रो गाउँघरमा ३० को दशकमा उपन्यास पढ्ने युवायुवतीलाई ‘बिग्रेका केटाकेटी’ भनिन्थ्यो । युधिर थापा, सुवास घिसिङ, गुलसन नन्दा, वेदप्रकाश शर्मा, सुरेन्द्र मोहन पाठकजस्ता लेखकका उपन्यास लुकीचोरी पढ्दै हुर्कियौं ।

राजनीतिले छुँदै गएपछि सोभियत साहित्यले तान्यो । त्यसपछि रुसी उपन्यासहरु एक लस्कर पढिएछ । गोर्कीको आमा, आस्त्रोभस्कीको अग्निदीक्षा, शोलोखोभको दोन, तोल्स्तोईको युद्ध र शान्ति वा अन्ना कारेनिना, दोस्तोभस्कीको अपराध र दण्ड आदि ।

जब स्तरीय नेपाली वा हिन्दी साहित्य पढ्न सक्ने भइयो, उपन्यासका नयाँ मानक अगाडि आए । प्रेमचन्द, बकिमचन्द, शरदचन्द, महाश्वेतादेवी, फणेश्वरनाथ रेणु, राजेन्द्र यादव, मनु भण्डारी, अनिल बार्बे आदिइत्यादी । नेपालीमा रुपमतिदेखि, एक चिहान, बसाँई, मन, घामका पाइलाहरु, अलिखित, सेता बाघ, आकाशगंगाको तिरैतिर, नयाँ घर, पल्पासा क्याफे हुँदै सेती धर्तीसम्म कमै छोडिया होला ।

तर, मेरो मष्तिष्कमा उपन्यासका जम्मा ४ वटा मात्र स्थापित मानक छन् । बीपी कोइरालाको नरेन्द्र दाई, पारिजातको शिरिषको फूल, मदनमणी दीक्षितको माधबी र विजय मल्लको अनुराधा । मलाई कसैले सोध्यो कि संसारका उत्कृष्ट उपन्यास कुन हुन्, मैले यी ४ वटाको नाम भन्दिन्छु । बाँकी संसार मलाई के थाहा ? मेरो संसारका उत्कृष्ट यिनै हुन् । कम्तीमा मैले पढेका मध्ये उत्कृष्ट यिनै हुन् ।

मलाई कता कता अझै लाग्छ– यिनको उच्चाई छुन सक्ने उपन्यास कसैले लेख्ला र ? भलै मैले पत्याएको साथी केशव दाहलले नै किन नहोस् ।

हो, यी मानकबाट सबै नयाँ उपन्यास र उपन्यासकारलाई दाँज्नु, तौलनु कुनै उचित वा शोभनीय कार्य हैन । हरेक लेखकले आ-आफ्नो समय र चेतनालाई समातेका हुन्छन् । सबैको आआफ्नो परिवेश, शैली र सुवास हुन्छ । ध्रुवचन्द्र गौतम र नयनराज पाण्डेको पुस्ताकै बीचमा निक्कै ठूलो भिन्नता छ । यी दुवै पुस्ताको आआफ्नै विशिष्ट योगदान छ ।

नढाँटी भन्दा केही वर्ष यता मैले कसैको कुनै उपन्यास पढेको थिइनँ । न हिन्दीमा, न अंग्रेजीमा न नेपालीमा । मोक्षभूमि हात पर्नुअघि सेतो धर्ती मैले पढेको अन्तिम नेपाली उपन्यासजस्तो थियो । सधैंका लागि त्यही नै अन्तिम हुन्छ कि जस्तोजस्तो पनि थियो । यसबीचमा थुप्रै राम्रा उपन्यास लेखिए । छापिए । चर्चा भए । पुरस्कार पाए । समाचार सुनिरहेँ । तर किन हो मलाई यस्तो लागिरह्यो कि अब मेरो उपन्यास पढ्ने उमेर सकियो ।

यो मेरो सोच गलत थियो, तर पूर्ण गलत भने हैन । मानव जीवनका सीमा छन् । गर्नुपर्ने यतिधेरै काम छन् कि एउटै जीवनमा ती सबै सकेसम्म भ्याएर मर्नुपर्छ । सधैं अरुले लेखेको पढी मात्र बस्ने हो भने आफू कहिले लेख्ने, अरु काम कहिले कसरी गर्ने ? बजारमा जति राम्रा किताब आउँछन्, ती सबै किन्ने पैसा कसरी कहाँबाट पुर्‍याउने ? तर ‘मोक्षभूमि’ पढ्नु मेरो आफ्नै मोह थियो ।

पढ्न शुरुवात गरे । प्रारम्भिक अध्यायहरुमा कताकति माधबीको झझल्को आयो । सिंजा टाढाको सभ्यता हो पूर्वका मान्छेको लागि । कर्णाली अझै मलाई रहस्यभूमिजस्तो लाग्दछ । देशका ६५ बढी जिल्ला घुमिसक्दा पनि सिञ्जा अझै पुगेको छैन । देशका विभिन्न भौगोलिक क्षेत्रबारे सबैभन्दा कम जानकारी कर्णाली कै छ । जबकी पुर्खाहरुको इतिहास त्यही भूमिसँग जोडिन्छ ।

पूर्वका बाहुन–क्षेत्रीहरु सिञ्जा र डोट्याल क्षेत्रको कथा सुन्दै, वंशावली पढ्दै हुर्किन्छन् । तर, त्यहाँ विरलै पुग्दछन् । त्यहाँको वर्तमानलाई विरलै बुझ्दछन् । केशवजीको मोक्षभूमिको कथा पनि त्यसरी नै शुरुवात हुन्छ । उनी आफ्ना बुबा डिल्लीप्रसादबाट सिञ्जाको कथा सुन्दैछन्– सुदूरपुर्वको संखुवासभाको चुङखुरुङ गाउँमा ।

चुङखुरुङ, वाना, सभाखोला र चैनपुरक्षेत्रबारे केशवजीका आफ्नै प्रकारका ‘नोस्टाल्जिया’ बारम्बार सुनेको छु मैले । लाग्यो, कथा त्यतै पुग्ने त हैन । तर, कथा त्यता पुग्दैन । कथा नेपालभरि छरिन्छ । अझ दक्षिण एशियाभरि फैलिन्छ । सिन्धु उपत्यका र भोटसम्म पुग्छ । आजभन्दा करिब एक हजार वर्षअघिको दक्षिण एशियाको क्यानभाषमा सामयिक तर्क प्रणालीहरुको पुनर्लेखन उपन्यासमा हुँदै जान्छ ।

प्रारम्भिक अध्यायहरु पढ्दा मलाई लाग्यो– केशवजीले कसरी सिंजाको कथालाई टिपे, त्यो क्षेत्रको राम्रो जानकार त उनी पक्कै हैनन् । फेरि पढ्दै जाँदा लाग्यो कि यो फिक्सन हो, कथा हो, ऐतिहासिक तवरले हेर्न जरुरी छैन । ऐतिहासिक दृष्टिकोणले कथाका पात्र, चरित्र, परिवेश र घटनाक्रम मिल्दछन्, मिल्दैनन् भन्न सकिन्न ।

उनी लेख्छन्, ‘यो इतिहास हैन, कथा हो । कथा र इतिहासमा सानो सिमाना छ । कथा मनबाट लेखिन्छ र मष्तिष्कमा राज गर्दछ । इतिहास दरबारमा लेखिन्छ र दिमागलाई दास बनाउँछ ।’

यो वाक्य पढेपछि मोक्षभूमिमा प्रमाणिकताको खोज अर्थहीन भएर जान्छ ।

कथ्यको दृष्टिकोणबाट उपन्यास बिल्कुल फरक वा मौलिक भन्न मिल्दैन । उपन्यासमा वर्णित सिञ्जामा दास व्यवस्था छ । खसआर्य सभ्यता छ । सम्राट क्राचल्ल देवको चरित्रमा अनेक उतारचढाव छन् । एकातिर उनी स्त्रीलम्पटजस्तो देखिन्छन्, अर्कोतिर भावुकप्रेमी । एउटा पाटो बढो शान्त चित्तवृत्तिका मानवतावादी सम्राट प्रतीत हुन्छन् अर्को पाटोबाट युद्धपिपाशु राजा । सम्राट क्राचल्ल देवको मनोदशा कुमाउ युद्धपछि विरक्त हुन्छ । उनी दास मोचन यज्ञ गर्दछन् र बुद्धधर्म ग्रहण गर्दछन् ।

यो कथा दक्षिण एशियाली परिणतिको पुनर्लेख मात्र हो । इतिहासमा मगध सम्राट अशोकले ठीक यही गरेका थिए । कलिङ युद्धपछि उनले बुद्धधर्म ग्रहण गरेका थिए । अशोकभन्दा फरक मोक्षभूमिको क्राचल्ल देव ‘जातीय श्रेष्ठता’ भर्सेस् ‘मानवीय श्रेष्ठता’को मनोवैज्ञानिक द्वन्द्वमा फसेको छ । जबकी अशोक बुद्धधर्मको मान्यता र प्रचारका लागि सम्पूर्णतः समर्पित भएका थिए ।

उनले त्यस सत्कर्मका लागि मगधको राज्यकोष सिध्याएका थिए । तर मोक्षभूमिमा वर्णित क्राचल्ल देव त्यसो गर्दैनन् । उनी सिञ्जाको सत्ता जेठी महारानी पल्लवी र राजकुमार प्रेमचल्ल देबलाई सुम्पिएर कान्छी महारानी अप्सराका साथ बोधगयाको तीर्थयात्रामा निस्कन्छन् ।

खस–आर्य सभ्यताको कथाभूमिमा बनेको हुँदा यहाँ ‘समावेशी पात्र’ विरलै छन् । तिब्बतको राजा छ्वानदेन र ने उपत्यकाको राजा भय मल्ल, भय मल्लका सेविकाहरु यशोधरा र दमयन्ती सम्पूर्ण कथामा वर्णित फरक समावेशी पात्र हुन् । अन्यथा सिञ्जाका दासहरु पनि खस–आर्यहरु नै छन् । मोक्षभूमिमा वर्णव्यवस्थाले भन्दा बढी दास व्यवस्थाको कथाले महत्व पाएको छ ।

दक्षिण एशियाको एक ऐतिहासिक तथ्य शंकराचार्य मत र बुद्धिज्म बीचको निर्मम संघर्ष थियो । यो संघर्षमा सबै बाहुनहरु शंकराचार्यको पक्षमा थिएनन् । हिन्दू धर्म परम्परा र साहित्यले बुद्धलाई पनि अन्ततः बिष्णुकै अवतार मान्नु एक ऐतिहासिक हाँस्य हो । तर, बुद्धिज्म हिन्दुतन्त्रका यावत कमजोरीहरुभन्दा बहिर पूर्णतः मुक्तिमार्ग हो भन्ने तर्क भने पर्याप्त हैन ।

दाहालको मोक्षभूमिमा सम्राट क्राचल्ल देव र रानी अप्सरा मात्र हैन, दास सहनायक कृष्णदेवले पनि बौद्धधर्म ग्रहण गर्दछन् । ऊ कृष्णदेवबाट भिक्षु उमंग बन्दछ । तर उसको विरक्तिको कारण भने युद्धसँग भन्दा बढी प्रेमसंग जोडिएको छ । ऊ राधेलाई प्रेम गर्दछ । तर, भय मल्लकी सेविका यशोधरासँग यौन सम्पर्क गर्न पुग्दछ । यो घटनापछि उसको हृदय व्यथित छ । जब उसले राधेको मृत्युको समाचार सुन्छ, ऊ भिक्षु उमंग बन्न पुग्दछ ।

आजको नेपाल र दक्षिण एशियामा ‘बाहुनवाद’ विरुद्धको जुन संघर्ष छ– यसको वैचारिकीबाट मोक्षभूमि मुक्त छैन । यहाँ ब्रह्मानन्द, यज्ञबल्लभ र अभयनाथजस्ता बाहुनहरु छन् जो प्रचलित अर्थको बाहुनवादबाट वाक्कदिक्क छन् । दासप्रथाले जस्तै जातप्रथाले ‘मानवीय श्रेष्ठता’लाई खण्डित गरेको छ । यो स्वीकार र समर्थन गर्न सकिने कुरा हैन, साथै चाहेर सजिलै फाल्न सकिने उपाय छैन । यो मानसिक द्विविधाको पीडाबाट व्याकुल ब्रह्मण समाजको प्रतिनिधित्व यी सन्तहरुले गर्दछन् ।

तर आर्यदेव भने सनासत वैदिक सभ्यता, मनुस्मृति आधारित वर्ण तथा दास व्यवस्थाको रक्षाका लागि दृढसंकल्पित छ । आर्यदेव जात व्यवस्था, दास व्यवस्था, राजपरम्परा, हिन्दुत्व र खसआर्य जातीय सभ्यताको श्रेष्ठता बीच कुनै असंगति देख्दैन । ऊ यसका लागि सम्राटसँग विद्रोह गर्ने आँट गर्दछ । राजाभन्दा माथि सभ्यता हुन्छ, सभ्यता र संस्कृतिको दायित्वबाट च्युत भएका सम्राट विरुद्ध विद्रोह संगठित गर्नु आर्य-श्रेष्ठमार्गीहरुको कर्तव्य हो भन्ने उसको मत छ ।

यसर्थमा मोक्षभूमिको कथ्य त्रिकोणात्मक वैचारिक संघर्षलाई पुनर्लेख नै हो । यहाँ एकातिर यज्ञबल्लभ, ब्रह्मान्द र अभयनाथजस्ता बाहुनवाद विरोधी बाहुनहरु छन् । अर्कोतिर क्राचल्ल देव, रानी अप्सरा, भिक्षु आनन्द, दास सहनायक कृष्ण देवजस्ता बौद्धमार्र्गी छन् । तेस्रो पक्ष हो– आर्यदेवको सनातन धर्म र मनुस्मृतिवाद । यी ३ विचारधारा बीचको संघर्षको कथा कुनै नयाँ कथा मान्न सकिन्न । तर यसको पुनर्लेख गर्ने तरिका र शैली भने मोक्षभूमिको विशिष्टता हो ।

आज हामीले खोजी रहेको एक फरक वैचारिकीको संकेत दासनायक सत्यदेवले स्थापना गर्न चाहेको नयाँ राज्य मोक्षनगरसँग सादृष्य हुन्छ । विमोचित दासहरुले निर्माण गर्न लागेको मोक्षनगर एक नयाँ ‘युटोपिया’ का रुपमा उपन्यासले स्थापित गर्दछ । त्यो कति सफल हुन्छ वा असफल हुन्छ, थाहा छैन । त्यसको कुनै वर्णन र सफलताको कथा उपन्यासमा छैन । केवल प्रस्तावनाहरु मात्र छन् ।

दक्षिण एशियाका ३ मुख्य वैचारिकीहरुले करिब ३ हजार वर्षमा पनि दिन नसकेको ‘मोक्ष’ दास नायक सत्यदेव र उसकी सहयोगी ताम्राको भावुकता वा कल्पनाशीलताले परिपूर्ति गर्ला न गर्ला त्यो अर्कै पाटो हो । तर, यो एक आशा हो, सपना हो । एक सुन्दर भविष्यको संकेत हो ।

नेपाल अझै अनेक विभेदहरुको क्रिडास्थल हो । यहाँ जातीय, भाषिक, साँस्कृतिक, लैङिक, क्षेत्रीय, धार्मिक लगायतका समानताहरु अझै प्रत्याभूत छैनन् । नेपाल अझै ‘सिञ्जानगर’ नै छ, ‘मोक्षनगर’ बनिसकेको छैन । ‘मोक्षनगर’ एक्काइशौं शताब्दिमा पनि विभेद र अपमानको शिकार भएकाहरुको साझा ‘युटोपिया’ जस्तो प्रतीत हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay