scheduleबिहिवारमाघ १५ गते, २०७७

नेकपा फुटे के हुन्छ ? नफुटे के हुन्छ ?

प्रतिभा पराजुली

काठमाडौं, १७ कात्तिक । यतिखेर राजनीतिक बजारमा सत्तारुढ नेकपा फुट्न सक्ने गर्मागर्मी चर्चा छ । फुट्ला फुट्ला, त्यो बिषयलाई एकक्षण तपसीलमा राखौं । पार्टीभित्रको जटिलता निक्कै अप्ठ्यारो मोडमा पुगेको भने सबैजसो नेताहरुले स्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओली निकटस्थ पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ट्वीट र फेसबुक स्टाटसले ओली पक्षको अनुभूतिलाई सार्वजनिक गर्दछ । पौडेलले ‘पार्टीको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न’ भएको भन्दै एकताको पक्षमा भूमिका गर्न सबैसँग आग्रह गरेका छन् ।

ओली इत्तर पक्षका अभिव्यक्तिहरु सार्वजनिक भइरहेकै छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको ट्वीट त्यसको प्रमाणिकताको आधार हो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओली बाहेकका महत्वपूर्ण शीर्ष नेताहरु सामु गरेको ब्रिफिङ सार्वजनिक भइसकेकै छ ।

यो स्थितिमा नेकपापङ्क्ति भित्र र बाहिर दुवैतिरबाट विभिन्न प्रतिक्रिया आइरहेका छन् । तर, समग्र स्थितिलाई हेर्दा नेकपा फुटिहाल्ला भन्ने विश्वास गर्न सकिन्न ।

पहिलो कारण– पार्टी फुटका लागि विद्यमान जटिल संवैधानिक तथा कानुनी व्यवस्था हो । अहिलेको व्यवस्था अनुसार फुट्न चाहने पक्षले पार्टी संसदीय दल र केन्द्रीय समिति दुवैतिर न्युनतम् ४० प्रतिशत सङ्ख्या पुर्‍याउनु पर्दछ । यो काम कसैका लागि पनि सजिलो छैन ।

यही अप्ठ्यारोलाई सहज बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ८ गते दल विभाजन सहज बनाउने अध्यादेश ल्याएका थिए । तर, त्यो अध्यादेश फिर्ता भइसकेको छ । अध्यादेश फिर्ता नभएपनि ६ महिनाभन्दा बढी त्यसको वैधानिकता कायम रहँदैन । विद्यमान संसदीय संचरनामा त्यस्तो अध्यादेश कानूनको रुपमा अनुमोदन हुन सजिलो छैन ।

दोस्रो कारण– दल विभाजनपछि कुनै एक पक्षको चुनावी नतिजा नेपालमा राम्रो रहने गरेको छैन । दल विभाजनपछि कुनै एउटा विशेषतः त्यो पक्ष जससँग विभाजित हुँदा बहुमत हुँदैन र पार्टी चुनाव चिन्ह पाउँदैन, त्यो कमजोर हुनुपर्ने हुन्छ । बारम्बार पुष्टि भएको यो नियति भोग्न सायद कुनै पनि नेता तयार छैनन् ।

तेस्रो कारण– वर्तमान नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीको प्रष्ट सीमारेखा छैन । रामबहादुर थापा बादल, लेखराज भट्ट, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, प्रभु शाहजस्ता पूर्वमाओवादी हस्तीहरु ओली निकट भइसकेको बताइन्छ । अर्कोतिर प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता प्रभावशाली पूर्वएमालेहरुको साथ लिन खोजिरहेका छन् । यो नयाँ ध्रुवीकरणले पार्टी विभाजन प्रक्रियालाई असहज बनाउँछ । नेपाल, खनाल, गौतम तहका नेताहरु अहिले नै प्रचण्डको पछि लागेर पार्टी फोड्न राजी होलान् भनेर पत्याउने आधार छैनन् ।

चौथो कारण– ओली आफ्नो स्थितिलाई नबुझ्ने नेता हैनन् । दोस्रो पटक मृगौला प्रत्यारोपण सफल भएपछि उनमा नयाँ चरणको महत्वाकांक्षा पलाएको छ । उनी आफैं अहिले पार्टीको प्रथम अध्यक्ष र प्रधानमन्त्री छन् । यी दुवै पदबाट उनलाई बेदखली गर्ने क्षमता प्रचण्ड पक्षसँग देखिन्न । पार्टीको सबै बैधानिक अधिकार र हालीमुहाली आफैंसँग भएको वेला ओली आफैंले ४० प्रतिशतको प्रावधानअनुरुप पार्टी फुटाउने तर्क प्रासङ्गिक हुँदैन । ओलीले यही पार्टीभित्र अझै आफ्नो शक्ति बढाउने र इतर पक्षलाई निरिह सावित गरी पार्टी र सरकार चलाउन सक्ने सम्भावना छ, उनले पार्टी किन फुटाउनु पर्‍यो !

पाँचौं कारण– माधव, झलनाथ र वामदेवले फुटाउन साथ दिने सम्भावना हुँदैन, त्यसको अभावमा प्रचण्डले चाहेर पनि एक्लै दुवैतिर ४० प्रतिशत पुर्‍याउन सक्दैनन् । तसर्थ जतिसुकै जटिल क्षणबाट गुज्रिए पनि नेकपा फुट्ने आधार छैनन् । फुटेर कुनै नयाँ उपलब्धि हुने देखिन्न ।

त्यसो भए ओलीको प्रयास के हो ? किन उनले प्रचण्डलाई ‘मिल्न सकिन्न भने आ-आफ्नो बाटो लागौं’ भने । यो प्रम ओलीले इत्तरपक्षमाथि गरेको मनोवैज्ञानिक युद्ध हुनु पर्दछ । पार्टी विभाजनको हल्लाले यतिखेर ओली पक्षधरभन्दा अरु बढी आतंकित हुने अवस्था छ । त्यो ओलीले राम्ररी बुझेका छन् । आफूमाथिको दबाब चर्को हुँदै गए उनले विभाजनको कुरा गर्दिनछन्, जसले अरुलाई खुम्चिन बाध्य गर्दछ ।

विष्णु पौडेलजस्ता ओली निकटस्थहरुले रणनीतिक चाल नबुझी त्यो स्तरको स्टाटस वा ट्वीट लेख्लान् भनेर सोच्नु मुर्खता हो । पौडेलको स्टाटस स्वयं चिन्ताको अभिव्यक्ति हैन, अरुमा मनोवैज्ञानिक भय सृजना गर्ने प्रयोजित प्रयास हो ।

समस्या कहाँनेर हो भने ओली रणनीतिबारे प्रचण्ड पक्ष सर्वथा भ्रममा रहँदै आएको छ । नयाँ स्थितिले पनि सबैभन्दा धेरै अप्ठ्यारोमा प्रचण्ड पक्षलाई नै पार्नेछ । त्यो कसरी भने ओलीको पार्टी एकता गर्ने निर्णय नै निक्कै रणनीतिक र दीर्घकालीन प्रकृतिको थियो जसको उद्देश्य माओवादी आन्दोलनको स्प्रिट पनि सिध्याउनु र त्यसको शक्ति पनि कब्जा गर्नु थियो । ओलीको यो भित्री रहस्य प्रचण्डले बुझेनन् ।

अब बुझेर पनि प्रचण्डसँग खासै विकल्प छैनन । किनकी ओली आफ्नो योजनामा सफल भइसकेका छन् । यदाकदा चर्चा हुने पूर्वमाओवादीहरुको एकता कुनै कोणबाट पनि सम्भव देखिन्न । प्रचण्डको नेतृत्वमा डा. बाबुराम भट्टराईदेखि विप्लवसम्म, मोहन वैद्यदेखि गोपाल किराँतीसम्म एक हुने कुरा अब कल्पना बाहेक केही होइन ।

प्रचण्डले ओलीको विरुद्धमा अर्को शक्ति निर्माण गर्ने हो भने उनी आफ्नो समूहसहित त्यहाँबाट निस्किएर जनता समाजवादी पार्टीसँग मिल्नुपर्ने हुन्छ, तीनवटा कारणले उनले त्यसो गर्दैन ।

पहिलो कारण– प्रचण्ड पक्षले नेकपामा पाइरहेको शत्ति, सत्ता र पदको निकटता छोड्न चाहँदैन ।

दोस्रो कारण– कम्युनिष्ट शब्दप्रति उनलाई अझै मोह छ । जनता समाजवादी पार्टीले अब नाम फेरर प्रचण्डका लागि आफूलाई कम्युनिष्ट बनाउँदैन ।

तेस्रो कारण– अब नेपालको कुनै पनि राजनीतिक धार र पार्टीले प्रचण्डलाई आफ्नो मूल नेता स्वीकार गर्ने सम्भावना छैन । दोस्रो वा तेस्रो तहको नेता हुन उनले नेकपालाई नै उचित ठान्नेछन् ।

 

यी ३ वटै अवस्था प्रचण्डका नियति हुन् । नेकपाको महाधिवेशन भए नै भएपनि प्रचण्ड अध्यक्ष हुँदैनन् । किनकी प्रतिस्पर्धा गरेर लिन उनले सक्दैनन् । नेकपाको कुल संगठित सदस्यहरुमा प्रचण्डप्रति सहानुभूति राख्नेहरुको अनुपात अब २० प्रतिशत भन्दा बढी हुँदैन । सोही अनुपातमा महाधिवेशन प्रतिनिधि आउने हुँदा प्रचण्डले प्रतिस्पर्धा गरेर जित्ने सम्भावना नै हुँदैन ।

दाबीका साथ भन्न सकिन्छ कि महाधिवेशनमा ओली पक्षले प्रचण्डलाई अध्यक्ष पदमा सहयोग गर्ने छैन । त्यसको प्रष्ट र मूर्त कारण छ । त्यो हो- ओली पक्षमा भएको जनताको बहुदलीय जनवादप्रतिको मोह र त्यसको उत्तराधिकारी दलका रुपमा नेकपालाई भविष्यमा अविछिन्न राख्ने चाहना ।

ओली-विद्या समूहमा नेकपालाई मदन भण्डारीको विरासतमा बनेको एक अविछिन्न उत्तराधिकारी दल बनाउने असीम चाहना छ । प्रचण्ड पार्टी अध्यक्षका रुपमा स्थापित र शक्तिशाली भए नेकपाले त्यो धार छोड्दै जाने, प्रचण्ड आफ्ना पुराना माओवादी कालिन सोच र एजेण्डामा फर्किन सक्ने डर ओलीलाई छ ।

तसर्थ ओली स्वास्थ्यले साथ दिए अझै एक कार्यकाल अध्यक्ष आफैं हुन चाहन्छन् । अन्यथा उनले माधव नेपाललाई समर्थन गर्नेछन् । ओली र माधव नेपाल समूहको एकतामा पूर्वमाओवादीको एक समूह समेत थपिएपछि महाधिवेशनमा प्रचण्डको स्थिति निक्कै कमजोर हुनेछ । नेकपाभित्रको विवादलाई यी सबै आयामबाट हेर्नु पर्ने हुन्छ ।

अहिले निकाल्न सकिने सहज निष्कर्ष हो– नेकपा फुट्दैन पनि, सुध्रिँदैन पनि । ओली सरकार बाँकी २ वर्ष कायमै रहन्छ पनि, बितेको करिब ३ वर्षभन्दा कुनै गतिलो काम यसले आउने २ वर्षमा गर्दैन पनि । पार्टीभित्रको अन्तर्विरोधले नेकपा र वर्तमान सरकारलाई कुनै नयाँ मोड दिने ल्याकत राख्दैन ।

नेकपाको भविष्य आउने निर्वाचनमा जनमतबाटै सम्परिक्षण हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay