समूह चरणको अन्तिम खेलमा दिल्लीलाई जित्नैपर्ने दबाब, सन्दीप भने बेन्चमै
काठमाडौं, १७ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार बेलुका रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स खेल्दै छन् ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेपछि केहीबेरमा फिल्डिङमा उत्रँदै छ ।
यद्यपि हालसम्म दिल्लीले खेलेका १३ वटै खेलमा मौका नपाएका सन्दीप १४औं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले तीन परिवर्तन गरेको भएपनि सन्दीपले भने मौका पाएनन् ।
अक्षर पटेल, अजिन्क्या रहाणे र डानियल साम्स टोलीमा फर्किएका छन् भने प्रविण दुबे, शिम्रोन हेटमायर र हर्षल पटेल बाहिरिएका छन् ।
दिल्लीले हालसम्म खेलेका १३ खेलमध्ये ७ मा जीत हात पारेको छ भने ६ मा पराजित भएको छ । त्यसैगरी बैंगलोरको पनि समान अवस्था रहेको छ ।
दिल्ली पछिल्ला ४ खेलमा पराजित भएको छ भने बैंगलोर पनि पछिल्ला ३ खेलमा पराजित भएको छ । यस खेलमा दुवै टोलीलाई जित्नैपर्ने दबाब रहेको छ ।