scheduleबिहिवारबैशाख ९ गते, २०७८

हिमालयमा भारत-चीन संघर्षको अन्तर्कथा–३

सम्राट चौधरी

उन्नाइसौं शताब्दिको अन्त्य र बीसौं शताब्दिको प्रारम्भतिर भ्रमण र सञ्चारका नयाँ प्रविधिहरु विकास भए । त्यसअघि राज्यहरुले आफ्नो वरिपरिको भूभागलाई नियन्त्रण गर्न मात्र सम्भव हुन्थ्यो । अब टाढासम्मको भूभाग नियन्त्रण गर्न सम्भव हुँदै गयो । टेलिफोन, टेलेग्राम, रेलवे, पानीजहाज, मोटरकार र हवाई साधनहरुले राष्ट्रिय–राज्यहरुको विस्तार गर्ने नयाँ सोचहरु सृजना गरे । प्रत्येक राज्यलाई आफ्नो पुरानो सीमाभन्दा बाहिर सार्वभौमिकताको विस्तार गर्न सकिने विश्वास जाग्यो ।

साम्राज्यहरुको पुरानो भौगोलिक प्रबन्धन ‘अधिपत्य’ को सिद्धान्तमा आधारित हुन्थ्यो । राज्यका निश्चित क्षेत्रहरु पूर्ण नियन्त्रित र पूर्ण सार्वभौम हुन्थे, त्यसको बाहिरको क्षेत्रमा हैकम कायम राखे पनि एक प्रकारको स्वायत्तता दिइन्थ्यो । अब यी विचार लागू नहुने भए । परिणामस्वरुप हिमालयका क्षेत्र र बासिन्दाहरु जो दिल्ली र बेइजिङको विशाल शक्तिसँग एक परम्परागत सम्बन्धको आधारमा आफ्नै प्रकारले चल्थे, त्यो स्वायत्तता अब गुम्ने भयो ।

यो नयाँ रुपान्तरणले प्रभावित एक अधिराज्य तिब्बत थियो । तिब्बतले सन् १७२४ देखि एकप्रकारले चिनियाँ आधिपत्य स्वीकार गर्दै स्वायत्त रहँदै आएको थियो तर तिब्बत कहिल्यै सार्वभौम चीनको अंश थिएन । हिमालय क्षेत्रमा चीनको सीमाभूमिको दावी आधिपत्य तिब्बतको ऐतिहासिकतामा आधारित छ । चीनले ती क्षेत्रहरु दावी गरिरहेको छ, जो चीन अधिपत्य तिब्बतको थियो भन्ने ठानिन्छ । तिब्बत जहिलेदेखि चीनको अधिपत्य भूभाग बन्यो, त्यसपछि उसलाई कुनैप्रकारको सन्धिमा हस्ताक्षर गर्ने अधिकार रहँदैनन्थ्यो भन्ने चीनको दावी हो ।

भारतीय पक्षको दावी भने सिमला सम्मेलनले कोरेको म्याकमोहन लाइन हो । यो सन्धी मूलतः ब्रिटिश–इन्डिया र तिब्बतका प्रतिनिधिबीच भएको थियो । सन् १९५९–६० मा अन्तर्राष्ट्रिय न्यायिक आयोगले यो बिषयमा अध्ययन गरेको थियो र के निष्कर्ष निकालेको थियो भने सन् १९१३ र १९५० को बीचमा तिब्बत वास्तवमा एक स्वतन्त्र राष्ट्र थियो । तसर्थ, म्याकमोहन रेखा कानुनतः बैध छ । तर, चीनले यो निर्णय स्वीकार गरेन ।

जब सन् १९५१ मा चिनियाँ जनमुक्ति सेनाले तिब्बतमाथि आक्रमण र कब्जा गर्‍यो, दलाई लामा प्रशासनका केही तिब्बती प्रतिनिधीहरु बेइजिङ गएका थिए र उनीहरुले एक १७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले ‘तिब्बती परिवारहरु आफ्नो मूल मातृभूमि चीन मै फर्किन स्वीकार गर्दछन्’ भनिएको थियो ।

ती प्रतिनिधिहरु त्यतिखेरको सबैभन्दा सजिलो र छोटो बाटो बेइजिङबाट समुन्द्र मार्ग हुँदै कलकत्ता, सिक्किम हुँदै ल्हासा पुगेका थिए । बेइजिङदेखि ल्हासासम्मको त्यो यात्राले करिब एक महिना समय लिन्थ्यो । अहिले यो दुरी रेलबाट दुई दिन र हवाई मार्गबाट साँढे ४ घण्टामा पुरा हुन्छ । हिमालयका बफर स्टेटको रुपमा रहेका तिब्बत र सिक्किम हराइसकेका छन् ।

तिब्बत चीनको अंग बन्यो । सन् १९७५ मा सिक्किम भारतको अङ्ग बन्यो । सडकहरु अहिले लद्दाख र अरुणाञ्चल प्रदेशका सुदूर क्षेत्रहरुमा समेत बनिरहेका छन् । चीन र भारतले सुदूर विन्दूहरुसम्म आङ फैलाए र अन्ततः एकअर्कासँग जुध्न पुगे ।

सन् १९६२ को सीमा युद्ध अक्साई चीनको मरुस्थलमा चीनले बनाएको नयाँ सडकलाई लिएर शुरुवात भएको थियो । यो बाटो चीनलाई सिङकियाङबाट तिब्बत पुग्नका लागि चाहिएको थियो । यो एक महत्वपूर्ण सैन्य मार्ग थियो । तर सडक नक्सामा भारतीय क्षेत्र देखाइएको इलाका हुँदै जान्थ्यो । भारतको त्यस्तो दावी कश्मिरका महाराज र ब्रिटिश राजले उपलब्ध गराएको नक्सामा आधारित थियो । तर चिनियाँ नक्साले यी भागलाई चीनतिरै देखाउँथ्यो ।

नक्सा दावीले मात्र कुनै भूभाग कसैको स्वामित्वको हुन्छ कि हुँदैन ? यो आफैंमा अहम् महत्वको कुरा हो । स्वामित्वको अर्थ उपस्थिति र उपस्थितिको निरन्तरता हो भने मौसमको कारणले पनि त्यहाँ दुवै पक्षका लागि निरन्तर उपस्थिति सम्भव थिएन । सधै बरफ जम्ने अक्साई चीनका उजाड उच्च क्षेत्रहरुमा सैन्य उपस्थितिको निरन्तरता मानवीय दृष्टिकोणले असम्भव हो ।

नो म्यान्स लैण्डमाथि बाटो बन्नु स्थिति बद्लिनु हो । जब दुवै पक्षले थप सैन्य पोष्ट र अघिल्ला बेसक्यापहरु बनाए नक्साको विवाद अन्ततः भौतिक लडाई बन्न पुग्यो ।

सन् २०१७ मा भारत र चीनबीच तनाबको एक अर्को प्रकरण भयो । यो चीनले दोक्लाम क्षेत्रमा बनाएको सडकको कारण शुरु भएको थियो । दोक्लाम चीन, भारत र भुटानको त्रिदेशीय सीमा बिन्दु हो । दोक्लामको दुर्गम पठारमा दुवैतर्फका सैनिकहरु ७३ दिनसम्म आमनेसामने भएका थिए ।

आजको सीमा संघर्ष पनि नयाँ सडकसँगै जोडिएको छ । तर यसपटक भने सडक भारतले लद्दाख क्षेत्रमा बनाएको हो । भारतले बनाएको यो नयाँ बाटो समुन्द्र सतहबाट १६ हजार ७०० फिट उच्चाइको दौलत बेग ओल्दी भन्ने ठाउँतिर जान्छ, जहाँ सन् २००८ पछि भारतले संसारकै सबैभन्दा अग्लो ठाउँको हवाई सैन्य मैदान सक्रिय बनाएको छ । चिनियाँहरुले त्यो बाटोको देप्साङ मैदान छेउको केही भाग अवरोध गरेका छन् र प्याङगैङ त्सेमा नयाँ हेलीप्याड बनाएका छन् ।

स्थिति बिगार्न दुवै देशका राष्ट्रवादी विचारधाराले भूमिका गरेको छ । भारत अहिले हिन्दू राष्ट्रवादी नरेन्द्र मोदीको नेतृत्वमा छ । उनको व्यक्तित्वलाई जनस्तरमा फिक्सन साइजको, ५६ इन्चको छाती भएको बलियो मान्छे भनेर रङ्गरोकन गरिएको छ । उनले आफ्ना समथर्कहरुबीच आफ्नो छवि राष्ट्रिय स्वार्थहरुका लागि लड्न सक्ने कुशल बलिष्ठ व्यक्तिका रुपमा स्थापित गरेका छन् ।

चीनसँग माओत्से तुङपछि कै सर्वाधिक शक्तिशाली नयाँ सम्राट सि जिन पिङ छन् । उनको प्राधिकार निरपेक्ष छ । उनी देङ सियाओ पिङले भन्ने गरेको ‘आफ्नो समय नआउन्जेल आफ्ना क्षमताहरु लुकाएर राख’ भन्ने नीतिबाट बाहिर निस्किएका छन् । उनलाई लाग्दछ कि उनको देशको समय आइसक्यो अब लुकाएर राख्नुपर्ने कुरा केही छैन ।

गत जुनको त्यो रक्तपातपुर्ण गल्वान भ्याली भिडन्तको रातपछि दुवै पक्षले वास्तविक नियन्त्रण रेखाको नजिकतिर बन्दुक, ट्याङ्क, मिसाइल, लडाकु विमान र दशौं हज्जार सैनिकको तैनाथी बढाएका छन् ।

सन् १९६२ को अक्टोबरमा अरुणाञ्चल प्रदेशको एक पोष्टबाट चिनियाँहरुलाई खेद्न प्रधानमन्त्री नेहरुले आदेश दिएका थिए, त्यही आदेशले द्वन्द्वलाई युद्धमा पुर्‍याएको थियो । यसपटक ठीक उल्टो भएको छ । बलियो मान्छे भनिएका नरेन्द्र मोदीले चिनियाँ सेनाले भारतीय भूभाग कब्जा नगरेको बताउँदै छन् । मोदीको यस्तो बयानले सबैलाई आश्चर्यमा पारेको छ । उनले एक सर्बदलीय बैठकमा भारतीय भूमिका चिनियाँ सेनाको घुसपैठ नभएको बताएका थिए ।

मोदीको यो बयान पूर्णतः झुठो हो । भूउपग्रहहरुले चिनियाँ सेनाको उपस्थिति लद्दाखका विभिन्न क्षेत्रमा देखाइरहेका छन्र ती फोटोहरु प्रेसमा आइसकेका छन् । जब मोदीको झुठो बयानको चर्को आलोचना भयो, उनले स्थिति प्रष्ट गर्दै वास्तविक नियन्त्रण रेखाभन्दा भित्र चिनियाँ सेना नभएको र भारतीय सेनाको बहादुरीको कारण त्यो सम्भव भएको बताए ।

चिनियाँ सेनाले आक्रमण गर्ने प्रयास गरेका थिए, भारतीय सेनाले विफल पारिदिए भन्ने कुरा घरेलु खपतका लागि मनगढन्ते कथा मात्र थियो । गलत पराक्रम प्रस्तुत गर्न भारत सरकारले ११८ स्मार्टफोन एप्सहरु प्रतिबन्ध गरिदियो । मोदी सत्तामा आएदेखि नै टेलिभिजन च्यानलहरुमा हिन्दू राष्ट्रवादको जयजयकार चलिरहेकै थियो । मोदी सरकारको बयान र निर्णय त्यसैको अर्को उत्सव बन्यो । जब सुशान्त सिंह राजपुतको आत्महत्या र उनकी प्रेमिका रिया चक्रवर्ती चर्चामा आए चिनियाँ आक्रमण र कोभिड–१९ हेडलाइनहरुबाट हराए ।

सम्राट चौधरी

मिडियाको होहल्लाभन्दा पर स्थितिलाई सम्हाल्ने प्रयास निरन्तर भइरहेको छ तर परिणाम अहिलेसम्म शून्य छ । दुवै पक्षका सैन्य जर्नेलहरुबीच ७ चरणको वार्ता भइसकेको छ । उनीहरुले अहिलेसम्म फेला पारेको समाधान भनेको दुवै पक्षले ‘थप तैनाथी नबढाउने र कुनै नयाँ स्थिति सृजना नगर्ने’ भन्ने हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको भनाईमा दुई देशबीचको सम्बन्ध ‘गम्भीर गतिरोध’ मा छ । सेनाको बढ्दो संख्याले ‘अत्यन्त जटिल सुरक्षा चुनौति’ सृजना गरेको छ । यो स्थितिका लागि को दोषी छ भन्ने कुरामा चिनियाँ पक्षको आफ्नै धारणा होला तर उनीहरु पनि स्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गर्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भारतलाई चेतावनी दिएको छ कि चीनलाई युद्धका लागि उक्साउनु ‘चट्टानमा हात बजार्नु’ जस्तै हो ।

मस्कोमा भएको दुई विदेशमन्त्री बीचको बैठकले पनि कुनै समाधान फेला पार्न सकेन । उनीहरुले स्थितिलाई अगाडि बढ्न नदिने कुरा त गरे तर पछि हट्ने संकेत गरेनन् । जसको अर्थ हो–अवस्था जस्तो थियो त्यस्तै छ ।

नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनभन्दा एक हप्ताअगाडि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षामन्त्री मार्क एस्पर नयाँ दिल्ली आए । उनीहरुले भारतीय पक्षलाई आफ्नो समर्थन देखाउँदै अमेरिकी सैन्य भूउपग्रह सूचनाहरु भारतलाई उपलब्ध गराउने सम्झौता गरे । नोभेम्बरमा भारतीय समुन्द्र क्षेत्रमा भारत, अमेरिका, जापान र अष्ट्रेलियको संयुक्त नौसैनिक अभ्यास हुने योजना छ जसले ‘क्वाड’ नामक एक अनौपचारिक गठबन्धन तयार गर्नेछ ।

भारत र चीनले गर्ने भूभाग र सार्वभौमसत्ताको दावी, एकअर्कासँग लड्न गौरव गर्ने राष्ट्रवादी भावना र जारी नक्सा विवादजस्ता रणनीतिक द्वन्द्वको अर्थ यो छिट्टै जुनकुनै बेला हल हुने समस्या रहेन । विश्वका दुई ठूला सैन्यशक्तिसँग अब संसारको छानोमा ठाउँ बनाउन एकअर्कालाई धकेल्नु बाहेक अरु कुनै विकल्प रहेन ।

इतिहासका कुनै पनि शक्तिहरुले हिमालयका यी उच्च र असजिला बञ्जर भूमिमा अहिलेको चीन र भारतले जस्तो शरदकालीन सैन्य तैनाथी गरेको थिएन । यदि जारी वार्ताबाट कुनै प्रगति भएन भने दुवैतिरका सैन्य टुकडीहरुले करिब १४ हजार फिटको उच्चाईमा जहाँ तापक्रम माइनस ३० देखि ४० डिग्री सेल्सियससम्म झर्दछ, सशस्त्र सतर्कताका साथ आउँदो हिउँद बिताउनुपर्ने हुन्छ ।

ती पुरुषहरुले जसले जुन १५ को रातको भिडन्तमा एकअर्कालाई मारे, आफ्नो देशका लागि ठूलो काम गरे । उनीहरुले बन्दुकको प्रयोग गरेनन् । तर, यो सन्देश दिए कि प्रत्येक सैनिक जवान आफ्नो ३४८८ किलोमिटर लामो सिमानामा युद्ध भए गोली चलाउन तयार छन् । दुवैतर्फ तोप, ट्याङ्क, मिसाइल र लडाकु विमानहरु कारबाहीका लागि तम्तयार छन् ।

सन् १९६२ को युद्धमा चीन र भारत दुवै देश आणविक शक्ति राष्ट्र बनिसकेका थिएनन् । तर अहिले दुवै देशसँग संसारलाई ध्वस्त गर्न सक्ने गोलाबारुद्धको भण्डारण छ ।

(चौधरी वरिष्ठ भारतीय पत्रकार हुन् । यो अनुवाद उनको ग्रान्ट म्यागजिनको अनलाईन संस्करणमा प्रकाशित लामो लेख ‘द डेथ अफ डिस्न्ट्यान्स’ को भावानुवाद हो । भारत–चीन तनावको अन्तर्य र समकालीन विश्वमा त्यसको प्रभावलाई बुझ्न सजिलो हुने ठानी साझापोष्टले चौधरीको यो लेखको तीनवटा श्रृंखलामा प्रकाशन गरेको हो- सं.)

यो पनि-

हिमालयमा भारत–चीन संघर्षको अन्तर्कथा-२
हिमालयमा भारत-चीन संघर्षको अन्तर्कथा–१

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay