scheduleसोमवारमाघ १२ गते, २०७७

अमेरिकी निर्वाचन परिणामको सन्देशः लोकतन्त्रका ‘डेमागग’ हरुको आयु लामो नहुने रहेछ

सुदर्शन खतिवडा/समाचार टिप्पणी

काठमाडौं, २० कात्तिक । गत मंगलबार सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ । यो टिप्पणी तयार गरुन्जेलसम्म डेमोक्र्याटिक उम्मेद्वार जो वाइडनले करिब ७ करोड २० लाख मत लोकप्रिय मत प्राप्त गरेका छन् भने रिपब्लिकन उम्मेद्वार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ६ करोड ८५ लाख मत प्राप्त गरेका छन् ।

लोकप्रिय मतमा बाइडनले इतिहास रचेका छन् । बाइडेनले पाएको लोकप्रिय मत अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो ।

तर, अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रणालीमा लोकप्रिय मतको अग्रताले मात्र अन्तिम परिणामलाई निर्धारण गर्दैन । ‘इलेक्ट्रोरल कलेज’ को नियमअनुसार धेरै भोट ल्याउने हार्न र थोरै ल्याउनेले जित्न पनि सक्दछ ।

तर, अहिलेसम्म ‘इलेक्ट्रोरल कलेज’ मा पनि वाइडनकै अग्रता कायम छ । उनले २६४ मतले अग्रता लिइरहेको बताइन्छ । जबकी ट्रम्प अहिलेसम्म २१६ मा सीमित छन् । राष्ट्रपतिको निर्वाचन जित्नका लागि वाइडनलाई थप ६ ‘इलेक्ट्रोरल कलेज’ को समर्थन चहिन्छ । २७० ‘इलेक्ट्रोरल कलेज’ को समर्थन प्राप्त गर्नेले जित्ने प्रचलन छ ।

यसको अन्तिम निर्णय हुन भने अझै दुई हप्ता लाग्न सक्ने बताइन्छ । यसो हुनुका कारणहरु छन् । यसपटक करिब १० करोड अमेरिकी मतदाताले ‘अर्ली पोष्टल भोटिङ’ गरेका थिए । यस्तो मतदान यसअघिको निर्वाचनमा करिब ३ करोड मात्र थियो । यसपटक कोरोनाको कारणले मतदाताहरुले पोलिङ बुथमा जानुको साटो मात्रमा पोष्टल भोटिङ गरेका छन् ।

यसपटकको पोष्टल भोटिङ इतिहासकै सर्वाधिक हो । पोष्टल भोटिङको अन्तिम गणनाले कतिपय राज्यको अग्रता परिवर्तन हुन सक्ने बताइन्छ । तथापि पोष्टल भोटिङको अनुपात डेमोक्र्याटिक उम्मेद्वारहरुको अनुकूल हुन सक्ने अनुमान छ ।

अमेरिकी मतदानको प्रवृति विश्लेषण गर्दा डेमोक्र्याटिक मतदाताहरु अर्ली भोटिङ मन पराउँछन् भने रिपब्लिकन मतदाताहरु मतदान केन्द्रमा गएर भोट हाल्न मन पराउँछन् । यो परम्परागत प्रवृत्ति र अनुमान सही सावित भएमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो वाइडन राष्ट्रपति निर्वाचित हुने छन् ।

सन् २०१६ मा निर्वाचित भई ४ वर्ष सनसनीपूर्ण शासन गरेका डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिको मञ्चबाट सधैंका लागि विदा लिनुपर्नेछ ।

ट्रम्पले यसपटकको निर्वाचन पनि जित्न सक्ने केही सीमित कारणहरु थिए । जस्तो कि– अमेरिकी राष्ट्रपतीय कार्यकाल तुलनात्मक रुपमा छोटो ४ वर्षको मात्र हुन्छ । तसर्थ कुनै पनि राष्ट्रपतिका लागि आफ्ना सोच, नीति तथा कार्यक्रम लागू गर्न ४ वर्ष पर्याप्त समय नहुने हुँदा दोस्रो कार्यकाल पनि जिताइने प्रचलनजस्तो थियो ।

आधुनिक अमेरिकाको करिब २४० वर्षका ५७ वटा निर्वाचनमा केवल १० जना राष्ट्रपति मात्र दोस्रो कार्यकालका लागि पराजित भएका थिए । ट्रम्प पराजित भए उनी यसरी पराजित हुने ११औं राष्ट्रपति हुनेछन् ।

हुनतः ट्रम्पले सन् २०१६ मा पनि लोकप्रित धेरै पाएका थिएनन् । लोकप्रिय मतमा उनी आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनसँग पराजित थिए । अमेरिकी राष्ट्रपति निर्वाचनमा यस्तो हुनु अर्को दुर्लभ रेकर्ड हो । ट्रम्पअघि ४ जना राष्ट्रपति मात्र यसअघि यसरी निर्वाचित भएका थिए । ट्रम्प लोकप्रिय मतमा पराजित भएर पनि लोकप्रिय मतले विजयी हुने ५औं राष्ट्रपति थिए ।

लोकप्रित मतमा ट्रम्पको अग्रता यसपटक पनि सम्भव देखिँदैन । वाइडनले ट्रम्पलाई धेरै पर छोडिसकेका छन् । तर रिपब्लिकनहरुको ‘इलेक्ट्रोरल कलेज’ को आशा भने अझै मरी नसकेको हुन सक्दछ ।

दोस्रो कारण भने ‘गोरा राष्ट्रवाद’ को भावना थियो । अमेरिकाका स्थानीय र ग्रामिण मतदाताहरुमा अझै यो भावना बलियो छ भन्ने ठानिन्थ्यो । अमेरिका एक मेल्टिङ पोट हो । यहाँ संसारभरिका विविध प्रकारका बासिन्दा छन् । नेपालीहरुको संख्या नै १० लाख कटेको बताइन्छ । नेपालसहित दक्षिण एशियालीहरुको जनसंख्या १ करोड बढी भइसकको छ ।

अमेरिकामा चिनियाँ, अश्वेत, हिस्पानिक वा मेस्सिकन जनसंख्या उत्तिकै छ तर अझै गोरा मतदाताहरुकै बहुमत छ भन्ने आँकडा थियो । यो आँकडाले ट्रम्पलाई ‘फेभर’ गर्ने ठानिएका थियो । यी दुई बाहेक अरु सबै कारणहरु ट्रम्पको विपरित थिए ।

रिपब्लिकन पार्टीको इतिहास आफैंमा यस्तो थिएन । रिपब्लिकन पार्टी अब्राहम लिंकनजस्ता लोकप्रिय राष्ट्रपति तथा क्रान्तिकारी राजनीतिज्ञले स्थापना गरेको पार्टी हो । अमेरिकी इतिहासमा रिपब्लिकन पार्टीले धेरै राम्रा राष्ट्रपति पनि दिएको छ ।

तर, ट्रम्पको उदय बिल्कुलै फरक प्रकृतिको थियो । ट्रम्पको उदयसँगै अमेरिकी राजनीतिको मूल संघर्ष ‘गोरा राष्ट्रवाद’ भर्सेज् ‘ बहुसांस्कृतिकतावाद’ को ध्रुवीकरण बन्न पुगेको थियो ।

अन्तिम परिणाम जे जस्ते आए पनि ट्रम्प रिपब्लिकन दाबीजस्तो लोकप्रिय राष्ट्रपति रहेनन् र उनका नीतिहरुको प्रभाव सकारात्मक थिएन भन्ने पुष्टि भएको छ ।

सन् २०१६ को निर्वाचनमा ट्रम्पको विजयलाई ‘डेमागगको उदय’ भनेर थुप्रै विद्धानहरु लेखेका थिए । त्यसलाई अमेरिकी द्वि-दलीय लोकतन्त्रको सम्भावित पतनको रुपमा विश्लेषण गरिएको थियो । ट्रम्पको पुनर्विजय भएमा विश्वभरि संर्कीण राष्ट्रवाद, विभूमण्डलीकरण, चीन विरोधी ध्रुवीकरण, नयाँ शीतयुद्ध, गैरजिम्मेवारी शासनशैली, आर्थिक संकट र कोरोना महामारी नियन्त्रणको विश्व रणनीतिजस्ता मुद्दामा खराब नीति हावी हुने विश्वव्यापी आशंका, चिन्ता र भय थियो ।

ट्रम्पको डेमागग शैलीको विश्वव्यापी अन्धानुकरण हुन थालेको थियो । ब्राजिलका बोल्सोनारो, हंगेरी भिक्टर अर्बान, टर्कीका एर्दोगान, भारतमा मोदी र नेपालका ओलीले बहुमतीय बर्चश्ववादमा आधारित संर्किण दक्षिणपन्थी राष्ट्रवादलाई प्रेरित गरेको र विश्व राजनीति नै डेमागगहरुको चक्रब्यूहभित्र फसेको ठान्न थालिएको थियो ।

यसकारणले पनि अमेरिकी राष्ट्रपति निर्वाचन विश्वव्यापी चासोको बिषय थियो । यो केवल ट्रम्प-वाइडन, पेन्स-ह्यारिस, रिपब्लिकन-डेमोक्र्याट्सको चुनाव नभएर सर्वसत्तावाद र लोकतन्त्र, संर्किण राष्ट्रवाद र उदारवादी भूमण्डलीकरण, नश्लवादी सर्वोच्चता र बहुसाँस्कृतिकतावादी समावेशीता बीचको चुनाव बन्न पुगेको थियो ।
यही आधारमा अमेरिकी र विश्वजनमत ध्रुवीकृत थियो ।

अर्को मुख्य मुद्दा कोरोना प्रतिकार्यको शैली र तरिका थियो । ट्रम्पले कोरोना सर्वथा ‘चाइनिज भाइरस’ भनिरहे । यही बीचमा उनले विश्व स्वास्थ्य संगठनमा अमेरिकी सदस्यता फिर्ता गरेर अमेरिकी दायित्व भुक्तान नगर्ने नीति लिए ।

इबोला महामारीको समयमा ओबामाको नीति ठीक विपरित थियो । त्यो बेला अमेरिकाले विश्व स्वास्थ्य संगठनको करिब ४० प्रतिशत खर्च एक्लै बेहोरेको थियो । नभन्दै ठूलो मानवीय क्षति नहुँदै इबोला नियन्त्रण भएको थियो । कोरोना महमारीसंग लड्न अमेरिकाबाट विश्वका जनताले त्यही प्रकारको भूमिका अपेक्षा गरेका थिए ।

तर ट्रम्पले चीनलाई गाली गरेरै समय बिताए । उनले विश्वका कुनै पनि देशलाई यत्रो महामारीमा सहयोग गरेनन नत देशभित्र नै कोरोना महामारी रोक्न कुनै सार्थक प्रयास गरे । यहाँसम्म की उनले मास्क लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई समेत निन्दा गरे र जनतालाई मास्क नलगाउन प्रेरित गरे । कोरोना महामारी बीच स्कुल, कलेज खोल्न निरन्तर दबाब दिइरहे ।

अमेरिका कोरोनाले सबैभन्दा बढी मानवीय क्षति हुने देश बन्यो । करिब १ करोडमा संक्रमण पुग्यो । करिब २ लाख ३३ हज्जारले ज्यान गुमाइसके । अमेरिकामा विश्वको ४ प्रतिशत जनसंख्या हिस्सा थियो तर कोरोना विश्वक्षतिको २१ प्रतिशत क्षति अमेरिकामा मात्र भयो ।

सम्भवत् यी सबै घटनालाई मतदाताले नियालेका थिए । तथापि अमेरिकी समाज र निर्वाचन प्रणालीको जटिल संरचनाका कारण ट्रम्पले नै जित्न सक्ने सम्भावना अस्वीकार गर्न सजिलो थिएन ।

अन्ततः यो भन्न सकिन्छ कि डेमागगहरुको आयु लोकतन्त्रमा लामो नहुने रहेछ । यो ट्रम्पका लागि मात्र हैन, विश्वभरिकै डेमागग र नश्लवादी राष्ट्रवादमा विश्वास गर्नेहरुका लागि प्रष्ट चुनौति हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay