scheduleसोमवार मंसिर १५ गते, २०७७

रुमल्लिएको नेकपा र अलपत्र पार्टी सदस्यहरु

राधाकृष्ण लामिछाने

नेपाली कम्युनिष्ट आन्दोलनको जाज्वल्यमान नक्षेत्र तथा जनताको बहुदलीय जनवादका संस्थापक कमरेड मदन भण्डारीको षड्यन्त्रमुलक अवासान भएको दिन पारेर २०७५ जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलनभित्रबाट संसदीय संघर्षमा आफुलाई अब्बल सावित गरेको नेकपा (एमाले) र जनयुद्धको बाटो हिंडेकाहरु मध्येको मूल घटक नेकपा (माओवादी केन्द्र)को एकीकरणपश्चात् वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जन्म भएको हो ।

यस्तो कहालीलाग्दो दुःखद् दिन पारेर गरिएको पार्टी एकीकरणको पुनित कार्यले मदन भण्डारीले भनेझैं नेपालका सर्वहारा, मेहनतकस, श्रमजीवि वर्गको राजनैतिक प्रतिनिधित्व गर्ने पार्टीको आवश्यकता पुर्ति गर्नेछ भन्ने विश्वास जन्मिएको थियो । यसले देशलाई शोषण, उत्पीडन र विभेदहरुबाट मुक्त गर्न सकरात्मक भूमिका खेल्नेछ र लोकतन्त्र, जनजीविका र नेपाली समाजको आर्थिक-सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने कुरामा कतैकतै आंशिक आशंका देखिएको भएता पनि व्यापकरुपमा आशा अनि विस्वास जागृत भएको थियो ।

देशमा वर्षौंदेखि विद्यमान दलाल नोकरशाही पुँजीवादी शोषण र सामन्तवादका आर्थिक, सामाजिक र सांस्कृतिक अवशेषहरुलाई निमिट्यान्न पारी स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपालको निर्माण गर्ने वचनवद्धता जाहेर गर्दै जनताबीच गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अकल्पनीय जनसमर्थन प्राप्त भयो । ५३५ लोकमत प्राप्त यस पार्टीले झण्डै दुई तिहाईको समर्थनमा संघीय सरकार मात्र गठन गरेन, ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेश र ७५३ स्थानीय तहहरु मध्ये ४०३ तहहरुमा आफ्नो सरकार गठन गर्‍यो ।

उक्त अकल्पनीय विजयको पछाडि केन्द्रीय नेतृत्वले जगाएका जनताका मुर्छित सपनाहरुको प्रत्याभूति त थियो नै, यस्का अतिरिक्त पार्टी एकीकरणको राप र तापले सिर्जना गरेको ऊर्जा र पार्टीमा वर्षौंदेखि संगठित भई प्रशिक्षित पार्टीका जनआधारित कार्यकर्ताहरुको व्यापक पङ्क्ति थियो । कार्यकर्ताको यो पङ्ति आम जनसमुदायसंगको घनिष्ट सम्बन्ध रहेको, उत्पीडन, शोषण, अन्याय, असमानता र विभेदविरोधी छवि बोकेको र देश, जनता र परिवर्तनप्रति अगाध विश्वासले लैस भएको हुनाले व्यापक जनताको मन जितेको थियो ।

यो विजयले पार्टीलाई उसको सिद्धान्तको मार्गदर्शन र आम जनसमुदायको चाहना अनुरुपको जनताको जनवाद, वैज्ञानिक समाजवाद अर्थात् संविधानले उल्लेख गरेको समाजवादउन्मुख समाजको निर्माणतर्फको प्रस्थान विन्दू प्रदान गरेको थियो र यस विन्दूबाट लक्षित ठाउँसम्मको यात्रा सम्पन्न गर्न जनादेश प्रदान गरेको थियो । यो युगीन जिम्मेवारी उच्च नैतिक आचरण र वैज्ञानिक दृष्टिकोण युक्त, निस्वार्थ, निस्पक्ष र स्वच्छ छवी भएका राजनैतिक व्यक्तिहरुद्वारा नेतृत्व गरिएको जनआधारित, सुसंगठित, एकतावद्ध, गतिशील, जुझारु, नयाँ सोचसहितको अग्रगामी पार्टीको निर्माणबाट मात्र सम्भव थियो ।

दुई भिन्न मान्यता सहित विकसित झण्डै शत्रुवत् सम्बन्ध रहेका दुई पार्टीहरुले दशकौंसम्म एक अर्कालाई निषेध गर्ने प्रयत्न गर्दा असफल भैसके पछि व्यापक जनदवाव र तत्कालीन चुनावी उपलब्धिलाई मध्यनजर गरी हतारमा सामान्य औपचारिक प्रक्रिया मात्र पुरा गरी पार्टी एकीकरणपूर्व निर्धारण गरिनुपर्ने अधिकांश विषयहरुलाई थाती राखेर सामान्य गणितीय आधारमा निर्माण गरिएका पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय संगठनहरु र ती संगठनहरुमा प्राविधिकरुपले चयन गरिएका नेतृत्व वर्गद्वारा युगीन जिम्मेवारी बहन गर्न कठिन हुनु र नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ हावी हुनु निश्चित प्रायः थियो ।

फलस्वरुप पार्टी एकीकरणको छोटो अवधिपश्चात् नै पार्टीको उच्च नेतृत्व आफ्नो क्षमता, दक्षता, लगनशिलता र कम्युनिष्ट विचारप्रतिको प्रतिवद्धतालाई उचित उपयोग गर्दै पार्टीको वर्चस्व भएका तिनै तहका सरकारहरुलाई आवश्यक निर्देशन र सहयोग गर्ने, राष्ट्रियता, जनजीविकाका सवालहरु र आपतकालीन अवस्थाको उचित व्यवस्थापनमा योजनावद्ध रुपले लागेन । बरु पार्टी एकीकरणको मुल मर्म र पार्टीको युगीन दायित्वलाई चटक्क बिर्संदै आफ्नो विगतका सफलताका कथाहरुबाट सिक्नुको साटो कम्युनिष्ट आन्दोलनको दीर्घ रोगको अवशेषलाई निरन्तरता दिँदै अपवित्र समीकरणहरु निर्माण गर्ने र व्यक्तिगत र गुटगत स्वार्थ पूर्तिमा रमाउने प्रवृत्तिको शिकार भयो । सिङ्गो पार्टी, कम्युनिष्ट आन्दोलन र मुलुक दिशाविहिन अवस्थामा पुग्यो ।

पार्टीको नेतृत्वमा देखिएको किमकर्तव्यविमुढताको अवस्थाले र नेताहरुमा आफुलाई पार्टीले दिएको जिम्मेवारीप्रतिको उत्तरदाईत्व वहन गर्नैपर्ने सोचको अभावले पार्टीको आधारभूत क्षेत्रमा काम गर्ने, विधानतः पार्टीको सार्वभौम अधिकार निहित रहेका पार्टीका संगठित र साधारण सदस्यहरु र उनीहरुको प्रिय पार्टीबीचको सम्बन्ध सुमधुर बन्न त सकेन नै विच्छेदजस्तै भयो । पार्टी एकीकरणको छ महिनाभित्र उनीहरुको पहिचान भैसक्नुपर्ने र उनीहरुले परिचयपत्र पाउनुपर्ने र दुई वर्षभित्र उनीहरुको सार्वभौम अधिकारको प्रयोग हुने गरी महाधिवेशन गरिनुपर्नेमा हालसम्म झन्डै तीन वर्ष बित्नै लाग्दा पनि एकअर्कालाई असफलताको बिल्ला भिराउन खप्पिस पार्टीका नेताहरुको ध्यान त्यता पुगेको छैन । हुनत, पार्टीका संगठित सदस्यहरु समान हुन्छन् तर मर्मस्पर्शी कुरा के छ भने नेपाल कम्युनिष्ट पार्टीभित्र कुनै पनि पार्टी कमिटी वा आयोग वा विभाग वा संयन्त्र वा पार्टी सेल वा तोकिएको संगठनमा संगठित नभएका लाखौं संगठित पार्टी सदस्यहरु छन् ।

यी निरिह संगठित पार्टी सदस्यहरुको संगठित भई पार्टी काम गर्ने, पार्टीबाट जारी गरिएका निर्देशन, निर्णय र दस्तावेजहरु प्राप्त गर्ने, तोकिएको शुल्क एवम् लेवी नियमित रुपमा बुझाउने जस्ता अधिकार र कर्तव्यहरुबाट समेत बञ्चित गरिएको छ । जसले गर्दा उनीहरुले पार्टीको निर्देशनमा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि आवश्यक त्याग, बलिदान र आफ्नो दिन र जवानी खर्चिएबापत् दशकौं अगाडि आफ्नो प्राण भन्दा प्यारो पार्टीले उच्च मूल्याङ्कन गर्दै बाँकी जिन्दगी देश र जनताको पक्षमा पार्टीको निर्देशनअनुसार लाग्ने सपथका साथ प्रदान गरेको संगठित सदस्यताको अवमूल्यन भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म पुर्‍याउन अहम् भूमिका खेल्ने यी पार्टीका योद्धाहरुको मनोबल न्यून तुल्याएर अलपत्र पारी पार्टीको जनताको तहसम्म पुगेका जराहरु काटिएका छन् । जसले गर्दा पार्टीको विरुद्धमा विपक्षीहरुले फैलाएका फतुरहरुको आवस्यक खण्डन नभई आम जनतामा पार्टीप्रति घोर वितृष्णा जागेको छ।

आज, पार्टीका शिर्ष नेताहरुमा विकसित प्रवृत्ति, पार्टीका सदस्यहरुको अलपत्रे अवस्था र वर्तमानमा देखिएका पार्टी हितविपरितका छलकपट र षडयन्त्रका परिदृश्यहरुलाई हेर्दा जेठ ३ गते पारेर गरिएको दुई पार्टीहरुको प्राविधिक एकीकरणले आगामी दिनहरुमा पार्टीलाई साँचो अर्थमा एकीकरण गरी कमरेड मदन भण्डारीका अधुरा काम र सपनाहरु पुरा गर्दै मुलुकलाई समाजवादसम्म पुर्‍याउला कि विश्व कम्यनिष्ट आन्दोलनले धक्का खाएको बेला घरेलु र विदेशी प्रतिक्रियावादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्दै नेपालमा विकसित कम्युनिष्ट आन्दोलनलाई विश्राम दिंदै मुलुकलाई रसातलमा धसाउँला भन्ने अहम् प्रश्न खडा भएको छ ।

अन्त्यमा, सात दशक लामो नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशानिर्देश गर्ने गरी पार्टीका तमाम सैद्धान्तिक, सांगठनिक र नीतिगत मतभेदहरुको अन्त्यका लागि स्थायी समितिको निर्णयअनुसार पार्टी एकीकरणका सम्पूर्ण कार्यभारहरु पुरा गरी आगामी चैत्र महिनाभित्र पार्टीको महाधिवेशन सौहार्दपूर्ण वातावरणमा लोकतान्त्रिक तरिकाले सम्पन्न गर्नुको विकल्प छैन । पार्टी अध्यक्षहरु, सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र स्थानीय समितिहरुले कठोर समय सीमासहितको कार्ययोजना लिएर युद्धस्तरमा नलागी फेरी व्यक्तिगत र गुट गत स्वार्थ, टुट फुट र धम्कीका षडयन्त्रहरुको पुनरावृत्ति गर्ने हो भने हालको पार्टी नेतृत्वले आफ्नो युगिन दायित्व पुरा गर्न त सक्दैन नै आफ्नो गौरवमय इतिहासलाई समेत धान्न सक्दैन ।

हाल हप्तैपिच्छे जस्तो देखिने पार्टी विभाजनका विभिन्न आकारका सुनामीहरुद्वारा मानसिकरुपमा थिलो थिलो पारी निरासाको मुखमा पुर्‍याइएका लाखौं कार्यकर्ताहरुको मनोवल उकासी जनस्तरसम्म पार्टीको प्रभाव विस्तार गर्न नेताहरुको विभाजित मानसिकतामा परिवर्तन आवश्यक छ ।

(लामिछाने पूर्वएमालेको गण्डकी प्रदेशका प्रशिक्षण विभागका सदस्य हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay