scheduleमगलवारमाघ १३ गते, २०७७

ओली समूह नै हो त जबजको वास्तविक उत्तराधिकारी ?

सुदर्शन खतिवडा/साझापोष्ट टिप्पणी

काठमाडौं, २० कात्तिक । सत्तारुढ नेकपाभित्रको अन्तसंघर्ष चर्किदै जाँदा प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूह प्रचलित शब्दमा ‘ओली गुट’ ले मदन भण्डारीको वैचारिक विरासत ‘जनताको बहुदलीय जनवाद’ (जबज) को उत्तराधिकार दावी गर्ने प्रष्ट संकेत दिएको छ । प्राप्त समाचारअनुसार ओली समूहले जबजको वैचारिक आधारमा आफ्नो गुटलाई पुनर्संगठित गर्ने तयारी प्रारम्भ गरेको छ ।

ओली समूहको यो प्रयत्नले केही गम्भीर प्रश्नहरु सृजना गर्दछ । यसले पहिलो जटिलता ‘पूर्व–माओवादी समूह’ जसलाई प्रचलित शब्दमा ‘प्रचण्ड गुट’ भन्न सकिन्छ, माथि सृजना गर्दछ । यहाँनेर जोड दिएर बुझ्नुपर्ने कुरा के छ भने ‘प्रचण्ड गुट’ सँग अब ‘पूर्व–माओवादी समूह’ जति वा जत्रो समर्थन वा ताकत बाँकी छैन । ‘पूर्व-माओवादी समूह’ भन्नु र ‘प्रचण्ड गुट’ भन्नु अब फरकफरक कुरा हो । प्रचण्ड गुट ‘पूर्व–माओवादी समूह’ भित्रको एउटा अझै सानो र खिइएको समूह हो ।

पार्टीभित्रको आन्तरिक शक्तिसंघर्ष र ध्रुवीकरणको प्रक्रियामा ‘पूर्व-माओवादी समूह’ को एउटा ठूलै पङ्क्तिले ओली समूहलाई साथ दिने निश्चित भइसकेको अवस्थामा ‘पूर्व-माओवादी समूह’ को करिब ४० प्रतिशतको शक्ति ‘प्रचण्ड गुट’ सम्म आइपुग्दा २० देखि ३० प्रतिशत मात्र बाँकी रहनेछ ।

ओली समूहले आफूलाई जबजको उत्तराधिकार दावी र त्यसैका आधारमा भावी ध्रुवीकरणको प्रयास गर्दा प्रचण्ड समूहले उत्तिकै दृढताका साथ ‘प्रचण्डपथ’ वा ‘एक्काइशौं शताब्दिको जनवाद’को दावी गर्ने ल्याकत राख्दैन । जनताको बहुदलीय जनवाद र एक्काइशौं शताब्दिको जनवाद दुवै छोडेर ‘जनताको जनवाद’ जस्तो अमूर्त शब्दाबलीमा सहमति गरेको प्रचण्ड पक्ष निक्कै ठूलो वैचारिक संकटमा पर्नेछ ।

अर्को संकट माधव नेपाल समूहमाथि आइपर्नेछ । यो वैचारिक झलनाथ खनालका हकमा भने आकर्षित हुँदैन । पूर्वएमालेभित्र खनालको बलियो संगठनात्मक गुट नभए पनि उनी आफैंमा एक बौद्धिक र विचारक नेता हुन् । उनको व्यक्तित्व र राजनीतिक निरन्तरता त्यही बौद्धिक छविले निर्धारण गर्दै आएको छ ।

२०४९ सालको तत्कालीन एमालेको पाँचौं महाधिवेशनले जनताको बहुदलीय जनवाद कार्यक्रम पारित गर्दा खनाल त्यसको पक्षमा थिएनन । उनले त्यसलाई ‘दक्षप्रजापति’को संज्ञा थिएका थिए । खनाल स्वयम् मदन भण्डारीसँग वैचारिक तथा बौद्धिक टक्कर दिने क्षमता राख्दथे । मदन भण्डारीको निधनपछिका दिनमा पनि उनी जबजको चर्को व्याख्यता र प्रवक्ता बनेनन् । उनले त्यसको विरोध पनि गरेनन् तर मदन भण्डारीको व्याख्या सीमित पनि भएनन् ।

ओली समूहले जबजको एक्लो उत्तराधिकार आफूमा दावी गरेमा खनालले त्यसलाई पुनर्भाष्य गर्ने नयाँ स्पेश प्राप्त गर्नेछन् । तसर्थ खनाललाई खासै चर्को समस्या हुने छैन ।

तर माधव नेपाललाई जस्तै समस्या वामदेव गौतमलाई समेत आइलाग्ने छ । माले कालमा माधव नेपाल मदन भण्डारीका वास्तविक सहयोगी थिए । लामो समय जेल बसेका ओलीको भण्डारीको उदयमा खासै भूमिका थिएन । भण्डारी मूलतः जीवराज आश्रित र माधव नेपाललाई बढी विश्वास गर्थे । त्यसपछिको भण्डारीका विश्वासपात्र प्रदीप नेपाल थिए । भण्डारीको प्राथमिकतामा ओली वा विद्याको स्थान धेरै तल थियो ।

भण्डारीको मृत्युपछि माधव नेपालको करिब १५ वर्षे महासचिवीय कार्यकालमा एमालेको औपचारिक सिद्धान्त जनताको बहुदलीय जनवाद नै मानिन्थ्यो । नेपालले कहिल्यै आफ्नो फरक सिद्धान्तको दावी वा प्रतिपादन गरेनन् । बरु जबज निर्माणमा आफूले भण्डारीलाई उल्लेखनीय मद्दत गरेको बताउँदै आए । अर्थात् जबजको उत्तराधिकार ओली समूहभन्दा बढी नेपाल समूहसँग हुनुपर्ने हो ।

अझ वामदेव गौतमले त भण्डारीको मृत्युपछि जबजबारे कयौं पुस्तिका लेखेका थिए । पार्टी कार्यक्रमबाट जबजलाई पार्टी सिद्धान्तको स्थान दिनपर्ने पक्षमा गौतमको सधैं जोड रहँदै आएको थियो । एमालेको सातौं महाधिवेशनले जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रमबाट पार्टी सिद्धान्तको मान्यता दिएको थियो, त्यो महाधिवेशनमा ओलीको खासै कुनै वैचारिक तथा संगठनात्मक भूमिका थिएन ।

ओलीले आजसम्म कुनै पनि महाधिवेशनको वैचारिक नेतृत्व तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छैनन् । पाँचौं महाधिवेशनमा यो काम भण्डारी आफैले गरेका थिए । छैठौं र सातौं महाधिवेशनमा माधव नेपालले गरे । आठौं र नवौं महाधिवेशनमा झलनाथ खनालले गरे । जबजको भाष्यीकरणमा ओली समूहको बौद्धिक योगदान, वैचारिक नेतृत्व र पहलदकमी पूर्वएमालेका अरु सबै समूहको भन्दा कमजोर छ ।

ओली राजनीतिक सिद्धान्तको व्याख्या, भाष्य र सैद्धान्तिकरण गर्ने स्वभाव र क्षमताका ‘आइडोलग’ वा चिन्तक कहिल्यै पनि रहेनन् नत विद्या भण्डारीमा नै त्यो क्षमता, लगाव र रुचि देखिन्छ । आफ्नो समग्र राजनीतिक जीवनमा ओलीले सायद कुनै पूर्ण दस्तावेज वा सैद्धान्तिक, वैचारिक बौद्धिक लेख लेखेका छन् । पाँचौं महाधिवेशनको ‘कार्यनीतिक प्रस्ताव’ उनले लेखेको बताइन्छ, त्यसको खासै चर्चा र प्रभाव थिएन ।

ईश्वर पोख्रेल जनताको बहुदलीय जनवादको एकप्रकारको भष्यिकरण गरिरहेका हुन्छन् । तर उनी लामो समय नेपाल समूहका नेता थिए । पोख्रेल आठौं महाधिवेशनमा खनालको टिममा थिए । नवौं महाधिवेशनमा मात्र पोखरेल ओली समूहमा लागेका हुन् । पोखरेल अझै पनि ओली समूहको अन्तरङ्ग वृत्तले खासै विश्वास गर्ने नेता मानिँदैनन् । शक्ति सन्तुलनका लागि नेपाल समूहबाट तानिएका नेता मानिन्छन् ।

ओली समूहको वास्तविक भाष्यकार शंकर पोखरेल हुन् । अहिले उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री छन् । लेखपढमा रुचि राख्ने अन्तर्मुर्खी स्वभावका पोखरेलले मदन भण्डारीको मृत्युपछि एमालेवृत्तमा जबजको युवा व्याख्याताका रुपमा उदित भए । दासढुंगा आन्दोलनदेखि आठौं महाधिवेशनसम्म उनले असंख्य लेख लेखेर एमाले वृत्तमा बलियो चर्चा, लोकप्रियता कमाए ।

तर, जबजको शंकर पोखरेल व्याख्या मदन भण्डारीका शब्दाबलीहरुको फोटोकपी जस्तो हुन्थ्यो । कुनै रचनात्मक र सृजनशील तर्कहरु त्यहाँ हुँदैनथे । भण्डारीको अभावमा त्यसको न्यास्रो मेट्न पोखरेलका लेख र भाषणहरुले काम गर्दथ्यो । तर मौलिकता हुँदैनथ्यो । फलतः आठौं महाधिवेशनपछि पोखरेलको वैचारिक भूमिका र व्यक्तित्व कमजोर हुँदै गयो ।

यो स्पेशलाई घनश्याम भुसालले राम्रो उपयोग गरे । भुसाल मदन भण्डारीले महत्व नदिएका विद्यार्थी नेतामा पर्थे । उनी सीपी मैनालीको नजिक भएको मानिन्थ्यो । अखिलमा भुसाललाई अध्यक्ष हुन नदिनैका लागि शंकर पोखरेललाई भारतीय प्रवासी विद्यार्थी संगठनको अध्यक्षबाट नेपाल ल्याएर सिधै अनेरास्ववियूको अध्यक्ष बनाइएको थियो । विद्यार्थीहरु माझ अत्यन्त लोकप्रिय हुँदाहुदै पनि भुसाल अध्यक्ष नभइकन महासचिवबाटै विद्यार्थी राजनीति निवृत भएका थिए ।

माधव नेपाल, वामदेव गौतम र घनश्याम भुसाल विना ओली पक्षको जबजको उत्तराधिकारको दावी निक्कै फितलो लाग्दछ । ओली समूहले जबजको उत्तराधिकार दावी गर्नुको राजनीतिक पाटो भने बलियो छ । अधिकांश पूर्वएमालेहरु मदन भण्डारीको उदय नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन सन् १९९० को दशकको कम्युनिष्ट विरोधी विश्वव्यापी लहरसँगै समाप्त हुन्थ्यो भन्ने विश्वास गर्दछन् । त्यस अर्थमा उनीहरुमा भन्डारी र जबजप्रति ठूलो मोह छ ।

प्रचण्ड धारको वैचारिक विरासत भने विलकुल फरक हो । उनीहरुले ‘जबजको विरुद्धमा प्रचण्डपथ’ प्रष्टै भनेका थिए । मदन भण्डारीलाई ‘संशोधनवादको केन्द्र’ मानेका थिए । प्रचण्डधारले जबजलाई कम्युनिष्टहरु संसदीय प्रणालीको भासमा फसेको अर्थमा लिन्थ्यो । आफूलाई भिन्नै खालको कम्युनिष्ट र क्रान्तिकारी मान्दथ्यो ।

तर, प्रचण्ड धारको वैचारिक उतरचढाव आफैंमा कहालीलाग्दो छ । त्यो ‘नयाँ जनवादी गणतन्त्र’ को कार्यक्रमबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हुँदै ‘संसदीय लोकतन्त्र’ मा सीमित भएको छ । यस अर्थमा आजका प्रचण्डले जनताको बहुदलीय जनवादलाई नै औपचारिक सिद्धान्त वा कार्यक्रम मान्दिँदा पनि खासै फरक पर्ने चाहिँ हैन । तर, आफ्नो पूर्व विरासत र मनोविज्ञानका कारण प्रचण्ड गुटलाई यो कुरा सहज सैह्य हुने छैन ।

नेपाल–गौतम–भुसालले भने ओली समूहलाई ‘जबजको वास्तविक उत्तराधिकार हामी हौं’ भनेर प्रतिवाद गर्ने नैतिक हैसियत राख्दछन् । ओली सरकारको मन्त्रीका रुपमा भुसालको वैचारिक रुझान र भूमिका कस्तो बन्दै जान्छ, त्यो अर्को रोचक पाटो छ । नेकपाभित्रको वैचारिक संघर्ष चर्किंदै गए भुसालले या त मन्त्री पदबाट राजीनामा दिनुपर्ने हुन सक्दछ, या त आगामी महाधिवेशनसम्म वैचारिक पक्षधरता प्रष्ट नगरिकन मौन बस्नुपर्ने हुन सक्दछ, या त उनी ओली गुटमै समाहित हुनुपर्नेछ ।

जबजको उत्तराधिकार दावी गर्ने, आबश्यक परे एमाले ब्युँताउने, मदन भण्डारी फाउन्डेशसनको समानान्तर संगठन वडावडा सम्म पुर्‍याउने, प्रथम अध्यक्ष, प्रधानमन्त्री दुवै पद नछाड्ने, माधव नेपाल र पूर्व माओवादीबाट नयाँ सहयोगी विकास गर्ने, प्रचण्डले धेरै तनाव दिए उनलाई निकटस्थहरुलाई मन्त्री पदबाट बर्खास्त गरी मन्त्रीमण्डल पुनर्गठन गर्ने र पाँचौ महाधिवेशनमा मदन भण्डारीले सीपी मैनालीलाई तह लगाएजस्तो दशौं महाधिवेशनमा प्रचण्डलाई अर्को सीपी मैनाली बनाइदिने ओली समूहको धम्की र तयारीलाई अरु समूहले हल्का रुपमा नलिनु राम्रो हुन्छ । एमालेको परम्परा र संगठनको चरित्र हेर्दा त्यो सम्भव कुरा हो ।

दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएपछि ओली समूहमा नयाँ चरणको महत्वाकांक्षा जागेको छ । प्रचण्ड वा माधव नेपाललाई सजिलै शक्ति छोड्न ओली समूह राजी छैन । यो संघर्षभित्र केवल व्यक्तिगत स्वार्थ मात्र छैनन्, सोच्ने तरिका, कार्यशैली र अवधारणागत भिन्नता पनि छ ।

जबजको विरासत थाम्ने हो भने प्रचण्डलाई नयाँ अध्यक्ष दिन सकिने ओली समूहको पुरानो प्रस्ताव अझै अलपत्र छ । तथापि अब त्यो बाटो ओली समूहले रोज्ने छैन । प्रचण्डले चाहेर पनि उनी जबजको सहज भाष्यकार वा प्रवक्ता हुन सक्दैनन् । उनको इतिहास र वैचारिक विरासतले त्यस्तो काम नक्कली र हाँस्यास्पद हुन पुग्दछ । राजनीतिक लाभका लागि प्रचण्ड त्यसो गर्न राजी छन् भने त्यो भिन्नै कुरा हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वैचारिक कार्यदिशा जबजको सैद्धान्तिक परिकल्पनाले नेतृत्व गर्ने सक्ने ठाउँ भने छैन । जबजको परिकल्पनाभन्दा नेपाल धेरै अगाडि बढिसकेको छ । वि.सं. २०५० पछाडिका घटनाक्रमहरु जबजको वैचारिक प्रस्तावनासँग तालमेल पनि खाँदैनन् ।

जबजमा समावेशिता, संघीयता, समानुपातिकता, बहुँसास्कृतिकतावादजस्ता अवधारणाहरु कहिँ कतै छैनन् । नत त्यसले एक्काइशौं शताब्दिको चौथो औद्योगिक क्रान्ति युगका वैश्विक संकट र समस्याबारे कुनै मूर्त कल्पनाहरु गर्दछ ।

कम्युनिष्ट पार्टीहरुको शासन एकदलीय हुने विश्व परम्पराको सटो त्यसले बहुदलीय संसदीय प्रणालीभित्रै कम्युनिष्ट पार्टीहरुले आफ्ना क्रियाकलाप गर्नु पर्ने ‘युरो कम्युनिज्म’ लाई नेपाली करण गर्दछ । जबजको जम्माजम्मी सारसत्व त्यति नै हो, यसको सवलता वा सकारात्मक पक्ष पनि त्यति नै हो ।

तथापि राजनीतिक स्वार्थमा लागि जबजको वास्तविक उत्तराधिकारको बोझ ओली गुटले कहिलेसम्म बोक्न राजी हुन्छ वा पार्टीभित्र नयाँ शक्ति सन्तुलन बन्ने बित्तिकै उतारेर फ्याँकी दिन्छ, त्यो त पर्खेर नै हेर्नु पर्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay