scheduleमगलवारमाघ १३ गते, २०७७

ट्रम्प–पराजयको अर्थ, सन्देश र खुशी

डम्बर खतिवडा

(प्रिय पाठक ! अग्रपथ स्तम्भमा यो आलेख प्रकाशित हुने बेलासम्म अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आइनपुग्न पनि सक्दछ । अन्तिम परिणाम नआइपुगुन्जेल परिणाम उल्टो हुन सक्ने सम्भावना समाप्त हुँदैन । मैले यो लेख ट्रम्प हारिसके भन्ने मान्यतामा लेखेको छु, जो गलत हुने सम्भावना सकिएको छैन । तर त्यसले केही फरक पर्दैन, ट्रम्पले लोकप्रिय मतमा जित्ने कुनै सम्भावना छैन । निर्वाचक मतमा जिते मेरा लागि त्यो उनको हार सरह हो भन्ठान्दिनु होला ।)

सामान्यतः दोस्रो कार्यकालका लागि सत्तासिन अमेरिकी राष्ट्रपति पराजित हुँदैनन् । लोकतन्त्रमा ४ वर्षे कार्यकाल त्यति लामो हैन । ४ वर्षमा राष्ट्रपतिका सोच, योजना र कार्यक्रम लागू हुन सक्दैन । तसर्थ दोस्रो कार्यकालमा लागि पनि जित्ने, जिताइने प्रचलनजस्तो त्यहाँ छ ।

तर, शासकले गलत बाटो रोज्ने र खराब काम गर्ने हो भने त्यही ४ वर्ष पनि निक्कै लामो र झर्कोलाग्दो हुन्छ । दुष्ट शासकहरुले छोटो समयमै धेरै नराम्रा काम गर्न, राज्य, समाज र अर्थतन्त्रलाई लथालिङ पार्न, विश्व मानवतालाई हानी पुर्याउन सक्दछन् । सम्भवत यही अवधारणमा त्यहाँ ४ वर्षे छोटो कार्यकाल राखिएको होला । पहिलो कार्यकाल सन्तोषजनक देखिए दोस्रो कार्यकाल थपिदिने अन्यथा पहिलो कार्यकालमै हराइदिने मनोविज्ञान नागरिक र मतदाताले बनाउँदा हुन् ।

४५ औं राष्ट्रपति डोनाल्ड जे. ट्रम्प दोस्रो कार्यकालको लागि चुनाव हार्ने ११औं व्यक्ति बन्न पुगे ।

अमेरिका समकालीन विश्वको सर्वाधिक चर्चित र शक्तिशाली राष्ट्र हो । अमेरिकी निर्वाचनबारे विश्वव्यापीहरुमा चासो, सरोकार र जिज्ञासा हुनु स्वभाविक हो । अमेरिकी चुनाव केवल अमेरिकी चुनाव हुँदैन । त्यसको प्रवृति र परिणामले कुनै न कुनै रुपमा विश्वलाई प्रभावित गरिररेको हुन्छ । ‘वल्ड अर्डर’ लाई प्रभावित गरिरहेको हुन्छ । यस अर्थमा सबैजसो अमेरिकी राष्ट्रपति निर्वाचनको चर्चा र महत्व हुन्छ नै ।

यसपटकको निर्वाचन अझ बढी महत्वपूर्ण थियो । यसका थुप्रै कारणहरु थिए । यो चुनाव ट्रम्प-वाइडन, पेन्स–ह्यारिस, रिपब्लिकन–डेमोक्र्याटसको मात्र चुनाव थिएन । केवल अमेरिकाको अन्तरिक मामिला र मुद्दामा मात्र केन्द्रित चुनाव पनि थिएन । यो चुनावसँग थुप्रै विश्व प्रवृति र सवालहरुको सम्बन्ध थियो । ‘पोष्ट-कोरोना’ युगको वैचारिकी, आर्थिक ढाँचा, समकालीन वर्ल्ड अर्डर, लोकतन्त्रको प्रवृत्ति र भविष्यसँग यसले अर्थ राख्दथ्यो ।

हुनतः सन् २०१६ को निर्वाचन पनि ट्रम्पले लोकप्रिय मतले जितेका थिएनन् । २०१६ को निर्वाचनमा उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५३ हजार ५१४ मत पाएकी थिइन् । ट्रम्पले त्यसभन्दा कम ६ करोड २९ लाख ८४ हजार ८२८ मत पाएका थिए । ट्रम्पले भन्दा क्लिन्टनले २८ लाख ६८ हजार ६८६ मत बढी ल्याएकी थिइन् । तर, निर्वाचक मण्डलमा आधारित निर्वाचन प्रणालीमा ट्रम्पको इलेक्ट्रोरल कलेज ३०६ पुगेको हुँदा उनलाई विजयी घोषणा गरिएको थियो ।

अमेरिकी राष्ट्रपति निर्वाचनहरुमा सामान्यतः लोकप्रिय मत बढी हुने राष्ट्रहरुले नै निर्वाचक मण्डलमा पनि बहुमत हासिल गर्ने गर्दथे । ट्रम्प त्यसको अपवाद थिए । यसरी लोकप्रिय मतमा पराजित भएर पनि निर्वाचक मण्डलमा चुनाव जित्ने उनी ५औं राष्ट्रपति थिए ।

निर्वाचक मण्डलमा आधारित प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अमेरिकामा बाहेक संसार कतै प्रचलनमा छैन । यो प्रणालीका केही कमजोरहरु छन् । यसले बहुमतलाई अल्पमतमा परिणत गर्न सक्दछ । अर्को कुरा नागरिक सार्वभौमसत्ताको प्रत्यक्षभारलाई अप्रत्यक्ष बनाइदिन्छ । यो भन्दा खराब कुरा यसले द्वि-दलीय प्रणालीलाई स्थिर बनाएको छ । राजनीतिमा नयाँ, रचनात्मक र सृजनशील प्रयत्नलाई असम्भव बनाईदिएको छ ।

गत फेब्रुअरीमा प्रकाशित एक नयाँ पुस्तक अमेरिकामा चर्चित भएको थियो । लि द्रुतम्यानको त्यो किताबको नाम ‘ब्रेकिङ द टु पार्टी डुम-लुप’ (द्वि-दलीय दुर्भाग्यचक्रको भेदन) थियो । यो किताब अहिलेसम्म मैले पढ्न पाएको छैन । तर यसबारेका समालोचना, टिप्पणी र लेखकका अरु लेख वा प्रवचनहरु सुन्दा अमेरिकी निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे जारी बौद्धिक बहस प्रष्ट हुन्छ । द्रुतम्यानले दुई चरणको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसदको पक्षपोषण गरेको छन्, जो हामी नेपालमा बारम्बार उठाइरहेका छौं ।

निर्वाचक मण्डल र द्वि-दलीय प्रणाली बहुदलीय लोकतन्त्रका लागि खराब कुरा हुन् । यो १८औं शताब्दिको मानसिकतामा बनेको अवधारण थियो । जसलाई अमेरिकीहरुले अहिले परिवर्तन नगरिकन जस्ताको त्यस्तै राखेका छन् । ट्रम्प पहिलो कार्यकालमा यही प्रणालीको फाइदा उठाएर राष्ट्रपति भएका थिए । यसपटक उनले अझै पर्याप्त भोट ल्याउनुको कारण पनि यही प्रणाली हो ।

टाढाको देश अमेरिकामा-ट्रम्पले जितुन वा वाइडनले त्यसको के अर्थ छ र ? । अर्काको देशमा को हार्‍यो वा जित्यो के मतलब ? यस्तो तर्क नेपालमा नभएको हैन । तर, नेपालीले अमेरिकालाई यसरी लिन मिल्दैन । अमेरिकामा १० लाख बढी नेपाली बस्छन् । अझै जालान् । दक्षिण एशियालीहरुको जनसंख्या त्यहाँ १ करोड बढी भइसकेको छ । एकातिर विश्वशक्तिका रुपमा उसका नीतिहरुको प्रभाव हामीलाई पर्दछ । दोस्रो कुरा- अमेरिका नेपालीहरुको पहिलो प्राथमिकताको गन्तव्य देश हो ।

तेस्रो कुरा- समकालीन विश्वमा अमेरिका-चीन नयाँ शीत युद्धको जुन स्थिति छ, त्यसको प्रत्यक्ष प्रभाव नेपालमा हुन्छ । पहिलो शीतयुद्धमा जस्तो हामी टाढाको देश हैनौं । हामी कुनै न कुनै रुपमा नयाँ शीत युद्धको साझेदारजस्तो बन्न पुग्दछौं, यद्यपि हाम्रो परराष्ट्र नीति असंलग्नतामा आधारित छ ।

यी सन्दर्भलाई एक ठाउँ राखेर हेर्दा ट्रम्पको पराजय अमेरिकीहरुका लागि मात्र हैन, नेपालका लागि पनि आवश्यक थियो । त्यो किन र कसरी त ? यसका कारणहरुको चर्चा आवश्यक हुन्छ ।

पहिलो कारण त ट्रम्पको गोरा सर्वोच्चता (ह्वाइट सुप्रिमेसी) मा आधारित साँघुरो नश्लीय राष्ट्रवादी सोच थियो, जसले विभूमण्डलीकरण (डिग्लोबलाइजेशन)को प्रक्रियालाई तीव्र बनाइरहेको थियो । सन् १९९० पछि शुरुवात भएको उदारवादी भूमण्डलीकरणका अनेक कमजोर पक्षहरु थिए तर त्यसले विश्वलाई बिल्कुलै अलगथलग बनाउँदैनथ्यो । ट्रम्पको शासनकालमा भूमण्डलीकरण संकटमा परिसकेको थियो । विश्वको नेतृत्वदायी देशले नै साँघुरो छाती बनाएपछि मानव सभ्यता स-सानो सोचको परिधिमा खुम्चिन बाध्य हुन्थ्यो । ग्लोबल सिटिजनसीपको अवधारणा र विश्व आप्रवासनमा विस्तारै ठूलो अवरोध आउन सक्दथ्यो ।

मानिस जुन देशमा जन्मिन्छ, त्यही देशमा सीमित हुन पर्दछ भन्ने छैन । देशका सीमाहरु प्राकृतिक हैनन, ती राजनीतिक मात्र हुन् । मान्छेको जन्म प्राकृतिक हो । तसर्थ मान्छे एक वैश्विक प्राणी हो । मान्छे धर्तीमा जन्मिएको हो, कुनै देशमा हैन । देश धर्तीको राजनीतिक मानचित्र मात्र हो । तसर्थ, मान्छेको सार्वभौम अस्मितालाई बन्देज गर्ने गरी राष्ट्रको कुनै अर्थ छैन । राष्ट्रवाद मानवतावादभन्दा ठूलोे दर्शन र विचारधारा हैन ।

साँघुरो राष्ट्रवादी चिन्तनले विश्वलाई नै नवफासीवादतिर प्रेरित गरिरहेको थियो । अल्पसंख्यक समुदायहरु मनोवैज्ञानिक असुरक्षाको शिकार हुँदै थिए । हरेक देशमा एक बर्चश्वशाली समुदाय हुन्छ, हुनुपर्दछ अरुले तिनीहरुको आधिपत्य र अरनखटनमा दोस्रो दर्जाको नागरिक जस्तो भएर बाँच्न राजी हुनु पर्दछ भन्ने प्रकारको सोच विश्वभरि बढिरहेको थियो । यो सोच निक्कै खतरनाक थियो । यो सोच पराजित हुनै पर्दथ्यो ।

ट्रम्पले नश्लवाद, साँघुरो राष्ट्रवाद, धार्मिक रुढीवादको चर्को पक्षपोषण गरेका थिए । उनी आफै आप्रवासीका सन्तान थिए । आप्रवासी महिलासँग बिहे गरेका थिए । तर उनी यसरी प्रस्तुत हुन्थे मानौं कि उनी अमेरिकामै पुस्तौंपुस्ता बसेका रैथाने गोरा हुन् । अमेरिका न्याय, स्वतन्त्रता, समानता र समावेशिताको सिद्धान्तमा बनेको राज्य थियो । त्यसैले त्यसलाई ‘पेल्टिङ पोट’ भनिन्थ्यो ।

ट्रम्पले गैरगोराहरुमा मनोवैज्ञानिक भय सृजना हुने गरी अरु जाति, नश्ल, संस्कृति र भाषाका जनतालाई गाली गरिरहे । मेक्सिकनहरुलाई उनले चोर, लुटेर, अपराधीहरुको रुपमा चित्रण गरे । मेक्सिकोको सिमानामा पर्खाल लगाउनुलाई ठूलो पराक्रम ठाने ।

कयौं मुस्लिम बहुल देशका जनतालाई डिभी भर्न प्रतिबन्ध लगाए । अमेरिका घुम्ने प्रवेश आज्ञा रोके । अश्वेत आन्दोलनलाई लुटेराहरुको आन्दोलन भने । जर्ज फ्लोइडको अन्यायपूर्ण हत्याले कोरोना महामारी बीच ठूलो आन्दोलन उठ्यो । उनले त्यस आन्दोलनप्रति निम्नकोटीको टिप्पणी गरे ।

एशियनलगायत विपन्न क्षेत्र र गरिब मुलुकबाट अमेरिका पुगेकाहरुलाई ‘सिटहोल नेसन्स’ र ‘खान नपाएर आएकाहरु’ भनेर बारम्बार अपमान र गाली गरिरहे । यस्ता कुरा विश्व मानवताका लागि उचित थिएनन् ।

नेपालमा मैले कतिपयले ‘अमेरिकामा ह्वाइट सुप्रिमेसी’ ठीकै त हो, हरेक देशको एउटा न एउटा प्रमुख र बर्चश्वशाली रैथाने समुदाय हुन्छ भन्ने गरेको सुन्छु । बुझ्नुपर्ने कुरा के छ भने गोराहरु अमेरिकाका रैथाने हैनन् । त्यहाँका रैथाने रेडइन्डियन्सलगायतका पुराना आदिवासीहरु थिए । अंग्रेज र अफ्रिकी निग्रोहरु त्यहाँसँगै पुगेका हुन् । फरक कति हो भने अंग्रेजहरु बेलायती साम्राज्यको बलमा भूमिपति भए । अफ्रिकी अश्वेतहरुलाई किनबेच हुने दास र कृषिमजदुर बनाइयो । यो इतिहास कसैले बिर्सन मिल्दैन ।

दोस्रो कारण ट्रम्पको डेमागग कार्यशैली थियो । शब्दकोषमा सीमित भइसकेको शब्द ‘डेमागग’ (निर्वाचित दुष्ट शासक) उनको उदयसँगै फेरि विश्वभरि सर्वाधिक प्रयोग हुन थाल्यो । ट्रम्पले गैरजिम्मेवार शासनशैली र पपुलिज्मको पराकाष्ठा अभ्यास गरेका थिए ।

ट्रम्पको शैलीको प्रभाव विश्वव्यापी थियो । सन् २०१६ यता विश्वभरि नै ‘राइट विङ पपुलिज्म’ हावी भएको थियो । पपुलिष्टहरुलाई झुठ बोल्न न कुनै लाज थियो, न डर । ट्रम्प ती सबै कुरा लाज नमानी बोल्थे- जो ग्रामिण, विपन्न र धार्मिक रुढीवादमा विश्वास गर्ने गोराहरुलाई मन पर्थ्यो । उनी विज्ञानमा हैन, बाइबलमा विश्वास गर्थे । उनी अस्पतालले हैन, चर्चले महामारी निको पर्ने ठान्दथे ।

नेपालमा ओलीले ‘२०७६ पुष २ गते देखि हनुमाननगरमा पानीजहाजको टिकट काटेर हिन्द महासागरको यात्रा गराउने’ सार्वजनिक घोषणा गर्दा समेत कतै कसैलाई लाज नहुने एक विचित्रको अवस्था सृजना भयो । ओलीले घरघरमा ग्याँस पाइप पनि पुर्‍याए । कुश्मा र बेनीमा चिनियाँ बुलेट रेलको स्टेशन पनि बनाउन भ्याए । कोरानाको उपचार ‘ह्याछिउ र बेसार पानी हो’ भन्ने पुष्टि गर्न पनि भ्याए । यी झुठ बोले वापत कतै लाज मान्नु परेन, क्षमा माग्नु परेन ।

यस्तो पुष्टाईको आधार ट्रम्प थिए । राजनीति यस्तै हो, अमेरिका जस्तो देशमा ट्रम्पले त कयौं झुठ बोलिरहेका हुन्छन्, झुठ नबोलीकन कसरी चुनाव जित्न सकिन्छ भनेर खुलेआम भन्न थालिएको थियो । संसारभरि यस्ता एक दर्जन बढी शासकहरुको उदय भइसकेको थियो, जसलाई झुठ बोल्न कुनै लाज, डर, घिन थिएन । ट्रम्प उनीहरुका आदर्श थिए ।

ट्रम्पको पराजयले पक्कै तिनको मनमा, मुटुमा ढ्याङग्रो बजेको हुनु पर्दछ । यो निक्कै राम्रो र खुशीको कुरा हो । लोकतन्त्रमा यदाकदा डेमागगहरुको उदय हुन सक्दछ तर तिनीहरुको राजनीतिक आयु लामो हुँदैन भन्ने विश्वव्यापी सन्देश गएको हुनु पर्दछ ।

तेस्रो कारण-ट्रम्पको कार्यशैलीले गोराहरुको लागि पनि खासै कुनै फाइदा भएको थिएन । उनले रोजगार सृजना गर्न सकेका थिएनन् । अमेरिकाको इतिहासमै सन् १९३० को महामन्दी पछिको सबैभन्दा धेरै बेरोजगारी उनकै शासनकालमा भएको थियो । उनी कर कटौती गर्न र लोककल्याणकारी योजना तथा कार्यक्रमहरु कमजोर पार्न प्रतिबद्ध थिए ।

चौथो कारण- उनी दिनहुँ चीनलाई गाली गरिरहन्थे । चीनमा लोकतन्त्र हुनु न हुनु एक वैचारिक प्रश्न हुन सक्दछ । तर राज्य-राज्य बीचको सम्बन्धको दृष्टिकोणले कुनै एउटा देशको राष्ट्रपति वा सरकारले प्रतिदिन अर्को राष्ट्रलाई गाली गर्ने कुरा मर्यादित राजनीति थिएन ।

ट्रम्पले पुनश्चः जितेको भए नयाँ शीत युद्ध झनै छिटो चर्किन सक्दथ्यो । नेपालजस्ता देशहरुको असंलग्नता र तटस्थता नीतिले संगीन परीक्षा दिनुपर्ने स्थिति हुन्थ्यो । वाइडनको जितले चीन नीतिमा ठूलो परिवर्तन आउने हैन तर नयाँ शीतयुद्धको तिव्रता शिथिलीकरण हुन सक्दछ ।

पाँचौं कारण– ट्रम्पको उदयले लोकतन्त्रको परिभाषा नै संकटमा परेको थियो । समान्यतया दुष्ट मानिसहरु लोकतन्त्रमा निर्वाचित हुँदैनन् भन्ने विश्वास गरिन्छ । तर, ट्रम्पले जो जति बढी असहिष्णु, छिचरो र भद्दारुपमा प्रस्तुत हुन सक्दछ, त्यो त्यति नै बढी लोकप्रिय हुन र निर्वाचित हुन सक्दछ भन्ने दृष्टान्त निर्माण गर्दै थिए । लोकतान्त्रिक बहसको मर्यादा विश्वव्यापीहरुमा घटेको थियो ।

लोकतन्त्रमा विरोधी पार्टी र उम्मेद्वारप्रति प्रयोग गरिने शब्दको निश्चित मर्यादा हुनु पर्दछ । ट्रम्पले ती सबै मर्यादाहरु नाघेका थिए । उनी जसलाई जे भनेर पनि गाली गर्न सक्दथे । उनका भाषण र ट्वीटहरु अत्याधिक व्यक्ति केन्द्रित हुन्थे ।

प्रगतिशील, उदारवादी तथा समाजवादी रुझान राख्नेहरुलाई उनी ‘र्याडिकल लेफ्ट’ भन्थे । बर्नी स्यान्डर्सलाई उनी ‘कम्युनिष्ट’ भन्थे । वाइडनलाई ‘फिडेल क्यास्त्रोको प्रेत’ भन्थे । कमला ह्यारिसलाई ‘मोन्सटर’ भन्थे । बाराक ओबामा उनका लागि सधै ‘हुसेन’ भए । हिलारी क्लिन्टन ‘पुसी’ भइन् ।

ट्रम्पको कार्यशैलीबाट स्वयं पुराना रिपब्लिकनहरु आजित थिए । उनीहरु ट्रम्पलाई आफ्नो पार्टीको उम्मेद्वारभन्दा उनले रिपब्लिनक पार्टी कब्जा गरेको अर्थमा लिन्थे । मिट रोमनी, पोलिन पावेलले चुनावमा खुलेर ट्रम्पको विरोध गरेका थिए, वाइडनका लागि भोट मागेका थिए । स्वयं बुश परिवार ट्रम्पसंग खुशी थिएन ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

सभ्यताको प्रगतिशील रुपान्तरणप्रति उनमा कुनै रुचि थिएन । समावेशितालाई उनी घृणा गर्थे । यो भन्न सकिन्छ कि ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टी बढी सहिष्णु र समावेशी छ । यही पार्टीले सन् २००८ मा पहिलो अश्वेत बाराम ओबामालाई राष्ट्रपति बनाएको थियो । सन् २०१६ मा हिलारी क्लिन्टन जितेकी भए पहिलो महिला राष्ट्रपति हुने थिइन् । जमैकन बुबा र भारतीय आमाकी छोरी कमला ह्यारिस वाइडन टिममा उपराष्ट्रपतिको उम्मेद्वार भइन् । वाइडनसँगै उनी उपराष्ट्रपति निर्वाचित हुने छन् ।

कोरोना महाब्याधीबारे ट्रम्पको दृष्टिकोण शुरुवातदेखि नै गलत थियो । उनी कोरोनालाई बारम्बार ‘चाइनिज भाइरस’ भन्थे । यत्रो ठूलो महामारीका बीच उनले विश्व स्वास्थ्य संगठनको सदस्यता त्याग गर्ने र विश्व स्वास्थ्य संगठनलाई दायित्व रकम नदिने निर्णय गरे ।

इवोला भाइरसको समयमा ओबामाको नीति ठीक उल्टो थियो । अमेरिका एक्लैले इबोला नियन्त्रणको करिब ४० प्रतिशत खर्च धानेको थियो । इबोला कोरोनाभन्दा बढी खतरनाक भाइरस थियो तर अमेरिकाको विशेषः लगानी र पहलकदमीमा इवोला नियन्त्रण भएको थियो ।

यहाँसम्म की यस अघिका रिपब्लिकन राष्ट्रपति बुसले दुश्मन राष्ट्र इरानमा मानवीय सहायता सामग्री पठाएका थिए ।

कोरोना नियन्त्रणको विश्वव्यापी रणनीतिबारे ट्रम्पमा कुनै रुचि देखिएन । स्वयं आफ्नो देशभित्रको तयारीमा पनि उनले राम्रो ध्यान दिएनन् । चीन, सिंगापुर, थाइलैण्ड, लाओस, कोरिया, भियतनाम, न्यूजील्याण्ड, ताइवान आदि कयौं देश कोरोना नियन्त्रणमा प्रभावकारी देखिँदा अमेरिकाजस्ता शक्तिशाली र साधन स्रोत सम्पन्न देशको त्यो हालत पक्कै हुने थिएन होला ।

कुटनीतिक मर्यादाको दृष्टिकोणले भन्न मिल्ने हो वा नमिल्ने हो, त्यो बहस हुन सक्दछ । तर, ट्रम्प पराजित भएको मा भने म खुशी छु । सम्भवत जीवनमा पहिलोपटक अर्काको देशको चुनावमा कोही हार्दा यति खुशी मिलेको छ ।

वाइडनका ट्वीट र भाषणहरु ट्रम्पका भन्दा धेरै भद्र, नरम र सन्तुलित लाग्दछन् । त्यसले उनको धैर्यता र संयमलाई अभिव्यक्त गर्दछ । मर्यादा, धैर्यता र संयम एक राजनेतामा हुनु पर्ने अनिवार्य गुण हो । एक लोकतान्त्रिक देशको शासकमा हुनै पर्ने गुण हो । वाइडनले धेरै राम्रो काम गर्लान भन्ने आशा हैन, तर ‘नोर्माल्सी’ कायम गर्न सके मात्र पनि यस्तो बेला निक्कै ठूलो कुरा हो ।

यसपालीको वाइडन अभियानमा बर्नी स्यान्डर्सको भूमिका आकर्षणको अर्को कारण हो । अमेरिकाजस्तो देशमा स्यान्डर्स खुलेआम आफूलाई ‘समाजवादी’ भन्दछन् । आफूलाई ‘समाजवादी’ ठान्नेहरुलाई यसकारणले पनि अलिअलि खुशी लाग्ने भइहाल्यो । स्यान्डर्स निशुल्क शिक्षा र स्वास्थ्यको मुद्दा उठाउँछन् । गुणस्तरीय आवास, नविकरणीय उर्जा र जलवायु परिवर्तनको सवालमा बोल्दछन् । वाइडन प्रशासनमा स्यान्डर्सको भूमिका होला नहोला तर उनले वाइडनमाथि यस्ता मुद्दामा निरन्तर दबाब बनाइरहनेछन् भन्ने आशा गर्न सकिन्छ ।

लोकतन्त्रका हज्जार कमजोरीहरु किन नहुन यो अरु सबै प्रकारका तानाशाही व्यवस्था भन्दा उत्कृष्ट छ । कदाचित कुनै गलत शासकको उदय भइहाले पनि लोकतन्त्रमा त्यो लामो समय जान सक्दैन । राजतन्त्र, सैनिक शासन, एकदलीय कम्युनिष्ट प्रणाली वा अरु कुनै प्रकारको अधिनायकवादी व्यवस्थामा भएको भए ४ वर्ष मै ट्रम्पजस्ता शासकलाई बिदा गर्न सजिलो र सम्भव हुने थिएन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay